‘फिल्म नहेरेको भए किताब लेख्न सक्दिनथेँ’


पत्रकारले प्रश्न गर्छ। आफ्नो समाचारमा त्यसको जवाफ खोज्छ।

समाचारले पनि समेट्न नसक्ने बृहत सवाल छ भने ऊ किताब लेख्छ।

पत्रकार तथा फिल्म समीक्षक यज्ञशसँग भने भुइँमान्छेहरूको कथामा ‘भुइयाँ’ लेखेपछि जवाफ त होइन, बरु प्रश्नकै खात छ।

‘जसको पुर्खाले मरेर काम गर्यो, ऊ पनि मरेर काम गर्दैछ,’ उनको प्रश्न छ, ‘किन ऊसँग केही छैन? जो श्रम गर्छ ऊसँग केही नहुने, जो श्रम गर्दैन ऊसँग किन सबथोक?’

२०६८ सालमा चितवनमा आयोजित भूमिहीन महिला सम्मेलनमा मानवशास्त्री सुरेश ढकालसँग पुगेका थिए, यज्ञश। त्यहाँ उनले केही महिलासँग कुरा गरे, जोसँग केही थिएन, कथाबाहेक। पछि २०७० सालमा पूर्व र पश्चिम गरी दुइटा ठूला भ्रमण गरे। दुई दर्जनभन्दा बढी त्यस्तै महिला भेटे। तीमध्ये १३ जनाको कथा नै ‘भुइयाँ’ हो।

थारु भाषामा भुइयाँको अर्थ भूमि, धर्ती र पृथ्वी हुन्छ। भूमि रक्षा गर्ने देवता भूयाँरलाई पनि भुइयाँ भन्ने गरिन्छ।

‘भुइयाँ’ का अधिकांश पात्रसँग आफ्नो जमिन छैन। जमिन नै नभएपछि घर आफ्नो हुने कुरै भएन। जुन ठाउँ बसे पनि उनीहरू त्यहाँका रक्षक हुन्। कमलरी बसेकाले घर रेखदेख गर्छन्, जंगलमा बसेकाले जंगल। विडम्बना, उनीहरूमाथि नै वनमुद्दा लागेको छ। प्रहरीले उनीहरूकै छाप्रोमा कयौंपटक आगो झोसिदिएका छन्। त्यस्तै महिलाको जीवनसंघर्षको कथा ‘भुइयाँ’ यज्ञशको तेस्रो कृति हो। यसअघि उनले भारतीय लेखक उदय प्रकाशका दुई कृति ‘मोहनदास’ र ‘नेलकटर’ अनुवाद गरेका छन्।

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यज्ञशको परिचय फिल्मसँग जोडिएको छ। उनी फिल्म समीक्षकका रूपमा बढ्ता चिनिन्छन्। भन्छन्, ‘म खासमा फिल्म दर्शक हुँ। फिल्म दर्शक नभइदिएको भए म अहिले किताब लेखक हुन सक्दिनँ थिएँ होला।’

यज्ञशलाई सानैदेखि टन्नै फिल्म हेर्न पाए पुग्थ्यो। तनहुँ सदरमुकाम दमौलीबाट ११ किलोमिटर पर उनको गाउँमा बिजुली बत्ती थिएन। उनलाई पौडीमा रुचि थियो। खोलाको तिरै तिर स्कुल जाँदा–आउँदा दिनकै दुईचोटि पौडी खेल्थे। बर्खामा समेत खोलामा हामफाल्न थालेपछि आमालाई पीर प¥यो। हरेक बर्खे विदामा काठमाडौं मामाघर पठाइदिन थालिन्।

मामाका छोरा रहेछन् खुबै बलिउडी! उनकै संगतमा यज्ञशलाई फिल्मको लत लाग्यो।

छ कक्षा पढ्न गाउँबाट दुई किलोमिटर तल झरेपछि त यो लत झन् गाढा भयो। उनी पहिलो पिरियड पढेर ९ किलोमिटर टाढा दमौली बजार हानिन थाले, फिल्म हेर्न। त्यो बेला एउटै फिल्म उनले कयौंपटक हेरेका छन्।

अजय देवगनको फिल्म लागेका बेला बिहान ९ देखि राति ९ बजेसम्म फिल्म हेरेर राति २ बजे घर पुगेको दिन सम्झिँदा उनी रोमाञ्चित हुन्छन्। फिल्म हेर्ने रनाहामा आमा र सरको कुटाई खानुपरेको खुब सम्झन्छन्। आमा त घरमा जो आए पनि भनिहाल्थिन्, ‘यसलाई फिल्म धेरै हेर्नुहुँदैन भनिदिनुस् न।’

क्याम्पस पढ्न दमौली आएपछि उनको ध्याउन्ना पढाइभन्दा फिल्मतिरै बढ्ता गयो। सँगसँगै बलिउड फिल्म म्यागेजिनको नसा पनि थपियो।

आइए सकेपछि काठमाडौं आए। फिल्मबाहेक सपना वा उद्देश्य केही थिएन। निर्देशक बन्ने सोच धमिलो पानीमा माछाजस्तो सलबलाउँदै थियो। म्यागेजिनमा अरूका पढ्दा पढ्दा आफू त्यस्तै लेख्छु भन्ने पनि लाग्न थाल्यो।

‘युगवाणी’ साप्ताहिकका सम्पादकसँग चिनजान थियो। सम्पादककै अनुरोधमा एउटा स्टोरी लेखे। ‘के लेखेँ सम्झना छैन,’ यज्ञश भन्छन्, ‘कुनै हिन्दी पत्रिकामा लेखेको आर्टिकलको आधा र आफ्नो आधा मिसमास पारेर लेखेको थिएँ।’

एक वर्षपछि उनलाई जागिरै खाने अफर आयो। फिल्मकै विषयमा लेख्ने जागिर पाएपछि यज्ञशले दोस्रो स्टोरी लेखे, ‘बलिउडमा अमिताभपछिको सुपरस्टार को?’

‘त्यो पनि चोरचारकै थियो,’ यज्ञश स्वीकार्छन्, ‘रमाइलो के भने सम्भावित सुपरस्टारमा हेरिएकामध्ये अजय देवगन पनि थिए। तर, अरूभन्दा निकै पछाडि। आफूलाई मन पर्ने हिरो पछाडि राख्न मन लागेन। सरक्क अगाडि तानिदिएँ।’

लेखक, पत्रकार, समीक्षक बन्ने उनको ध्याउन्नै थिएन। सुरुआती समयमा उनले थुप्रै पत्रिका चहारे। जता मन मिल्यो, बढी पैसा मिल्यो, त्यतै दगुरिहाल्थे। सुरुमा त उनी बलिउड मात्र लेख्थे। उनले अन्तर्वार्ता लिएको पहिलो कलाकार रहेछन्, यादव खरेल। सम्पादकले अह्राएको बखत राजनीतिक, सामाजिक अन्तर्वार्ता पनि लेखे। तर, दिल खोलेर होइन।

नारायण अमृत, दीपक रौनियार, अनुप सुवेदी – त्यतिबेला फिल्म समीक्षामा सक्रिय नाम। यज्ञशको संगत तिनैसँग भयो। उनीहरूको संगतले बलिउडी यज्ञश संसारभरका राम्रा फिल्मको दैलोमा पुगे। गम्भीर कुरा पढ्ने र गम्भीर फिल्म हेर्न घचेट्नेचाहिँ नारायण थिए।

यही संगतमा न्युरोडका गल्लीबाट फिल्मका सिडी किन्ने सिलसिला सुरु भयो। उनी फिल्मका कुरा गर्दा जहिल्यै एउटै कल्पना गर्थे, ‘एकदिन मेरो कोठामा टिभी र डेक हुनेछ। म मस्त फिल्म हेरिरहेको हुनेछु।’

यज्ञशले टिभीभन्दा पहिले कम्प्युटर किने। फिल्म हेरे। नहेरे पनि सिडी संकलन गर्ने बानी बस्यो। न्युरोडतिर सिडी किन्न चहार्दा नपाएपछि पसलेलाई नै धाक दिन्थे, ‘योभन्दा धेरै सिडी त मेरै कोठामा छ।’

यति धेरै र सबैथरीका फिल्म हेर्नुको फाइदा के भयो भने, उनले विभिन्न देशका आर्थिक, सामाजिक, ऐतिहासिक, राजनीतिक अवस्थाको जानकारी फिल्मबाटै पाए। त्यो जानकारी सतही नै भए पनि विषयवस्तु बुझ्न पर्याप्त थियो भन्ने उनलाई लाग्छ।

पत्रकारिता थालेपछि फिल्मको ‘कन्टेन्ट’ बुझ्न ‘कन्टेक्स्ट’ पनि बुझ्नुपर्ने लागेपछि उनी पढन्ते भए। फिल्म हेर्ने, लेख्ने र पढ्नेको जमातमा यज्ञशको प्रवेश भयो। उनले त्यस्तै साथीहरूसँग मिलेर फिल्म पत्रिका निकाले, ‘सिने सिमल’।

मासिक छँदा ठिकै चलेको त्यो पत्रिका साप्ताहिकमा ओर्लिएसँगै बजारबाटै हरायो। अन्ततः यज्ञश पनि केही समय सक्रिय पत्रकारिताबाट हराए।

यज्ञश केही समय बेलायतबाट निस्कने एक साप्ताहिक पत्रिकामा पनि आबद्ध भए। धेरै काम गर्नुपर्थेन, महिनाको १०/१२ हजार आउँथ्यो। एक्ला यज्ञशलाई त्यति पैसा छेलोखेलो पुग्थ्यो। त्यतिबेला प्रकाशक विजयराज आचार्य हिन्दी साहित्य, दर्शन, सिद्धान्तका नाम चलेका पुस्तक नेपालीमा अनुवाद गराएर बेच्थे। यज्ञशले किताब किन्ने थलो त्यही थियो।

उनले कोर्सबाहिरका कुनै पुस्तक पढेका थिए भने, ती थिए मुनामदन, गौरी र स्वस्थानी। रामायण र महाभारतका ठेली हजुरबाबाट सुनेका। योजना बनाएर पढ्न थालेपछि अध्ययनको खास मजा भेटे। फिल्म बुझ्न त्यो देशको भाषा, संस्कृति बुझ्नुपर्छ भन्ने उनलाई थाहा थियो। गम्भीर अध्ययन भने थिएन।

‘नयाँ पत्रिका’ दैनिक खुलेपछि यज्ञश खुलेरै पत्रकारितामा फर्किए। पहिले चिनेकाले मात्र पढ्थे, पछि नचिनेकाले समेत पढेर प्रतिक्रिया दिन थाले। यसले उनी पत्रकारितातिरै लहसिए। त्यसमा पनि उनले बढीजसो लेख्ने विषयवस्तु फिल्म समीक्षा र फिचर नै थियो।

फिल्म हेर्ने, फिल्म लेख्ने, फिल्म पढ्ने, फिल्म बुझ्ने– यस्ता फिल्मका ‘कीरो’ ले लेखेका किताबमा भने दूरदूरसम्म फिल्म छैन। उनले आफ्नो फिल्मी ‘कीरो’ मार्न पटकथा नलेखेका होइनन्– ‘फिटकिरी’। अचेल भने उनी दिमागमा फिल्मका दृश्यभन्दा बढी शब्द चलाउन थालेका छन्।

‘कुनै दिन फिल्म अगाडि आउला,’ यज्ञश भन्छन्, ‘माध्यम फरक भएकाले तुलनै गर्न नमिल्ला। तै फिल्म परास्तचाहिँ हुँदैन।’

आफूलाई बगेको पानीसँग तुलना गर्ने यज्ञश यसअघिका दुइटा किताब र एउटा फिल्म योजनाबद्ध ढंगले नजन्मिएको बताउँछन्। ‘यी सबै कृति तयार पार्ने आधार फिल्म हेराई नै थियो,’ उनी भन्छन्, ‘म फिल्म हेरेकै भरमा सिकेको भाषाले अनुवाद गर्न तम्सिएको थिएँ। अनुवाद गर्दागर्दै लेखक भएँ।

यस्ता यज्ञश फिल्म लेखनबाट बिच्किएकै हुन् त?

कि, फिल्म लेखकभन्दा किताब लेखकको आकर्षक पहिचान देखेर उनी यता तानिए?

यज्ञश आफू फिल्म लेखनबाट बिच्किएको मान्दैनन्। बरु उनलाई फिल्म ‘फिटकिरी’ लेखनले दुई–तीनटा कुरा सिकाएछ।

‘मैले राम्रो गरेँ भन्न खोजेको होइन, तर फिल्म भनेको टिमकै काम हो, दुई–तीन जनाले मात्र राम्रो काम गरेर फिल्म राम्रो बन्दैन,’ यज्ञश भन्छन्, ‘अर्को भनेको, सफलता, असफलताजस्ता कुराबाट टाढा रहनुपर्ने रहेछ।’

पछिल्लो समय फिल्म लेखनमा पनि परिवर्तन आएको उनले महशुस गरेका छन्। उनकै साथी बुद्धिसागरले एउटै फिल्मबाट १० लाख लिएको बजार हल्ला छ। त्यसैले फिल्म लेखक पनि आकर्षणको केन्द्रमा पर्न थालेको उनलाई लागेको छ।

आफूले पारिश्रमिककै कारण फिल्म नलेखेको पनि उनी मान्दैनन्। भन्छन्, ‘यो समयको कुरा हो, म त्यो दिनको पर्खाईमा छु। अहिले त म अक्षरहरूसँगको गाढा सामीप्यमा छु।’

आफ्नो पछिल्लो किताबमा औसत जीवनको कथा भन्न यज्ञशले जंगबहादुर पालादेखिका कुरा उठाएका छन्। यो इतिहासको किताब भने होइन। १३ जना महिलाको कथा हो, जो आन्दोलित छन्। यज्ञशको भनाइमा तिनले किन आन्दोलन गर्नुपर्यो भन्ने प्रश्नको जवाफ हो, भुइयाँ।

किताबले केही प्रश्नका केही जवाफ खोजेको छ। प्रत्येक जवाफले सँगसँगै नयाँ प्रश्न ल्याएका छन्। त्यसैले त, अचेल यज्ञशसँग प्रश्नकै खात छन्।

‘देशमा यत्रा ठूल्ठूला परिवर्तन भए,’ यज्ञश भन्छन्, ‘सबै कुरामा त समान वितरण होला, नहोला, तर अधारभूत कुरामा किन समानता छैन? मरेर काम गर्दा पनि किन एउटा मान्छेले आफू बस्ने घर पाउँदैन? किन स्कुल जान पाउँदैन? यो त सिस्टमकै दोष हो। यो एउटै व्यक्ति र एक समयको दोष होइन।’

प्रश्नले घेरिएका यज्ञशले पुस्तकमा अँध्यारो पाटो मात्र नभई उत्प्रेरणा बोक्ने ऊर्जाशील महिलाका कथासमेत समेटेका छन्। सामाजिक आन्दोलनमा महिला अगाडि हुनुले महिलाको कथा रोजेको उनको भनाइ छ।

‘जब घर–परिवार जोडिन्छ, पुरुषको तुलनामा महिला आन्दोलनमा ओर्लिहाल्छन्,’ अभावका कथा भए पनि यज्ञश सकारात्मक पाटो खोतल्छन्, ‘राजनीतिक आन्दोलनमा पुरुष अगाडि होलान्, तर सामाजिक आन्दोलनमा महिला अगाडि छन्। दुःख पाउने आन्दोलनमा महिला अगाडि छन्। भोट दिने पनि महिला नै बढी छन्। जोसँग केही हुँदैन, उनीहरू निर्धक्क आन्दोलनमा होमिन्छन्। त्यसैले सामाजिक आन्दोलनमा सहरभन्दा गाउँ अगाडि छ। पुरुषभन्दा महिला अगाडि छन्। आन्दोलन गर्ने भनेपछि गर्ने गर्ने। केही नभएपछि आडम्बर पनि नहुँदो रहेछ। विभिन्न राजनीतिक आन्दोलनले उनीहरूमा बोल्ने जोश बढाइदिएको छ।’

आधारभूत कुरामा सबैतिर समान वितरण नभए पनि ती महिलाको चेतनाको स्तर निकै उकासिएको पाउँछन् यज्ञश। आहुतीले भनेका छन्, ‘समाजको पिँधमा रहेकाले आफूलाई दुख्यो भन्न सकेका छन्।’

यसमा यज्ञश थप्छन्, ‘दुख्यो भनेपछि प्रतिवाद गर्ने सामर्थ्य पनि बढ्दैछ भन्ने बुझ्नुपर्छ।’

यज्ञशको यो भनाइ त्यही प्रश्नको उपज हो, जुन भुइयाँले दिन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.