मलाई लेखनबाहेक अरु काममा रुचि छैन


‘कर्नाली ब्लुज’ प्रकाशन भएको तीन–चार वर्षपछि मैले जागिर छाडेँ। एक त, त्यो पुस्तक धेरैले मन पराउनुभयो। अर्को, मैले मासिक रुपमा काम गरेर ‘नागरिक’ दैनिकबाट कमाउने रकमभन्दा कर्नाली ब्लुजको धेरै भयो। यो एउटा ठूलो जग जस्तो भयो मेरा लागि। मेरो लेखन परीक्षा जस्तो थियो, कर्नाली ब्लुज। पास पनि भएँजस्तो लाग्छ।

मैले जुन शैलीमा लेखेँ, जुन तरिकामा लेखेँ, जस्तो विषय उठाएँ, जति स–साना विषयहरुलाई बुनेँ, जुन मलाई मनपर्छ। धेरै पाठकलाई मन पर्छ भन्ने लागेपछि त्यसरी लेखेँ। अहिले त्यो शैली स्थापित भयो कि जस्तो लाग्छ।

संसारभरी नै जो पूर्णकालीन लेखक भएका छन्, सुरुदेखि नै पूर्णकालीन लेखक बन्छु भन्ने त कम नै छन्। पहिलो पुस्तकबाट राम्रो प्रतिक्रिया पाएपछि धेरै लेखकलाई सजिलो हुँदो रहेछ। यदि कर्नाली ब्लुज सफल नभएको भए, अर्कै लेख्थेँ हुँला। कोसिस त भइ नै राख्थ्यो होला। किनकि जीवनमा मैले बुझेको के हो भने, मलाई लेखनबाहेक अरु काममा खासै रुचि छैन। लेखनको कामचाहिँ इमानदारीसहित गर्न सक्छु भन्ने सधैं लाग्थ्यो।

मैले जीवनमा पहिलो कविता कालिकोट जाँदा लेखेको हुँ। म कैलालीमा जन्मे–हुर्केको। त्यहाँ सारा सुविधाहरु थिए। खोला–नाला थिए। सिनेमाहलजस्ता थुप्रै मनोरञ्जनका साधन थिए। जब बुवा व्यापारको सिलसिलामा कालिकोटको मान्मा पुग्नु भयो, जहाँ केही पनि थिएन, एउटा रेडियो बाहेक।

रेडियोमा अरुले लेखेका मुक्तकहरु सुन्थेँ। आफ्नो मन पनि एकखाले उदासीमा बाँचिरहेको थियो। साथी–संगाती छुटेका। मनोरञ्जनका साधन छुटेका। यस्तै उदासीको बीचमा मैले एउटा कविता लेखेँ। अनि, रेडियोमा पठाएँ। मुक्तक पनि होइन, गजल। गजलका नियमहरु त्यति थाहा थिएनन्। पठाएको २१ दिन पछि रेडियोमा प्रसारण भयो। मेरो जीवनको पहिलो कविता रेडियोले फुक्यो। यो कक्षा सात पढ्दाको कुरा हो।

त्यसपछि मैले एसएलसी नसक्दासम्म रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मात्र होइन, क्षेत्रीय प्रसारणहरु भैरहवा, पोखरा, सुर्खेत, दिपायलसम्म पठाउँथेँ। नबजेका रेडियो थिएनन्, नछुटेका साहित्यिक कार्यक्रम थिएनन्। सातदेखि एसएलसी सक्दासम्म रेडियोमा मेरा कविता, गजल, मुक्तक गरी १२ सय हाराहारीमा वाचन गरिए होलान्। त्यो बेला धेरैलाई मेरो नाम, ठेगाना कन्ठै हुन्थ्यो। रेडियोले कविता वाचन गर्नुअघि भन्थ्यो, ‘मान्मा ५ कालिकोटबाट बुद्धिसागर चपाईंले पठाउनुभएको कविता प्रस्तुत छ।’

कविता वाचन गरिसकेपछि भन्थ्यो, ‘मान्मा ५ कालिकोटबाट बुद्धिसागर चपाईं …’

यसरी रेडियोले मेरो नाम र ठेगाना दुईचोटी भन्थ्यो। बारम्बार मेरो गजल, मुक्तक, कविता वाचन हुन थालेपछि धेरैले चिठी पठाउन थाले।
मैले रेडियोमा एउटा कार्यक्रमका लागि पठाएको कविता अर्को रेडियोमा पठाउँथिन। रेडियोमा पठाउनका लागि मैले एउटा डायरी बनाएको थिएँ। जुन अझसम्म मसँग छ। हरेक कविताको फेदमा मैले कुन रेडियोबाट, कुन कार्यक्रममा कति बजे बजेको जस्ता टिपोट गर्थें।

एउटा रमाइलो घटना, म एसएलसी दिएर काठमाडौं आएँ। म गीतीकथा पनि लेख्थेँ र रेडियोमा पठाउँथेँ। गीतीकथा भनेका त्यही विछोडका त हुन्छन् नि! एउटा गीतीकथा मैले सुर्खेतको रेडियोमा पठाएको थिएँ। प्रसारण भएछ। म काठमाडौं आइहालेँ। दसैंमा घर जाँदा बुवाले पाँचवटा चिठी देखाउनुभयो। ठूलो साइजको कापीमा एउटा चिठ्ठी ८ पन्ना र अर्को बाह्र पान्नाको। बर्दियातिरकी कुनै युवतीले पठाएको त्यो चिठीमा उनले यति ‘डिटेल’ खुलाएकी रैछिन् कि, म यस्तो छु, मेरो कपाल यस्तो छसम्मका। अनि उनले लेखेकी रैछिन्, ‘जति तपाईं आफूलाई जति निरास ठान्नुहुन्छ, एक्लो ठान्नुहुन्छ नि, अब त्यस्तो नठान्नुस्। हामी छौं नि तपाईंको।’

अन्तिममा उनको फोन नम्बर पनि रहेछ। त्यो नम्बरमा मेरो बुवाले फोन पनि गर्नुभएछ। तर, लागेनछ।

त्यो चिठी पाएर म एकदमै खुसी भएँ। एकदम गज्जब लाग्यो। पछि यसो हेर्छु त, म एसएलसी दिएर आइए पढ्न काठमाडौं आएको, उनी त एमए पढिरहेकी। उनले चिठीमा मेरो भाइले भर्खर एसएलसी दियो लेखेकी थिइन्। आफू भर्खर एसएलसी दिएको मान्छे, अनि ‘रिप्लाई’मा के लेखौं, कसरी लेखौं भएपछि चिठी नै लेखिनँ।

लेख्ने क्रममा यस्ता क्षणहरु आए, जुन सम्झिँदा अहिले रमाइलो लाग्छ।

रेडियो वाचनमा परेपछि मेरो नाम धेरैले सुन्न त सुने, तर आफ्नो नाम छापिएको हेर्ने रहरचाहिँ व्यापक थियो। काठमाडौं आउनुको मेरो मुख्य ध्येय भनेकै, आफ्नो रचना छापिएको हेर्ने। कालिकोट छँदै मैले थुप्रै पत्रिकामा पठाएको थिएँ, तर कतै छापिएन।

काठमाडौं आइसकेपछि मेरो पहिलो गजल ‘विमोचन’ पत्रिकाको २०५७ सालको फागुन अंकमा छापियो। त्यसपछि लामो समय कतै छापिएन। मधुपर्क, गरिमाजस्ता पत्रिकामा त दिने आँटै नआउने। त्यो पत्रिकाले हामीजस्ताको छाप्दैन जस्तो लाग्थ्यो। अरु पत्रिकामा पठायो, एक महिनासम्म आशले कु¥यो। बजारमा पत्रिका आउने दिन हतारहतार पत्रिका किन्यो। हे¥यो। छापिएको हुन्थेन, निराश भयो। यस्तै–यस्तै थियो, सुरुआती बेला। मासिक पत्रिकामा पठाउँदा धेरै कुर्नुपर्ने भएपछि साप्ताहिकमा पनि पठाउन थालेँ। एक हप्तासम्म कु¥यो, त्यहाँ पनि त्यस्तै हालत।

एकदिन बदाम खाँदै सन्ध्याकालीन पत्रिका हेरेको त गजल देखियो। मलाई लाग्यो, यो पत्रिका ठिक छ। किनकि, त्यसमा त एकदिन मात्र कुरे पुग्थ्यो। अफिस खोज्दै गएँ, बागबजारमा रहेछ। अघिल्लो दिन दिएको गजल भोलिपल्ट साँझ छापियो। खोजेजस्तै भइहाल्यो। त्यसपछि हरेक दिन बिहान कलेज जाँदा अफिसमा गजल बुझाउन थालेँ। कलेज सकिएर फर्किंदा पत्रिका छापिइसकेको हुन्थ्यो। डेढ वर्षजस्तो मेरो गजल पनि हरेक दिनजसो छापियो। बुझाएकै दिन छापिने भएपछि के चाहियो? मजस्ता रहर भएकालाई! साथीहरुसँग बाजी नै पथ्र्यो। कलेजबाट निस्किएपछि बाटोमा देखिने सन्ध्याकालीन देखाउँदै भन्थेँ, ‘त्यसमा मेरो गजल छ।’ आज पनि त्यही भन्यो, भोलि पनि त्यही। सधैं छापिन्छ भन्दा उनीहरु पत्याउँथेनन्। जहिल्यै मैले बाजी जितेपछि साथीहरुले मसँग बाजी राख्नै छोडिदिए।

सन्ध्याकालीनमा नियमित छापिएपछि मलाई स्तर बढाउन मन लाग्यो। निकै लामो कसरतपछि साप्ताहिक पत्रिकाहरुले पनि मेरा गजल, कविता छाप्न थाले। त्यतिबेलाका कुनै पनि साप्ताहिक छैनन् होला, जसमा मेरो गजल, कविता नछापिएको होस्। एउटा पत्रिका जनआस्थाबाहेक। त्यसमा गजल नै नछापिँदो रहेछ। दुईपटक प्रयासचाहिँ गरेको हो।

साप्ताहिकबाट पनि माथि उठ्ने रहर जाग्यो। हामीसँगै संघर्ष गरिरहेका एकजना साथी थिए, अचानक उनको कविता मधुपर्कमा छापियो। मधुपर्कमा पनि दुईटा खण्ड हुन्थ्यो। आँकुरा भन्नेमा नयाँ लेखकहरुलाई स्थान दिइन्थ्यो। स्थापित लेखकहरुको चाहिँ छुट्टै बक्स बनाएर प्राथमिकतासाथ छापिन्थ्यो।

साथीको कविता आँकुरामा छापिएपछि हामीमा ईष्र्या जाग्यो। सोध्यौं, ‘कसरी छाप्यौ कविता?’

‘पहिले एउटा पत्रिकामा पत्रकार भएँ, त्यसपछि मधुपर्कका सम्पादकको अन्तरवार्ता लिएँ, आफ्नो पत्रिकामा छापेँ र त्यो अन्तरवार्तासहितको पत्रिका बोकेर उनको कार्यकक्षमा फेरि गएँ। उनलाई अन्तरवार्ता देखाउँदै आफ्नो कविता पनि दिएँ। अनि कविता छापियो।’
यो त निकै लामो र झन्झटिलो प्रक्रिया पो रै’छ! त्यस्तो गर्न सकिएन।

संघर्षकालमा कुनै साहित्यविशेष पत्रिकामा मेरो रचना कहिल्यै छापिएन। गरिमामा एउटा छापिएको छ, त्यो अलि स्थापित भइसकेपछिको कुरा हो।

अलि पछि ‘कान्तिपुर’ दैनिकले कविता छाप्यो। त्यो पनि मैले बुझाएको थिइनँ। साथी वसन्तराज अधिकारीले मेरा रचनाहरु टाइप गरिदिनुहुन्थ्यो। मैले ‘कालिकोट’ शीर्षकको कविता उहाँलाई टाइप गर्न दिएको थिएँ। उहाँले यो कविता कान्तिपुरमा छापिन्छ भन्नुभयो। मलाई विश्वासै थिएन। उहाँले बुझाइदिनुभएछ। त्यो कविता छापिएपछि म अलि ‘नोटिस’ भएँ। त्यसपछि मैले नियमित रुपमा कविता बुझाउन थालेँ। कृष्णमुरारी भण्डारी र कृष्णज्वाला देवकोटाले त्यो पेज संयोजन गर्नुहुँदो रहेछ। अलि पछि मैले बुझेँ, संयोजकभन्दा पावरफुल त डिजाइनर पो हुँदोरै’छ! म उहाँहरु दुवैजना नभएका बेला डिजाइनरलाई आफ्नो रचना बुझाउन जान्थेँ। नमस्कार गर्थें। उहाँ नमस्कार फर्काउँदै सोध्नुहुन्थ्यो, ‘कविता लिएर आएको हो भाइ?’

म तलमाथि मुन्टो हल्लाउँदै कविता दिन्थेँ। उहाँ औंलाका बित्ताले नाप्दै ‘योचाहिँ यो हप्ता नै छापिन्छ’ भन्दै अड्कल गर्नुहुन्थ्यो। यसरी उहाँले मेरो थुप्रै रचना छापिदिनुभयो। त्यतिबेला नै एउटा कविताको ९ सय रुपैयाँ पारिश्रमिक दिइन्थ्यो। मेरो कमाइ पनि राम्रै हुँदै गयो। कविहरुसँग चिनजान पनि बढ्दै गयो। कविता वाचन गर्दै गएपछि मलाई किताबमा आफ्नो नाम छापिएको हेर्ने रहर जाग्यो। मसँग थुप्रै गजल थिए। वैरागी जेठाले गजलसंग्रह ‘रारा जलेपछि’ छापिदिनुभयो।

त्यो गजलसंग्रह धेरैलाई थाहा छैन। पहिलो किताब भए पनि धेरै खुसीचाहिँ भइएन। त्यसको कारण अर्कै छ। त्यतिबेला धेरै किताबमा एनिमेसन प्रयोग हुन थालिसकेको थियो। मेरो किताबमा एनिमेसन थिएन। किताबका लागि भूमिका लेख्नुभएका ललिजन रावललाई किताब पु¥याउन गएँ। उहाँले त किताब बटारेर कच्याककुचुक पार्दै फाल्दै भन्नुभयो, ‘यति राम्रो रचनालाई यस्तो रद्दी कागजमा छाप्ने हो?’

किताब छापेर पनि धित मरेन! अबचाहिँ राम्रै ‘क्वालिटी’मा छाप्नुपर्छ भन्ने लाग्यो। त्यतिबेला सिद्धार्थ आर्ट ग्यालरीको ‘खुल्ला ढोका’ नामको एउटा प्रोजेक्ट थियो। ग्यालरीमा मैले कविता सुनाउने गर्थें। ग्यालरीकी प्रमुख संगीता थापालाई मेरा कविता मन परेका रहेछन्। उहाँले भन्नुभयो, ‘धेरै कविहरु कमसल कविताको संग्रह छापिरहेका छन्। तपाईंका यति राम्रा कविता छन्। तपाईंचाहिँ ननिकाल्ने?’

मैले भनेँ, ‘मसँग पैसै छैन।’

पछि उहाँले फोन गरेर बोलाउनुभयो। म भेट्न गएँ। भन्नुभयो, ‘तपाईं किताब तयार पार्नुस्, हामी छाप्छौं।’

उहाँहरुकै सहयोगमा निस्कियो, ‘हजारौं पृथ्वी, हजारौं आकाश।’

पुस्तकमा भूमिका लेखाउने चलन छ। मलाई भूमिका लेखाउन मन नलाग्ने। त्यसपछि आफैं लेखेँ, एउटा निबन्ध। आठ पेज लामो निबन्ध धेरैले मन पराए। भन्न थाले, ‘अब तिमीले गद्य लेख्नुपर्छ।’

नयाँ पत्रिका दैनिक निस्किएको समय थियो। मेरा साथी यज्ञशले सम्पादक कृष्णज्वाला देवकोटासँग भेटाउनुभयो। उहाँले निबन्ध पढिसकेपछि मलाई बोलाएर भन्नुभयो, ‘तपाईंको लेखाई अलि बढी साहित्यिक भयो, त्यसलाई अलि मिडिया फ्रेन्डली बनाउनुस्। तपाईं नयाँ पत्रिकामा काम गर्नुस्।’

उहाँले लेखक हुन चाहनेले पाँच वर्ष पत्रिकामा काम गर्नुपर्छ भनेपछि मैले नयाँ पत्रिकामा लेख्न थालेँ। धेरैलाई मेरो गद्य मन पर्न थाल्यो। धेरैले सुझाव दिन थाले, ‘अब आख्यान लेख्नुपर्छ।’

ममा पनि जोश चढ्यो।

दिमागमा ‘आइडिया’ खेलाइरहेका बेला बुवा बिरामी परेको खबर सुनेँ। कोहलपुर अस्पतालमा बुवालाई कुरिरहँदा दिमागमा एउटा प्लट फुर्‍यो। म काठमाडौं आउँदा बुवा एकदमै स्वस्थ हुनुहुन्थ्यो। चार वर्ष जति भेटै भएन। बिरामी भएपछि बुवा अर्कै मान्छे हुनुहुन्थ्यो। एउटा अस्थिपञ्जर लडिरहेजस्तो। त्यो दृश्यले मलाई निकै दुःखी तुल्यायो। बुवाको शरीर देख्दा मलाई पुराना चिजहरुका याद आउन थाले। बच्चा हुँदाखेरि बुवाको झल्को आउन थाल्यो। त्यही बेला मैले अस्पतालमा देखेका दृश्यलाई ‘रिलेट’ गरेर पृष्ठभूमिको कल्पना गर्न थालेँ। काठमाडौं आइसकेपछि सोचेँ, अबचाहिँ यसैमा उपन्यास लेख्छु। अनि, जन्मियो, कर्नाली ब्लुज।

त्यसपछि ‘फिरफिरे’ आयो।

कथा सकियो!

प्रस्तुतिः रवीन्द्र ढकाल

(बुकाहोलिक्स र बुकमाण्डुले सुरु गरेको ‘कर्मयात्रा’ श्रृंखलामा आख्यानकार बुद्धिसागरको मन्तव्यको सम्पादित अंश। कर्मयात्राको पहिलो श्रृंखलामा बुद्धिसागरका अलावा आख्यानकारद्वय नयनराज पाण्डे र कुमार नगरकोटीले बोलेका थिए। बाँकी दुई लेखकको मन्तव्य क्रमशः प्रकाशित हुनेछ।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.