साहित्य ठेकेदारी होइन


मेरो बालसखा छ, सलीम। सानो छँदा खोपी खेल्ने, माछा मार्ने, चंगा उडाउने साथी। फिल्मको कथा सुन्ने–सुनाउने साथी।

म नेपालगञ्जमा हुर्केको मान्छे। मेरो घरनजिकै मुसलमान बस्ती थियो। मेरो घरको झ्यालबाटै टाँगा चलाउने, जुत्ता सिलाउनेहरु देखिन्थे।

मेरो बालसखा साथी सलीमको पनि जुत्ता सिलाउने पसल थियो। बुवा नभएको बेला ऊ पसलमा बस्थ्यो। बाबुको काम सघाउँथ्यो।

उसको पसलनजिकै सिनेमा हल थियो। पसलकै आडमा सिनेमाका पोस्टरहरु टाँसिन्थे। तर, सलीमले कहिल्यै फिल्म हेर्ने मौका पाएन। म भने बुवाको खल्तीबाट पैसा चोरेरै भए पनि फिल्म हेर्थें। मैले पैसा चोर्छु भन्ने थाहा पाएर बुवा निकै सचेत हुनुहुन्थ्यो। त्यसैले सधैं फिल्म हेर्ने सुविधा पाइँदैनथ्यो।

म सलीमको पसल गइरहन्थेँ। रमाइलो कुरा के भने सलीम फिल्म हेर्न नपाए पनि पोस्टर हेरेको भरमा फिल्मको पुरै कथा भन्थ्यो। निकै रोचक ढंगले सुनाउँथ्यो ऊ। पोस्टर हेरेको भरमा उसले जुन कथा सुनाएको हुन्थ्यो, त्यो फिल्मसँग ठ्याक्कै मिलेको हुन्थ्यो।

म कुनै फिल्म हेरेपछि सिधै उसको पसल जान्थेँ। र सोध्थेँ, ‘सलीम तैंले यो फिल्म हेरिस्?’

उसले हेरेको हुँदैनथ्यो।

म कथा सुनाउँथेँ।

मैले फिल्म हेरेको र ऊ नहेरको– ऊ नै रोचक ढंगले कथा सुनाउँथ्यो। सलीमले मैले भन्दा राम्रो कथा भनेकोमा मलाई जहिल्यै ईष्र्या लाग्थ्यो। म सोच्थेँ, म पनि सलीमजस्तै कथा भनुँ। पार्कतिर, स्कुलतिर साथीहरुलाई कथा सुनाउँथेँ, ताकि मेरो कथा भन्ने शैलीमा निखारता आओस्। तर जति गर्दा पनि सलीम नै राम्रो कथावाचक दरिन्थ्यो। त्यतिबेला कथा लेख्ने त सोचेको थिइनँ, तर मलाई राम्रो कथा भन्ने मान्छेचाहिँ बन्नु थियो।

त्यस्तै, ७/८ तिर पढ्थेँ। रेडियो नेपालमा वासुदेव मुनालले चलाउने बाल कार्यक्रममा आफूजस्तै बालबालिकाका कथा, निबन्ध, कविता वाचन भएको सुनेको थिएँ। मलाई पनि मेरो नाम रेडियोबाट सुन्न÷सुनाउन मन भयो। बुवालाई सोधेँ, ‘के गर्नुपर्छ बुवा रेडियो नेपालमा नाम आउन?’
‘लेखेर पठाउनुपर्छ,’ बुवाले भन्नुभयो।

लेख्ने त लेख्ने, तर के लेख्ने? किताबमा माधवप्रसाद घिमिरेको कविता थियो। त्यही उतारेर पठाएँ। तीन–चार महिनासम्म कुरेँ, बजेन।

फेरि बुवालाई सोधेँ, ‘खै! बजेन त बुवा?’

‘के पठाएको थिइस्?’ बुवाले सोध्नुभयो।

मैले जे हो त्यही बताएँ।

‘अरुको पठाउने हैन नि त, आफ्नै लेख्नुपर्छ,’ बुवाले भन्नुभयो।

त्यसपछि मैले कविता लेखेँ।

दुई–तीन महिनापछि बज्यो। रेडियो नेपालले मेरो नाम फुक्यो। साथीहरुले पनि सुने। त्यतिबेला जस्तो खुसी महसुस भएको थियो, त्यस्तो त अहिलेसम्म भएको छैन!

त्यहीबेला देखि मेरो लेखन यात्रा सुरु भयो। कवितासँगै कथा पनि लेख्न थालेँ। ‘कसैले कसैलाई प्रेम गथ्र्यो तर पाउँथेन’ यस्तैखालका हुन्थे त्यतिबेलाका मेरा कथा।

४१ सालमा रुपरेखा र मधुपर्कमा दुइटा कथा छापिए। कविता भने ०३८ सालमै छापिइसकेका थिए। यी दुई कथा छापिएपछि बल्ल म पनि कथा भन्न सक्छु भन्ने महसुस भयो। मलाई लेखक बन्ने बाटो छान्न सघाउने आफ्नै यी दुई कथा हुन्।

जबदेखि म सचेत भएर लेख्न थालेँ, त्यतिबेला देखि नै म पूर्णकालीन लेखक बन्न सक्छु भन्ने लागेको हो।

मैले आफूलाई कहिल्यै पनि ‘सेलिब्रेटी’ ठानेको छैन। म संघर्षरत लेखक हुँ। लेखकसित लेख्ने कुरा कहिल्यै सकिँदैन। आफ्नो उमेर, अनुभव, यात्रासँगै नयाँ नयाँ विषय हात लागिरहेका हुन्छन्। यसरी नयाँ नयाँ विषय आएसँगै लेखकलाई सधैं चुनौति पनि थपिइरहेको हुन्छ– म यसलाई कसरी अभिव्यक्त गरुँ? पाठकले पत्याउने गरी कसरी लेखौं? भन्ने खालका। त्यसैले लेखक सधैं एउटा संकटमा बाँचिरहेको हुन्छ। म यस्तो भएँ भनेर ‘इन्जोय’ गर्ने समय मलाई कहिल्यै आएन।

जस्तो, उलारकै उदाहरण दिउँ– यो उपन्यास प्रकाशित भएको दस वर्षपछि मात्र चर्चामा आयो। दस वर्षअघि नै चर्चा भइदिएको भए मैले त्यसको सफलताको स्वाद चाँडै चाख्न पाउँथेँ हुँला। दस वर्षअघि नै रमाउन पाउँथेँ हुँला। त्यही समयमा चर्चा नभएपछि मेरो ठम्याई रह्यो– मैले अझै लेख्न बाँकी छ। मैले आफ्नो बेस्ट दिन बाँकी नै छ। लेखन भनेको निरन्तरको अभ्यास रहेछ। लेखक कहिल्यै पूर्ण हुँदैन। जब पूर्ण भएँ भन्ने महसुस हुन्छ, लेखक समाप्त हुन्छ।

म कम्युनिस्ट राजनीतिमा नलागे पनि मेरा वरिपरि थुप्रै कम्युनिस्ट साथी थिए। उनीहरु भन्ने गर्थे, ‘लेखकले सफलताको दम्भ पाल्नुहुँदैन। निवेदन दिएर पुरस्कार लिनुहुँदैन। एकेडेमीका कविता महोत्सवमा जानुहुँदैन। लेखक पाठकको नजिक भइराख्नुपर्छ।’ यस्ता कुराले मलाई ‘गाइड’ गर्यो‍।

उलार निकै पछि चर्चामा आए पनि त्यसअघिका कृतिका थोरबहुत चर्चा नभएका भने होइनन्। २०४४ सालमा छापिएको मेरो पहिलो उपन्यास ‘नांगो मान्छेको डायरी’ ले चर्चा पाएको थियो। त्यो पनि किन भने सिद्धिचरण श्रेष्ठ, मदनमणि दीक्षित, कृष्णचन्द्र प्रधानदेखि त्यसबेलाकी ‘बोल्ड राइटर’ मा गनिने सीता पाण्डेसम्मले त्यो किताबमाथि बोल्नुभएको थियो।

तर पनि, मैले आफूलाई सधैं औषत लेखककै रुपमा राख्ने प्रयास गरिरहेँ।

म सामान्य किसिमले उठबस गर्न चाहन्छु। सामान्य जीवन बिताउन चाहन्छु। पाठकसँग नियमित भेट गरिराख्न चाहन्छु।

हुन त हामी कुनै पनि लेखक पाठकबाट त्यति टाढा पनि छैनौं। सामान्य मःम पसलदेखि चिया पसलसम्म सजिलै भेटिन्छौं। बाटो, दोबाटो, चौबाटोमा भेटिएर कुरा गर्न पाउने वातावरण मिल्छ।

लेखन सधैं आनन्दको विषय होइन। यसले ठूलो पीडा दिन्छ, विशेषगरी आख्यानमा। उपन्यासको आकार ठूलो हुने भएकाले हामी लामो योजनामा बस्छौं। त्यसका लागि हामी पात्र, परिवेश, विषय सोचिराख्छौं। पात्रको मनस्थिति खोतलिरहन्छौं। आफैंले आफैंलाई बोझ थपिरहेका हुन्छौं। यसले हामीलाई एक्लोपनमा पु¥याउँछ। एकोहोरो पार्छ। एकखाले रोगी बनाउँछ। उपन्यास नसकिउन्जेल हामी एकखाले पागलपनको तहमा बाँचिरहेका हुन्छौं।

म केही लेखुन्जेल घरमा श्रीमतीसँग कुरा गर्दा पनि नसुन्ने हुन्छु। कहिले एउटा प्रसंगको कुरा चलिरहेको हुन्छ, म भने बिनाप्रसंगको कुरा गर्न पुग्दो रहेछु।

लेखक सधैं एकखाले डरमा पनि बाँचिरहेको हुन्छ।

सधैं अराजक भइरहन सकिँदैन। सबै लेखक नगरकोटी (कुमार नगरकोटी) हुन कहाँ सक्छन् र!

लेखकलाई कतिपय ठाउँमा ‘सेल्फ सेन्सर’ गर्नुपर्ने बाध्यता हुन्छ। शैली आफ्नो भए पनि पात्र र विषय टिप्ने आफूले देखे भोगेकैबाट त हो।

मैले ‘बाघ’ शीर्षकको एउटा कथा लेखेको छु। मेरो एउटा साथीको घटनालाई लिएर बुनेको कथा हो। उसको घरमा एउटी काम गर्ने केटी हुन्छे। एक्कासी उसको महिनावारी रोकिन्छ। घरमा बिहे नभएको ऊ मात्र थियो। काम गर्ने केटीको महिनावारी रोकिएपछि ऊ डराउँछ। दुई महिना जति ऊ यस्तो डरमा बाँच्छ कि बारम्बार सोचिरहन्छ, अब मलाई नै दोष लाग्ने भो! उसले त्यो घटना मलाई सुनाएको थियो। पछि मैले कथा लेखेँ।

पढेपछि उसले रिसाउँदै भन्यो, ‘बरु मलाई लेख्न सिकाएको भए मै लेख्थेँ नि। मेरो नाम पनि त छापिन्थ्यो।’

दुई–चार दिन त ऊसँग बोलचालै बन्द भयो।

एउटा अर्को साथी थियो, बडो आदर्शवादी कुरा गर्ने। विदेश जानुहुँदैन, देशमै केही गर्नुपर्छ भन्ने खालको। पछि ऊ आफैं विदेश गयो। मैले ‘बेवकुफ’ शीर्षकमा कथा लेखेँ।

पढेपछि उसले भन्यो, ‘साथीको बाध्यता पनि बुझेनौ है?’

‘यार’ शीर्षकको अर्को संस्मरण छ। यही नाममा संस्मरण संग्रह पनि प्रकाशित हुँदैछ। यो संस्मरण लेखेपछि साथीले व्यंग्य ग¥यो, ‘तिमीजस्तो ठूलो लेखकको लेखमा पात्र भएर छापिन पाउँदा धन्य भएँ। धन्यवाद!’

कुनै समय अराजकता अँगाले पनि मैले अहिले छोडिसकेको छु। घरबाहिरकासँग लड्न सक्छु भन्ने आँट भए पनि घरभित्रचाहिँ त्यस्तो आँट छैन।

अब प्रकाशित हुन लागेको ‘यार’ पुस्तकका लागि सबै संस्मरण तयार भइसकेपछि श्रीमतीलाई देखाएँ। पढिसकेपछि उनले ‘तपाईं यस्तो हुनुहुँदो रहेछ, ठिकै छ लेखक भएपछि त लेख्नुप¥यो नि’ भनेपछि प्रकाशकलाई बुझाएँ।

डर भए पनि आत्मकथामा ढाँट्नुचाहिँ हुँदैन। कुनै कुराले आफूलाई मात्र सरोकार राख्छ, समाजसँग त्यसले केही अर्थ राख्दैन भने लेख्न जरुरी छैन। समाजसँग सरोकार राख्छ भने ढाँट्नु पाठकमाथिको बेइमानी हो।

समस्या, असफलताजस्ता कुरा लेखकको मात्र सवाल होइन। साहित्यका लागि सफलता, असफलताका छुट्टै मानक हुँदैनन्। सबैका लागि उही नै हो। समस्या, असफलता भनेका समाधान हुने कुरा हुन्। सबै मान्छे कुनै न कुनै समस्यामा हुन्छन्। तर, ती समाधान हुन्छन्। आज हामीसँग जे जति समस्या छन्, एक वर्षपछि भेटौं, ती सबै समस्या समाधान भइसकेका हुन्छन्। समस्या बादल हो, केहीबेरमा हटिहाल्छ भन्ने ठान्छु म। असफलता प्रेरणाको स्रोत हो। म यसलाई अनुभवका रुपमा लिन्छु।

लेख्न चाहनेहरुका लागि ‘टिप्स’ के हुन सक्ला भने– जस्तो तपाईंसँग कुनै कथा छ। त्यस्तो कथा अरुसँग पनि हुनसक्छ। तर, के सोच्नुपर्छ भने म यसरी कथा भन्छु, जसरी अरु कसैले सक्दैन। यति सोच्नुभयो भने तपाईंले आख्यानको आधा युद्ध जित्नुभयो।

साहित्य भनेको सुट सिलाएजस्तो कम्मरको गोलाई यति हुनुपर्छ, काँध, पेट, जाँघको लम्बाई यति हुनुपर्छ भने जस्तो होइन। जसरी लेख्न पनि छुट छ। लेखकले जताको हेरे पनि हुन्छ, जताको लेखे पनि हुन्छ। साहित्य ठेकेदारी होइन, सिर्जना हो। सिर्जनामा मनलाग्दी गर्न पाइन्छ।

साहित्य ऐना हो कि पथप्रदर्शक?

यसमा थुप्रैले थुप्रैपटक लेखिसकेका छन्। म के भन्छु भने लेखकले जसरी, जे लेखे पनि समय र समाज आइरहेको हुन्छ। नगरकोटीजीले ‘सर्रियल’ लेखे पनि त्यहाँ म समय पाउँछु। समाज पाउँछु। लेखनमा समाज आउनैपर्छ भनेर हरेक लेखकले बुझेको हुन्छ भन्ने मलाई लाग्छ।

भानुभक्त पनि आफ्नो समयका क्रान्तिकारी थिए। उनले आफ्नो समयमा जे लेखे, त्यसलाई अहिले हामी प्रतीगामी भन्छौं। महिलाले हाँस्नुहुँदैन लेख्ने भानुभक्तजस्ता लेखकसँग पनि त्यतिबेला राणाहरु तर्सिएका थिए।

देवकोटाले पनि आफ्नो समयको कुरा लेखे।

मलाई लाग्छ, लेखकले समाजको आवश्यकता बुझेको हुन्छ। प्रत्यक्ष उपदेश नदेला, तर संवेदनाको तहमा उसले आफ्नो विचार व्यक्त गरिरहेको हुन्छ। समयलाई अभिव्यक्त गर्दा इमान्दार भएर लेखिएको लेखमा समाज जोडिएको हुन्छ। त्यस्ता लेखले पाठकलाई समाज यस्तो रहेछ, पात्र यस्ता रहेछन्, यस्तो धारणा बनाउनुपर्ने रहेछ भनेर सजग गराउँछ। लेखनले चेतनासँग सरोकार राख्छ। तर, साहित्य सिटामोल होइन, एकछिनमै परिवर्तन देखिन।

तै पनि, हामीले समयलाई अभिव्यक्त गरिरहनुपर्छ।

(बुकाहोलिक्स र बुकमाण्डुले सुरु गरेको  ‘कर्मयात्रा’ को पहिलो श्रृंखलामा आख्यानकार नयनराज पाण्डेसँग गरिएको अन्तक्र्रियाको सम्पादित रुप। पाण्डेसहित बुद्धिसागर र कुमार नगरकोटी अन्तक्र्रियामा सहभागी थिए।)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.