केटाहरूलाई रुन सिकाउनुपर्छः आमिर खान


बलिउड अभिनेता आमिर खानलाई चिनाइराख्नु पर्दैन। सबल अभिनय सँगै सामाजिक विषहरूमा उनको सहभागिताले उनलाई अभिनेताभन्दा धेरै माथि पुर्याइदिएको छ। ‘लगान’ ‘थ्रि इडियट्स’ ’तारे जमिन पर’ जस्ता फिल्महरूले सबैको मनमा बसेका उनी पछिल्लो समय ’दंगल’ बाट झनै चर्चामा आए। ती सबै फिल्महरू बलिउड फिल्म हुनु सँगसँगै विभिन्न सामाजिक विषयहरूमा आधारित थिए। तिनले बालक तथा युवा पुस्ता सबैको मन जिते। उनले सुरु गरेको पहिलो टिभी कार्यक्रम ‘सत्यमेभ जयते’ एकदमै सफल रह्यो। सामाजिक मुद्धाहरूमा लामो समय रिसर्च गरेर प्रस्तुत गर्ने तथा त्यस्ता समस्या समाधान गर्न लागिरहेका पर्दापछाडीका हिरोहरूलाई बाहिर ल्याउने उनको प्रयासको सर्वत्र प्रशंसा भयो। उक्त कार्यक्रम करौडौ दर्शकहरूले हेरे। यसै सन्दर्भमा अमेरिकामा जैनब साल्बीले लिएको उनको अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

तपाईँलाई सत्यमेव जयते सुरु गर्न के ले प्रोत्साहित गर्‍यो?

मलाई लाग्छ यो म सानो हुँदादेखिनै कतै सुरु भइसकेको थियो। मेरो आमाबाटै। आमाले मलाई धेरै प्रभावित पार्नुभएको छ। सानो हुँदा म धेरै टेनिस खेल्थेँ। स्टेट तथा नेसनल लेभलमा पनि खेलेँ। म खेलमा धेरै ध्यान दिन्थेँ भन्ने उहाँलाई थाहा थियो। जब पनि म म्याच खेलेर घर फर्किन्थेँ उहाँ हार्यौ कि हारेनौ भनेर सोध्नुहुन्थ्यो। म प्राय हार्दिन थिँए। खुसी हुँदै जितेको कुरा सुनाउँथे। त्यसैक्रममा एक दिन मैले जितेको कुरा सुनाएपछी उहाँले भन्नुभयो, ‘जो केटा तिमीसँग हार्यो उ अहिले घर पुग्योहोला। आमाले उसलाई त्यही प्रश्न सोध्नुभयो होला। उसले मैले हारेँ भन्यो होला। उसको आमाले अहिले धेरै नराम्रो महसुस गरिहकी होलिन्?’ त्यो कुराले मलाई भित्र सम्म छोयो। आफूले कहिल्यै नभेटेकी कुने महिलाको बारेमा सोच्ने उहाँको हृदयले मलाई गहिरो प्रभाव पार्यो। मलाई लाग्दैन उहाँले मलाई कुनै कुरा सिकाउन खोज्नुभएको थियो। तर उहाँ त्यस्तै हुनुहुन्थ्यो। त्यसको प्रभाव मलाई पर्‍यो।

दोस्रो प्रभाव मेरो साथी सत्यजित भड्कल हुन्, जो सत्यमेभ जयतेका डाइरेक्टर छन्। सत्या र म स्कुलमा सँगै पढ्यौ। उ टपर थियो। म पछाडि बस्थेँ। उ धेरै जान्ने। पढाइ सकाएपछी उसले इन्जिनियर¸ चार्टर एकाउन्टेन्ट वा डाक्टर केहीपनि नभई अरूको लागि काम गर्ने सोच्यो। आफ्नो  जीन्दगीनै आफूभन्दा कम पँहुच भएका व्यक्तिहरूको सेवामा लगायो। म फिल्ममा लागेँ। मेरो करियर पनि बन्यो। सफल पनि भएँ। तर हरेकपल्ट उसलाई भेट्दा मलाई जहिल्यै गिल्टी फिल हुन्थ्यो। मैले केही गलत गरेको थिइन, मनले चाहेकै कुरा गरिरहेको थिँए तर पनि उसलाई भेट्दा त्यस्तै लाग्थ्यो। उ अरूको लागि बाँचेको देख्दा मलाई पनि उ जस्तै हुन पाए कस्तो हुन्थ्यो जस्तो हुन्थ्यो। उसले गरिरहेको भन्दा आधा मात्र गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।

त्यस बेला टेलिभिजन पनि नँया उचाइमा पुग्दै थिए। मैले पनि धेरथोर ‘गुडविल’ कमाएको थिँए। त्यसैले म कसरी योगदान दिन सक्छु भनेर सोच्न थालेँ। हरेकदिन उठेर पत्रिकामा अन्याय, गरिबी, पीछडिएका वर्ग सबैको बारेमा पढिरहँदा त्यसको लागि मैले केही गर्न पाए हुन्थ्यो जस्तो लागिरह्यो। मलाई लाग्छ हामी सबैलाई यसरीनै केही न केही गरूँ भन्ने लाग्छ तर कहाँबाट सुरु गर्ने थाहा हुँदैन। त्यसपछि मलाई लाग्यो कि म जे जान्दछु मैले त्यही गर्नुपर्छ। जुन हो ‘स्टोरी टेलिङ’। मलाई यही स्टोरी टेलिङकै माध्यमबाट केही गरेर मानिसहरूको सोचाइ परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो। हाम्रो समाजमा भएका विषयहरूमा छलफल गर्नु जरुरी थियो। त्यस बेला यो लेबलमा कसैले प्रयास गरेका थिएनन्। मलाई मेरो गुडविलको प्रयोग गरी खोज पत्रकारिता र स्टोरी टेलिङको माध्यमबाट केही गर्ने आँट आयो। त्यसैले हामीले हरेक विषयमा गहिरो रिसर्च गर्‍यौ र टिभी मार्फत सबै मानिसहरूसम्म पुर्यायौ। हामीले के सिक्यौ भन्ने कुरा सुनायौ।

समाज परिवर्तन गर्ने मामिलामा मैले जहिल्यै पनि दुईवटा बाटो जरुरी हुन्छ भन्ने बुझेँ। ‘टप टु डाउन र डाउन टु टप’। पहिलोमा कानुन बनाउने र मानिसहरूलाई पालना गर्न लगाउन। कहिलेकाँही यो काम गर्छ त कहिले गर्दैन। धेरैजसो समय गर्दैन। अर्को बाटो भनेको लामो बाटो हो तर हामी त्यसमै हिँड्यौ। यो तरिबाट मानिसहरूको मनलाई घृणाले हैन मायाले छुने हो। यसरी सानो उमेरमै मानिसहरूलाई राम्रो कुरा सिकाउने, ताकि भोलि उनीहरूलाई कानुनको मतलब संझाउनु नपरोस्।

यस्तै सबै कुराहरू मिलेर अहिलेको सत्यमेभ जयते तयार भयो।

पहिलो सो को विषय कन्या भ्रुणहत्याको बारेमा थियो। यो सामान्य विषय छँदै थिएन। यसैलाई छान्न के ले प्रेरित गर्‍यो?

यो नै हामीले किन छान्यौ भन्ने बारेमा यकिन थाहा छैन। सुरुमा हामीले चारवटा विषयमा रिसर्च गरेका थियौ। कन्या भ्रुण हत्या सहित पब्लिक हेल्थ, बाल यौन हिंसा जस्ता विषयहरू थिए ती। पहिलो यसलाईनै छान्नुको कारण यो इन्डियाको पहिलो ठुलो समस्या बन्दै थियो। यसले सबै मानिसहरूलाई एकैपटक छुन सक्थ्यो। त्यसैले यसलाई महिलाको समस्या भन्दा पनि आमाको समस्याको रूपमा अगाडी बढाउने निर्णय गर्‍यौ। सबै सामाग्रीहरू तयार भइसकेपछि त्यसलाई यसरी देखाउनु थियो कि दर्शकहरूलाई भावनात्मक रूपमा छुन सकोस्। मैले सो सुरु गर्दा पनि ‘आज हामी कन्या भ्रुण हत्याको बारेमा कुरा गर्दैछौ’ भनेर गरिन। मैले यसरी सुरु गरेँ। ‘मानिसहरूलाई तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिस को हो भनेर सोध्यो भने धेरैले आमा भन्छन्’। आमाको बारेमा कुरा गरेर मैले मानिसहरूलाई भावनात्मक रूपमा तानेपछि भनेँ ‘लौ हेरौ आज हामी आमाहरूलाई कसरी व्यवहार गरिरहेका छौ’। हाम्रो पहिलो अतिथि एक आमालाई बोलाएका थियौ जसले छोराको खोजी गर्दा ६ वर्षमा ८ वटा गर्वपतन गरिसकेकी थिइन् र ती सबै उनका पति सहित सासुहरूले जवरजस्ती गराएका थिए। जब उनलाई हेर्नुहुन्छ र उनी बोलेको सुन्नुहुन्छ तपाईँ एक आमालाई सुनिरहनुभएको हुन्छ। त्यो देखेर बुझ्नुहुन्छ एक आमाले के के भोग्नुपर्यो। एक महिलाले के के भोग्नुपर्यो। त्यही कुराले मानिसहरूलाई समात्यो। पहिलो शृंखलाले नै मानिसहरूलाई भावनात्मक रूपमा बाँधिदियो।

र खुसीको कुरा,  २०११ मा त्यो एपिसोड देखाइएको थियो। त्यसभन्दा पहिला राष्ट्रिय गणनामा राष्ट्रिय जन्म औषत ९१४ महिला हुँदा १००० पुरुष थियो। राजस्थान र महाराष्ट्र जस्ता स्थानमा अझ ९०० भन्दा पनि कम थियो। र यो घट्दै थियो। तर अहिले ३ वर्षपछि तिने राज्यहरूमा उक्त अनुपात ५० देखि ६० नम्बरसम्म बढेको छ। र मलाई लाग्यो यो हाम्रो कार्यक्रम धेरै मानिससम्म भावनात्मक रूपमा पुगेको  तथा त्यहाँको सरकारले गरेको प्रयासको संयुक्त प्रतिफल हो। मानिसहरूले त्यो कार्यक्रम हेरेर अबदेखि म यस्तो गर्दिन भन्नु पनि ठुलो कुरा हो जस्तो लाग्छ।

गर्भपतन अहिले पनि भारतमा गैरकानूनी छ हैन?

भारतमा गर्भपतन चाहिँ कानुनी छ। तर लिङ्ग पहिचान गरेर गरिने गर्भपतन चाहिँ गैरकानूनी छ। यो नै मलाई त आश्चर्यजनक लाग्छ। मलाई लाग्छ अमेरिकामा डाक्टरलाई कुन बच्चा छ भनेर सोध्न नपाइने नियम छैन। यहाँ डाक्टरले तपाईँले बच्चाको लिङ्ग थाहा पाएपछि गर्भपतन गर्नुहुन्छ भन्ने कुरानै सोच्दैन। त्यसैले यहाँ त्यस्तो कानुन चाहिएको छैन। हाम्रो भारतमा यस्तो कानुन छ। बच्चाको कुन लिङ्ग हो भनेर सोध्न पाँइदैन। डाक्टरले पनि भन्न पाँउदैन। सोधेमा तथा भनेमा दुबैजना जेलमा पर्नेछन्। त्यो कानुनले पनि हामी को हौ र कहाँ छौ भन्ने चिनाउँछ। दुखका साथ भन्दा हामी त्यस्तो कानुन चाहिने अवस्थामा छौ। हाम्रोमा त अपराधीले चुनावमा उठ्न नपाउने भन्ने पनि नियम छ। त्यस्तो कानुन पनि चाहिएको छ हामीलाई। अमेरिकामा हो भने अपराधी उठेमा एक भोट पनि नपाउन सक्छ तर हाम्रोमा त उठेर जित्न पनि सक्छ। हामी कानुन चाहिने अवस्थाबाट उठ्न बाँकी छ।

अर्को शृंखलामा दाइजो प्रथाको विरुद्धमा बोल्नुभएको छ नि?

यहाँ भएका मानिसहरूलाई बताउनु पर्दा ९० देखि ९५ प्रतिशत भारतीयहरूले या त दाइजो लिएका छन्, दिएका छन् वा दुवै गरेका छन्। म आफ्नो देशको ठुलो जनसङ्ख्यासँग संवाद गरिरहनुभएको हुनसक्छु र भनिरहनुभएको हुन्छ कि उनीहरू जुन काम गरिरहेका छन् त्यसो गर्नु राम्रो काम हैन। तर उनीहरूले हेरिरहेको टिभी पनि दाइजोमै आएको हुन सक्छ। त्यसैले पनि यो सबै कुरा मायाले गर्नु र मायाले संझाउनु हाम्रो लागि जरुरी थियो। कार्यक्रम सुरु हुनुभन्दा पहिलानै मैले यो कुरा कोर टिमसँग गरेको थिँए कि हामी कुन ड्राइभिङ इमोसनलाई समातेर त्यो सो गर्नेछौ। मलाई त्यो तरिका किन पनि ठिक लाग्छ भने म पनि उनीहरूमध्येकै एक हुँ। म पनि उनीहरूमै पर्छु। कुनै पनि सामाजिक समस्यालाई दोष दिनुभन्दा पहिला हामीले आफैलाई हेर्नुपर्छ। आफू पनि सुध्रिने र अरूलाई पनि सुधार्ने तरिका सही हो।

तपाईहरूले गरेको कामले मानिसहरूलाई असहज बनाएन? उनीहरूले कसरी प्रतिक्रिया दिए?

सकारात्मक कुरा भन्नुपर्दा ठुलो सङ्ख्यामा मानिसहरूले कार्यक्रम मनपराए। यसले अहिलेको भारत कस्तो छ भन्ने बारेमा सत्य बोलेको छ। सँगसँगै भारत परिवर्तन हुन चाहान्छ भन्ने कुरा पनि सङ्केत गरेको छ। त्यस्तो गहन विषय बोकेको सो त्यो रूपमा चर्चित होला भनेर कमैले सोचेका थिए। यो सफल हुनुले अहिलेको अवस्था बारेमा भन्छ कि हामीसँग समस्याहरू छन् तर त्यसलाई छोडेर हामी अगाडी बढ्न र परिवर्तन हुन तयार छौं।

विषयहरू छान्दा कसरी छान्नुहुन्छ? त्यस्तो कुनै विषय छ जसलाई हामी गर्दैनौ भन्नुपरेको छ?

विषय छान्दा हामी धेरै झगडा गर्छौ। (हाँसो)। खासमा त्यस्तो छैन भएको छैन। हामीले धेरै अफ्ट्यारा विषयहरू पनि उठायौ। त्यसमध्ये एक छुवाछुत पनि थियो। हाम्रो संविधानले हामी सबै बराबर छौ भन्छ तर यथार्थमा त्यस्तो अझै हुन सकिरहेको छैन। हामी त्यहाँसम्म पुग्नको लागि अझै यात्रामै छौ। धेरै समाजहरूमा समानता पनि ठुलो विषय छ। हाम्रो जातीय व्यवस्थाले यसलाई झनै कष्टकर बनाइरहेको छ। यी सबै विषयहरू मानिसहरूसँग धेरै नजिक छन्। उनीहरू भावनात्मक रूपमा जकडिएका छन्। १५ प्रतिशत मानिसहरू दलित छन्। हामी टिभीमार्फत बाँकी ८५ प्रतिशत गैरदलितहरूसँग सम्बाद गरिरहेका छौ। हामीले जुन छुवाछुत गरिरहेका छौ त्यो राम्रो हो कि हैन भनेर प्रश्नहरू गरिरहेका छौ।

यो कस्तो गइरहेको छ त?

छानेका सबै विषयहरूमा हामी पूर्णरूपले इमान्दार छौ। मायाले यो सबै कुराहरू गर्छौ। यसलाई यसरी भन्छु, बहुमत मानिसहरूले हाम्रो सो मनपराएका छन्। केही मानिसहरू छन् जसलाई सो मन नपरिरहेको पनि छ। केही पुरुष सङ्गठनहरू मलाई घृणा गर्छन्। उनीहरू इमेल लेखेर पुरुषको विषयमा किन बोल्दैनस् भनिरहन्छन्। हामीले गरेका पनि थियौ। त्यसमा पुरुष हुनु भनेको के हो भन्ने बारेमा कुरा गरेका थियौ। त्यसको आशय थियो जबसम्म हामी पुरुष हुनु भनेको के हो भनेर पुनर्विचार गर्दैनौ वा फर्किएर हेर्दैनौ, समाज परिवर्तन हुनेवाला छैन। महिलाहरू परिवर्तन भइरहेका छन्। तर पुरुषहरू परिवर्तन हुन सकिरहेका छैनन्। वास्तविक पुरुष को हो त ? उ जो गएर मानिसहरूलाई पिट्छ? जसले अरू कसैलाई बचाउँछ?

मलाई के लाग्छ भने कुनै बच्चा जन्मिएपछिनै केटा वा केटी के हो दुवैलाई बराबर व्यवहार गरिनुपर्छ। हामीले छोरालाई रुन दिनुपर्छ। उ रोएको बेला केटी जस्तो रोएको भनेर भन्नुहुँदैन। नत्र उ मैले रुन हुँदैन भन्ने सिकेर हुर्किन्छ। जब कसैलाई रुन दिँइदैन हामी बिस्तारै उसलाई भावनात्मक पक्षसँग टाढा लग्दै जान्छौ। उ जे महसुस गरिरहेको छ त्यो महसुसलाई व्यक्त गर्न दिँदैनौ। त्यसपछि उ आफ्नो श्रीमतीलाई किन कुट्छ भनेर आश्चर्य मान्नुको के अर्थ ? यदि बच्चालाई रुन ठुलो कुरा हैन वा डराउनु ठुलो कुरा हैन भनेर सिकाउन सक्ने हो भने केटाहरू पनि संवेदनशील भएर हुर्किन सक्छन् । हाम्रो कार्यक्रमले यही कुरा भन्ने प्रयत्न गरेको थियो।

(दृश्यमा उक्त एपिसोडको केही कुराहरू हेरेपछि फेरी कुराकानी सुरु हुन्छ। त्यसमा पाँच पुरुषहरूले उनीहरूको पालनपोषण कसरी भएको थियो भनेर सुनाउँछन्। एक पुरुषले त उनीहरूको परिवारमा श्रीमती कुट्न पाउने हक भएको बताउँछन्। त्यहाँ श्रीमती उठे दुई र बसे दुई कुट्ने अनिमात्र पुरूषार्थ मानिन्छ भन्ने भनाइ रहेको बताउँछन्। उनलाई त्यस्तो समाजमा रहेकोमा दु:ख लाग्छ।)

उनीहरूले कसरी तपाईसँग ती सबै कुरा भन्न माने? के उनीहरू ती विषयहरूमा कुरा गर्न सहज थिए?

कार्यक्रममा मा एउटा भाग छ जहाँ एक मानिस भन्छन् कि भारतमा सच्चा मर्द रूँदैनन् र उनीहरू श्रीमतीको हात पनि समाउँदैनन्। दुई तीन फिट वरपरनै हिँड्छन्। भारत ठुलो देश हो त्यसैले मैले भनेको कुरा सबैतिर हुन्छ भन्ने नसोच्नुहोला। म गलत इम्प्रेसन दिन चाहान्न तर यो ग्रामीण भारतमा धेरै हुन्छ। यस्तै सोचाइ छ र यस्तै बुझेर केटाहरू हुर्किएका हुन्छन्। कार्यक्रममा मैले भनेको थिँए कि सच्चा पुरुषको त्यो डेफिनेसनमा म कतै पनि पर्दिन थिँए। म रून्छु, श्रीमतीको हात पनि समाउँछु। आफ्ना छोराछोरीलाई अँगालो पनि मार्छु (भारतमा त त्यसो गर्नु पनि नराम्रो मानिन्छ)। हरेक एपिसोडहरूमा म रोएको छु। रिसर्च गर्दा पनि रोइरहेको हुन्छु।

ती सबै सामाग्री हेर्दा कहिलेकाँही सोच्छौ हामी यो सबै किन गरिरहेका छौ ? यो देशको समाजमा केहीपनि हुनेवाला छैन। त्यसपछि लगत्तै कोही मानिस भेटिन्छन् जो ती तमाम समस्याहरूलाई समाधान गर्न लागिरहेका हुन्छन्। उ धेरै प्रयत्न गरिरहेको हुन्छ र केही हुन सकेन भनेर हारेको हुँदैन। त्यस्ता साना प्रयास गर्ने पर्दापछाडीका हिरोहरूले फेरी कार्यक्रमको उद्देश्य संझाउँछन्। हामी पुन: मोटिभेट हुन्छौ। सत्यमेभ जयतेको लागि रिसर्च गर्दाका यी पाँच वर्षहरूमा मानवमा हुने सबैभन्दा खराब र सबैभन्दा राम्रा पक्षहरूलाई मैले भेटेको छु। एकदमै प्रभावित पार्ने मानिसहरूलाई भेटेको छु जसको प्रयासले अलग्गै प्रेरणा दिन्छ।

एउटा प्रसङ्ग सुनाउँछु। मैले एक जना महिलासँग कुरा गरेको थिँए जसको छोराको हत्या भएको थियो। उसको छोराले अर्कै धर्मको केटीसँग विवाह गरेको थियो। त्यो ‘अनर किलिङ’ थियो। त्यो सबै हुँदापनि ती महिला त्यस्तो दया र सम्मानले बोलिन्। उनको ‘फर्गिभनेस’ले मलाई धेरै प्रभावित पार्यो। उनले छोराको बारेमा बोलेको सुन्नु वास्तवमै अनौठो अनुभव थियो। त्यस्ति बलियो शक्ति कहाँबाट पाइन् ? त्यो अवस्थामा पनि मानिसहरूप्रति मायाले व्यक्त हुन कसरी सम्भव भयो?

हामी सामान्यतया सोच्थ्यौ कि ग्रामीण भेगमा हुने महिलाहरू अनपढ हुन्छन्। त्यसैले उनीहरू सहरमा हुने महिलाहरूजति बलिया हुँदैनन्। ती दुई महिलाहरू जसको एक छोरा तथा अर्कीको भाइ मारिएका थिए। उनीहरूलाई गाँउमा बहिस्कार गरिएको थियो। सामान बेच्न पनि इन्कार गरिएको थियो। गाँउमा कोहीपनि बोल्दैन थिए। भाइ र छोराको अस्तु पनि दिइएको थिएन। त्यस्तो तिरस्कार पाँउदा पनि उनीहरू हारेनन्। पुलिसमा उजुरी दिए। धम्की दिइयो। पैसाको लोभ देखाइयो। राजनैतिक दबाब पनि दिइयो। तर जस्तो सुकै अवस्था पर्दा पनि मुद्दा फिर्ता गरेनन्। मुद्दा जिते र अपराधीलाई जेलमा पुर्याउ। मैले भन्न खोजेको के भने सानो गाँउबाट आएका भए पनि उनीहरूले देखाएको हिम्मत अद्भुत थियो। मुब्बइ जस्तो ठाउँमा यदि कुनै राजनैतिक दलले भोलि मुम्बइ बन्द भन्यो भने सबै चकमन्न हुन्छन्। कोही पनि घर छोड्दैनन्। डराउँछन्। तर ती महिलाहरूलाई केन्द्रबिन्दु बनाएरै अनेकौँ डर र त्रास देखाए पनि उनीहरूले हारेनन्, गाउँ छोडेनन्। न्यायको लागि उनीहरूले लडेको लँडाइले प्रेरणा दिन्छ।

‘ग्याङ रेप’को बारेमा तपाईँको के धारणा छन्। त्यसको बारेमा एउटा ‘इन्डियाज् डटर्स’ फिल्म पनि बनेको थियो हैन?

मैले फिल्म हेरेको छैन त्यसैले केही भन्न सक्दिन तर  त्यो फिल्मलाई देखाउन प्रतिबन्ध गरिएको कुराले दुखी बनाएको छ। यसलाई प्रतिबन्ध लगाउन हुँदैनथ्यो। बोल्न पाउने स्वतन्त्रताको सम्मान सबैले गर्नुपर्छ। फिल्म देखाइनु पर्छ भनेर धेरैले बोलेका पनि थिए।

रेपको बारेमा कुरा गर्दा त्यसको विरुद्धमा लडेको बारेमा हामीले एक शृंखला पनि गरेका थिँयौ। मलाई के लाग्छ भने भारतमा भएको शक्ति सन्तुलननै परिवर्तन हुनुपर्छ। अहिले त रेप बाट बाँचेको मान्छे पुलिसकोमा जान्छ तर उसलाई नराम्रोसँग व्यवहार गरिन्छ। स्वास्थ्य उपचारको लागि जाँदा पनि त्यस्तै अवस्था छ। न्याय पाउन वर्षौ पर्खिनुपर्छ। जबसम्म सँजाय चुस्त र निश्चित हुँदैन, भारतमा केहीपनि परिवर्तन हुनेवाला छैन। र अर्को महत्त्वपूर्ण कुरा एक समाजको रूपमा हामीले पनि बलात्कारीलाई बहिष्कार गर्न र बलात्कृत महिलालाई अँगाल्न सिक्नुपर्यो।

अन्तिममा ती सबै कुराहरू देखेपछि फिल्मको लागि कथा छान्ने कुरामा केही परिवर्तन भयो?

खासै धेरै छैन। तर स्वभाविक रूपमा म को हुँ भन्ने महत्त्व बुझाउने कथाहरूले मलाई तान्न थालेका छन्। उदाहरणको लागि मैले छानेको फिल्म दंगल। यो एक बाबुको कथा हो जसको देशको लागि रेस्लिङमा स्वर्ण पदक जित्ने सपना हुन्छ तर आर्थिक कारणले सक्दैन। उ चाहान्छ उसको छोराले त्यो गर्नेछ तर १५ वर्षमा ४ वटा छोरीहरूमात्र जन्मिन्छन्। पछि उसकी छोरीलेनै त्यो सपना पुरा गर्छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.