‘उल्झन’ जीवन जोगाउन र लक्ष्य भेट्टाउन संघर्ष गर्ने युवाहरुको कथा हो


हेम प्रभास मूलतः कवि हुन्। यसअघि तीनवटा कवितासंग्रह सार्वजनिक गरिसकेका हेमले पहिलोपटक उपन्यास लेखेका छन्। जुन आज सार्वजनिक हुँदैछ। यसै सन्दर्भमा उपन्यासको सेरोफेरोमा रहेर सेतोपाटीले उनीसँग केही प्रश्न सोधेको थियो।

उपन्यासको नाम उल्झन नै किन?
जीवनमा सफलताको शिखर चढ्ने र आफ्नो अस्तित्व कायम गर्ने हर मानिसको चाहना हुन्छ। तर, जीवन आफूले सोचेजस्तो ठिक्क–ठिक्कसँग एउटै लयमा बग्दैन। नचाहेरै पनि अनेकौँ बाधा, व्यवधान, झन्झट, झमेलाहरुमा रुमलिन बाध्य हुन्छ मान्छे। यहाँका पात्रहरुको मनोदशा र जीवनको समाजशास्त्र पनि विभिन्न झमेलाहरुमा फसेको छ। त्यसैले, उपन्यासको नाम उल्झन राखिएको हो।

उल्झन के हो?
उल्झन जीवन जोगाउन र लक्ष्य भेटाउन सङ्घर्ष गर्दागर्दै पनि अस्तित्व कायम गर्न नसकेका तमाम युवाहरुको छटपटीको कथा बुनिएको उपन्यास हो।

कसरी जन्मियो यो उपन्यास?
म लामो समयदेखि अक्षरहरुसँग रमाउँदै र खेल्दै आइरहेको थिएँ। यस क्रममा सीमान्तकृतहरुको आवाज समेटिएका धेरै किताबहरु पछिल्लो चरणमा पढेँ। क्लासिकल किताबहरु त झन् धेरै पहिलेदेखि हाम्रो बजारमा प्रचलित थिए। तर, बहुसङ्ख्यक मध्यम वर्गीय मानिसहरुको जीवनको सजीव चित्रण गरिएको किताब मैले भेटिनँ।

मध्यम वर्गका मानिसहरु, जसलाई समाजले त्यति धेरै चिन्ता र चासोका विषयमा हेरेको पाइएन। सामान्य जस्तो देखिने उनीहरुको जीवन कति असामान्य घुम्तीहरुमा मोडिँदै आएको छ भन्ने कुरा देखाउन पनि मैले यो किताब लेख्नुप¥यो।

उपन्यासमार्फत् लेखकले भन्न खोजेको विषय के हो?

अचेलका कतिपय मानिसहरु एकातिर गरिबी, कुप्रथा र प्रकोपको उल्झनमा त कतै प्रेम, समाज र संस्कारको उल्झनमा फसेका छन्। तसर्थ, मान्छेको जीवन हामीले सतही रुपमा नियालेको जति सुन्दर छैन। विविध अप्ठ्याराहरुको सिमसारमा मानिस क्रमशः भासिँदै गइरहेका छन्।

तर, पलायन यसको समाधान होइन। अप्ठ्याराहरुभित्रै सप्ठ्यारा पाटाहरुको खोजी गर्न सक्ने हो भने जीवनमा सम्भावनाहरुको ढोका खुल्दै जानेछन् भन्ने सन्दर्भको उठान यसको मूल विषय हो।

कविता लेखिरहेको मान्छेले उपन्यास लेख्दा के हुँदो रहेछ?
लेखाइमा अलि समस्या हुने रहेछ। धेरै कुरा कवितामा झैँ बिम्बमा भन्न खोजिँदो रहेछ। जसले गर्दा कथानक झिनो बन्न खोज्दो रहेछ। कथानकको बीचबीचमा पृष्ठभूमिको दृश्यलाई धेरै वर्णन गरुँझैँ लाग्दो रहेछ। यसो हुँदा कथानकको गति अलि धिमा हुँदो रहेछ। यद्यपि लेखिसकेपछि किताबलाई पुछताछ गर्ने क्रममा यी सन्दर्भहरुको सक्दो न्यूनीकरण गरेर किताबलाई आख्यानजस्तै बनाएको छु।

उपन्यास लेख्नेबारे कहिलेदेखि सोच्नुभएको थियो, के कुराले यो उपन्यास लेख्न घच्घच्यायो?
उपन्यास लेख्नेबारे त धेरै पहिले सोचेको हुँ। जतिखेर मैले उपन्यास लेख्छु सोचेको थिएँ, त्यतिखेर म उपन्यासै लेख्न सक्नेचाहिँ भइसकेको थिइनँ। २०६९ सालबाट यो उपन्यासको लेखनआरम्भ गरेको हुँ। मैले देखेको दुनिया, भोगेको समाजले मलाई मध्यम वर्गीय पात्रहरुको मनोदशामाथि लेख्ने ऊर्जा दिएको हो।

मैले अब यस्तो लेख्छु भन्ने प्लट जब बनाएँ, त्यसको आयतन लामो हुने भयो। कथा, निबन्ध वा कवितामा त्यति कुरा अटाउन सक्दिनँ भन्ने लागेर उपन्यास लेखेको हुँ।

यो उपन्यासमा अरुले भन्दा केही नौलो प्रयोग गरेको छु भन्ने लाग्छ?
अवश्य पनि। हामी हरेक लेखकले सोच्नुपर्ने मूल कुरा यही हो। आफूले लेख्न लागेको विषयसन्दर्भ, शैली, प्रस्तुति पहिले लेखिसकिएको भन्दा फरक हुन सक्दैन भने नलेखेकै राम्रो। उही र उस्तै कुराहरु दोहोरिएर बजारमा आउँदा सबभन्दा बढी पाठकहरु मर्कामा पर्छन्।

तसर्थ, मैले यो उपन्यासमा अरुले भन्दा केही नौलो प्रयोग गरेको छु। यस उपन्यासको क्राफ्ट परम्परित उपन्यासभन्दा फरक छ। स्टोरी न्यारेट गर्ने तरिका फरक छ। शैली फरक छ। सामान्य कथनभन्दा बढी विशिष्ट कथनहरु छन्। उठाएको विषय फरक छ।

यो उपन्यास पढ्ने कुनै निश्चित पाठकवर्ग तोक्नुभएको छ? यदि छ भने उनीहरुले किन पढ्ने?
आठदश वर्षदेखि लिएर ६० वर्ष उमेर समूहसम्मका मानिसहरु मजैसँग यस उपन्यासको पाठक बन्न सक्छन्। यी मानिसले यो उपन्यासमा कतै न कतै आफ्नो कथा अवश्य भेट्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.