यो उमेरमा पनि समानताको कुरा गर्दा मलाई लाज लागिसक्यो


कंगना रनावत पछिल्लो समयकी चर्चित भारतीय अभिनेत्री हुन्। अभिनयका बलले मात्र हैन, उनी खरो बोलेर पनि बेलाबेला विवादमा रहन्छिन्।क्विन, तनु वेड्स मनु जस्ता महिलाप्रधान फिल्मबाट उनले आफूलाई अब्बल साबित गरिन्। अभिनय मात्र होइन, दमदार विषयको फिल्म छान्न सक्नु पनि उनको खुबी हो। तीनपल्ट राष्ट्रिय फिल्म अवार्ड जितेकी उनी सामाजिक सञ्जालबाट टाढा रहन्छिन्  तर मिडियामा भने स्पष्ट रूपमा प्रस्तुत हुन्छिन्।

यो अन्तर्वार्तामा उनले आफ्नो व्यावसायिक जीवनका विभिन्न पक्षहरूको बारेमा बोलेकी छन्। फिल्म कम्पानियनको लागि अनुपम चोपडाले लिएको अन्तर्वार्तालाई सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

तपाईंको बारेमा धेरैखाले हल्ला आइरहेका छन्, म तिनलाई कोट्याउन चाहन्न। तर यति सोध्न चाहन्छु, ती सबै हल्लालाई एक अभिनेत्रीको रूपमा कसरी पचाउनुहुन्छ र आफ्नो काममा ध्यान केन्द्रित गर्नुहुन्छ?

कलाकार हुनु भनेको कुनै काल्पनिक अवस्था वा घटनामा आफूलाई लैजानु हो वा तयार गर्नु हो। त्यो कहिल्यै पनि प्राकृतिक हुँदैन। रुनु पर्ने छ भने सेटमा रूनुपर्ने अवस्था सिर्जना हुने हैन। आफैंले एक काल्पनिक वातावरण बनाउनुपर्छ। आफूलाई त्यो भावनात्मक अवस्थामा पुर्याउनैपर्छ जहाँबाट पात्रले खोजेको कुरा दिन सकियोस्। सुटिङको बेला जस्तो बेलामा जुनसुकै अभिनय गर्नुपर्ने हुनसक्छ। दिमागले नभ्याइरहेका धेरै कुराहरू जबरजस्ती गर्नुपर्ने हुन्छ। खुसी भइरहेको बेला रूनुपर्ने वा रुन मन लागेको बेला हाँस्नुपर्ने हुनसक्छ। समय बित्दै जाँदा ती अप्राकृतिक प्रयासहरू दैनिक जीवनको पाटो हुन थाल्छन्। यसले भावनात्मक रूपमा अस्वस्थ बनाउन थाल्छ। अभिनय गर्दै जाँदा कलाकारहरू त्यसै पनि अलिक भावुक, ट्विस्टेड हुँदै जान्छन्। त्यसको असर व्यक्तिगत जीवनमा पनि देखिन्छ। एक सचेत व्यक्तिले धेरै अभिनय गरेको कारण यो भइरहेको हो भन्ने थाहा पाउँछ। र, ती सँगै विवादास्पद कुराहरूले पनि दुई तरिकाले असर गर्न सक्छन्। कि त त्यसले छुँदै छुँदैन, कि त एकदमै भयानक तरिकाले छुन्छ।

मैले धेरै असामान्य कलाकारहरसँग काम गरेको छु। तिनीहरूबाट ड्रामा वा फिल्म स्कुलहरूमा सिक्ने व्यायामले धेरै कुरा सिकाउने रहेछ भन्ने जानेँ। कलाकारको लागि योग कति महत्त्वपूर्ण हुन्छ थाहा पाएँ। त्यस्ता विवादास्पद कुराहरू आइरहन्छन् र त्यसलाई छोडेर अगाडि जान म धेरैजसो ध्यान गर्छु। व्यायाम र योग गर्छु। एकै ठाउँमा केन्द्रित हुने हुँदा त्यसले कतै हराउन दिँदैन।

तपाईं सामाजिक सञ्जालमा त हुनुहुन्न तर यदि कुनै काम गरिरहेको बेला आफ्नो बारेमा लेखिएका कुराहरू नपढ्ने प्रयास गर्नुहुन्छ?

‘आइडियल्ली’ त म फिल्म बनाइरहेको समयमा त्यस्ता कुराहरूबाट टाढा हुनैपर्छ भन्ने मान्छु। तर कहिलेकाहीँ सम्भव हुँदैन। मेरा लागि सबैभन्दा महत्त्वपूर्ण र जरुरी के हो भने जतिबेला म पात्रमा छिरिरहेको हुन्छ र पात्रको बारेमा खोजी गरिरहेको हुन्छु त्यसबेला धेरै एकाग्रता चाहिन्छ। त्यस बेला जेसुकै भए पनि ध्यान कतै मोड्नु हुँदैन। कुनैबेला यसले लामो समय पनि लिन सक्छ। ‘तनु वेड्स मनु’ को दत्तु क्यारेक्टर बुझ्न मलाई १० दिन लागेको थियो। ‘मनी कर्निका’ गर्दा सबैभन्दा लामो समय लागेको थियो। कुनै बेला दुई दिनमै पनि हुन्छ।

ती सबैको बीचमा पनि कहिलेकाहीँ गुगल गरेर मेरो बारेमा के भइरहेको छ भनेर पढ्छु। कहिलेकाहीँ त स्कृप्ट र क्यारेक्टरलाई चाँडो चाँडो सकेर फेसन वेबसाइटहरू पनि खोल्छू। रमाइलो लाग्छ।

नवाजुद्धिन सिद्दिकीसँग उनी कसरी चरित्र बनाउँछन् भन्ने बारेमा कुरा गर्दा भनेका थिए कि उनी आफ्नो पात्रहरूलाई दिने स्वरूप वास्तविक जीवनबाटै टिप्छन्। ‘ग्याङ्स् अफ वासेपुर’मा भएका दृश्यहरु उनको वास्तविक जीवनकै घटनाबाट बनेका थिए। तपाईं पनि आफ्नो पात्रलाई धेरै ध्यान दिएर बनाउनुहुन्छ। सिमरन, रानी वा दत्तोमा देखिएका केही कुराहरू वास्वविक कंगनाहरूबाट आएका छन्?

एक कलाकारको रूपमा मेरो व्यक्तित्व मैले गर्ने पात्रहरूमा कुनै न कुनै रूपमा आँउछ नै। मैले बलियो रूपमा विश्वास गर्ने सोचाइहरू आएका हुन सक्छन्। सिमरनको क्यारेक्टरको बारेमा कुरा गर्दा ऊ धनी हुन चाहने एक केटी हो। तर मैले ‘सेक्स गर्न चाहने एक केटी’ बनाइदिएँ। हामीले एक देशको रूपमा पनि यो कुरा बुझ्न जरुरी छ कि महिलाहरू पनि सेक्स गर्न चाहन्छन्। मेरै समाजमा मैले भोगेको अनुभवको आधारमा पनि मैले त्यो सोचेँ। एक महिला भएर सेक्स गर्न चाहनु बिल्कुलै सामान्य र स्वस्थ कुरा हो। सिमरनको छोडपत्र भएको छ, ऊ धेरै केटा छान्छे। रमाइलो गर्छे। उसलाई त्यसमा गर्व छ र त्यसो गर्नुमा कुनै गलत छैन।

र, मलाई के पनि लाग्छ भने मेरो वरपरको बारेमा मैले गर्ने चिन्ताबाट पनि यो आउँछ। महिला शसक्तिकरण र फेमिनिज्मको बारेमा जति पनि कुरा भएका छन् तिनले पनि हाम्रा महिलाहरूलाई इज्जत दिन सकेका छैनन्। उनीहरूको यौनिकतालाई प्राथमिकता दिइएको छैन। उदाहरणका लागि मनी कर्निकाको रोल गरिरहँदा जब म तरबारले लागेर घाइते भएँ मानिसहरू मलाई हौसला दिन ‘यु ह्याव गट बल्स, यु ह्याब गट बल्स’ भने। मैले उनीहरूलाई जवाफ दिँदै भनेँ ‘नो आइ डन्ट ह्याव बल्स। आइ ह्याव भजाइना।’ कसैले हौसला दिँदा त्यो शब्द किन भन्न सक्दैन? बल्स भन्न त्यति सजिलो तर भजाइना भन्न त्यति अप्ठ्यारो कसरी भयो? यो भन्न त सजिलो हुनुपर्ने।

मलाई लाग्छ हाम्रो लैङ्गिक पहिचान कुनै न कुनै रूपमा हामीभन्दा टाढा लगिँदैछ। ‘पुसी’ र ‘सिसि’ भन्ने शब्दलाई कायर जनाउन प्रयोग गरिन्छ। कसैलाई उसको लैङ्गिक अङ्गकै आधारमा कसरी शक्तिशाली र कमजोर भन्न  सकिन्छ? यो सबै ब्रेन वासिङको कारणले भइरहेको छ। हामी अब ती सबै कुराहरूभन्दा माथि उक्लिनुपर्छ। तीस वर्षको यो उमेरमा लगातार समानताको कुरा गरिरहँदा मलाई लाज लाग्न थालिसक्यो। हामी त सबै समान जन्मिएका हौं नि। हामीले किन बराबर पैसाको लागि लडिरहनुपर्ने? यदि म आर्मीमा लाग्न चाहन्छु र मेरो लभर कवि बन्न चाहन्छ भने ठिक छ। तर त्यसमा लैङ्गिक विभाजन ल्याउनुको के अर्थ? यस्ता सबै पूर्वाग्रहहरूबाट हामी बाहिर निस्किनुपर्छ।

तपाईंको पछिल्लो फिल्म ‘सिमरन’को बारेमा कुरा गरौँ- तपाईंले एक अन्तर्वार्तामा भन्नुभएको थियो- पहिलोपल्ट जब हेन्सल तपाई‍ंलाई भेट्न आए तपाईंले निर्देशक कलाकारको सम्बन्ध हैन कि ‘पार्टनरसिप’ चाहियो भन्नुभयो। हिन्दी फिल्मका चर्चित र सफल कलाकारहरू जस्तै आमिर खान वा शाहरूख खानले पनि निर्देशकको भिजनसँग आफूलाई समर्पण गर्ने भनेका छन्। तपाईंले त्यो सबैबाट अघाइसकेँ भन्नुभयो। किन?

म ‘इगो’ले भरिएका निर्देशकहरूबाट निर्देशन लिनबाट अघाइसकेँ। म कसैको सुपरभिजनमा काम गर्न मन पराउँछु तर उनीहरूसँग समानताको सोच हुनपर्छ। निर्देशकहरू धेरैजसो आफूलाई तानाशाह सम्झन्छन्। एक निर्देशक सम्झिन्छु। उनी भन्थे, तिमी यो लाइनमा तल हेर्ने र यो लाइनमा माथि हेर्ने। यो लाइनमा बाहिर निस्किनु। निर्देशकले मलाई कसरी अभिनय गर्ने भनेर सिकाउने हैन। म कलाकार हुँ, त्यसैले मैले गर्ने हो। उनको काम सन्दर्भ बुझाएर मलाई दृश्य यस्तो हो भनेर बताउने हो। त्यसलाई इन्टरप्रेट गर्ने त मेरो काम हो। मैले काम गरेकामध्ये सबैभन्दा राम्रो निर्देशक र उनीहरूले दिने निर्देशन भनेको उनीहरू मेरो अभिनयको स्तर तल वा माथि गर्न लगाउँथे। त्यो सबैभन्दा राम्रो निर्देशन हो। निर्देशन भनेको कलाकारलाई जे भनेको त्यही गर्न लगाउनु हैन। मैले काम गरेको अर्का निर्देशक भन्थे, तिमीलाई आफ्नो पात्रको बारेमा जे भन्न मन छ त्यो भ्यानमै भन। अरूको सामुन्ने नभन। यो राम्रो देखिँदैन किनकि क्रुले मलाई इज्जत गर्छन्। मैले निर्देशकलाई आफ्नो पात्रको बारेमा जे फिल गरेको छु त्यो भन्न पाउँदिन। किनकि उनीहरूको मेल इगो हर्ट हुन्छ।

यस्तो वातावरणमा कसले काम गर्न सक्छ? कुनै समय थियो, मैले उनीहरूले भनेको मान्नुपर्थ्यो। त्यसबेला म सोच्थेँ कि यो सबैबाट बाहिर म कहिले निस्कन्छु होला? मैले यदि सक्छु भने मैले त्यस्ता कुराहरूमा बोल्नुपर्छ। यदि म सक्दिन भने दासप्रथामै पनि जान तयार छु।

 

‘तनु वेड्स मनु रिटर्न्स’  मा दोहोरो भूमिका गर्नुभएको छ। तिनीहरू आपसमा धेरै विपरित छन्। त्यो भूमिका निभाउँदा वा आफूविरुद्ध आफैं अभिनय गर्दाको अनुभव बताउनुहोस् न।

यो अर्कै तहको सन्तुष्टि थियो। स्कृप्टमा एउटा पात्र छ भने सजिलो हुन्छ। सजिलै समाउन सकिन्छ। तर जब दुईवटा हुन्छ, धेरै गाह्रो हुन्छ। दुईवटा जीवन एकैपटक बाँचेजस्तो। कहिलेकाहीँ अभिनय एकदमै सजिलो तरिकाले गर्न सकिन्छ। तनुको रोल गर्दा त्यस्तै भएको थियो। त्यसमा मुख्य कुरा बढी ल्याङ्गवेज हो। पहिला त कुनै पनि पात्रलाई एउटा शब्द दिनुपर्छ र त्यसको लवज बनाउनुपर्छ। जस्तो कि रिसाहा। त्यसपछि रिसाहा कसरी देखाउने भन्ने सोच्नुपर्छ। जति नै धेरै नोटहरू तयार पारे पनि कुनै दृश्य गर्दा एउटा वा दुईवटा शब्दहरू काम आउने हुन्। पात्रलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा माइन्ड वर्क भने चाहिन्छ। पात्रको ब्याकग्राउण्ड राम्रोसँग सोच्नुपर्छ र त्यसै अनुसार पात्रलाई तयार पार्नुपर्छ। उनीहरू कस्तो देखिन्छन्, के सोच्छन्, समस्या के-के छन्, बानी कस्तो छ, विशेषता के-के छन् भन्ने जस्ता कुराहरूमा ध्यान दिनुपर्छ। सामान्य रूपमा सोचिने भन्दा पृथक् बनाउन सकियो भने झनै राम्रो।

यो मेरो ‘टेक्निक’ हैन। कसैको हो तर जब मैले सुनेँ, मलाई यो नै सही लाग्यो। म त्यही गर्छु। दुईवटा पात्रमा काम गर्दा भने कहिलेकाहीँ पात्रको बानी मिसिने सम्भावना भने हुन्छ। कलाकारसँग अभिनयको कुनै शो रूम वा वर्कसप हुँदैन। आफ्नो शरीर र इमोसनको बलमा त्यो सबै काम गर्नुपर्छ। म फेरि दुई टेकभन्दा धेरै लिन सक्दिन। एक पटक पात्रमा छिरेपछि दुई टेकभन्दा धेरै भयो भने आधा घण्टा ब्रेक लिन्थेँ। निर्देशकले पनि त्यो कुरा बुझ्नुभयो। बुझ्नुपर्छ।

जब म दृश्य सकेर भ्यानमा बस्थेँ, म आफू को हो नै भन्ने बिर्सिन्थेँ। यस्तो हुन्छ, किनकि धेरैखाले व्यक्तित्व दिमागमा घुमिरहेको हुन्छ। त्यसैले पनि कलाकारहरू मलाई ग्रेट लाग्छन्। धेरैवटा समानान्तर जीवन बिताएर पनि उनीहरू आफ्नो जीवनमा सन्तुलन ल्याउँछन्।

दृश्य सकेर घर फर्किँदै गर्दा आफूलाई कुनै पात्रबाट ‘स्विच अफ’ कसरी गर्नुहुन्छ? नयाँ दिनका लागि कसरी तयारी गर्नुहुन्छ?

यो एकदमै कठिन हुन्छ। र सधैँ भावनात्मक रूपमा खाली हुने भन्ने पनि हुँदैन। कहिलेकाहीँ पात्रहरूले ‘कथार्सिस’ पनि दिन्छन्। उनीहरूको दु:ख आफ्नो दु:ख सँग मिल्न सक्छ। यस्तो गम्भीर दृश्यमा मात्र हैन, पार्टी समयमा पनि हुनसक्छ। रंगुनको काम सकेपछि विशाल सरलाई ‘कति धेरै रमाइलो भयो’ भनेर म्यासेज गरेको सम्झिन्छु। अर्कै दुनियाँमा पुगेजस्तो हुन्छ। रंगुनमा काम गरेको समय दोस्रो विश्व युद्धमा पुगेजस्तो भएको थियो। धेरै चिजहरूले रमाइलो पनि दिन्छन् तर कुनै दृश्यहरुले भने कलाकारबाट धेरै कुरा लिन्छन्।

कुनै कुनै दृश्यहरूमा पात्र साह्रै  मुर्ख हुन्छ। त्यस्तो रोल हुन्छ जुन धेरैजसो कलाकारहरू गर्न चाहँदैनन्। तपाईं त्यस्ता दृश्यहरु कसरी गर्नुहुन्छ?

सबै कलाकारहरूले बुझ्नुपर्ने कुरा हो भने स्कृप्टभन्दा माथि कोहीपनि हुँदैन। स्कृप्टको सिनमा कुन इमोसन आउनुपर्छ भन्ने थाहा पाउनुपर्छ। सचेत भएर हेर्ने हो भने तपाईंलाई कथाले त्यहाँ पुर्याउँछ नै। स्कृप्टलाई यो रूपमा मेरो बेस्ट दिन्छु भन्ने कुरा भने थाहा पाउनुपर्छ।

यस्तो सबैथोक गर्नुहुन्छ तर पनि ‘रंगुन’ जस्तो फिल्मले काम गर्दैन। त्यसले काम नगर्दा तपाईंले आफू शक्तिहीन भएको महसुस गरेँ भन्नुभएको थियो। किनकि, मानिसहरूले तपाईंको अभिनय मन पराए तर फिल्म चलेन। यस्तो अवस्था आउँदा कसरी फेस गर्नुहुन्छ?

यो साँच्चै दु:ख लाग्दो समय हो। अरू कुनै असफलता जस्तै असफलता। त्यस्तो अवस्था आउँदा ब्राण्डमा असर पर्छ। आर्थिक कुराहरू फरक पर्छन्। यस्तो बेला दार्शनिक कुरा गरिएला तर त्यसो गर्नु पनि उपयुक्त हैन। बरु त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ। असफलता सबैतिर हुन्छ। त्यसले बाहिर फाल्दिन्छ, हामी उठेर बाँच्नुपर्छ। म यसलाई ‘रोमान्टिसाइज’ गर्न रुचाउँदिन। तर यो धेरै गाह्रो हुन्छ।

सबैथोक भुलेर अगाडि बढ्न के तरिका अपनाउनुहुन्छ त?

काम गर्दा आफूले गरेको काम राम्रो गर्न वा बनाउनमा ध्यान दिइन्छ। त्यसमा इमान्दार भइन्छ। ‘म समयमा पुग्छु, म बर्थडे पार्टीमा जान्न। लभरलाई समय दिन्न’ जस्ता कमिटमेन्ट सहित ध्यान दिएर काम गरिन्छ तर पनि त्यस्तो अवस्था आउन सक्छ। अनि यस्तो लाग्छ कि, मैले त्यो सबै नगरेको भए हुन्थ्यो। जाबो एउटा लाइनका लागि डाइरेक्टरसँग झगडा नगरेको भए हुन्थ्यो। आखिर त्यो इडिटिङमा फालिने नै हो।

यी सबै हाम्रो जीवनका पाटोहरू हुन्। समयले सबै घाउ निको पार्दै लान्छ। फ्रेब्रुअरीमा फिल्म फ्लप हुन्छ। मार्चसम्म नराम्रो लाग्ला तर अगस्ट, सेप्टेम्बर त आउँछ  नि!

वर्षा दत्तले तपाईंको बारेमा एक कोलममा लेखेकी छन्, घृणा गरिनबाट नडराउने तपाईंको बानी उनलाई मनपर्छ। तपाईं आफ्नो नकारात्मक चर्चालाई सुन्दर तरिकाले अँगाल्नुहुन्छ। के त्यो सत्य हो?

मलाई पनि मान्छेले मन पराउन् नै भन्ने लाग्छ। तर म ठिक उल्टो हुँदा पनि दु:ख मान्दिन। ती कुराहरूले मलाई असर गर्दैनन्। मानिसहरू आफूलाई जे गर्दा मन पर्छ त्यही गर्छन्। त्यसैले मानिसले मन पराउन् भनेर म धेरै प्रयत्न गर्दिन।

हिन्दी सिनेमामा महिलाहरूको वरपर न्यारेटिभ विकास गर्न तपाईंको भूमिका महत्त्वपूर्ण रह्यो नि?

म एउटा कुरा भन्न चाहन्छु- म खासमा हिन्दी फिल्ममा आएको धार परिवर्तनको माध्यम मात्र भएको हुँ। त्यो परिवर्तन कुनै न कुनै रूपमा आउनु नै थियो। हाम्रो पुस्ता परिवर्तन हुँदैछ र उसको परिवर्तित सोच कुनै न कुनै रूपमा फिल्ममा आइहाल्छ। यसमा मोबाइल, इन्टरनेट, प्रविधिजस्ता कुराहरूको अहम् भूमिका होला। विश्व एकै ठाउँमा आइपुगेको छ र महिलाहरूको मात्र हैन, अरू धेरै अधिकारहरूमा पनि मानिसहरू गलत भइरहेको बुझ्न थालेका छन्। प्रतिक्रिया जनाउन थालेका छन्। यो बम खसेको ठाउँबाट भाग्यले बाँचेकी कुनै केटीलाई यसैले बम डिस्पोजल गरेकी हो भनेर प्रशंसा गरेजस्तो हो। यो परिवर्तनमा म त्यही केटीजस्तै हुँ।

तपाईं आफूलाई के मन पर्छ वा चाहिन्छ भन्ने कुरामा स्पष्ट भएर बोल्नुहुन्छ। लजाउनुहुन्न। आफूले कलाकारको रूपमा देखेका कुराहरूलाई व्यक्त गर्नुहुन्छ।

मजस्तै धेरै महिलाहरू हुनुहुन्छ, जसले यो सबै गरिराख्नु भएको छ। उहाँहरूलाई पनि भुल्नु हुँदैन। कोही त असाधारण पनि हुनुहुन्छ। मैले क्रेडिट आफूबाट टाढा जाओस् भनेकी हैन, किनकि मैले गरेका कामहरू पनि फरक छन्। तर म नभएको भए पनि अरू कोहीमार्फत यो परिवर्तन आएरै छोड्थ्यो। म त्यो परिवर्तनमा ‘पायनियर’ हुँ भन्दिन तर ‘क्याटलिस्ट’ भने हुँ। म त्यसमा खुसी छु।

तपाईंले कहिल्यै आफ्नो लागि डर मान्नुभएको छ?

डराएको छु। तर अहिले धेरै डर लाग्दैन। किनकि एक रूपमा मैले धेरै कुरा प्राप्त गरिसकेको छु। मनालीमा सुन्दर घर छ। म आफैंलाई भन्छु, कि यदि केही चिजले पनि काम गरेन भने म घर फर्किन्छु। त्यस्तो ‘लाइन’ सबैले बनाउनुपर्छ भन्ने लाग्छ। मलाई मेरो जीवन मन लागेको तरिकाले बाँच्ने अधिकार छ। मानिसहरू मलाई झुटो, पागल, वेश्या प्रमाणित गर्न पनि लागे। हुनसक्छ, पछि पनि लाग्लान्। तर मैले के सिकेको छु भने जित्ने प्रयत्न गर्ने हो। जित्छु ठिक छ, तर यदि जित्दिन भने मनाली फर्किनेछु। किताब लेख्नेछु। त्यो जीवन पनि नराम्रो छैन।

‘तेजु’ फिल्ममार्फत् निर्देशक बन्दै हुनुहुन्छ। एउटा निर्देशकको लागि नभई नहुने कुरा के हो जस्तो लाग्छ?

जादुमा विश्वास गर्नुपर्छ। जादु वा चमत्कार। एउटा रचनात्मक मान्छे प्राविधिक भएपछि उसले प्रक्रियामा धेरै ध्यान दिन थाल्छ। तर प्रक्रियासँगै त्यसले देखाउन सक्ने जादुमा पनि विश्वास गर्नुपर्छ। स्कृप्टसहित सबैथोक तयार पारेपछि सेटमा पुग्नुभन्दा पहिला तिनको अगाडि आत्मसमर्पण गर्नुपर्छ। कलाकारहरूलाई विश्वास गर्नुपर्छ, जो एक निर्देशकको माध्यमबाट संवाद गर्न खोजिरहेका हुन्छन्। कथामा थिम त हुन्छ तर त्यसभित्र भएको आत्मालाई सम्मान गर्नुपर्छ। मानिसको अस्तित्वको जादुलाई विश्वास गर्नुपर्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.