… बाबुआमाका अगाडि म बदमास जापानी बालक

नोबल पुरस्कार विजेता लेखक भन्छन्:


काजुओ इसिगुरो विश्व साहित्यका चर्चित अनुहार हुन्। हालै साहित्यतर्फको नोबल पुरस्कार जितेपछि भने उनी झनै चासोको केन्द्रमा परेका छन्। जापानमा जन्मिएर बेलायतमा हुर्किएका उनी शान्त र सुक्ष्म उपन्यास लेख्छन्, जसले असामान्य अवस्थामा रहेर विगतले पिरोलिएका विभिन्न मानिसका कथा भन्छन्। यो अन्तर्वार्ता सन् २००५ मा प्रकाशित भएको हो। विगतको बारेमा लेख्न मन पराउने उनी आजभन्दा १० वर्ष पहिला के लेखिरहेका थिए भन्ने थाहा पाउन यसले मद्दत पुर्याउँछ।

‘नेभर लेट मि गो’ २३ वर्षमा तपाईंको छैठों उपन्यास हो। तपाईंले अलिक ढिलो लेखिरहनुभएको जस्तो देखिन्छ नि। यस्तो किन?

मलाई चाँडो लेख्नुपर्छ भन्ने कहिल्यै लागेन। किताबको सङ्ख्या थप्नलाई मैले योगदान दिनुपर्छ भन्ने छैन। धेरै लेख्नुभन्दा पनि केही फरक किताब लेख्नु महत्त्वपूर्ण हो जस्तो लाग्छ।

तपाईंको किताब अङ्ग्रेजीमा करोंडौ प्रति बिक्री भइसकेका छन् भने अन्य २८ वटा भाषाहरूमा पनि अनुदित छन्।

म त्यस्तो अङ्कको पनि हिसाब गर्दिन। तर मलाई के लाग्छ भने धेरै बिक्ने र थोरै बिक्ने लेखकहरूमा अहिलेको समयमा ठूलो अन्तर छ। ठूला भनिएका तथा नोबेल पुरस्कार नै जितिसकेका लेखकहरूको पनि किताब थोरै बिक्ने गरेका छन्। त्यसैले एउटा लेखकले कस्तो जिन्दगी बिताउँछ भन्ने बारेमा बुझ्नु धेरै गाह्रो लाग्छ। लेखकहरू अर्बपति पनि हुन सक्छन् वा भोकभोकै लेखिरहेका पनि। तर पछिल्लो १० या १५ वर्षमा अङ्ग्रेजीमा लेख्ने लेखकहरूलाई विश्व बजारमा स्तापित हुन सम्भव हुँदै गइरहेको छ।

जर्मनीका युवा लेखकहरू भन्छन्, अहिले जर्मनीमा राम्रो प्रतिष्ठा पाउनु छ भने सफल अमेरिकी उपन्यासकार हुनुपर्छ।

यो प्रशंसायोग्य कुरा हो किनकि कम्तीमा जर्मनीका मानिसहरूले अमेरिकी वा बेलायती लेखकहरूप्रति ध्यान दिइरहेका छन्। तर यस्तो सोचाइ र ट्रेन्डले मलाई ‘डिस्टर्ब’ गर्छ। हरेक देशको आफ्नै साहित्यिक परम्परा ‘लिटरेरी ट्रेडिसन’ मुख्य केन्द्रबिन्दुमा हुनुपर्छ। तर यसको मतलब अरू देशको बारेमा इच्छा नै नराख्नु भनेको हैन।

एउटा अन्तर्राष्ट्रिय लेखक हुनु वास्तवमा के हो?

एउटा महत्त्वपूर्ण कुरा के भने मानौं, मैले यहाँ जर्मनीमा केही समय बिताएँ वा कतै पुगेर मैले कुनै अनुच्छेद किन लेखेँ भनेर बताएँ। जब म घर जान्छु र नयाँ किताब लेख्न थाल्छु, मेरो दिमागमा कतै मलाई थाहा हुन्छ कि मैले लेखिरहेको भोलि गएर अनुवाद हुनेछ। कुनै कुनै बेला अङ्ग्रेजीमा सहजै व्यक्त भएको कुरा अरू भाषामा नहुन सक्छ। सांस्कृतिक भिन्नताले त्यहाँ भूमिका खेल्छ। फलस्वरूप म त्यस्ता अप्ठ्याराहरू आफ्नो लेखनमा आउन नदिन सचेत हुन थाल्छु। त्यो धेरै जोखिमपूर्ण पनि हुन सक्छ।

तपाईं आफूलाई ‘ग्लोबल राइटर’ हुनको लागि उपयुक्त छु जस्तो लाग्छ? जापानमा जन्मिनुभयो, पाँच वर्षको छँदा आमाबाबुहरूसँगै बेलायत आउनुभयो। जापानको संस्कृतिसँग अझै गाँसिनुभएको छ जस्तो लाग्छ?

साँचो हो कि इङ्ल्याण्ड मेरो घर हो। तर मेरो बुवा आमा दुवै जिउँदै हुनुहुन्छ। यदि उहाँहरूसँग अहिले फोनमा कुरा गरेँ भने म एकदमै बदमास जापानी बालक भइहाल्छु। बाल्यकालमा सिकेको त्यही मात्र एक भाषा छ जुन म उहाँहरूसँग बोल्न सक्छु। जापान फर्किने योजना जहिल्यै थियो। मेरो बुवा बेलायती सरकारको काम गर्ने वैज्ञानिक हुनुहुन्थ्यो। उहाँको काम अस्थायी थियो। ४५ वर्षपछि पनि यो त्यही छ। तर मलाई भने जापान फर्किएर त्यहाँको समाजसँग घुलमिल हुन सक्नेगरी हुर्काइँदै थियो।

एक एसियाली बालकको रूपमा बेलायत पुग्दा कागको बथानमा बकुल्लो पुगेजस्तो भएन?

यस्तो कहिल्यै भएन। म स्थानीय ठाउँमा धेरै चर्चित थिएँ। स्थानीय चर्चमा बाजा बजाउने भएकाले मलाई धेरैले चिन्थे। बेलायतीहरु त्यो रूपमा दिलचस्पी लाग्छन्। कुनै तहसम्म उनीहरू जातिवादी भएजस्तो लाग्छ तर व्यक्तिगत रूपमा उनीहरू धेरै खुला छन्। बेलायत बहुसाँस्कृतिक हुनुभन्दा पहिला नै म त्यहाँ हुर्किएको हुँ। त्यसैले अहिले बेलायतले जे गुमायो, मलाई त्यसको कहिलेकाहीँ सम्झना हुन्छ। बेलायतको मेरो बाल्यकाल त कतै हराइसक्यो। मध्य ६० को दशकदेखि धेरै बेलायतीहरूले भारतीय प्रायद्विपबाट आएका मानिसहरूप्रति पूर्वाग्रह राख्न थाले। तर म बालक हुँदा त्यस्तो कुनै प्रतिक्रिया थिएन।

तपाईंको पछिल्लो उपन्यासको सेटिङ बेलायतमा छ तर यो धेरै ‘इङ्लिस’ त लाग्दैन नि?

बेलायतको बारेमा मैले कहिल्यै किताब लेख्ने सोचेको थिइनँ। म यहाँका धेरै राम्रा बेलायती लेखकहरूलाई चिन्छु, जो बेलायत समाजको ज्वरो नाप्न लालायित छन्। तर म यसलाई ‘इङ्ल्याण्ड’ भन्छु र यो एक काल्पनिक सेटिङ मात्र हो। जब मैले ‘दि रिमेन्स अफ दि डे’ लेखेँ, धेरै मानिसहरूले त्यसलाई ‘इङ्लिस नोबल’ भने। त्यो इङ्ल्याण्ड पनि त बनाइएको इङ्ल्याण्ड हो नि।

यसले जर्मनहरूसँग भएका धेरै त्यस्ता बेलायतीपनका पूर्वाग्रही धारणाहरूबारे बोल्छ हैन?

हो। मलाई लाग्छ जर्मनसँग मात्र हैन संसारमा भएका हरेक व्यक्तिहरूसँग त्यस्ता पूर्वाग्रहहरू छन्। त्यसैले यो एकप्रकारले अन्तर्राष्ट्रिय सेटिङ हो। इङ्लिस मानिसहरूसँग नै पनि इङ्ल्याण्ड यस्तो हो भन्ने खाले मिथहरू छन्। नयाँ उपन्यासमा भएको इङ्ल्याण्ड र ‘रिमेन्स अफ दि डे’ मा भएको इङ्ल्याण्ड बिल्कुलै फरक छन्।

यो एक प्रकारको ग्रामिण इलाका हो हैन त?

तर यो सुन्दर ग्रामिण इलाका भने हैन। यो बेरङ, चिसो र ग्रे छ।

‘नेभर लेट मि गो’ अलिक निराशाजनक छ। तपाईंले ती जवान व्यक्तिहरू, सबैलाई एकदमै डरलाग्दो अवस्थामा पुर्याउनुभयो तर तिनले विद्रोह गर्दैनन्। तपाईंले मानेको मानव जीवनको अवस्था यस्तै हो त?

मैले मान्नैपर्छ कि मेरा हरेक किताबहरूमा यो गुणस्तर हुने गर्छ। ‘दि रिमेन्स अफ दि डे’ को बटलरलाई नै हेरौं। इङ्ल्याण्ड र नाजी जर्मनीको इतिहासमा ऊ कहाँनेर मिल्छ भन्ने उसलाई थाहा छैन। ऊ हरेक कुरा स्वीकार गर्छ र थोरै गौरव वा इज्जतको उद्धार गर्ने प्रयत्न गर्छ। ‘नेभर लेट मि गो’ मा मलाई सुरुबाट के थाहा थियो भने म विद्रोह गर्ने कुनै दास बनाइएको, दमन गरिएको वर्गको बारेमा लेख्दै थिइनँ। मेरो विषय कुनै मानव आत्माको विजयको बखान गर्नु हुँदै हैन। म त सीमित तर क्रुर भाग्यलाई स्वीकार गर्ने मानवको क्षमताबारे लेख्न इच्छुक थिएँ।

एक अमेरिकी समालोचकले ‘नेभर लेट मि गो’ लाई काफ्का र बेकेटको कामसँग तुलना गरेका छन् नि?

मलाई लाग्छ काफ्का र बेकेटको जस्तै मेरो कामलाई पनि अमुर्त रूपमा हेर्ने उनको दृष्टिकोण हो जस्तो लाग्छ। त्यस मानेमा उनी सत्य छन्। पुरै लेखन यात्रामा मैले मानिसहरूलाई मेरो किताब बिम्बात्मक तहमा पढ्नका लागि प्रेरित गर्न सकिन। म सेटिङसँग अलिक कम आत्मिए भएँ। मेरो उपन्यासमा सेटिङ केवल लेखन टेक्निकको एक भाग मात्रै हो। म यसलाई प्राय:जसो अन्तिममा छान्ने गर्छु।

पात्रहरूबाट सुरु गर्नुहुन्छ?

म प्राय: सम्बन्धहरू वा प्रश्नहरू तथा थिमबाट सुरु गर्छु। सेटिङ जहिल्यै पनि अन्तिममा आउँछ। जब म उपन्यासको तयारी गरिरहेको हुन्छु, यो मेरो लागि सबैभन्दा ठूलो समस्या हो। मसँग पहिला पुरै कथा तयार हुन्छ अनि म त्यो कथा भन्ने उपयुक्त लोकेसन खोज्न थाल्छु। त्यसका लागि विभिन्न ऐतिहासिक किताबहरू पढ्छु, सोचमग्न हुन्छु। मेरो पहिलो उपन्यास विश्वयुद्ध सकिएपछिको नागासाकीमा सेट गरिएको थियो, तर मैले सुरु गर्दा भने त्यसलाई कर्नवालमा सेट गरेको थिएँ।

तपाईंलाई पढ्दा अर्का लेखक डब्लु जी सेवाल्डको सम्झना हुन्छ। उनको लेखनमा गहनतासँगै सरलता र सुक्ष्मता पाउन सकिन्छ। उनका पनि त्यस्ता न्यारेटरहरू हुन्थे, जसले आफ्नो जीवन र इतिहासलाई प्रतिबिम्बित गर्थे।

हो, मैले पनि सेवाल्डलाई पढेको छु। उनी बित्नुभन्दा पहिला केहीपल्ट भेटेको पनि थिएँ। तर म उनीबाट प्रभावित भएको भने भन्दिन। उनलाई मैले पहिलोपल्ट पढेको धेरै भएको छैन। उनी बेलायतमा लामो समयदेखि पढाइरहेका थिए तर हामीले उनको ‘दि इमिग्रान्ट्स’ अनुवाद भएर आएपछि मात्र उनलाई पढ्यौं। दु:खद कुरा २००१ मा कार दुर्घटना भएर उनी बिते। म उनले पढाउने इस्ट एंगिला युनिभर्सिटी पुगेको थिएँ तर त्यसबेला उनलाई त्यहाँ कमैले ध्यान दिए। उनीहरू हाम्रो संस्कृतिलाई अमेरिकाको जस्तो बनाउन तल्लिन थिए त्यसैले धेरै लेखक वा भनौं सम्भवत: सबैभन्दा उत्कृष्ट लेखकहरू पनि त्यो युनिभर्सिटीमा चुपचाप भएर तुलनात्मक साहित्य पढाइरहे। मलाई लाग्छ, यो धेरै हाँसउठ्दो सत्य हो।

तपाईंका साहित्यिक प्रेरणाहरू को-को हुन् त?

दोस्तोयव्स्की, टलस्टोय र चेखव। उनीहरूलाई मैले सानो हुँदादेखि नै पढेँ। अन्य केही अङ्ग्रेजी लेखकहरू पनि छन्। जापानी भने लेखकहरू भन्दा पनि १९५० ताकाका फिल्ममेकरहरू छन्। जस्तै यासुजिरो ओजु, अकिरा कुरोसावा। जापानी साहित्यलाई अनुवादमा पढ्दा मलाई कता के नमिलेको जस्तो लाग्छ। पछिल्लो समय हारुकी मुराकामीलाई पढ्दा भने त्यो समस्या अलिक कम भएको छ। उनको अनुवादमा भने म जापानसँग बाँधिन सक्छु। उनी धेरै सबल अन्तर्राष्ट्रिय लेखक हुन्।

मुराकामीले अमेरिकी र बेलायती ‘पप कल्चर’लाई निश्चित जापानी पक्षहरूसँग मिसाउँछन् हैन?

हो र म सोच्छु जापान त्यस्तै पनि छ। मलाई कुरोसावाले २० वर्ष पहिलाको समय बोलेको सुन्न मन छ र उनले त्यही कुरा बनाइदिए। उनलाई कसैले सोध्यो ‘सेक्सपियरलाई किन एडप्ट गर्नुहुन्छ, यो त तपाईंका लागि धेरै नै अन्तर्राष्ट्रिय कुरा भएन?’ उनले भनिदिए ‘यो एकदमै प्राकृतिक कुरा हो।’ किनकि उनी सेक्सपियरसँगै धेरै फ्रेन्च तथा रसियन लेखकहरूसँग हुर्किए। उनले भने, ‘साँच्चैको जापनिज मान्छे यस्तै हुन्छ।’ यदि तपाईं टोकियो जानुभयो भने त्यहाँ पपुलर कल्चर र जापानको ‘ट्रेडिसनल कल्चर’ मिसिएको पाउनुहुन्छ।

तपाईंका धेरैजसो उपन्यासहरू कुनै एक व्यक्तिले आफ्नो विगतको बारेमा सोचेको विषयमा छन्। त्योभन्दा फरक केही लेख्न चाहनुहुन्छ? कविता वा कुनै नाटक?

म केही पटकथाहरु लेखिरहेको छु र त्यो मेरो लागि काम गर्ने विल्कुलै नौलो तरिका भइरहेको छ। मैले अरू मानिसहरूसँग पनि सहकार्य गर्छु। त्यसो गर्दा मेरो विभिन्न पक्षहरू सक्रिय हुन्छन् र म ताजा महसुस गर्छु। तर म मानिसको याद र सम्झनाहरूसँग धेरै मोहित हुन्छु। त्यसैले व्यक्तिले विगत सम्झिएका कथा लेख्छु। अब मलाई कुनै एउटा पूर्ण समाज वा राष्ट्रले कसरी सम्झिन्छ वा बिर्सिन्छ भन्ने कुरासँग लड्न मन छ। कतिबेला सम्झिनु राम्रो हो र कतिबेला बिर्सिनु राम्रो हो? भन्ने प्रश्नको जवाफ खोज्न चाहन्छु।

जर्मनीमा नाजीको विगतले गर्दा ६० को दशकयता धेरै ठूल्ठूला समस्याहरू आइरहेका छन्।

हो, जर्मनी त्यस्तो ठाउँ हो जहाँ यो एकदमै चेतनाको स्तरमा गरियो। मलाई लाग्छ, विगत सम्झिने काम जर्मनहरूले अन्य देशहरूको तुलनामा निक्कै मिहिन र सफल रूपमा गरेका छन्।

जापानीहरूको तुलनामा?

जापानीहरूको तुलनामा भन्दा हो। तर मलाई लाग्छ अमेरिकासँग दास प्रथाको धेरै कष्टकर सम्झना बाँकी छ। केही मानिसहरू भन्छन्, चुपचाप हुन्छ र अगाडि बढ्छन्। काला जातिहरूको लागि त्यो सम्झिनु राम्रो हैन र विगत कोट्याएर ती सबै कुरा ल्याइरहनु गोराहरूको लागि पनि राम्रो हैन। तर विगत नसम्झिएसम्म समाज कहिल्यै पनि अगाडी बढ्न सक्दैन। नाजी, फ्रान्स तथा स्कान्डिनाभियन देशहरू ले औपनीवेश बनाएका सबै देशको हकमा पनि यही कुरा लागु हुन्छ। विगत उत्खनन गरेर हेर्नु राम्रो हो कि बिर्सिएर अगाडि बढ्नु राम्रो? सबै देशहरूसँग अहिले यही प्रश्न मुख्य छ।

नित्सेले एकपल्ट भनेका थिए कि ‘बिर्सिएर स्वतन्त्र हुन सकिन्छ।’

यो एकदमै ठूलो विषय हो। मलाई लाग्छ, मेरा किताबहरू त्यस्ता देशहरूमा केन्द्रित छन् जुन एकातिर ठूलो सामाजिक परिवर्तनको बाटोमा लागिरहेका छन् भने अर्कोतिर मानिसहरू विगतलाई सम्झिइरहेका छन्। तर म यी दुवै पक्षलाई एकै ठाँउमा ल्याउन असमर्थ भइरहेको छु। यो एकदमै ठूलो चुनौती हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.