त्यहाँ–त्यहाँ र यहाँ–यहाँ

तस्बिर- आरके अदीप्त गिरी


‘किंवदन्ती छ नि, छोरा मान्छे जन्म्यो भने यहाँ–यहाँ भनेर रुन्छ अरे; छोरीमान्छे जन्म्यो भने कहाँ–कहाँ भनेर रुन्छ अरे। त्यही यहाँ–यहाँ भनेरै रोइयो होला।’

यसरी उनी आफ्नो पहिलो रुवाइको अनुमान लगाउँछन्। वि.सं. १९९६ साउन २५ गते बुधवार पाँचथर जिल्लाको पौवा गाउँमा पहिलोपटक बैरागी काइँला ‘यहाँ…यहाँ’ गरेर रोए। उनको गाउँ घामतिर फर्केको छ, दक्षिणतिर। बिहान उदाएदेखि नअस्ताइन्जेल घाम लाग्छ। उनी त्यही घाम तापेर हुर्के। तर देशको व्यवस्था अँध्यारो थियो। शिक्षाको घाम उदाए पनि लागेको थिएन। लागे पनि जनताको घरमा लागेको थिएन।

अहिले ७८ वर्षको उमेरमा पनि उनी अबोध बालकजस्ता लाग्छन् भने त्यतिखेर कस्ता थिए होलान्? चुपचाप बस्ने, लजालु, अन्तर्मुखी, कसैलाई प्याच्च केही नभन्ने, चिन्तक र अध्ययनशील काइँलालाई बाबुआमाले आफूले थाहा नपाउँदाको बाल्यावस्थाका बारेमा केही बताएनन्। उनी भन्छन्, ‘आमाहरुले पहिलो सन्तानको बारेमा बढी सम्झेलान्; म त चौथो।’

उनलाई बाबुआमाले लोलोपोतो पारेको र पुल्पुल्याएको केही सम्झना छैन। उत्पात आत्मीयता भएजस्तो पनि लाग्दैन। ठूलो परिवार, धेरैको थोरैथोरै हात पाएर उनी हुर्के।

बाबुहरु तीन दाजुभाइ; तिनका धेरै सन्तान; ठूलो परिवार, ठूलो गोल। कति त जन्मेर हुर्किएपछि मात्र थाहा भएजस्तो हुने। बढिसकेपछि मात्र ओहो! यत्रो भएछजस्तो लाग्ने।

उनी पनि त्यसरी नै हुर्के तर जिम्मेवारपूर्ण अभिभावकत्वमा हुर्के।

उनका आमाहरु नै छजना। उनी माइलीपट्टिका काइँला छोरा। बाबु थिए डबल सुब्बा— खड्गप्रसाद नेम्वाङ। गाउँमा ठूलो रवाफ थियो; गम्भीर र विचारी थिए। अग्ला, ठूलो निधार र फराकिलो अनुहार भएका ओजस्वी व्यक्तित्वका धनी। उनी बाबुको छेउ पर्नै डराउँथे; बाबुले पनि माया देखाएर छेउमा या काखमा बोलाउँदैनथे।

सानो छँदा उनले परिवार र आफन्तपछि उनले घरमा भएका कुखुरा, सुंगुर, गाई, गोरु, बाख्राहरु देखे। तर उनले भैंसी धेरै पछाडि मात्र देखे, गाउँबाट पर इलामसम्म जान सक्ने भएपछि।

बालक काइँलालाई ती पशुपन्छीहरु पनि हाम्रै परिवार र आफन्त हुन जस्तो लाग्थ्यो। सानोमा उनी यतिसम्म लज्जालु थिए कि कहिले त ती पशुहरुसँग खेल्न मन लागेर पनि लजाउँथे। बालक भए पनि उनी साना र चिम्सा आँखाले कुनै पनि वस्तु, घटना र जीवलाई गहिरिएर हेर्थे तर तिनका बारेमा कुनै प्रतिक्रिया जनाउँदैनथे।

त्यो बेला उनको गाउँमा यति धेरै आलु उत्पादन हुन्थ्यो कि त्यो आलु दार्जीलिङ हुँदै सिलगुडी र पटनासम्म पुग्थ्यो। त्यही सिलसिलामा उनका बाबु धेरै इलाम बस्थे। त्यहाँ नाका थियो।

उनको परिवारमा राजनीतिक चेतना पनि उत्तिकै थियो। ००८ सालमा बीपी गृहमन्त्रीको हैसियतले गाउँमा गएको उनलाई सम्झना छ। ००७ सालको क्रान्तिमा उनका बाबुले बन्दुक दिएर क्रान्तिलाई सहयोग गरेका थिए।

लिम्बू समाजमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतनामा उनका बाबु एक नम्बर थिए। त्यो बेलामा पनि शिक्षामा चासो थियो। उनको अक्षराम्भ कुनै परम्परागत तरिकाले भएन। ००७ सालमा गाउँमै मिडिल स्कुल खुल्यो तर उनी ००५ सालमा नौ वर्षको उमेरमा इलाम पढ्न आए। दूधेखरीले काठको पाटीमा लेखेर अक्षर सिके।

पछिबाट उनले थाहा पाए, उनको गाउँका अचार्ज र भट्टराईहरुले अलि पढेका रहेछन्। उनीहरु सिकाउने र पण्डितहरु थिए। व्यासमा बसेर पुराण पनि भन्थे। उनलाई एक पण्डितले भने— ‘नानी! यहाँ बस्न धेरै पढ्नुपर्छ।’

उनले हाँस्दै भने, ‘पछि त कति अचार्जहरु खोया बिर्कोमा पो लागे। हामीलाई टीका लगाइदिने र हामीले खुट्टा ढोगिदिनेहरु यस्तो भए।’
पढाइको सिलसिलाले गर्दा दशैं र हिउँदे बिदामा उनी घर जान्थे। प्रत्येक पटक जाँदा उनलाई गाउँ नौलो लाग्थ्यो; सायद उनलाई देखेर गाउँलाई पनि नौलो लाग्दो हो।

उनी सधैँ बाबुको परपरै बसे। बाबुको व्यक्तित्व गम्भीर, कम बोल्ने र कडा थियो। त्यसैले बाबुसँग खासै हार्दिकता साटिएन; संरक्षण भने ठूलै पाए। बाबुसँग भन्दा आमासँग नजिक भए पनि उनी उस्तो नजिक भएनन्।

उनका बाबुको अनुहार झट्ट हेर्दा माओत्से तुङको जस्तो। ठूलो निधारमुनि फराकिलो र ओजिलो मङ्गोलिएन अनुहार।

आठ नौ साल हुनुपर्छ; इलाममा बसेर पढ्दाको कुरा। त्यो बेला शिक्षकलाई तलब दिन पनि तिहारमा देउसीभैलो खेलेर या नाचगान गरेर पैसा उठाउनुपथ्र्यो। उनी रातभरि नाचगानमा हिँडेर बिहानीपख मात्र घर आए। बाबुले सोधेछन्, ‘रातभरि कहाँ गएको थिइस्?’

उनी केही बोलेनन्। धेरै कुरा नभनी बाबुले कस्सेर एक झापड हाने। उनले तोरीको फूल देखे। उनका बाबुले हिर्काएको यत्ति हो। किनभने उनी सानोमा पनि शान्त, चुपचाप र लजालु थिए। गल्ती असाध्यै कम गर्थे।

इलाम छोडेर ०११ सालमा उनी दार्जिलिङको गभर्मेन्ट हाईस्कुलमा आठ कक्षामा भर्ना भए। उनी भर्ना हुँदा त्यहाँ सूर्यविक्रम ज्ञवाली हेडमास्टर थिए। त्यहाँ हेडमास्टर भएर रहनका लागि त्यो वर्ष सूर्यविक्रमको अन्तिम वर्ष थियो।

सूर्यविक्रमले नै ‘अमरसिंह’ नाटक लिएर आउन बालकृष्ण समलाई दार्जिलिङ बोलाए। उनले त्यहीँ समलाई देखेका थिए। सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित आदि कविहरुलाई पनि त्यहीँ देखे।

कवितासँगको उनको प्रेम अझ गाढा बन्दै गयो।

दार्जिलिङमा भानुजयन्ती भव्य रुपमा मनाइन्थ्यो। उत्साही साहित्यकारहरुले चाडझैँ मनाउँथे। नेपाली साहित्य सम्मेलन, नेपाली शिक्षा परिषद, गोर्खा दुःख निवारक सम्मेलन जस्ता साहित्यिक तथा समाजिक संस्थाहरु यसमा सहभागी हुन्थे। सबैका अगुवा थिए अगमसिंह गिरी।

उनले पनि कविता कार्यक्रममा भाग लिन्थे र पुरस्कार पनि पाउँथे। बिस्तारै कवितामा दिल बस्दै गयो।

आईएसी पढेपनि स्नातक तहमा भने उनले दर्शनशास्त्र र अर्थशास्त्र पढे।

उनलाई थाहा छैन, साहित्यमा पहिलो प्रभाव कसले पा¥यो। तर प्रभावचाहिँ पा¥यो। कवितामा देवकोटा, लेखनाथ, समको प्रभाव हाईस्कुलमै परेको थियो। कथामा चाहिँ भिक्षु, गोठाले र पुष्कर शमशेरहरुको प्रभाव प¥यो।

त्यतिखेर देवकोटा एउटा मिथजस्तो भएर आएका थिए। अहिले आएर हेर्दा उनलाई लाग्छ, सम असाध्यै गहिरो लेखक हुन्। कहिलेकाहीं सोच्छन् ‘उनले राणा भएकै कारण उपेक्षित हुनुपरेको हो?’ उनलाई समको चिन्तन र प्रयोगशीलता मन पर्छ। समको ‘फुटेको फूलदान’ कविता असाध्यै मन पर्छ।

‘विचार नै कविता भए त मानिसले बोलेकै छ; साधुसन्त र महापुरुषहरुले बोलेकै छ। त्योभन्दा राम्रो कविता अरु के हुन्छ? कवितालाई वहन गर्ने भाषा, रुप, संरचनाले मात्र कविता हुन्छ।’ कविताका सम्बन्धमा उनको आफ्नै धारणा छ।

२०१२ सालमा पहिलोपटक भारती पत्रिकामा उनको समस्यापूर्ति छन्द कविता छापिएको थियो।

यी लजालु काइँलाले २००८ सालमा पहिलो पटक इन्द्रबहादुर राइलाई इलामको करफोकमा देखेका थिए; आफूले मात्र देखेका थिए। त्यो बेला महानन्द सापकोटा लगायतले खोलेको करफोक विद्यामन्दिर भन्ने स्कुलमा राई हेडमास्टर भएर आएका थिए।

होचोहोचो, गहुँगोरो, फुत्रुकफुत्रुक उफ्रिहिँड्ने इन्द्रबहादुर राई कस्तो छुच्चो पो होलाजस्तो उनलाई लाग्यो। भेट भने पछि मात्र दार्जिलिङमा भयो।

वि.सं. २०१५ सालको आमनिर्वाचन हुने बेला बीपी दार्जिलिङ आएका थिए। त्यति बेला पूर्वकाहरु कि धनकुटाबाट हिँड्दै कि दार्जिलिङ भएर काठमान्डु जानुपथ्र्यो। त्यतिबेला बीपीको स्वागतमा दर्जिलिङमा ठूलो साहित्यिक कार्यक्रम भएको थियो। त्यहाँ बीपीले सात्र्र र कामुलगायत साहित्यका बारेमा धेरै कुरा गरे। बीपीले त्यहाँ दिएको भाषणको पनि उनमा ठूलो प्रभाव प¥यो। त्यसपछि दार्जिलिङको वातावरण नै अर्कै भयो।

२०१३ सालमा ईश्वर वल्लभ भेट भए। वल्लभ शास्त्री सकेर दार्जिलिङमा शिक्षक भएर आएका थिए, जुन बेला उनी विद्यार्थी नै थिए। घनिष्टता बढ्यो र ०१५ सालको हिउँदे बिदा मनाएर दार्जिलिङ फर्केपछि सँगै एउटै कोठामा बस्न थाले।

अलि छुच्चो, प्याच्चप्याच्च बोलि हिँड्ने वल्लभ प्रखर थिए; सुरुसुरुमा गद्य कविता लेख्नेलाई कवि नै मान्दैनथे; गाली गर्थे। उनी राम्राराम्रा कथा लेख्थे। पछि त उनी नै घगडान गद्यकवि भएर निस्किए। काइँलालाई लाग्छ, ‘कथामा लागि बसेको भए कवितभन्दा कथाकार बढी हुन्थे उनी।’

कहिलेकाहीं उनको कोठामा नेपालदेखि गणेशबहादुर प्रसाईं पनि आउने गर्थे। अलिअलि साहित्यिक उपद्रो गर्थे। बेलाबेलामा उनको कोठामा ठूलो असर छोड्ने सानोतिनो कोठे कविगोष्ठी नै हुन्थ्यो। चियासँग कविता खाएर कार्यक्रम सकिन्थ्यो।

वल्लभ र काइँलाले २०१७ सालतिर भानुजयन्तीमा रामायण वाचन सुरु गरे। त्यो परम्परा दार्जिलिङका हाईस्कुल तहमा अहिले पनि कायम छ।
अनि पछि २०१७ मा मात्र इन्द्रबहादुर राई भेटिए; पहिले त देखिएका मात्र थिए। यो भेटले गहन र गम्भीर चिन्तनमा साहित्य प्रवेश गर्न लाग्यो।

यही बेला काइँलालाई क्षयरोगले छोयो। उनी दार्जिलिङको अस्पतालमा भर्ना भए। एकदुई दिन बिराएर इन्द्र र वल्लभ उनलाई भेट्न आइरहन्थे; बिमारको भन्दा साहित्यको कुरा हुन्थ्यो। कसरी भिन्न शैली र चेतनाका साथ डल्लै जीवन लेख्ने भनेर छलफल हुन्थ्यो।

उता दार्जिलिङमा खुला विचार सहितको कविता खोजी हुँदै गर्दा यता नेपालमा पुस १ गतेको घटना घट्यो र खुला विचारहरु कुण्ठित भए। पछि गएर त्यसैका विरुद्ध काइँलाले मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित भन्ने कविता लेखे, जसले नेपाली कविता साहित्यको रुप नै बदलिदियो।

फेरि उनलाई क्षयरोग बल्झियो। चार महिना अस्पतालको निरीक्षणमा अस्पतालमै बस्नुप¥यो। त्यहीँ तेस्रो आयामको सुरुवात भयो।

त्यो बेला अगमसिंह गिरीको ठूलो प्रभाव थियो। मान्त्रिक छन्दमा एकप्रकारको रोमान्टिक शैली। यी सबलाई चिर्न र नयाँ चेतनाको द्वार खोल्न २०१८ सालमा ‘फूल पात पत्कर’ पत्रिका निकाले। जसको सम्पादक बने ईश्वर वल्लभ, प्रकाशक काइँला र सम्पादकीय इन्द्रबहादुर राईले लेखे। त्यो सम्पादकीय सात हरफको थियो तर सात हरफले बोकेको चिन्तन सात सय पृष्ठको थियो।

राईलाई लाग्थ्यो, अबको ज्ञान भनेको राजनीति मात्तै होइन; अर्थनीति मात्तै पनि होइन; दर्शन मात्तै पनि होइन। ज्ञान अलग्गै हुँदैन। एउटा मान्छेको भावनाले मात्र साहित्य हुँदैन; त्यहाँ जीवनको डल्लै दर्शन आउनुपर्छ।

यही विचारले नै तेस्रो आयमलाई निर्देशित ग¥यो र बने तीन आयाम— वस्तुता, चित्रात्मकता र सम्पूर्णता।

बाबुले धान बेचेर औषधि गर्न र पढ्न पठाएको पैसा काइँलाले साहित्यिक पत्रिका प्रकाशित गर्न खर्चिए। पत्रिकाको नाम ईश्वर वल्लभले राखे।
त्यस्तो ठूलो केही नसोची केही नयाँको चेतना र शैलीको खोजीमा गरिएको यो कर्मले नेपाली साहित्यमा ठूलो असर पा¥यो। जम्मा दुई अङ्क प्रकाशित भएर बन्द भएको यो पत्रिकाको चर्चा आजसम्म पनि हुन्छ।

इन्द्रबहादुर राईलाई सम्झँदै काइँला भन्छन्, ‘त्यो मान्छेले त उहिल्यैदेखि केके चिन्तन गरिबसेको रहेछ, केही थोक त गर्नुपर्छ भनेर। नभेटेर पनि हामीले गरेको चिन्तन उस्तै पो रहेछ।’

उनलाई सुरुसुरुमा निकै छुच्चो र केके बोलिहिँडेजस्तो लाग्ने इन्द्रबहादुर राई सङ्तग गर्दै गएपछि निकै गम्भीर र गहिरो चिन्तक लाग्यो।

वस्तुको डाइमन्सन त फिजिक्समा पढियो अब विचार र साहित्यको डाइमन्सन खोज्नुपर्छ भनेर त्यतिखेरका समसामयिक कविताले हिँडेको धार र लिएको विषयवस्तुभन्दा फरक हुन खोज्दा तेस्रो आयाम जन्मियो।

इन्द्रबहादुर राई भन्थे— ‘ढुङ्गालाई ढुङ्गै रहन दिनुपर्छ। त्यसलाई फूलअबिर लगाएर देउता किन बनाउनू? आफ्नो आस्था किन त्यहाँ खन्याउनू?’
अलिपछि इन्द्रलाई त्यो विचार अलि निरङ्कुश भएछ भन्ने लाग्यो। त्यसपछि उनले भन्न लागे— ‘ढुङ्गालाई ढुङ्गै रहन दिनुपर्छ तर सत्य त्यो हुँदैन। त्यो ढुङ्गामा मानिसहरुले आआफ्नो आस्था राख्दै गएपछि त्यसलाई हेर्ने दृष्टिकोण बदलिन्छ।’

उनको विचारमा परिवर्तन आयो र जीवनको सम्पूर्णता लेख्न सकिँदो रहेनछ भनेर तेस्रो आयामबाट फड्को मार्दै लीलालेखनमा लागे।

काइँलाले भने पछि लगभग कविता लेख्न छोडेर किराँत भाषा, संस्कृति, इतिहासको अध्ययन अनुसन्धानमा लागे। उनले यसो गरेका तेस्रो आयाम या कवितासँग अघाएर होइन। उनी अहम्शून्य भएर भन्छन्— ‘नेताहरुले एउटा क्षेत्रबाट चुनाव हार्छजस्तो लाग्यो भने अर्को क्षेत्रबाट उठ्छ; मलाई पनि राम्रो कविता लेखेर इज्जत थाम्न सक्छुजस्तो लागेन, त्यसैले सहज निर्वाचन क्षेत्र परिवर्तन गरेर सहज तरिकाले जित्ने ठाउँमा गएँ।’

उनी कार्यक्रमहरुमा बोल्ने क्रममा आफूलाई सानो बनाएर लजाउँदै भन्छन्— ‘म त भूतपूर्व कवि भइगएँ।’

अहिले उनी हराएर विलिन हुन लागेका किराँत संस्कृति, इतिहास, परम्परा र भाषालाई लिपिबद्ध गर्दैछन्। यसैसँग सम्बन्धित झन्डै डेढ दर्शन पुस्तक उनले प्रकाशित गरिसकेका छन् भने अहिले उनको अधिकांश समय यसकै अध्ययन र अनुसन्धानमा बित्छ। यस कार्यमा उनलाई इमानसिंह चेमजोङको ठूलो प्रभाव छ।

कविताका किताब त उनले जम्मा दुईओटा मात्र प्रकाशित गरेका छन्— बैरागी काइँलाका कविताहरु (२०३१) र अन्धा मान्छेहरु र हात्ती (२०६८)। जीवनमा उनले जम्मा २५ थान कविता लेखे। उनी सार्वजनिक रुपमा नै भन्ने गर्छन्, ‘म २५ ओटा कविता लेख्नेलाई कुलपति बनाउने प्रधानमन्त्रीलाई तपाईंहरुले कुटेर खेद्नुपथ्र्यो र मलाई कुर्चीमा बस्नै नदिनुपथ्र्यो; तपाईं पचासपचास किताब लेख्नेहरुले।’
गहिरिएर हेर्दा उनको यो भनाइमा धेरै र अस्तरीय लेख्नेलाई व्यङ्ग्य पनि छ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यदेखि कुलपति सम्म भएका छन् भने ‘बैरागी काइँलाका कविताहरु’ का लागि २०३१ सालको साझा पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै सिद्धिचरण काव्य पुरस्कार(२०५३) पनि प्राप्त गरेका छन्।

७८ वर्षका काइँला धेरैजसो काठमाडौंको सुकेधारास्थित घरमै अध्ययन गरिरहेका हुन्छन्। कहिलेकाहीँ मात्र कार्यक्रमतिर झुल्किन्छन् र सानो भएर गहन कुरा गर्छन्। उनको परिवार सानो छ, जम्मा तीन जना। श्रीमती, एक छोरी र उनी।

मुटु, पेट र नाकको अलिअलि बिमार छ। उनी बिहान अलि अबेर सातआठ बजे उठ्छन्। नित्य कर्मपछि किराँत लोकसाहित्यकै काम गर्छन। उनी खासै नियमित कसरत गर्दैनन्। उनलाई नियम लगाएर गरिने बाध्यता मन पर्दैन। अचेल उनले साहित्यको अध्ययन गर्न पनि भ्याएका छैनन्।

बिहान उनी ग्रिन टीसँग ब्राउन ब्रेड खान्छन्। अलि ढिलो गरेर सादा खाना खान्छन्। दिउँसो उनी आफ्नै काममा हुन्छन्। टेलिभिजनसमेत हेर्न भ्याउँदैनन्। दश बजेसम्ममा आफूले खानुपर्ने औषधि खाएर सुत्छन्।

(खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री पुरस्कारको स्मारिका (२०७४)बाट)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.