मैले सुबिन भट्टराईसँग माफी मागिसकेँ

तस्बिरहरु- अनिश रेग्मी


पत्रकार तथा लेखक अश्विनी कोइरालाले तेस्रो पुस्तक तथा पहिलो उपन्यास ‘प्रेमालय’ सार्वजनिक गरेका छन्। अन्तरवार्ता, संस्मरण, कथाजस्ता विधामार्फत् प्रेम, यौन र विवाहलाई केन्द्रमा राखेर लेख्दै आएका कोइरालाले यसअघि महिलाहरुको अन्तरवार्ता संग्रह ‘उनी’ र कथासंग्रह ‘जुकरबर्ग क्याफे’ ल्याइसकेका छन्। तेस्रो कृति सार्वजनिकको सन्दर्भमा सेतोपाटीका समुन्द्र राज घिमिरेले उनीसँग गरेको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

अरु आख्यान लेखकजस्तै तपाईंलाई पनि उपन्यास मोहले तान्यो है?

अपवाद वाहेक मैले कहिल्यै कविता लेखिन। लामो समय पत्रकारिता गर्दा सधैं आख्यानका पात्रसँग संगत गर्नुपर्‍यो। मेरा केही गीत चर्चित भए, तर ती गायकको अनुरोधले लेखिएका थिए। यस अर्थमा म सुरुदेखि नै आख्यानप्रेमी हुँ।

तपाईं किन युवापुस्तालाई मात्र लक्षित गरेर लेख्नुहुन्छ?

कुनै पनि आख्यान देश, काल नेपाली साहित्यमा पाठकको सर्वथा अभाव छ। यसको कारण के भने किशोरवयमा पढ्ने पुस्तकको अभाव हुनु हो। जब उनीहरुलाई पढ्ने बानी नै लगाइँदैन भने उनीहरु पछि गएर कसरी गम्भीर साहित्य पढ्छन्। हामीले किशोर पाठक बढाइरहेका छौं र उनीहरुलाई गम्भीर साहित्यका लागि तयार पारिरहेका छौं। समीक्षकहरुले यो दृष्टिकोणबाट हाम्रो साहित्यलाई हेर्नु पर्छ र समीक्षा गर्नुपर्छ भन्ने लाग्छ।

उपन्यास लेख्नुको उद्देश्य के हो? 

पत्रकारिता गर्दा मैले जे–जति पात्रसँग भेटेँ, उनीहरुका सबै कुरा पत्रिकामा राख्न सम्भव थिएन। पात्र र उनीहरुका विचारले मलाई यसरी लखेट्दै गए कि नलेखी रहन सकिएन। उपन्यास लेख्नु मेरो बाध्यता हो।

‘प्रेमालय’मार्फत् तपाईंले दिन खोज्नुभएको विचार के हो?

हामी जुन समाजमा बाँचिरहेका छौं, त्यो समाजले दिएका धारणा पुराना भएनन्? किनभने हाम्रो समाजको ढाँचा हजारौं वर्ष पूरानो हो। हामीले राजनीतिक पद्धतिलाई प्रत्येक १०–१० वर्षमा फेर्‍यौं। सानो समयमै मेरो पुस्ताले पञ्चायती व्यवस्था, बहुदलीय शासन, राजाको शासन, माओवादीको द्वन्द्व सबै भोग्नुपर्‍यो। राजनीतिमा यसरी हामी प्रयोग भइरहेका छौ। हरेक दिन पत्रिकामा आर्थिक समाचारलाई ठूलो महत्व दिने गरिएको छ। तर प्रेम, विवाह र यौनजस्ता जीवनका महत्वपूर्ण तत्वलाई बहसमा ल्याउन डराउँछौं। ‘साप्ताहिक’ जस्ता ट्याब्लोइड पत्रिकामा यस्ता कुरा लेख्नेबित्तिकै अझै पनि हामीलाई समाज बिगारेको आरोप आउने गरेको छ। हामी यसमा बहस गर्नै डराउँछौ। किशोर नेपालजस्ता पत्रकारको विरोधमा भित्तामा पोस्टर टाँसेको देख्नु पर्‍यो। पत्रिकाको कार्यालयमा तोडफोड भयो। मैले यिनै कुरालाई फरक तरिकाले देखाउने प्रयास गरेको हुँ।

भनेपछि ‘प्रेमालय’ मा पनि तपाईंका अन्य लेखहरु जस्तै ‘यौनजन्य म्याटर’को भरमार छ भन्नुपर्‍यो, होइन?

तपाईं परिवारको अघि यसलाई मज्जाले स–स्वर वाचन गर्न सक्नुहुन्छ। प्रेम, विवाह र यौनजस्ता कानेखुसी गर्ने विषयलाई तपाईं स–स्वर वाचन गर्न सक्नुहुन्छ भने भन्नुस्, यसमा कति विचार पुर्‍याइएको होला?

‘प्रेमालय’को अवधारणा कसरी आयो? यसको लेखनप्रक्रिया कस्तो रह्यो?          

जुन दिन ‘प्रेमालय’को अवधारणा मनमा आयो, कोठामा एक्लै नाचेको थिएँ। म बिहान उठेर केही योग आसन र प्राणायाम गर्छु। त्यो दिन नाचेको देखेर आमाले हाँस्दै नाच्ने यो कुन योग हो भनेर जिस्क्याउनु भएको थियो। किनभने मेरो मुड नै त्यो बेला यस्तो थियो, हाँस्नु र नाच्नुबाहेक मैले आफूलाई व्यक्त गर्ने माध्यम नै पाइन।

लेख्न थाल्दा भने मैले बहुतै तनाव व्यहोरेँ। कतिसम्म भने अफिसमा काम गर्न सक्दिन थिएँ। सम्पादकको गाली पनि त्यो समयमा धेरै खाइयो। नेपाली साहित्यमा त्यसखालका विषय कमै लेखिएका छन्। विषय बृहत, तर मेरो साधना थोरै, प्रत्येकपल्ट म यो विषयलाई न्याय गर्न सक्तिन भन्ने डर लागिरह्यो। अन्त्यतिर पुग्दै गएपछि के सोचेँ भने मैले न्याय गर्नुपर्छ भन्ने ठेक्का लिएको छ र? सम्पादकको गाली खानुभन्दा पाठकको गाली खानु जाती भनेर चित्त बुझाएँ।

तपाईंले आफ्नो उपन्यासलाई ‘युवा लक्षित’ भन्नुभएको छ। युवालाई नै चाहिँ  किन?

मैले त्यसो भनेँ र? दुई वर्षअघि जब मैले मेरो उपन्यासको नाम घोषणा गरेँ, स्वतः पाठकबाट युवा लक्षित उपन्यासको नामाकरण पाएको हुँ। खासमा प्रेम, विवाह र यौनका कुरा युवामै बढी हुन्छन्। त्यस अर्थमा यो युवा लक्षित मानिएको हो। प्रेमालय पढेपछि ४० वर्ष कटेका पुरुषहरुले केहि कुरा सोच्नु हुनेछ भन्ने लागेको छ।

तपाईं प्रेमबारे ‘दर्शन’ लेखिबस्नुहुन्छ। तर, प्रेमलाई वर्ग, क्षेत्र, जातजस्ता थुप्रै पक्षले प्रभाव पार्छन् भनेर समाजको भित्री तहमा पुर्‍याएर बुझाउनुको सट्टा सतहमा देखिएका कथा भनेर पाठकलाई भुल्याउने मेलोजस्तो मात्र भएन?

नेपालमा वर्ग, क्षेत्र र जातबारे यति धेरै बहस भए कि राजनैतिक कोर्स नै परिवर्तन भए। यस विषयमा लेख्न बाँकी छ जस्तै लाग्न छाड्यो। राजनीतिले गाँजेका कारण यी विषयमा कलम नचलाउने लेखकलाई लेखक नै नमान्ने चलन बढेको छ। यस्ता लेखकले सस्तो विषय उठाएको, लेख्न नजानेको जस्ता आरोप खेप्ने गरेका छन्। वर्ग, क्षेत्र र जातका विषयमा लेखिएका पुस्तकले पत्रपत्रिकामा ठूलो ठाउँ पाउँछन् तर प्रेम, यौन र विवाहका फरक दृष्टिकोणहरु दलित भएका छन्। यो प्रश्न त्यही राजनीतिले ‘माइन्ड वास’ भएर आए जस्तो लाग्छ।

उत्तर प्रष्ट भएन, सोध्न खोजेको के भने– प्रेम पनि त सामाजिक मुद्दा हो, त्यसलाई समाजका विविध पक्षले प्रभाव पारेका हुन्छन्। देशमा यति धेरै बहस भइरहेका छन् कि तपाईं त्यसलाई कसरी अस्वीकार गर्न सक्नुहुन्छ? क्षेत्र, राष्ट्रियता, भूगोल, पहिचानबाट टाढा रहेर कसरी प्रेमका कुरा लेखिन्छ?

कुनै पनि आख्यान देश, काल परिस्थितिबाट टाढा हुन सक्तैन, मेरो पनि छैन। प्रेमको कुरा लेख्दै गर्दा यी कुराहरु स्वतः पर्दै जान्छन् वा लेखक स्वयं यी कुरामा सचेत हुन्छ। यदि त्यो छैन भने त्यसलाई साहित्य मान्न सकिदैन। मेरा कथाहरुमा पनि देश, काल परिस्थिति आएका थिए र अहिले प्रेमालयमा यो झन् तिख्खर भएको आएको भन्ने लाग्छ। नेपाली विषयको विद्यार्थी भएका नाताले केही साहित्य सिद्धान्तहरुको वहसमा मैले पनि भाग लिएको छु। लेखकको आफ्नो वर्गीय चिन्तन र परिवेश हुन्छ, आफ्ना आग्रह–पूर्वाग्रह हुन्छन्। उसका कृतिमा ती परेकै हुन्छन्। प्रेमको कुरा लेख्दा ऊ साहित्य सिद्धान्तको यो नियमबाट टाढा हुन सक्दैन।

सुनेअनुसार तपाईं सरुभक्तको ‘पागलबस्ती’ पछि प्रेमलाई तह–तहमा व्याख्या गर्ने उपन्यास नेपाली साहित्यमा लेखिएकै छैन, त्यो म लेख्दैछु’ भन्नुहुन्छ रे। एउटा लेखकले आफ्नै कृतिमाथि यस्तो दाबी गर्न सुहाउँछ?

सत्य हो, ‘पागलबस्ती’ लेखिएको २५ वर्षभन्दा बढी भैसक्यो। त्यसयता तपाईं गम्भीर रुपमा प्रेमका विषयमा लेखिएको कृति खोज्नु भयो भने पाउनुहुन्न। हामीले अरु विषयमा कति गहन कुरा लेख्यौं, प्रेम र विवाहका सन्दर्भमा यस्ता कुरा किन लेखिएनन् भनेर मैले प्रश्न सोध्दै आएको हो। यो बीचमा माओवादी द्वन्द्वका सयौं पुस्तक लेखिए। वर्ग, क्षेत्र, राष्ट्रियतासँग जोडिएका सयौं पुस्तक आए। प्रेम, यौन, विवाह मानिसको जीवनका अभिन्न अङ्ग हुन्। यस विषयमा लेखकले लेख्न छाड्नु हुँदैन भनेर बोल्दै आएको हो। यही सन्दर्भमा म प्रयास गर्छु भनेको हुँ। ‘प्रयास’ र ‘दाबी’ समानार्थी शब्द होइनन्। यसो भन्दा ममाथि अन्याय होला कि!

तपाईं आफूलाई धेरैजसो सुबिन भट्टराईसँग तुलना गर्नुहुन्छ रे! सुनेअनुसार तपाईंले उनलाई फेसबुक स्टाटसमार्फत् ‘प्रहार’ गरेका कारण तपाईंहरुको सम्बन्धमा दरार आएको छ। आफू पहिलेदेखि प्रेमबारे लेख्दै आएको तर, सुबिन छोटो समयमै चर्चित भए भन्ने लागेर तपाईंलाई पहिचानको संकट परेको हो?

हा…हा…हा… तपाईं सुबिन भट्टराईलाई मन नपराउन सक्नु हुन्छ, उनका कृति नपढ्न सक्नु हुन्छ। तर सुबिनलाई ‘इग्नोर’ गर्न सक्नुहुन्न। यो सत्य नेपाली साहित्यले जति चाँडो बुझ्छ, नेपाली साहित्यले उति चाँडो फड्को मार्छ। नेपाली साहित्यको बजार विकसित हुनुमा पहिलो भूमिका नारायण वाग्लेको ‘पल्पसा क्याफे’को छ। उनले नेपाली पुस्तक पनि एक वर्षमै हजारौं प्रति विक्री हुन सक्छ भनेर प्रमाणित गरे। दोस्रो भूमिका सुबिन भट्टराईको छ। उनले कहिल्यै साहित्य नपढ्ने युवालाई नेपाली पुस्तक पढ्ने बानी गराए। फेरि पनि भन्छु, तपाईं सुबिनलाई मन नपराउन सक्नुहुन्छ, उनका कृति नपढ्न सक्नु हुन्छ तर उनलाई इग्नोर गर्न सक्नुहुन्न।

तर, जवाफ त यो होइन।

सुबिनसँग मेरो हृदयको नाता छ। उनले मलाई दाजुका रुपमा सुरुमा गम्भीर कुराहरु गर्थे र अरु धेरै साथीहरु जस्तै मसँग पनि सुझाव–सहयोग माग्थे। साप्ताहिकमा अन्तरवार्ता गर्नेदेखि उनलाई नियमित स्तम्भ लेखाउन, विषय–वस्तुमा छलफल गर्नेसम्मका काम हामी गर्दथ्यौं। उनले मेरो कथा संग्रह ‘जुकरबर्ग क्याफे’मा सहयोग गरेका थिए। ‘आफूभन्दा जुनियरलाई धेरै महत्व दिएको’ भनेर कतिपयले मलाई त्यसो नगर्न सुझाव दिएका थिए। मैले सुनिन, एकोहोरो उनको वकालत गरेँ, गरिरहन्छु। उनको तेस्रो उपन्यास ‘मनसुन’ निस्कनुअघि त्यसको प्रचार होस् भनेर सबैभन्दा बढी फेसबुक स्टाटस मैले नै लेखें।

तर गल्ती के भयो भने मैले थाहै नपाई उनको निजी कुरामा हस्तक्षेप गर्न थालेको रहेछु। जब उनले समर लभको सिक्वेल लेख्ने कुरा गरे, मैले विरोध गरेँ। यो कदम उनको साहित्यिक जीवनको अन्त्य थियो। समर लभले अन्तरजातीय प्रेम र सहरी युवतीको मनोविज्ञानलाई जसरी प्रतिनिधित्व गरेको छ, सिक्वेलमा त्यो मर्छ भन्ने मेरो ठहर थियो, नभन्दै त्यो सत्य भयो। ‘औडाहा’ जस्तो कथा लेख्ने व्यक्ति, समर लभ जस्तो ‘ट्रेन्ड चेन्जर’ पुस्तक लेख्ने मान्छेले जब ‘साया’ लेखे, म निराश भएँ। मेरो सुझावलाई उनले सायद हस्तक्षेप ठाने।

म स्पष्टवादी मान्छे। दाइ भनेपछि र सुझाव मागेपछि दिनुपर्छ। यही भावअन्तर्गत मैले एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यही कुराले उनी  रिसाए। मैले माफी पनि मागेँ तर मुखले माफी दिए पनि मनले दिएका छैनन् भन्ने कुरा मनसुन निस्किएपछि थाहा पाएँ। माफी मागेर मैले बल उनको हातमा दिएको छु, हलुका भएको छु। उनी भारी भएर बस्छन् त म के गरौं?

हिजो पनि र आज पनि मलाई के लाग्छ भने युवाको विषय लेख्ने व्यक्तिहरुको घोषित अघोषित जस्तो हुन्छ, एउटा संगठन बनोस्। त्यसको नेता सुबिन बनुन्। साहित्य लेख्ने युवा पुस्तासँग यो संगठनले नियमित भेटघाट गरोस्, युवाका समस्यामा छलफल गरोस्। हामी मिलेर एउटा थोरै रकम नै सही, युवाका विषयमा लेखिएका पुस्तकका लागि पुरस्कारको घोषणा गरौं। अनेक थरीका राजनीतिक संगठन हुन्छन्, अनेक खालका पुरस्कार हुन्छन् भने युवा पुस्ताका पुस्तकलाई पुरस्कार दिने संगठन किन बन्दैन? मैले सुबिन र मेरो दोस्तीमा धेरै सम्भावना देखेको थिएँ। अचानक ‘ब्रेक’ जस्तै भयो।

सुबिन बिना यस्तो संस्था अपूरो हुन्छ। मैले आफ्नो प्रयासमा नयाँ लेखकहरुलाई सहयोग गरिरहेको छु। मिलन सङ्ग्रौला, सुरेश बादल, संघर्ष क्षेत्री जस्ता युवा केन्द्रित उपन्यास लेखिरहेका र संगठन गर्न सक्ने युवालाई लिएर अघि बढ्ने योजना छ। फेरि पनि यसको नेतृत्व सुबिनले नै गर्नुपर्छ। किनभने उनी यो क्षेत्रका ‘ट्रेन्ड चेन्जर’ हुन्।

यही अन्तरवार्तामार्फत् सुबिनलाई हृदय खुला बनाउन अनुरोध गर्दछु। आखिर फेसबुक स्टाटस हो, त्यसको आयु पुस्तक जस्तै लामो हुनुहुँदैनथ्यो।

प्रकाशकका दाबीअनुसार तपाईंको कथासंग्रह ‘जुकरबर्ग क्याफे’ ‘बेस्टसेलर’ भयो। तर, समीक्षकले यसलाई हलुका कृतिको सूचीमा राखिदिए! यसमा तपाईंको प्रतिक्रिया कस्तो छ?

सत्य हो, ‘जुकरबर्ग क्याफे’का केही कथा हलुका छन्। तर केही कथाले अहिलेका राम्रा भनिएका कथालाई सोच्न बाध्य बनाउँछन्। राम्रोको चर्चा नगरेर कमजोर सत्य हो, जुकरबर्ग क्याफेमा केही युवालाई मात्र मन पर्ने कथा जानेर नै राखिएको हो। समीक्षकको नजरमा त्यो कमजोर थिए भन्ने कुरा म स्वीकार गर्छु। तर त्यसमा समीक्षकको आँखा परोस् भनेर आधा भन्दा बढी गम्भीर मुद्दा उठाएका कथा पनि राखिएका थिए। त्यसको चर्चा नभएको देखेर म छक्क परेँ। विक्रीका हिसावले नेपाली कथासंग्रहमा सबैभन्दा बढी विक्री भएको भनिएको मात्रै होइन, रोयल्टी पनि लिइरहेकोले म जुकरबर्ग क्याफेबाट सन्तुष्ट छु। प्रकाशकले नेपाल सरकारलाई कर तिरेको कागज देखाएपछि गौरव पनि लागेको छ।

युवापुस्ता, विशेषगरी किशोर–किशोरीलाई लक्षित गरेर लेखिरहेका लेखकबारे समीक्षकहरु बहस नै गर्न चाहँदैनन्। यसरी बहिष्कार नै गर्नुपर्ने कारण के होला?

हामी राजनीतिबाट गाइडेड छौं। जुन दिन किशोर र युवा केन्द्रित राजनीति सुरु हुन्छ, त्यो बेला यी विषयमा पनि ठूल्ठूला बहस हुन्छ र कुन पुस्तकले युवाका कस्ता समस्या उठाए भन्ने कुराको विश्लेषण पत्रपत्रिकामा पढ्न पाइनेछ। साहित्यको विकास हुन सबै किसिमका पुस्तक लेखिनुपर्छ भन्ने कुरा धेरैले बिर्सिरहेको महसुस हुन्छ। हामी त्यो दिन कुरेर बसिरहेका छौं। कतिसम्म भने अमर न्यौपानेजस्ता चर्चित लेखकले लेखेका ‘करोडौं कस्तुरी’लाई समेत समीक्षकले उदास नजरले हेरेको देख्दा मलाई अनौठो लागेको छ। अहिले ‘पाठशाला’ पुस्तकको केही चर्चा भएको छ तर त्यो पर्याप्त छैन। यही डरले मैले ‘प्रेमालय’मा युवाको कथा लेख्दा लेख्दै पाको र बुढेसकालको प्रेमसम्म तन्काएको  हुँ। ताकि मनले पनि बुढा हुँदै गएका समीक्षकलाई जवान महसुस गराओस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.