‘पाठशाला’ मेरो कथा होइन


पोखराका कवि तीर्थ गुरुङले आफ्नो पहिलो उपन्यास  ‘पाठशाला’ सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा उनीसँग गरिएको संक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

‘पाठशाला’ नाम सुन्दा शिक्षासम्बन्धि पुस्तकजस्तो लाग्छ। तपाईं शिक्षण पेशामा पनि हुनुहुन्थ्यो। के यो उपन्यास नेपालको शिक्षा पद्धतिसम्बन्धि पुस्तक हो?

हो, म शिक्षण पेशामा थिएँ। ‘पाठशाला’ नेपालको शिक्षा पद्धतिसम्बन्धि पुस्तक भनेर दाबी गर्दिनँ। म त्यस्तो गम्भीर विषयको उठान गर्ने क्षमता राख्दिनँँ। यो एकजना किशोरको कथा हो। स्कुलमा मात्र हैन, वरिपरि उसले देखे-भोगेको विसङ्गतिहरुको कथा हो ।

तपाईंको उपन्यासको पछिल्ला पानामा लेखिएको छ, ‘हरेक विश्वासलाई विश्वास नगर्ने तीर्थ गुरुङ आफूलाई बोनसको जीवन बाँचिरहेको अदक्ष मान्छे ठान्छन्।’ किन यसो भनिएको?

नेपालमा अहिले प्रजातान्त्रिक र प्रगतिशील खेमाको भनेर कवि लेखकहरु ध्रुविकृत भएको अवस्था छ। गम्भीर अध्ययनको अभावले हुनसक्छ, म कतै लाग्न सकिनँ। म्याक्सिम गोर्कीका कृतिहरुसँग हुर्के पनि  म बीपी जस्तै साहित्यमा अराजक हुन रुचाउँछु। औपचारिक रुपमा मैले धेरै पढिनँ र त्यसैले होला त्यसले मलाई कहीँ पनि बिकाएन। अन्ततः नीजि स्कुलहरुमा थन्किन पुगेँ, जहाँ शिक्षित, तालिमप्राप्त, त्यागी दक्ष जनशक्तिको खाँचो छ। तर म त्यो थिइनँ।

उपन्यासको सुरुवाती र अन्त्य मिर्गौला रोग पीडितकै कथाबाट सुरु हुन्छ । यो उपन्यास आफ्नै कथा हो? 

हैन, यो मेरो कथा हैन। फ्लासब्याकको प्रयोग गरुँ जस्तो लागेर त्यसो गरिएको हो। प्रत्यारोपणपछि त्यसै खाली बसिरहँदा उपन्यास लेखेकोचाहिँ साँचो हो। वास्तवमा यो उपन्यास त मैले १३/१४ वर्ष पहिले नै लेख्न सुरु गरेको थिएँ, अन्य कारणहरुले गर्दा अगाडि बढ्न नसकेको मात्र हो।

उपन्यासको सुरुवाती र अन्त्यतिर कालो अक्षर र बीचमा हरियो अक्षर छ। हरियो अक्षर नीलो डायरीभित्रको अक्षर हो। नीलो डायरी र हरियो अक्षरको केही अर्थ छ?

यो त सामान्य प्राविधिक कुरा हो , प्रकाशक भुपेन्द्र खड्काले मलाई सरप्राइज दिन मात्र त्यसो गर्नुभएको हो। हो, उपन्यासको प्रमुख पात्रले आफ्नो डायरी पूरै हरियो मसीले लेखेको हुन्छ।

उपन्यास लेखनको ‘आइडिया’ कसरी जन्मियो?

शिक्षण पेशा, त्यो पनि नीजि विद्यालयहरुमा नअपनाएको भए ‘पाठशाला’ अवश्य जन्मिने थिएन। त्यही क्रममा सुवास गुरुङ पनि मेरो विद्यार्थी हुन आयो। ऊ गर्भे थियो र शारीरिक रुपमा पनि त्यति विकसित थिएन। साथीहरुमाझ रमाइलो गर्ने, साथीहरुलाई हँसाउने भएर ऊ लोकप्रिय थियो। उसमा स–साना कुराहरुलाई अवलोकन गर्ने क्षमता थियो । तीन घण्टाको मुल्याङ्कनमा ऊ सधैं औसत विद्यार्थीको रुपमा निस्कन्थ्यो।
शिक्षकहरुप्रति अरु जस्तै उसको पनि त्यस्तो ठूलो सम्मान थिएन। होस्टलको जीवन, खाना, मान्छेका भित्री कुराहरुमा उसको हेराइ र बुझाइ रोचक थियो। अरु शिक्षकहरुले जस्तै मैले पनि उसलाई गोदेँ। तर एसएलसी पास गरेपछि उसमा रक्त क्यान्सर देखियो। बेलाबेलाको ब्लड ट्रान्सफ्युजनले गर्दा उसको अनुहार सुन्निएको र अस्वाभाविक किसिमले रौं पलाएको थियो। तर बाटोतिर ऊ साथीहरुसँग त्यही किसिमले
प्रस्तुत भइरहेको हुन्थ्यो। एकदिन नियमित उपचारपछि भारतबाट फर्कँदै गर्दा आफ्नो आमाको काखमा उसले अन्तिम सास फे¥यो। उसको मृत्युले मलाई मर्माहत बनायो। एक किसिमले म पश्चातापको तहमा पुगेँ। यही एउटा घटना थियो जसले मलाई ‘पाठशाला’ लेख्न घच्घच्यायो । तर पाठशाला मात्र सुवासको कथा हैन ।

उपन्यासमार्फत् लेखकले भन्न खोजेको कुरा के हो?

मेरो कुनै सन्देश छैन। नेपाली साहित्यमा किशोर किशोरीहरुमाथि उपन्यास लेखिएको मलाई थाहा छैन। हामीमा बालसाहित्य छ र बाँकीचाहिँ प्रौढहरुले पढ्ने गम्भीर साहित्य। नेपाली किशोरको लागि यो उपन्यास लेख्ने जमर्को गरेको हुँ । प्रौढहरुले पनि पढ्न सक्ने ‘पाठशाला’मार्फत् मैले कुनै सन्देश दिन खोजेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.