नवाजुद्दिन सोच्थे, ‘जहिलेसम्म अरुलाई कुट्न पाउँदिन, तबसम्म घर फर्किन्नँ’


‘पहिले आफ्नो अनुहार ऐनामा त हेर।’

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी जब अभिनेता बन्ने आफ्नो सपना सुनाउँथे, प्रायःले यस्तै प्रतिक्रिया दिन्थे। बजारिया फिल्मले बनाएको ‘हिरो’ को परम्परागत मान्यताभित्र पर्ने अनुहार उनीसँग थिएन। अभिनेताका लागि चाहिने पहिलो सर्त हो, अभिनय कला। तर, उनका लागि सबैभन्दा ठूलो चुनौती भनेकै उनको अनुहार थियो।

भर्खरै स्नातक सकेर बसेका नवाजुद्दिनलाई एकदिन एउटा साथीले थिएटर लिएर गए। दर्शककै अगाडि कलाकारले प्रस्तुति दिने ठाउँ रंगमञ्च, कलाकारले दर्शकसँग ‘आइ कन्ट्याक्ट’ गर्दै कला प्रस्तुत गर्छन्। उनलाई कलाकार र दर्शकबीच रहने यस्तो प्रकारको सम्बन्धले निकै लोभ्यायो। त्यसै दिनबाट अभिनयको हुटहुटीले भरिएका नवाजुद्दिनले निणर्य गरे, ‘मलाई केही बन्नुछ भने कलाकार नै हो। त्यसका लागि चाहे जेसुकै गर्न किन नपरोस्।’

सपना र सार्थकताबीचमा आउने संघर्षलाई पार गरेर नै मानिस सफल हुन्छ। कलाकार बन्ने सपना बुनेर थिएटरमा अभिनय यात्रा तय गरेका नवाजुद्दिनले आफ्नो यही सपना पुरा गर्ने अभिलाषाका साथ थिएटरमा आवद्ध भए, तर उनको सपना पुरा हुन उति सजिलो भने थिएन। थिएटरमा कमाइ नहुने हुँदा उनले आफ्नो गुजाराका निमित्त चौकिदारीको काम रोज्नुपर्यो। दिनभरी चौकिदारका रुपमा उभिने उनी साँझ बम्बईस्थित ‘मण्डे हाउस’मा नाटक रिहर्सल गर्न पुग्थे।

संघर्षको यस्तो समयमा कुनैकुनै बेला उनको दिमागमा एउटा सोच झल्याकझुलुक आइराख्थ्यो, ‘गाउँ फर्किएर खेतिपाती गर्नपर्छ कि क्या हो?’
तर, लगत्तै अर्को सोचले यसमाथि आक्रमण गरिहाल्थ्यो। यसरी फर्किंदा उनको कल्पनामा गाउँलेले दिने सम्भावित प्रतिक्रिया खेल्थ्यो, ‘हामीले त भनेकै थियौं, पहिले आफ्नो अनुहार त हेर। यस्तो अनुहार भएको मान्छे अभिनयमा ‘फिट’ हुँदैन त हामीले पहिल्यै भनेका थियौं नि।’
यही सोचले लज्जाबोध गर्ने उनको एउटै विकल्प थियो, आफ्नो सपनालाई जसरी भए पनि पुरा गर्नु।

रंगमञ्चमा काम गर्दै गरेका उनले विस्तारै फिल्ममा अभिनय गर्ने अवसर पाए। प्रारम्भमा स–साना भूमिकामा अभिनय गर्ने मौका पाएका उनी जब गाउँ पुग्थे, उनलाई एक प्रकारको बेइज्जती महसुस हुन्थ्यो। उनका गाउँका मानिस फिल्मलाई त्यसरी नै बुझ्थे, जसरी आममानिस बुझ्छन्। उनीहरुलाई लाग्थ्यो, हिरो त्यो हो, जो अरुलाई कुट्छ। अरुलाई नकुट्ने हिरो हुनै सक्दैन।

नवाजलाई उनका गाउँले सोध्ने गर्थे, ‘के हो केटा, सबै फिल्ममा कुटाइ मात्र खान्छस् त? अनि कुटाइ खाएर गाउँ फर्कन्छस्। तँलाई यसरी गाउँ फर्कन लाज लाग्दैन?’

यसरी लज्जित हुनुपर्दा उनी मनमनै सोच्थे, ‘जबसम्म मैले कुनै यस्तो भूमिकामा अभिनय गर्ने अवसर पाउँदिन, जहाँ मैले अरुलाई कुटिरहेको हुन्छु, तबसम्म गाउँ नै फर्किन्न।’

यसैक्रममा उनले अनुराग कश्यपको ‘ग्यांग्स अफ वासेपुर’मा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए। त्यो भूमिका उनका गाउँलेले सोच्ने गरेजस्तो ‘हिरो’ त थिएन, तर मान्छे कुट्ने काम भने प्रशस्तै थियो। यो फिल्म रिलिज भएको केही समयपछि उनी घर फर्किए। तब गाउँलेले भने, ‘अब आयो नि शेरको बच्चो!’

बलिउडको ‘कमर्सियल’ धार होस् या कलात्मक सिनेमा, उनी धेरै निर्माता÷निर्देशकको रोजाइमा पर्छन्। कारण, उनी कुशल अभिनेता हुन्। उनीसँग परम्परागत मान्यतामा अटाउने ‘हिरो’जस्तो अनुहार त नहोला, तर उनीसँग अभिनय कला छ। जस्तोसुकै भूमिकालाई जीवन्त रुपमा प्रस्तुत गर्न सक्ने खुबी भएका नवाज चरित्रका लागि आफूलाई अनेक प्रयोग गरिरहेका हुन्छन्, कहिले गुण्डा, कहिले पत्रकार त कहिले के।
करियरको सुरुआतमा थुप्रै फिल्मबाट उनी अस्वीकृत भएका थिए। उनलाई लाग्थ्यो, ‘म एउटा रिजेक्टेड पिस हुँ।’

यो अवस्थामा आइपुगिएला भन्ने कहिल्यै नसोचेका उनी १२ वर्षसम्म स–साना भूमिकामै अल्झिरहेका थिए। तर, उनी कहिल्यै विचलित भएनन्। उनको खुसी यस्तै स–साना भूमिकामै छरपस्ट छरिएका थिए। उनले यसैमा रमाउन जानिसकेका थिए। विचलित हुनबाट जोगाउने अरु कोही थिएनन्, आफैं थिए। आफूलाई हौसला दिने उनको आफ्नै सूत्र थियो, ‘आफ्नो भूमिका चाहे सानो होस् चाहे ठूलो, त्यसलाई इमानदारपूर्वक निर्वाह गर्नुपर्छ।’

आफ्नो पहिलो मुख्य भूमिका भएकाले ‘ग्यांग्स अफ वासेपुर’ का हरेक कुरा उनी सम्झिरहन्छन्। उनलाई रमाइलो पनि लाग्छ। दर्शकलेसमेत सम्झिरहने भूमिका निभाएका नवाज यसमा लुङ्गी र चपप्ल लगाउने, तथानाम गाली गर्दै हिँड्ने, गुण्डागर्दी गर्ने, बन्दुक चलाउने ‘हिरो’ थिए।

फिल्मको अर्को रमाइलो कुरा सम्झँदा उनको ‘अपोजिट’मा रहेकी अभिनेत्री हुमा कुरेसीसँगको सम्बन्धलाई सम्झन्छन्। फिल्ममा हुमासँग उनले अन्तरंग दृश्य दिनुपर्ने थियो। हुमा उनीसँग दृश्यबारे सल्लाह गर्दा ‘भाइजान’ भनेर सम्बोधन गर्थिन्। तब नवाज निर्देशक अनुराग कश्यपसँग ठट्टा गर्दै भन्थे, ‘हेर न, यसरी भाइजान भनेपछि त्यस्तो … दृश्य कसरी दिन सकिन्छ?’

पहिलो प्रेमलाई नवाज कसरी सम्झिन्छन् त?

यो उनी गाउँ छँदैको कुरा हो। छतमा बसेर उनी चंगा उडाउँथे। उनको अभिप्रायः चंगा उडाएर मनोरञ्जन लिनु हुन्थेन, प्रेमको मज्जा लिनु हुन्थ्यो। उनी चंगामा प्रेमपत्र टाँसेर उडाउँथे। उनी सोच्थे, त्यो चंगा आफूले मन पराएको युवतीको छतमा पुगोस्। उनले चंगामा प्रेमपत्र भेटुन्। तर, चंगा हावामा उड्ने चिज न प¥यो! युवतीको छतमा पुग्न पुग्न खोज्थ्यो, विपरित दिशाबाट आउने हावाका झोंक्काले चंगालाई बत्ताएर अन्तै पु¥याउँथ्यो। नवाजका यस्तै थुप्रै प्रयास विफल भए। आकर्षणबाट प्रेममा बदलिन सक्ने सम्भाव्यतालाई हावाले चिरिदियो।

उनको दिमागबाट ती युवती अझै हराएकी छैनन्। हालसालै उनले गाउँकै साथीलाई भनेछन्, ‘त्यो केटीलाई गएर भन् न यार, म फिल्ममा देखिन्छु भनेर। उसलाई मेरो फिल्म हेर्ने गर भनिदे न।’

ती साथीबाटै उनले थाहा पाए, ती युवतीको त बिहे भइवरी पाँच/६ वटा सन्तान पनि जन्मिइसकेछन्। श्रीमान यति ‘कठोर’ छन् रे कि, फिल्म हेर्न जान त के बाहिर निस्कनसमेत दिँदैनन् रे।

अहिले उनै युवतीलाई सम्झदाँ नवाज भन्छन्, ‘धन्यवाद! कहीँ न कहीँ म तिम्रै कारणले पनि अहिले अभिनयको दुनियाँमा छु। म तिम्रै कारणले बाहिर निस्कन सिकेँ।’

रुपकै कारण उनलाई अभिनय क्षेत्रमा मात्र होइन, युवतीले पनि उनलाई पत्याउँथेनन्। त्यसैले कयौंपटक उनले आफूले मन पराएकी युवतीलाई प्रेम प्रस्ताव राख्ने आँटै जुटाउन सकेनन्।

रुपको अर्को किस्सा पनि नवाजसँग छ।

फिल्म ‘बाबु मुसय बन्दुकवाज’ मा चित्रांगदा नाम गरेकी अभिनेत्रीले फिल्मको आधा सुटिङ छाडेर हिँडेकी थिइन्। निर्देशकले नवाजुद्दिनसँग अन्तरंग दृश्य गर्न लगाउँदा उनले फिल्म नै छाडेकी थिइन्। पछि ती अभिनेत्रीले भनिछन्, ‘योजस्तो रुप न रंगको मान्छेसँग कसरी यस्ता दृश्यहरु गर्न सकिन्छ?’

देख्दा सरल, शान्त र सौम्य देखिने नवाजुद्दिन बेला–बेला विवादमा पनि फस्छन्।

कुनै समय उनले रंगभेदको विषयमा लेखेको ट्वीट निकै चर्चामा आएको थियो। उनले लेखेका थिए, ‘धन्यवाद, मलाई यो बताएकोमा कि, म कालो छु र मलाई गोरो र सुन्दर व्यक्तिसँग एकसाथ लिइँदैन। तर, मलाई यी सबै कुराहरुको मतलब पनि छैन।’

अहिले यसरी खरो प्रस्तुत हुने नवाजुद्दिन कुनै समय रुपकै कारण आफूलाई निकै कमजोर महसुस गर्थे। अहिले उनको आत्मविश्वास यति बढेको छ, ‘डार्क इन डिमान्ड इन कलकता’, ‘डार्क इन डिमान्ड इन पुने’ भन्दै सामाजिक सन्जालमा आफ्ना तस्विरहरु पोष्ट गरिरहेका देखिन्छन्।

नवाजुद्दिन अहिले ढुक्कका साथ भन्छन्, ‘आफ्नो रुपभन्दा काममा ध्यान दिनुहोस्। तपाईंको सुन्दरता भनेको आफूभित्र लुकेको सुन्दरता हो। जुन हरेक मान्छेमा हुन्छ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.