‘फेमिनिस्ट’ले जहिल्यै डरविरुद्ध लड्नुपर्छ


सुजान अस्टिनले आफ्नो करियर थिएटरबाट सुरु गरिन्। त्यसको केही समयपछि फिल्ममा पनि सहज रूपमा उनको प्रवेश भयो। लामो करियरमा उनले स्टेज तथा फिल्म दुवैमा सफल निर्देशक तथा लेखकको रूपमा आफूलाई स्थापित गरिन्। उनी अहिले इङमर बर्गम्यानको पटकथामा काम गरिरहेकी छन्।

लगभग आधा शताब्दी लामो थिएटर करियर तथा १० वटा फिचर फिल्मको अनुभव बोकेकी सुजान स्वीडिस फिल्म र रंगमञ्च जगतकी सबैभन्दा प्रभावशाली महिलाहरूमध्ये पर्छिन्। उनले दुई वर्षसम्म स्वीडिस फिल्म उद्योगअन्तर्गतका कलात्मक बाल फिल्महरूको सद्भावना दूत भएर पनि काम गरिन्। पछिल्लो समय चर्चित रहेको र विभिन्न विवादमा परिरहेको उनको फिल्म ‘दि गर्ल दि मदर एण्ड दि डेमोन्स ले उनको ‘बोल्डनेस’ले केवल एउटा सफल संयोगान्त कथा मात्र दिँदैन भन्ने कुरा प्रमाणित गरेको छ। तर यो सँगसँगै एउटा पुरुषप्रधान समाजमा रहेर निरन्तर रूपमा थिएटर र फिल्मको साधनमा लाग्नु उनको लागि कम चुनौतिपूर्ण भने छैन। यो समाजलाई निकै जटिल रूपमा देख्ने उनी भन्छिन्, ‘फेमिनिस्टले जहिल्यै डरविरुद्ध लड्नुपर्छ तर एउटा कलात्मक भिजनले भने पुरै उद्योगको मूलप्रवाहलाई नै चुनौती दिन सक्छ।’

‘सिनेमा स्क्यान्डिनाभिया’ले उनको करियर र स्वीडिस फिल्म उद्योगको बारेमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

पहिलो फिल्म बनाउँदाको अनुभव कस्तो छ?

मेरी आमा गर्ड अस्टिन ४० को दशकको स्वीडिस फिल्म उद्योगकी चर्चित समालोचक हुनुहुन्थ्यो। इङमर बर्गम्यानकी साथी उनलाई नयाँ फिल्महरूको भिजन लेख्दाताका ‘स्क्रिप्ट गर्ल’ भनेर पनि चिनिन्थ्यो। उनकै छोरी भएकाले पनि मैले फिल्म क्षेत्रमै करियर रोज्छु भन्ने सबैले अनुमान गरेका थिए। तर थिएटरभन्दा धेरै खुल्ला संसार भए पनि मलाई फिल्म क्षेत्रमा आउन समय लाग्यो। चाहेकी भए १९ वर्षकै उमेरमा पनि छिर्न सक्थेँ। किनकि, मेरो पहिलो फिल्म बनाउने खर्च जुटाउनका लागि नै धेरै समय लाग्यो। त्यो बेला कमेडी तथा पुरातनवादी फिल्महरू चल्थे/बनाइन्थे। मैले सोचेको र बनाउन चाहेको जस्तो एक महिला मुख्य विषय भएका बौद्धिक फिल्महरू बनाउने हिम्मत कसैसँग थिएन। त्यसपछि मैले एकजना राम्रा निर्माता भेटेँ। उनी मैले सोचेको जस्तै विषयका फिल्ममा विश्वास गर्थे। किनकि उनकी श्रीमतीलाई त्यो समय महिला निर्देशक आउने बेला भइसकेको जस्तो लागेको थियो। उनले मलाई अमेरिकाको एक विश्वविद्यालयमा एउटा फिल्म कोर्स लिन पठाए। एकदमै राम्रो शिक्षकसँग मैले मेरो स्क्रिप्टका बारेमा लामो कुरा गरेँ। उनले मलाई केही नियमहरू सिकाए र ती नियमहरू तोड्ने कि नतोड्ने भन्ने मलाई छोडिदिए। मैले स्क्रिप्टको आठवटा भर्सन लेखेँ तर १९८२ मा फिल्म बनाउँदा पहिलो भर्सन नै प्रयोग गरेँ।

तपाईंले भन्नुभयो कि निर्माताकी श्रीमतीले आफ्नो लैंगिक सोचको प्रतिबिम्ब तपाईंमा देखिन्। के केवल महिला भएका कारणले फिल्म उद्योगमा छिर्नु अप्ठ्यारो थियो?

मलाई लाग्दैन कि चर्चित ‘फेमिनिस्ट’ भएर मलाई केही सहयोग भएको होस्। यो १९८० को दशक थियो र सबैजना फेमिनिस्टहरू डराइरहेका थिए। त्यसबेला धेरै नकारात्मक हल्ला तथा विचारहरू सुनिन थालेका थिए। सामाजिक मुद्धाहरूमा छलफल र तर्क गरिरहने महिलालाई कुनै कलात्मक दाबी निर्माण गरेर हस्तक्षेप गर्नु मुस्किल थियो। धन्न! अहिले मैले धेरै महिला निर्माताहरू तथा नेटवर्क देखिरहेको छु। हामीसँग अफिसियल नीति पनि छ र सरकार तथा अन्य संस्थाहरूले पनि हामीलाई सहयोग गरिरहेका छन्।

उनका फिल्महरू समालोचकहरूले प्रशसा गरे पनि तथा विभिन्न फेस्टिभलहरूमा अवार्ड जितेपनि कमर्सियल रूपमा धेरै सफल भएनन्। फिल्म उद्योगमा लगानी गर्ने मानिस पाउनु गाह्रो थियो किनकि फिल्ममा थिएटरमा जस्तो सरकारी सहयोग थिएन। उनी भन्छिन् ‘कोही निर्माता हुनको लागि उसलाई गर्न लागेको प्रोजेक्टमा विश्वास हुनुपर्छ। धेरै पुरुष निर्माताहरू मेरो फिल्मका आइडियाहरूसँग मेल खाँदैनन्। मैले यसको बारेमा धेरै सोचेँ र थाहा पाँए कि मेरो फिल्मका थिमहरूले फरक पार्छन्। किनकि मानिसहरूलाई नेचुरालिजमको बारेमा केही भन्नु छैन। क्रेटेल इन्टरनेसनल फेस्टिभल अफ विमन ले मलाई जहिल्यै बोलाउँछ। त्यहाँ मैले दर्शक तथा जुरी दुवैको तर्फबाट पुरस्कार जितेँ। मलाई लाग्छ मानिसहरू मेरो फिल्महरू मनपराउँछन् किनकि उनीहरू यसलाई फरक पाँउछन्। समयभन्दा अगाडी पाँउछन्।’

स्वीडेन तपाईंको कलात्मक आइडियाहरूको बारेमा सोच्नका लागि उपयुक्त देश होइन जस्तो लाग्छ?

हो मलाई त्यस्तै लाग्छ। स्वीडेनको संस्कृति धेरै पुरूषवादी छ। तपाईंलाई यस्तो लाग्दैन? यो पुरुषहरूको समाज हो र त्यो समाजको संरचनाले जहिल्यै पनि फरक पार्छ। तर यही समयमा पनि मैले निकै आर्थिक सहयोग र रिभ्यु भने पाइरहेको छु। खाली बस्नु परेको छैन। फिल्म बनाउनु बाहेक थिएटरमा काम गर्न तथा विभिन्न ठाउँमा लेक्चर दिन पनि भ्याइरहेँ। म पेन्सनर भए पनि काम गरिरहेको छु। त्यसैले गुनासो पनि गरिहाल्न सक्दिन।

अरू देशमा गएर फिल्म बनाउनेबारे सोच्नुभएन?

जब मैले ‘गार्डियन एन्जल बनाएँ, पोल्याण्डका फिल्म तथा टिभी निर्देशक अगनिस्का होलाण्डले भनेका थिए कि मैले पेरिस जानुपर्छ र फिल्म बनाउनुपर्छ किनकि, त्यहाँ धेरै दाता पाउन सकिन्छ। त्यसबेला म थिएटरमा व्यस्त थिएँ त्यसैले त्यो प्रस्ताव नकारेँ।

विभिन्न देशहरूको फरक-फरक मौसम र अवस्थितीमा अनुभव गरिएका फिल्महरू उनलाई मन पर्छन्। स्वीडेनको फिल्म उद्योगले उनीप्रति देखाउने व्यवहारलाई सङ्केत गर्दै उनी भन्छिन्, ‘म अलिक वेवास्ता गरिएकी फिल्म मेकर हुँ तर यसको मतलब मेरा फिल्महरू नराम्रा हुन् भन्ने हैन। यत्ति हो, मैले मूलप्रवाहमा बग्ने फिल्महरू बनाइन। मैले जहिल्यै अभान्ट गार्डिस्ट र फेमिनिस्ट फिल्महरू बनाँए र यो नवउदारवादी संस्कृतिका लागि उचित संयोजन हैन। उनीहरू मन पराउँदैनन्। केही मानिसहरूलाई त मेरो फिल्म कसरी हेर्ने वा बुझ्ने भन्ने पनि थाहा छैन।

समयभन्दा अगाडि फिल्म

उनको पहिलो फिल्म मामा  खासै सफल भएन तर दोस्रो फिल्म दि मोचार्ट ब्रदर्स  सफल ओपेरा कमेडी सावित भयो। त्यसपछि सबैले सुनेको विषयमा लिथल फिल्म र श्यामश्वेत राजनैतिक विषयमा दि गार्डियन एन्जल आए। स्पिक अप इट्स सो डार्क  ले एउटा यहुदी मनोविज्ञ र नाजीबीचको संवादलाई पस्केको छ। ती सबै फिल्महरूले अस्टिनको कलात्मक महत्वाकांक्षा र भिजनलाई प्रस्तुत गरेको थियो। ती फिल्महरू दुई दशकपछि पनि उत्तिकै प्रभावशाली छन्। उनी भन्छिन्, ‘यदि अहिले कसैले ती फिल्महरू हेर्यो भने ती सुपर मोर्डन लाग्छन्।’

‘समयभन्दा चाँडो फिल्म बनाउने निर्देशक’ भनेर चिनिने उनका फिल्मको यथार्थले अहिले पनि स्क्यान्डिनेभिया भन्दा बाहिर भएका महिलाहरूमा राम्रो प्रभाव छोडेका छन्। मामाको उदाहरण हेरौं, त्यसलाई गएको वर्ष बेइजिङमा देखाइएको थियो। हेरेर त्यहाँका महिला दर्शकहरू रोएका थिए। सुजान थप्छिन्, ‘उनीहरू रोए, किनकि चीन त्यसबेलामा त्यस्तै थियो। रुने महिलाहरूलाई त्यसबेला पनि बच्चा भएपछि पुरुषहरूबाट पैसा लिन सक्ने अधिकार थिएन। मैले फिल्ममा त्यस्तो चिजहरू देखाएको थिएँ जसलाई हेरेर त्यहाँका महिलाहरूले ‘मैले त्यो दृश्यमा आफूलाई भेटेँ’ भने। यो किन भयो भने फिल्म असामान्य रूपमा वास्तविक थियो। र, मलाई पनि त्यस्तो होला भन्ने लागेको थिएन। त्यसैले पनि ‘स्वीडेनको समाज फरक छ’ भनेको हुँ।

अहिले कुनै राजनैतिक मुद्दाहरू छन्, जसलाई तपाईं ट्याकल गर्न चाहनुहुन्छ?

म अहिले इङमर बर्गम्यानको स्क्रिप्ट ‘६४ मिनट्स विथ रेब मा काम गरिरहेको छु।  मैले यसलाई त्यो सन्दर्भमा राखेको छु, जहाँ फेमिनिज्म सुरु हुन्छ र विस्फोट हुने गरी स्थापित हुन्छ। यो स्वतन्त्रताको बारेमा बन्ने फिल्म हुनेछ र त्यस्तो महिलाको कथा भन्नेछ, जसले स्वतन्त्रता त खोजिरहेकै छे तर कसरी खोज्ने वा पाउने भन्ने बारेमा थाहा छैन। मुख्य पात्र एक युवती हुन्, जो कान सुन्न सक्दिनन्। उनको स्वतन्त्रताको लडाइँले मेरो मुटु छोएको छ। हामीले युवाको रचनात्मकतालाई सहयोग गर्नुपर्छ, किनकि त्यसो गरेनौं भने हाम्रो कुनै भविष्य छैन।

कृपया यसलाई अलिक विस्तृतमा भनिदिनुहोस्, कुनै भविष्य छैन भनेको कस्तो हो?

युवा महिलालाई हाम्रो सहयोग चाहिन्छ र सँगै युवा पुरुषलाई पनि चाहिन्छ। अहिलेको छिटो परिवर्तित समाजमा पुरुषको भूमिका निकै दु:खदायी छ। उदाहरणका लागि उलानबाटरमा जानुभएको छ? धेरै पुरुषहरू त्यहाँ रक्स्याहा छन्, जहाँ केही महिलाहरूलाई थाहा छ के गर्नुपर्छ। ‘ठिक छ मलाई मेरो संस्कृतिमा कदर गरिएको छैन। त्यसो भए मैले के गरूँ? म युनिभर्सिटीमा जान्छु। पढ्छु। ज्ञान पाउँछु। तर पुरुषहरू पहिला जुन पोजिसनमा थिए, नेता वा भेडा गोठाला,  उनीहरू अहिलेको समाजमा धेरै अल्मलिएका छन्। त्यहाँ पुरुषहरूको ठूलो समूह छ, जसको हाम्रो उत्तरआधुनिक समाजमा कुनै काम छैन। उनीहरू अनियन्त्रित भएर दौडिन सक्छन् र खतरा हुन सक्छन्। धेरै खराब भए उनीहरू आधुनिक नव युवतीहरूको लागि घृणाको स्रोत हुन सक्छन्। त्यसैले म ध्यान दिएर युवाहरूको अवस्थाको बारेमा सोच्छु र यस्ता प्रश्नहरू गरिरहन्छु।

तपाईंले इङमर बर्गम्यानको पटकथाका बारेमा कुरा गर्नुभएको थियो। तपाईंको बर्गम्यानसँग राम्रो सम्बन्ध थिएन। तर उनकै काम गर्ने निर्णय किन गर्नुभयो?

म मानिस र उनीहरूको कलाको बीचमा फरक छुट्याउन सक्छु। मेरी आमाले मलाई यो कुरा सिकाउनुभएको थियो। कसैले राम्रोसँग व्यवहार गरेन भने नरिसाउन सकिन्न। म उनीसँग रिसाएको साँचो हो, किनकि उनी एक शक्ति भएका पुरुष थिए। पछि उनको यो नाटक मलाई रेडियोमा बजाउनका लागि प्रस्ताव गरिएको हुनाले पढेँ। नाटकबाट प्रभावित भएँ। यो एक कथा थियो, जो आफैंमा एक विश्वझैँ लाग्यो। पछि मैले थाहा पाएँ कि म समकालीन समाजबारेमा साह्रै लगाव राख्दोरहेछु। म उनी टिभीमा महिलाहरूलाई देखाइएको हेर्दै त्यसबाट प्रभावित भएको कल्पना गर्छु। उनीसँग पनि धेरै तगडा र प्रतिभाशाली महिला कलाकारहरूले काम गरेका थिए, जो उनका आइडियाहरुको बारेमा जानकार थिए। उनीहरू आधुनिक महिला थिए। मलाई लाग्छ, उनले पनि महिलाहरूले अधिकारको लागि लड्दाको त्यो सङ्घर्षलाई राम्रोसँग बुझेका थिए। वस्ता पनि गर्थे। त्यो कुरा उनको पटकथामा देख्न सकिन्छ। उनले त्यो पटकथा लेख्दै गर्दा महिलाहरूको स्वतन्त्रताको आन्दोलन धेरै माथि पुगिसकेको हुनुपर्छ।

तपाईंलाई लाग्छ कि, उनको पटकथाहरूमा मात्र उनी त्यस समयका समकालीन घटनाहरूको बारेमा चिन्ता गर्थे?

उदाहरणको लागि, उनले ‘सेम  बनाए जुन धेरै उत्कृष्ट फिल्म थियो। अर्को ‘प्यासन अफ आना पनि उत्तिकै प्रभावशाली छ। उनको समयमा उनी खुला दिमागका थिए तर बुढेसकाल हुँदै गएपछि धेरै पुरातनवादी हुँदै गए र अरू नै विषयहरू छान्न थाले।

बाल चलचित्रकी मार्गदर्शक

युवाहरूमाथिको चिन्ता र ध्यान उनको मुख्य  प्रेरक शक्ति भए पनि उनी बाल फिल्महरूमा पनि उत्तिकै सक्रिय थिइन्। उनको बाल थिएटर र फिल्महरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित थिए। ब्याङ्गबुलन  र दि गर्ल दि मदर एण्ड दि डेमोन  गरी दुई फिल्म मात्र बनाए पनि उङ्गा क्लारा नामको थिएटरमा उनले गरेका कामहरूले उनको चर्चालाई नयाँ उचाइ दिए। उनी सोच्छिन्, रंगमञ्च क्षेत्रमा जति नै विकास र प्रगति भए पनि बालबालिकाहरूका लागि फिल्मक्षेत्र निकै पछाडि छ। उनको दुवै फिल्ममाथि चलेका सेन्सरसिपहरूले त्यो कुरालाई केही रूपमा प्रमाणित गर्छन्। बालबालिकाहरूले सत्यलाई हेर्ने तरिकाप्रतिको आधारभूत बुझाइ तथा युवा पुस्ताको माया र दयाको दायरालाई बुझ्ने क्षमता भएकाले उनको सोचाइहरू धेरै प्रगतिशील हुने गर्छन्। कसैले त्यसलाई भड्किलो अभिव्यक्ति पनि भन्छन्।

ब्याङ्बुलन  तथा दि गर्ल दि मदर एण्ड दि डेमोन बनाउँदा तपाईंको दृष्टिकोण कस्तो थियो?

मैले आफूलाई बालबालिकाको पक्षमा राखेर हेरेँ। यसो नगरेको भए ती फिल्म बनाउन सम्भव थिएन, किनकि म वयस्क थिएँ। मैले फिल्ममा राक्षसको भूमिका निभाउने व्यक्ति त्यसैले पनि वयस्क राखेको हूँ। म त्यो अवस्थालाई अझ ग्रोटेस्क्यु (भयंकर) देखाउन चाहन्थें। ऊ अजंगको मानिस थियो। बालबालिकाहरू आफू डराउने मानिसको अगाडि केही गर्न सक्दैनन् भन्ने देखाउनु थियो। ऊ अजंगको मान्छे। तर यदि केटाकेटीहरू कमजोर नहुने हो भने उसको अस्तित्व नै हुँदैनथ्यो। मैले फिल्ममा भन्न चाहेको एक मात्र कुरा थियो, ‘एकीकृत बन। यो मात्र एक तरिका हो।’ त्यसपछि बालबालिकाहरू एक हुन्छन् र बाङबुलनको विरुद्धमा बदला लिनका लागि धेरै डरलाग्दो कामहरू गर्छन्। उनीहरू त्यो मुद्दाको बारेमा यसरी कुरा गर्छन् कि मानौं कुनै वयस्क वा युवा युवतीहरू बोलिरहेका छन्। र, उनीहरू त्यो मुद्दालाई विभिन्न तरिकाले मिलाउँछन्।

मैले यदि उनीहरू एकिकृत भए भने ऊ कमजोर हुन्छ भन्ने देखाउन खोजेको थिएँ। केही वास्तविक कुरा बताउन चाहन्थेँ। फिल्ममा वयस्कहरू केटाकेटीहरूसँग रिसाउँछन् किनकि सबैले केटाकेटीहरूलाई केवल असल बनाउन चाहन्छन्। वयस्क फिल्म मेकरहरूले पनि त्यो कुरा मन पराएनन्। फिल्मलाई झन्डै टुक्रा-टुक्रा पारियो। सेन्सरमा कडा कैंची चल्यो।

मलाई लागेको थियो त्यो सेन्सरसिप यौनिकताको विरुद्धमा होला …

मैले पनि त्यही सोचेको थिएँ। म बाल फिल्महरूका लागि दुई वर्ष सद्भावना दूत पनि भएको थिएँ। त्यसबेला धेरैतिर घुमेँ तथा बालबालिकाहरूसँग कुराकानी गरेँ। जब मैले एक ११ वर्षको बालकलाई फिल्मको उपयुक्त रेटिङ कति हो भनेर सोधेँ,  थाहा पाएँ उनीहरूले धेरै खराब फिल्महरू देखिसकेका छन्। र, मैले आमाबुवालाई पनि प्रदर्शनमा लैजान्छौं भनेर सोध्दा उनीहरूले ‘नो’ भन्दै कराए। त्यसरी कराउनुको कारण यौनिक विषय थियो।

तपाईंलाई के लाग्छ त्यो यौनिकताको प्रश्नलाई हामीले कसरी सम्बोधन गर्नुपर्ला?

हामीले जति सम्भव हुन्छ, त्यति यसलाई देखाउने र कुरा गर्ने प्रयत्न गर्नुपर्छ। एकपटक कारम्यानको रोल गर्ने एक केटीले मलाई स्टेजमा लगिन्। सबै केटाकेटीहरू खुसीले कराए किनकि उनी टिनएजमा जस्ती थिइन् त्यस्तै देखिएकी थिइन्। उनीहरू त्यो किसको बारेमा इच्छुक थिए (फिल्ममा कारम्यानलाई एउटा ठूलो पुरुष बेङ्गेटले उत्तेजक किस गरेको हुन्छ।) मलाई लाग्छ, केटाकेटीहरू सबैथोक जान्न चाहन्छन् र सोध्न पनि चाहन्छन्। र, एउटा वयस्कले उनीहरूलाई जहिल्यै पनि ढाँटिरहन्छ। मलाई लाग्छ, हामीले यौनिकताको बारेमा कुराकानी गर्न सक्ने हुनुपर्छ। यो कहिले राम्रो होला कहिले नराम्रो। हामीलाई मानसिक रूपमा स्थिर वयस्कहरूको खाँचो छ, जो यस्ता प्रश्नहरू सुन्न डराउँदैनन्।

तपाईंले बालबालिकाहरूको वास्तविकताप्रति अग्रगामी सोचाइको कुरा गर्नुभएको छ। हामी बढ्दै जाँदा किन यो कुरा गुमाउँदै जान्छौ उसोभए?

किनकि हामी वयस्क हुने, आफ्नो यौनिकता निर्धारण गर्ने, पैसा कमाउने तथा स्वतन्त्रता खोज्ने नाममा धेरै मूल्य चुकाउँछौं। सबै कुरा हाम्रो रोजगारदाता वा अरू कुनै तत्वले सीमित गरिदिइराखेको हुन्छ। वयस्क हुनको लागि हामीले त्यो बचपन, निर्दोष उत्सुकता तथा खुला सोच्ने दिमाग सबै तीलाञ्जली दिन्छौं। त्यसपछि मुर्ख वयस्क बन्छौं। जब म बालबालिकाहरूमाथि कुनै रिसर्च गर्छु, म जहिल्यै नयाँ कुराहरू सिक्छु। तर अहिले त धेरै केटाकेटीहरूलाई ‘बच्चा यस्तो हुनुपर्छ’ भनेर सिकाइएको छ।

एक कलाकारको रूपमा तपाईं आफूलाई बालापनको कति नजिक पुगेको पाउनुहुन्छ?

कलाकारहरूले आफ्नै बालापन निर्माण गर्छन्। सबैसँग केटाकेटीपन छ। सबै आफ्नो कथा भन्न चाहन्छौं। आफ्नो पैसा बनाउन चाहन्छौं। कसैले नरोकिकन आफ्नो कथा सुनाउन चाहान्छौं। यो बालापन त हो नि। मैले या त मेरो बालापन निर्माण गरेको हो वा आफ्नो वयस्कपनलाई नियन्त्रण गरेको हो। तपाईं जे बुझ्नुहोस्।

अहिलेको समाजमा बालबालिकाको चिन्ता

समाजमा बालबालिकाहरू धेरै पीडित छन् भन्ने चिन्ता उनले धेरै अन्तर्वार्ताहरूमा व्यक्त गरेकी छन्। चिन्ताका कारण समाजले गर्नुपर्ने काम गर्न नसकेकोले हो। उनी भन्छिन्, ‘अहिलेको समयमा बालबालिका तथा युवाहरूमा मानसिक समस्या बढ्दै गएको छ। हाम्रो आधुनिक समाज मानिसको लागि राम्रो छैन। बालबालिकाहरूले स्कुलमा धेरै कडा मेहनत गर्नुपर्छ तथा ठूलो र राम्रो विश्वविद्यालयमा पढ्नै पर्ने भारी सुरुमै बोकाउन थालिएको छ। व्यवस्थापन गर्न सक्नेलाई त ठिकै छ तर पढाइको वरपर धेरै दु:खहरूले जेलिएका तथा ट्रमा बोकेका शरणार्थी बालबालिकाहरूलाई व्यवस्था गर्न गाह्रो भइरहेको छ। यसको कारण कोही सडकमा पुग्छन् र अपराधी बन्छन्। आत्महत्याको दर पनि बढिरहेको छ।’

यसको लागि हामीले के गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ?

हामीले यो मुद्दालाई अझ संवेदनशील भएर हेर्नुपर्छ। हामीले के बुझ्नुपर्छ भने सिकाइ कहिल्यै पनि डरलाग्दो हुनुहुँदैन। यदि बालबालिकाहरू हामीले भन्ने गरेको जस्तो महत्वपूर्ण नै हुन् भने हामीसँग फरक समाज त हुनैपर्छ। अहिलेका स्कुल तथा कला क्षेत्र बालबालिकाहरूको लागि भन्दा पनि वयस्कहरूका लागि बनाइएका जस्ता लाग्छन्। त्यो हुनुहुँदैन। बाल फिल्म यदि हेर्नुहुन्छ भने कि त पूर्णत: सिकाउन तथा मनोरञ्जनको लागि मात्र बनाइएका छन्। अहिले बालमैत्री संस्कृति हैन, वयस्क संस्कृति हाबी भइरहेको समय हो।

तपाईंको मतलब समाजले यसको जिम्मेवारी लिनुपर्छ भन्ने हो?

हो यो समाजकै जिम्मेवारी हो तर समाजसँग अहिले कुनै उत्तरदायित्व भएकै जस्तो लाग्दैन। यो त लोभ र लालचमै सीमित भएको छ। अहिले बालबालिकाको अधिकारका लागि भएका व्यवस्थाहरू स्वीडेनको कानुन बन्ने चरणमा छन्। हामीले यसलाई केवल कागजी बाघ हुनबाट जोगाउनुछ।

एक कलाकारले समाजलाई कसरी प्रभाव पार्नसक्छ जस्तो लाग्छ?

पहिलो कुरा त सबै स्कुलका दर्शकसम्म पुग्नुपर्छ। यदि दि स्क्वायर (एक स्वीडिस फिल्म मेकर रूबेन अस्लण्ड) जस्तो फिल्म बनाउन सकिन्छ भने पक्कै पनि समाजलाई प्रभाव पार्न सकिन्छ। तर धेरै राम्रा फिल्महरूले त दर्शक नै पाँउदैनन्। मैले स्कुलहरूलाई केही गर्न सकिने ठाउँको रूपमा सोचेको छु। मैले स्कुलमा भएका थिएटरहरूमा काम गर्ने मौका पाएको थिँए र अब त्यही माध्यमबाट फिल्मको दर्शकहरू पनि भेट्ने कोसिस गरिरहेको छु। स्कुलका बालबालिकाहरूले फिल्म हेर्न तथा त्यहाँ आफूलाई देख्न पाउनुपर्छ।

तपाईंले भर्खरै बाल फिल्महरूको सद्भावना दूतको रूपमा काम गरिसक्नुभएको छ। तपाईंलाई लाग्छ त्यो बाल फिल्महरूलाई बढावा दिने प्रभावकारी तरिका हो?

म निराश भएको छु। शिक्षकले आफ्नो सेसन प्लानमा बाँधिनुपर्ने भएकाले धेरै कम मात्र अवसर हामीले पाइने रहेछ। अर्को कुरा सहरी र ग्रामीण भेगमा ठूलो अन्तर छ। ठूला सहरहरूमा धेरै थिएटर तथा सिनेमा हलहरू छन् जुन अन्य ठाँउहरूमा विरलै पाइन्छन्। अविभावकहरू बरु बसेर टिभी हेर्छन् तर छोराछोरीलाई लिएर थिएटर वा सिनेमा जाँदैनन्। यो भयानक कुरा हो। बढ्दै गरेको बालकलाई सांस्कृतिक संवाद सिकाउन अहिलेको समाज यसरी चुकिरहेको छ।

महिला फिल्म मेकरहरूबाट तपाईं वास्तवमा के अपेक्षा गर्नुहुन्छ?

कसैलाई पनि आफ्नो आवाज नभेट्दासम्म सिक्ने अवसर दिनुपर्छ। तर समस्या यो छ कि उनीहरू धेरै कम मात्र फिल्महरू बनाउन सक्छन्। उनीहरूले थिएटर पनि गर्नुपर्छ, कलाकारहरूलाई सुरूदेखि नै भेट्नुपर्छ र सकेजति अनुभव बटुल्नका लागि धेरैभन्दा धेरै फरक कुराहरू ट्राइ गर्नुपर्छ। हरेक चार वा पाँच वर्षमा एउटा फिल्म बनाउन पर्खिनु त मर्नु बराबर हुन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.