नाजिर हुसेनलाई रमजान प्यारो, दसैं-तिहार पनि प्यारो


रंगकर्मी तथा अभिनेता मोहम्मद नाजिर हुसेनले अघिल्ला वर्षका भाइटीकामा दिदीहरुलाई कपडा उपहार दिएका थिए। यसपालि दुई दिदी सोनी र सुनिता राईका निम्ति झोला किनेका छन्।

नाजिरका दिदी नयाँ फेसनका अत्यन्तै सोखिन छन्। उनीहरुको इच्छा बुझेर यसपालि पनि उनले कपडै उपहार दिने सोचेका थिए। बजारबाट किनेर होइन, आफूलाई मनपर्ने डिजाइनरले तयार पारेको विशेष पहिरन। फिल्म सेलिब्रेटीका लुगा डिजाइन गर्ने डिजाइनरलाई उनले भने पनि। भाइटीकाको दिनसम्म तयार गर्न नभ्याएपछि नाजिरले झोला दिने निर्णय गरे।

पोहोर तीन दिदी र एक बहिनीसँग उनले भाइटीका लगाएका थिए। यो वर्ष गाउँ जान भ्याएनन्, दुइटी दिदी पनि यतै बसे।

मुस्लिम समुदायमा जन्मिएका नाजिर हुसेनले कहिलेदेखि भाइटीका लगाउन थाले, उनलाई हेक्का छैन, जसरी उनलाई रमजानको व्रत बस्न थालेको याद छैन। मुस्लिम समुदायमा जन्मिए पनि उनी दुइटा धर्ममा बाँचे र बाँचिरहेकै छन्। अझ उनलाई बेला–बेला आफू ‘मुस्लिमभन्दा हिन्दुतिर बढी ढल्किएको हुँ कि’ भन्ने लाग्दो रहेछ।

रमजानभर पानीसमेत नपिई व्रत बस्ने उनी दसैं–तिहारको टीका लगाउँछन्। उनका लागि इद–रमजानको जति महत्व छ, हिन्दु धर्मसंस्कृतिमा आधारित चाडपर्वको उत्तिकै। ‘मलाई रमजान महिनाभर व्रत बस्दा छुट्टै ऊर्जा आउँछ। दसैं–तिहारजस्ता हिन्दु चाडमा बेग्लै रौनकता मिल्छ,’ उनी भन्छन्।

‘दसैंतिहारको सबैभन्दा मनपर्ने कुरा मौसम हो,’ उनी आफ्नो ठाउँको वर्णन गर्न थाल्छन्, ‘यतिबेला तराई रंगीन हुन्छ। कतै पहेँलै धान झुलेका, कतै धान झारिरहेका। आकाशका फुल्काफुल्का बादल।’

उनी चाडवाडका भेटघाटमा मजा पनि लिन्छन्। उनको भनाइमा चाडवाडका चालचलन महत्वपूर्ण होइनन्, सम्बन्धहरु हुन्। उनी आफूलाई कर्मीमौरीसँग तुलना गर्दै धर्मलाई रानीमौरीको नाम दिन्छन्। मुस्लिम परिवारमा जन्मिएका उनका निम्ति हिन्दु र इस्लाम धर्म ‘रानीमौरी’ हुन्।

नाजिरलाई यस्ता कुरा सिकाउने उनकी आमा हुन्।

‘मेरो ममीले मलाई कहिल्यै उपदेश दिनुभएन, दबाव पनि दिनुभएन,’ उनले भने, ‘नभनिकनै ममीबाट मैले सम्बन्धको महत्व सिकेँ।’

‘धर्म र जात एउटै हुँदैमा भावना मिल्छ भन्ने छैन’- यो उनले आमाबाटै सिकेका हुन्। त्यसैल होला, हिन्दु परिवारमा हुर्किएकी उनकी आमाले मुसलमानसँग बिहे गरेकी!

वीरगन्जमा जन्मिएका उनका बाबु प्रहरी सेवामा रहँदा सामाखुसीमा डेरा गरी बस्थे। उनका बाबुको पल्लोघरकी क्षत्री थरकी युवतीसँग चिनापर्ची भएछ, जसले मायाको रुप लियो। बिहेसम्म पुर्यायो। मुस्लिम केटा, क्षत्री केटी, सामाखुसीकै डेरामा बस्नु समस्या भयो।

बाबुले प्रहरीको जागिर छोडे, दुवै पाल्पा पुगे। पाल्पा छँदै तीन सन्तान जन्मिए। त्यसपछि बाराको डुमरवाना गए, त्यहीँ जन्मिए कान्छा सन्तान नाजिर।

मुस्लिमसँग बिहे गरेपछि नाजिरकी आमा मुस्लिम भइन्, पहिले आफूले मान्दै आएका चालचलन भने छाडिनन्। उनी रमजानमा व्रत बस्थिन्, तर डुमरवाना पुगेकै वर्ष छिमेककै लीलाराम राईलाई भाइ मानेर टीका लगाउन पनि थालिन्।

नाजिर सानै छँदाको घटना हो, कक्षा एकबाट दुईमा जाँदा प्रथम भए। शिक्षकले बधाइ दिँदै निधारमा रातो अबिरको लामो टीका लगाइदिए। त्यो देखेर उनका काका र बाबुले हकारेछन्, ‘त्यो पुछ।’ उनका काका र बाबु चाहन्थे, छोरा ‘पक्का मुस्लिम’ बनोस्, मदरसामा नमाज पढोस्। बाबुले मदरसा भर्ना पनि गरिदिएका थिए, तर पाँच–छ महिनामै जान छाडिदिए।

दुई दिदी र एक दाइपछिका कान्छा नाजिर सानै छँदा बाबुआमा पनि छुट्टिए। बाबुसँग बढी बसेकाले उनका दाइ–दिदीमा  मुस्लिम प्रभाव बढी भयो। नाजिर सानैदेखि आमासँगै रमाए, आमाझैं उनमा दुवै धर्म समुदायको प्रभाव पर्यो।

उनी सम्झन्छन्- आमा आफूले मान्दै आएको चालचलन मात्र प्राथमिकतामा राख्थिनन्, श्रीमानको धर्म पनि उत्तिकै मान्थिन्। उनी सासू–ससुरासँग भेट्दा आदरसम्मान गर्थिन्, तर उनीहरूको चाहनाअनुसार बुर्कामा ढाकिएर बसिनन्। तीजमा व्रत त बस्थिनन्, तर रातो सारी लगाएर घरनजिकैको चौतारामा मादल बजाउँदै गाउँथिन्।

नाजिरले ‘आफूलाई दायरामा नबाँध्ने’ आमाको स्वभावबाट थुप्रै कुरा सिके। अर्कातिर, उनका वरिपरि बाहुन–क्षत्रीदेखि, राई–लिम्बू, मगर, यादव, मुस्लिम धेरै जाति छरिएर बस्थे। कोही काकालाई सम्बोधन गर्दा काका नै भन्थे त कसैलाई अंकल। आमालाई ममी भन्थे, कान्छी काकीलाई अम्मीजान। बाबुलाई अब्बा कहिल्यै भनेनन्, हजुरआमालाई दादी भने। छिमेकतिर पनि उनका अनेक साइनो लागेका मान्छे हुन्थे। ममीले भाइटीका लगाइदिएकी लीलाराम राई मामाको घर उनको मामाघर थियो।

उनका सबै नाताका फरक चालचलन थिए।

घरअगाडिका फुयाँल काकाको घरमा नाजिरले हरेक वर्ष स्वस्थानी सुन्थे, प्रसाद खान्थे। आमा हरेक बिहान भजन बजाउँथिन्। हिन्दु देवीदेउताकै कथा सुनाउँथिन्।

उनको घरबाट मस्जिद ६ किलोमिटर टाढा थियो। उनका बाबु र दाइले हरेक शुक्रबार नमाज पढ्न लैजान्थे। ‘मलाई बच्चा बेलाको रमजान सम्झँदा साह्रै रमाइलो लाग्छ,’ उनी विगततिर फर्किए, ‘राति नै उठेर खानुपर्ने। ममी रमजान बेला हरेक दिन नुहाउन लगाउनुहुन्थ्यो। जाडो हुने भएकाले ममीले पत्कर बालेर आगो बालिदिनुहुन्थ्यो। खान खाएर हामी फेरि सुत्थ्यौं। दिनभरी पानी नखाई एकैचोटि बेलुका खाना खान्थ्यौं। रमजानभरी ममी पनि पक्का मुस्लिम बन्नुहुन्थ्यो।’

जब दसैं आउँथ्यो, उनको सम्पूर्ण परिवार राई मामाको घर जान्थ्यो। ‘म दसैं आयो कि उलु उलु मासु चिउरा खाने भन्थेँ,’ उनले बाल्यकाल सम्झिए, ‘दसैं भन्यो कि मासुचिउरा भन्ने हुन्थ्यो त्यतिबेला। अहिले पनि मामामाइजू, दाइदिदीहरु ‘उलु उलु’ भनेर जिस्क्याउनुहुन्छ।’

दसैंको टीकाको दिन राई मामाको हातबाट नाजिरको परिवार टीका थाप्थ्यो।

नाजिरलाई उहिल्यैदेखि तिहार बढी मन पर्थ्यो। लक्ष्मीपूजाको दिन सबैभन्दा रमाइलो मान्थे। आमा आँगनमा रंगोली बनाउँथिन्, उनी सघाउँथे। आमासँग रमाइरहेका उनी एकैछिनमा राई मामाको घर पुग्थे, बेलुका लक्ष्मीपूजा गर्ने कोठा सजाउन सघाउँथे। एकैछिनमा खुर्रर आँप, पीपलका पात टिपेर आमा भएठाउँ आउँथे। पूजाकोठा सजाउने सामान खोजेर आमालाई दिन्थे।

भाइटीकाका दिन राई मामाको घरमा लहरै टीका थाप्थे। आमाले राई मामासँग, नाजिर र उनका दाइले आफ्ना र राई मामाका छोरीहरुसँग। नाजिर कान्छो न परे, दक्षिणा दिनुको सट्टा उल्टै हात पर्थ्यो।

यसरी उनी सानै उमेरमा मुस्लिमसँगै हिन्दु संस्कृतिमा घुलिए।

छ वर्षअघि उनले आमा गुमाए। नृत्य र अभिनयका लागि काठमाडौंमा संघर्ष गरिरहेका बेला आमाको दुवै मिर्गौला फेल भयो। कहिले मण्डला थिएटर, कहिले आफन्त त कहिले साथीको घरमा बस्दै आएका नाजिरको पूरै एक महिना अस्पताल बास भयो।

अस्पतालकै ओछ्यानमा आमाले भनेकी थिइन्, ‘तिमीहरु चारैवटालाई कुनै चोट नलगाई हुर्काएँ। तँभन्दा माथिका त आफैं गर्न सक्ने भए। तँलाई केही बनाउन सकेको छैन। म मरिहालेँ भने पनि गुनासो नगरेस् है।’

आमा अस्पताल भएका बेला मण्डला नाटकघर बन्दै थियो। उनी बिहान एउटा स्कुलमा नाच सिकाउँथे, दिउँसो नाटकघरको जग खन्थे। अस्पतालमा आमाको ढाड मिचिदिँदै उनले भनेका थिए, ‘ममी पीर नगर्नुस्, अब नाटकघर बन्दैछ। आफ्नै नाटकघर भएपछि त पैसा पनि कमाइहालिन्छ।’

आमाको रोग पत्ता लगाउन करिब एक महिना लाग्यो, डायलासिस गर्ने तयारी हुँदै गर्दा आमाले भनिन्, ‘मलाई एकपल्ट घर पुर्‍याइदे।’ घर लगेको रात नाजिर आमासँगै सुतेका थिए, एउटा हात आमाको टाउकोमुनि, अर्को माथिबाट गलामा बेरेर।

त्यही रात उनले आमा गुमाए।

आमाको मृत्युसंस्कार इस्लाम धर्मअनुसारै भयो। चार दिनसम्म नाजिर आमालाई पुरेको ठाउँ गइरहे।

पाँचौं दिन छिमेकीसँग पाँच सय रुपैयाँ सापटी लिएर उनी काठमाडौं आए। दाइहरु चाहन्थे, नाजिर उतै बसून्। आउनेबित्तिकै अभिनय गुरू राजन खतिवडालाई अँगालो हालेर रोए।

‘सायद, मलाई सम्बन्धले तानेको थियो,’ नाजिर भन्छन्, ‘ जसरी ममीले रमजान र दसैं-तिहार बझाउनुभयो, सम्बन्धको महत्व उहाँले नै सिकाउनुभएको हो। मैले सम्बन्धहरुलाई पहिलेदेखि नियाल्दै आएको रहेछु। जतिबेला हामी चरम अभावबाट गुज्रिनुपरेको थियो, त्यतिबेला हामीले आफन्तबाटै सहयोग पाउन सकेनौं। जसले सहयोग गरे, तीसँग हाम्रो धर्म मिल्थेन। मेरो ममी बितेका बेला हामी छोराछोरीपछि रुने एक जना आन्टी हुनुहुन्थ्यो, जो मुस्लिम हुनुहुन्न। अहिले भेट्दा उहाँ मलाई देख्यो कि रोइहाल्नुहुन्छ,’ उनले सुनाए।

नाजिर सम्बन्धका बारेमा बोल्नसक्ने कसरी भए त?

‘सायद यस्तो विविधतायुक्त समाजमा हुर्केकैले हो,’ नाजिर अनुमान लगाउँछन्, ‘मेरो बुवाममी एउटै धर्मको हुनुहुन्थ्यो भने म अहिले अभिनयतिर हुन्थिनँ होला। मैले अहिलेसम्म जति भूमिका गरेको छु, सबै हिन्दु धर्मका चरित्र छन्। मेरो ममी हिन्दु भएकाले मलाई हिन्दु चरित्र गर्न सजिलो लाग्छ। धर्म फरक हुनेबित्तिकै मानिसको मनोविज्ञान फरक हुन्छ। मैले अहिलेसम्म जति चरित्र निभाएको छु, त्यसका लागि चाहिने संवेदनाहरु मैले नजिकका सम्बन्धहरुबाट लिएको छु। मलाई मुस्लिम भूमिकामा अभिनय गर्ने ठूलो रहर छ, म यसमा पनि उत्तिकै सहज अभिनय गर्न सक्छुजस्तो लाग्छ।’

नाजिर अचेल आफूलाई मुस्लिम भनेर चिनाउन धक मान्दैनन्, न हिन्दु हुँ भनेर स्वीकार्नै पछि पर्छन्। उनी भन्छन्, ‘मेरो ध्यान कुनै धर्म विशेषभन्दा बढी मानवतामा केन्द्रित छ, आस्था र सम्बन्धमा छ।’

‘मैले रमजान, दसैं–तिहार मान्नुको कारण यही हो,’ उनी भन्छन्, ‘म आफूलाई मुस्लिम या हिन्दु भनेर चिनाउनुभन्दा सम्बन्धहरुलाई महत्व दिन पर्व मान्छु। सम्बन्धहरुले मलाई जहिल्यै ऊर्जा दिन्छन्।’

आमा गए पनि उनले जोडिदिएका सम्बन्ध उनलाई आफ्ना सम्पत्ति लाग्छन्।

‘म जोसँग भाइटीका लगाउँदैछु, त्यो मेरो ममीले ३६ वर्षअघि जोडेको सम्बन्ध हो,’ उनी भन्छन्, ‘ममीले छोडेर गए पनि यिनै सम्बन्ध हेरेर म खुसी हुने प्रयास गर्दैछु।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.