मलाई लाग्छ, महिलाहरू पुरुषभन्दा जहिल्यै माथि छन्


दक्षिण कोरियाका निर्देशक किम कि दुक दुर्लभ मान्छे हुन्। फिल्म तथा कलाको क्षेत्रमा कुनै शैक्षिक पृष्ठभूमि नभएका, विद्यालय छोडेका, फ्याक्ट्री र आर्मीमा समेत काम गरेका उनी पछिल्लो ५ वर्षयता भएका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा चर्चित निर्देशकको रूपमा छाइरहेका छन्। उनले पहिलो फिचर फिल्म ‘क्रकोडायल १९९६ मा बनाएका थिए। जुन एक अद्भुत व्यक्तिका बारेमा थियो। जसले सियोलको हान रिभरबाट आत्महत्या गरेका लासहरू निकाल्ने काम गर्थ्यो। दक्षिण कोरियाली फिल्म समाजमा एकदमै फरक धारको फिल्म भित्र्याएका उनले धेरै दर्शकलाई टाढा बनाए पनि फिल्मलाई मन पराउने उत्साही फ्यानहरू भने कमाएका छन्। सीमान्तकृत मानिसहरूको कथा तथा स्पेससँग खेल्न रूचाउने उनले मूलधारका कोरियाली फिल्महरूमा नयाँ धार र सौन्दर्य (एस्थेटिक्स) मिसाएका छन्, जसको चर्चा राम्रै हुने गरेको छ। त्यसैले पनि हो सायद कोरियाको बक्स अफिसमा असफल भए पनि उनका फिल्महरूले युरोपमा हुने अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा पर्याप्त चर्चा पाइरहेका छन्।

‘बर्डकेज इन’ (१९९८) ले पहिलोपल्ट उनलाई अन्तर्राष्ट्रिय फिल्म जगतमा चिनायो भने विवादास्पद फिल्म ‘दि इस्ल (२०००) ले त्यसलाई अझै बढायो। महिला र पुरुषबीच हुने ‘विश्वव्यापी युद्ध’ हिंस्रक तरिकाले खोतल्ने उनका फिल्महरूले सन्डान्स र भेनिस फिल्म फेस्टिभलहरूमा दर्शकहरूलाई तर्साएका छन्। सँगसँगै फिल्ममा भेटिने पृथक् सौन्दर्य, सर्रियल इमेजरी र गहन काव्यिक सौन्दर्य सुन्दरताको पनि प्रशस्त प्रशंसा भयो। त्यसपछिको २०० मिनेट लामो फिल्म ‘रियल फिक्सन’ १० मोसन पिक्चर क्यामेरा र २ वटा भिडियो क्यामेराहरूको सहायतमा एकैपटक खिचिएको थियो। यो फिल्मले एक मान्छेको हत्या गर्ने हत्याराको साँचो र काल्पनिक आनन्दलाई समेटेको थियो। ‘एड्रेस अन्नोन (२००१) उनको राजनैतिक फिल्म हो, जसले १९५० ताका भएको कोरियाली लडाइँको घाउका खतहरूलाई उप्काउने प्रयत्न गरेको थियो र सँगै अमेरिकी क्याम्पको समकालीन असरलाई पनि दर्साएको थियो। ‘ब्याड गाय’ उनको पछिल्लो सबैभन्दा चर्चित फिल्म हो, जुन बर्लिनको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको थियो। भोल्कर हुमेलले सेन्सअफसिनेमाडटकमका लागि लिएको यो अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा प्रस्तुत गरिएको छ।

मिस्टर किम तपाईंले एकपटक मेरो फिल्मको सुरूवाती बिन्दु भनेको घृणा हो भन्नुभएको थियो। तपाईंको नँया फिल्म ‘ब्याड गाय’ कस्तो रिसबाट सुरु भएको थियो?

मैले घृणालाई वृहत् सन्दर्भमा प्रयोग गरेको हुँ र मलाई लाग्दैन न कि तपाईंले त्यो शब्दलाई सन्दर्भभन्दा बाहिर निकाल्नु पर्दैन। मैले भनेको घृणा कुनै एक निश्चित व्यक्ति वा कुनै चिजप्रति लक्षित थिएन। यो त त्यो प्रकारको महसुस हो, जसलाई मैले जीवन बाँच्दै गर्दा पाएँ वा कहिल्यै नबुझ्ने कुराहरू हेरेँ। त्यसैको कारणले त म फिल्म बनाउँछु। म केही चिज देख्छु जुन म बुझ्दिन र म त्यसैलाई बुझ्ने प्रयत्नका लागि फिल्म बनाउँछु। त्यसैले बरु घृणाको बारेमा कुरा गर्नुभन्दा मसँग भएका गलत बुझाइहरूको बारेमा कुरा गर्दा राम्रो होला।

ब्याड गाय’ मार्फत् तपाईंले कस्तो संसारको बारेमा बुझ्न खोज्नुभएको हो त?

मैले सोध्न खोजेको कुरा के भने हामी जन्मिँदा किन सबै बराबर जन्मिन्छौं? सबैसँग बराबर अधिकार र उस्तै क्षमता बोकेर जन्मिन्छौं तर जब बुढो हुँदै जान्छौं विभिन्न भागमा वर्गीकरण हुन थाल्छौं। हामी हाम्रो स्वरूप र अनुहारको आधारमा किन नापिन्छौं? हामी राम्रो छौं कि नराम्रो, पैसा छ कि छैन भन्ने कुरा किन त्यस्तो महत्त्वपूर्ण भयो? यी स्तरहरू जुन हामी जन्मिएपछि हामीमा लादिए र जसको कारण नै हामी विभिन्न तह, श्रेणी, सामाजिक वर्ग आदिमा बाँडियौं। म सोध्न चाहान्थेँ कि ती सबै वर्ग तथा भिन्नताहरूलाई निमिट्यान्न पारेर एकै ठाउँ मिसाउन सम्भव छ कि छैन होला?

अनि आफ्नो उत्तर पाउनुभयो त?

मैले उत्तर के पाएँ भने मानिसहरूले जुनसुकै वर्ग, आवरण वा पैसा सबैलाई छोडेर एक अर्कालाई इज्जत गर्नुपर्छ। मेरो उत्तर यही यो तर मैले फिल्ममार्फत् दर्शकहरूलाई यही प्रश्नको सामना गर्न लगाउन खोजेको हुँ। मलाई विश्वास छ, मानिसहरूले यसको उत्तर चाँडै पाउनेछन्।

तपाईंका धेरै फिल्महरूमा ब्याड गायमा जस्तै एक मौन व्यक्ति छ- जो राम्रोसँग संवाद गर्न तथा आफूलाई व्यक्त गर्न सक्दैन। उसको एक मात्र भाषा नै हिंसा होजस्तो लाग्छ। यस्तो मौनताको कारण के हो?

मेरो फिल्ममा बोल्न नसक्ने मानिसहरू हुन्छन्, त्यसको एक मात्रै कारण के हो भने उनीहरू निक्कै गहिरो गरी घाइते भएका छन्। उनीहरूले अरू मानिसहरूलाई जुन विश्वास गर्थे, त्यो भत्किएको छ किनकि उनीहरूले गर्छु भनेका वाचाहरू पुरा गरेनन्। उनीहरूलाई मानिसहरूले म माया गर्छु त भने तर त्यसको महत्त्व बुझेर ख्याल गरेनन्। यही निराशाले गर्दा उनीहरूले विश्वास गुमाए र सबैसँग बोल्नै छाडिदिए। उनीहरू जुन हिंसातिर फर्किए नि त्यसलाई म बडी ल्याङ्गवेज भन्न रूचाउँछु। म त्यसलाई नकारात्मक हिंसा भन्दा पनि शारीरिक अभिव्यक्ति मान्छु। मेरो पात्रहरूमा हुने चिन्ह तथा घाउहरू उनीहरूले भोगेका तिनै अनुभवहरूका संकतहरू मात्र हुन्, जो उनीहरूले त्यो उमेरसम्म बाहिरी ट्रमासँग ‘रेस्पोन्ड’ गर्न सक्दैनन्। शारीरिक र बोलीले गरिने दुर्व्यवहारबाट उनीहरू आफूलाई बचाउनै सक्दैनन्। त्यो उनीहरूको आमाबाबुबाट पनि भइरहेको हुनसक्छ। वा सडकपेटीमा हिँडिरहेको बेलामा हुनसक्छ वा कसैले पिटेपछि। जब ती कुराहरू हुन्छन्, उनीहरू असहाय हुन्छन्। केही पनि गर्न सक्दैनन्। त्यस्तो अनुभवहरू उनीहरूलाई घाउ भएर बसेको हुन्छ। मैले पनि व्यक्तिगत रूपमा त्यो भोगेको छु। उदाहरणको रूपमा म सानो हुँदा मभन्दा कान्छा तर बलिया केटाकेटीहरूले मलाई पिट्थे। म आफूलाई बचाउन सक्दिन थिएँ। सेनामा हुँदा पनि उच्च पदमा हुने सेनाहरूले मलाई बिनाकारण पिट्थे। यस्तो अनुभव भोग्दै गर्दा म आफैंलाई सोध्थेँ यस्तो कुराहरू साँच्चै हुनु जरुरी छ र? म निर्देशक हुन्जेलसम्म ती प्रश्नहरू मसँगै बसिरहे। र म अहिले तिनैलाई कस्तो सोच्थेँ वा महसुस गर्थेँ भन्ने सम्झिएर फिल्ममा व्यक्त गर्छु।

तपाईं आफ्नो फिल्मलाई अटोबायोग्राफिकल भन्नुहुन्छ?

‘ब्याड गाय’को बारेमा कुरा गर्ने हो भने मलाई व्यक्तिगत रूपमा हाङ गी (फिल्मको मुख्य पात्र) जस्तो मानिस मन पर्दैन। एक पटक संयोगबस मैले रेड लाइट एरियामा काम गर्ने मान्छे भेटेँ। उसले मलाई कुनै कारणबिना कुट्यो र मैले त्यसबेला उसलाई घृणा गरेँ। त्यो अवस्थामा मैले उसलाई बुझ्न सकिन तर म बुझ्नलाई प्रयास गर्न चाहान्थेँ। त्यो फिल्मको माध्यमबाट मैले त्यो पात्रको मानस वा साइकीमा पस्ने प्रयास गरेँ र ती सबै काम गर्न उसलाई केले बाध्य बनाउँछ भन्ने बुझ्ने प्रयास गरेँ।

हलिउडले तपाईंलाई निर्देशक लिएर ब्याड गायको रिमेक बनाउन खोजेको हल्ला छ नि?

म पनि सायद त्यही चाहन्छु कि ब्राड पिटजस्तो अमेरिकन कलाकारलाई लिएर त्यसको भर्सन बनाउँ। यो मेरो आफ्नै व्यक्तिगत इच्छा हो। तर अहिलेसम्म मलाई हलिउडबाट कसैले सम्पर्क गरेको भने छैन।

तपाईंलाई लाग्दैन धेरै व्यक्तिगत र हिंस्रक एस्थेटिक्स हलिउडको सिस्टमसँग टकराव गर्दैन?

बाहिरबाट हेर्दा यस्तो लाग्छ कि हलिउड फिल्महरूको एउटा छुट्टै पृथक् कोड छ जसको आधारमा फिल्म बन्छन्। तर मलाई वास्तविकता त्यस्तो हो जस्तो लाग्दैन। उनीहरू जे देखाउन चाहेको हो त्यो देखाउँछन् तर सिधा रूपमा भने देखाउँदैनन्। यसले उनीहरूलाई कुनै दायरामा भएको जस्तो देखाउँछ तर वास्तवमा उनीहरू कुनै दायरामा हुँदैनन्। त्यसैले म त्यहाँ काम गर्न चाहन्छु। उनीहरूकै तरिका प्रयोग गरेर यसलाई उल्ट्याउन चाहन्छु। बरु सम्भव हुने भए मलाई त ब्याड गायको फ्रेन्च भर्सन बनाउन मन छ। र, सँगै तपाईंहरू यस्तो हल्लाहरू कसरी थाहा पाउनुहुन्छ भन्ने कुरा पनि अचम्म लाग्छ। मैले त सेल्स टिमसँग एक पटक यसको बारेमा मजाक गरेको जस्तो मात्र लाग्छ।

मैले २००१ को पुसान फिल्म फेस्टिभलताका छापिएको एक लेखमा पढेको थिएँ।

त्यसोभए त्यो जानकारी वितरकहरूबाट आयो होला। ओभरसिज डिपार्टमेन्टले मलाई एकपटक यो सम्भव छ कि छैन भनेर सोधेको थियो। मैले असम्भव छैन भनिदिएको थिएँ।

एक वेबसाइटमा अन्तर्वार्ता दिँदा तपाईंले आफ्नो फिल्महरूलाई सेमि–एब्स्ट्रयाक्ट भन्नुभएको थियो? त्यसको अर्थ के हुन्छ?

मैले सेमि एब्स्ट्रयाक्ट मुभी भन्नुको अर्थ वास्तविकता देखाउनेभन्दा केही बढी काम गर्नु हो। हामीले देखिरहेको विश्व खिच्दा मैले सोच, विचार र अनुभवहरूलाई पनि समेट्छु।

फिल्ममा आउनुभन्दा पहिला तपाईंले पेन्टरको रूपमा पनि काम गर्नुभयो। दि इस्ल  फिल्म न्यारेटिभ भन्दा पनि सर्रियल इमेजरीतर्फ झुकेको जस्तो लाग्छ। ब्याड गायमा पनि इगोन सिली (एक अष्ट्रियन पेन्टर) को पेन्टिङले कुनै न कुनै भूमिका खेलेको छ नि।

मैले फ्रान्सको समुन्द्री तटहरूमा दुई वर्ष पेन्टर भएर बिताएँ। मैले अफिसियल प्रदर्शनी भने गरिन। मैले रहरले पेन्ट गरेँ र सडकपेटीहरूमा तिनको प्रदर्शनी गरेँ। म्युनिखमा पनि मैले केही सडक प्रदर्शनी गरेको थिएँ जहाँ मैले सिलीको पेन्टिङको बारेमा जान्ने मौका पाएँ। मैले उनको पेन्टिङ (किताबको स्वरूपमा निकालिएका) ब्याड गायको लागि छान्नुको कारण छ। पहिलोपटक देख्दा तिनीहरू अश्लील लाग्छन् तर यदि त्यसलाई नियालेर हेर्नुभयो भने तिनमा चामत्कारिक इमान्दारिता पाउन सकिन्छ। इच्छाको जञ्जिरमा बाध्यताले बाँधिएका मानिसहरूलाई तिनले देखाउँछन्। वास्तवमा मलाई गुस्तब क्लिम्ट मन पर्ने हो तर सिलीको काम देखेपछि त्यतै आकर्षित भएँ।

सिलीले धेरैजसो वेश्या तथा ‘फलन वुमन’ हरूको पेन्टिङ बनाए, जुन दि इस्ल, एड्रेस अन्नोन र ब्याड गायसँग मिल्छन्। कुनै न कुनै रूपमा शरीर बेच्न बाध्य भएका महिलाहरूप्रति तपाईंलाई के कुराले आकर्षित गर्‍यो?

मलाई लाग्छ, महिलाहरू जहिल्यै पनि पुरुषभन्दा माथि छन्। उनीहरूसँग पुरुषले खोज्ने केही न केही छ, जसका लागि पुरुषहरू पैसा तिर्न पनि तयार हुन्छन्। मानिसहरू मसँग असहमत पनि हुन सक्छन् तर मलाई के लाग्छ भने पैसाको आदानप्रदान नभए पनि हरेक महिला र पुरुषबीचको सम्बन्ध एक प्रकारले बेश्यावृत्ती नै हो। जब महिला र पुरुषबीच सङ्घर्ष जन्मिन्छ यसले त्यस्तो ऊर्जा पैदा गर्छ जसले संसारलाई घुमाइदिन्छ। यो एक विश्वव्यापी द्वन्द हो, तर यसले सँगसँगै सांस्कृतिक भिन्नताहरूलाई पनि देखाइदिन्छ। युरोपको सन्दर्भमा भन्ने हो भने उनीहरू यो मामिलामा लामो समयदेखि स्थिर छन्। लैंगिक रूपमा त्यहाँ खासै धेरै समस्या र सङ्घर्ष पछिल्लो समयमा भएका छैनन्। त्यसैले युरोपियन फिल्म हेर्दा उनीहरू अलिक यथास्थितीवादी भएको र त्यो विषयलाई कम महत्त्व दिइरहेको जस्तो लाग्छ। एसियन फिल्महरू अलिक धेरै अस्थिर र ह्रिंसक छन् किनकि महिला र पुरुषबीचको द्वन्द यहाँ अझै पनि धेरै छ।

ब्याड गायलाई लिएर फेमिनिष्टहरूले कत्तिको आक्रोस व्यक्त गरेका छन्?

धेरै नै। लभगभ ९० प्रतिशत भन्दा धेरै महिला समालोचकहरूले यसको बारेमा नकारात्मक रिभ्यु लेखेका छन्। तर दर्शकको कुरा गर्ने हो भने ८० प्रतिशत भन्दा धेरै महिलाहरू हलसम्म आएका छन्। सबै विशेषज्ञ र समालोचकहरुलाई हेर्दा उनीहरूले नकारात्मक कोणबाट धेरै लेखेका छन् तर सामान्य दर्शकहरूले यसलाई सजिलै ग्रहण गरेका छन्। उनीहरूले यसलाई बुझ्छन्। यदि तपाईं मेरो फिल्मले महिलाहरूको दुर्भाग्य सिर्जना गरिरहेको देख्नुभएको छ भने त्यो धेरै खतरा हो। तर यसलाई अहिले समाजमा भइरहेको समस्या चित्रण गरेको देख्नुहुन्छ भने तपाईं ब्याड गायलाई घृणा गर्न सक्नुहुन्न।

ब्याड गाय कोरियाली फिल्म इतिहासमा अहिलेसम्मकै सबैभन्दा सफल फिल्म हो। आर्थिक सफलतालाई आफ्नो कलाको असफलता मान्नुहुन्छ?

फिल्मको सफलता मुख्य अभिनेता चो जा हुनको कारणले भएको हो। उनी टिभी सिरियलमा अचानक हिट भए, जुन कोरियामा अत्यधिक हिट भयो। त्यसले यो फिल्मलाई पनि असर गर्‍यो। त्यसैले यो मेरो गल्ती हैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.