प्रेमगीतबाट ‘हिट’ भएका प्रदीप

प्रेमगीतबाट ‘हिट’ भएका प्रदीप


दुई वर्षअघि रिलिज फिल्म ‘प्रेमगीत’ मा एक अभिनेता देखिए, अग्लो–अग्लो तर, सानो कदकाँठीका, देख्दा भर्खरै किशोर उमेर पार गरेजस्तो। देख्दा फुच्चे–फुच्चे टाइपको!

प्रचारमा ‘भव्य’ खर्च गरिएको फिल्मले समीक्षकीय प्रशंसा त पाएन तर, प्रदीप भने धेरैको नजरमा परे। एउटै फिल्मबाट प्रदीपले आफ्नो एकखाले माहोल तयार पार्न सफल भए।

प्रेमगीतबाट प्रदीप नेपाली फिल्मका धेरै दर्शकका लागि ‘फ्रेस’ अनुहार लागे। तर, वास्तवमा प्रदीपको अनुहार नौलो भने थिएन। प्रेमगीतअघि नै प्रदीप ‘फ्लप निर्माता’ र ‘फ्लप एक्टर’ को रुपमा दर्ज भइसकेका थिए।

‘ठूलो मान्छे’ नामक फिल्मका निर्माता, ‘स्केप’बाट उनले अभिनयमासमेत डेब्यु गरिसकेका थिए। स्केप त पुरै ‘फ्लप’ भयो भने ठूलो मान्छेले च्यारिटीबाट लगानीसम्म उठायो।

यी दुवै फिल्म असफल भएपछि उनी यति विरक्तिए, विदेश जाने सोच बनाइसकेका थिए। विदेश जाने तयारी गरिरहँदा उनले ‘प्रेमगीत’ फिल्म खेल्न पाए। शुन्य आश राखेको यो फिल्मबाट उनले नसोचेको भइदियो। विदेश जाने ढोकामा ताला लाग्यो।

प्रेमगीत २ मा पनि उनी दोहोरिए। जुन फिल्म शुक्रबारदेखि रिलिजमा आएको छ।

उनै प्रदीप बिहिबार फिल्म निर्माण कम्पनी आशुषेन फिल्म्सको अफिसमा भेटिँदा निकै फुरुंग देखिन्थे। अक्सर फिल्म रिलिजको अघिल्लो दिन फिल्मका अभिनेता/निर्माता/निर्देशकका लागि ढुकढुकी बढाउने दिन हुने गर्छ– भोलिको दिन के–कसो हुने हो?

उनीहरुमा दिमागमा सायद यही कुरा चल्ला– पहिलो दिन नै दर्शकको गाली खाइयो भने त फिल्म डब्बा नै पो हुन्छ त!

तर, प्रविधीले यति सजिलो बनाइदिएको छ, फिल्मप्रति दर्शकको चासो र फिल्म हेर्न आउने बलियो सम्भावना रिलिजअघि नै छर्लंग हुन्छ। डिजिटल प्रविधीले हल बुकिङ सजिलो बनाइदिएको छ। कत्तिको बुकिङ भयो भन्ने कुरा मोबाइल फोनले देखाइदिन्छ।

उमेरले २५ मात्र टेकेका प्रदीप बिहिबार बुकिङले फिल्मप्रति दर्शकको चासो देखाएकोमा फुर्किंदै थिए।

सोफामा सँगै बसेका उनका निर्माता पनि हौसिँदै थिए, ‘पहिलो र दोस्रो दिन राम्रो कलेक्सन ग¥यो भने त्यसपछि त माउथ पब्लिसिटीले नै काम गर्छ।’

सायद, सेन बढ्तै आत्मविश्वासमा पो थिए कि! तर, त्यसले उदाउँदै गरेका प्रदीपलाई भने ठूलै ढाडस दिइरहेको थियो।

मोबाइल हेर्दै रमाउँदै थिए उनी, बच्चाजस्तै!

उनको मोबाइलको समय काटेर सेतोपाटीले भने बाल्यकालको प्रसंग उप्कायो। उनी झनै पुलकित भए। जोकोही रमाउला आफ्नो बालापन सम्झेर। अझै उनी त बढ्तै चकचके रहेछन्। उतिबेलाका चकचक सम्झँदा उनी बेलाबेला कल्पिँदा रहेछन्, ‘फेरि, त्यो दिन बाँच्न पाए!’

भूतकाल र पानीका फोका उस्तै हुन्। फुटेको फोकालाई फेरि जोड्न सकिँदैन, बितेका दिनसँग फेरि गाँसिन मिल्दैन।

तर, वर्तमानसँग भूतकालको साइनो हुन्छ नै, अहिलेका ‘हिरो’ प्रदीपको विगत पनि ‘फिल्मी’ छ।

 

बालक जिज्ञासु हुन्छ। हरेक बालबालिकामा यो जिज्ञासा पक्कै हुन्छ, ‘रेडियो/टेलिभिजनभित्र कसरी मान्छे छि¥यो होला?’

प्रदीपमा पनि थियो। उनी आमासँग सोध्थे, ‘ममी घुन्तालाभित्र मान्छे कसरी छिर्छ?’

‘खै, कसरी हो मैले टिभीलाई घुन्ताला भन्दो रहेछु,’ प्रदीप बाल्यकालतिर फर्किए, ‘अनि म ममीलाई फेरि सोध्थेँ रे– ममी त्यो घुन्तालाभित्र हामी पनि छिर्न मिल्छ?’

त्यतिबेला उनले सोधेको प्रश्न नै उनलाई अहिले याद छैन भने उत्तर त कसरी याद होस्! आमाले उनलाई उतिबेलाको जिज्ञासु छोरा कस्तो थियो भनेर मात्र सुनाइछन्, अस्तिभखर्र। ‘तँलाई टिभी दुनियाँको उतिबेलैदेखि चाहना थियो,’ उनकी आमाले भनेकी थिइन्।

हुन पनि कक्षा सातमा पढ्दापढ्दै उनले ‘घुन्ताला’ भित्र छिर्ने मौका पाए। उनी जुन स्कुलमा पढ्थे त्यो स्कुलका प्रिन्सिपलको माध्यमबाट नेपाल वान टेलिभिजनमा ‘भुराभुरीको हल्लाखल्ला’ नामको बालकार्यक्रममा उनले हरेक हप्ता करिब १५ मिनेटको प्य्रांक गर्न पाउँथे। त्यो उनले टेलिभिजनमा करियर बनाउने सोच्नुअघिकै उपलब्धी थियो। त्यसका लागि उनले न कुनै योजना बुनेका थिए, न कुनै मेहनत।

बस्, चकचक गरेरै उनले यो कार्यक्रममा मौका पाएका रहेछन्।

‘त्यो कार्यक्रमका लागि एउटा बालक चाहिएको रहेछ,’ उनले घुन्ताला दुनियाँमा उक्लिँदाको पहिलो स्मृति साटे, ‘खोज्नेले प्रिन्सिपलसँग भनेको रहेछ, स्कुलको सबैभन्दा चकचके विद्यार्थी चाहियो। चकचके मात्र भएको भए त के पाउँथेँ होला र, स्कुलको फस्ट ब्वाईसमेत भएकाले सरहरुको आँखा ममा प¥यो। कक्षामा ‘सबैभन्दा चकचके विद्यार्थी को छ’ भनेर सरले सोध्दा सबै साथीले मलाई नै देखाइदिए।’

उनी करिब दुई वर्ष टिभीमा देखिए।

पढ्नमा मेधावी थिए, सधैं फस्ट हुन्थे– यसै नाम थियो।

चकचके थिए, हल्ला बढी गर्थे– यसै धेरैले चिन्थे।

टिभीमा आएपछि त उनको ‘चकचकी’ झनै चर्चित भयो। पहिले टोलले मात्र चिन्थ्यो, पछि टोल–टोलमा चिनिन थाले।

एसएलसीको तयारीका लागि नौ कक्षा पुगेपछि टिभीको फराकिलो दुनियाँबाट छुटेर होस्टलमा कैद भए। एसएलसीमा विशिष्ट श्रेणी ल्याए।

परिवारको चाहना थियो, छोराले साइन्स पढोस्। मानेनन्। किनकि, म्याथ उनलाई अप्ठ्यारो लाग्थ्यो। कमर्स विषय रोजे। तर, सँगै पढेको एउटा साथीले हल्ला फिँजाउँदै हिँडेछन्, ‘प्रदीपले चिट चोरेर त्यत्रो नम्बर ल्याएको हो, नत्र साइन्स पढिहाल्थ्यो नि।’

प्रदीपले ठाने– मानमर्दन भयो।

‘सायद, ममा बढ्तै इगो पनि थियो,’ प्रदीप भन्छन्, ‘किनकि, म त्यसबेलासम्म न कहिल्यै फेल भएको थिएँ, न मैले सोचेको पुरा नभएको केही थियो। म्यानेजमेन्ट पढे पनि पाटन क्याम्पसमा साइन्समा भर्ना भएँ। तर, त्यो त साथीलाई जवाफ दिन मात्र थियो। मैले राम्रो नम्बर त साइन्समा हैन, कमर्समा ल्याउनु थियो। साइन्सको दोस्रो वर्षको प्राक्टिकल जाँच नै दिइनँ। साइन्स उतै छुट्यो।’

प्रदीप त्यस्तो परिवारमा हुर्के, जहाँ उनको जस्तोसुकै माग पनि पुरा हुन्थ्यो। आफूले सोचेको पाउनका लागि प्रदीप जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्थे। फकाउन पनि तयार, थर्काउन पनि तयार। काठमाडौंको रैथाने उनको परिवार पनि सरक्क मानिदिन्थ्यो। किनकि, प्रदीप जाँचमा परिवारले सोचेजस्तै नम्बर ल्याइदिन्थे। ‘परिवारलाई मैले राम्रो नम्बर ल्याइदिए पुग्यो,’ प्रदीप भन्छन्, ‘अरु जे गरे पनि भयो।’

सायद, यस्तै कारणले पुल्पुलिएका थिए प्रदीप। उनमा हुनुपर्नेभन्दा बढ्तै आत्मविश्वास पो पलाएको थियो कि!

प्लस टुपछि अमेरिका पढ्न जाने सोच बनाए। ‘ट्राई’ पनि गरे। अन्तरवार्ताको दिन थियो। उनीसँगै स्कुल पढेका साथीको पनि त्यही दिन अन्तरवार्ता रहेछ। दुई साथी पुराना दिन सम्झँदै बात मार्न थाले। पुराना दिनमा हराउँदा उनीहरुले आफू अमेरिकी दुतावासमा छु भन्नेसम्म बिर्सिएछन्। पुराना दिनका किस्सादेखि जोक्ससम्म सुनाउन भ्याए। गलल हाँसे। उनीहरुको कुरा सुनेर अन्तरवार्ता दिन लाइन बसेका अरु युवाको हाँसो पनि मिसियो। गफ मिसियो। हल्ला अन्तरवार्ता लिनेको कानसम्म पुग्यो। सुरक्षा गार्डले हल्ला गर्ने भीडका ‘नाइके’को नाम र हुलिया अन्तरवार्ता लिनेको कानमा फुसफुसाएछ।

हाँस्दा हाँस्दै नाम आयो– प्रदीप खड्का।

प्रदीप झसंगिए। तै पनि उनी डराएका भने थिएनन्। उनलाई पुरापुर विश्वास थियो– भिसा लागिहाल्छ नि!

भित्र पुगेपछि अन्तरवार्ता लिनेले उनको अनुहार सरसर्ती हे¥यो। प्रदीपको अघिल्तिरको फाइल आफूतिर तान्यो। खर्रर पल्टायो। र, सामान्य सोधपुछ ग¥यो।

र, छाप लगाउँदै संकेतमा भन्यो– तिमी अमेरिका जान असमर्थ छौ!

‘त्यो मेरा लागि ठूलो चुनौति थियो,’ प्रदीप भन्छन्, ‘प्रश्न उठ्यो, म पनि कहिँ रिजेक्ट हुनसक्छु? सायद, त्यसअघि मैले पाएका उपलब्धी साना थिए। तर मैले त्यतिबेला बुझिन। त्यसलाई मैले दुतावासको गल्ती ठानेर फेरि पनि आवेदन दिएँ। फेरि पनि रिजेक्ट भएँ।’

केही समय विरक्तिएर हिँडे। तर, रमाउने माध्यम भेटिहाले। पहिले टेलिभिजनमा काम गर्दा धेरैले चिन्थे। त्यसैले मनको एक कुनामा चिनारीको भोक पनि ज्युँदो–जाग्दो थियो। अमेरिका जान अस्वीकृत भएपछि बिबिए भर्ना भए। दिउँसोको खाली समयमा के गर्ने सोच्न थाले। सम्झिँए– टेलिभिजन।

अमेरिकाका लागि पहिले टेलिभिजनमा काम गरेको प्रमाणपत्र लिन जाँदा म्युजिक भिडियो निर्देशक निकेश खड्कासँग भेट भएको थियो। पछि उनैलाई भेटे र टेलिभिजनतिर आफ्नो रुची सुनाए। निकेशले एनटिभी प्लसमा चलाउने कार्यक्रम ‘जिन्दगी रक्स’ का लागि प्रस्तोता चाहिएको जानकारी दिए। उनी हान्निएर पुगे। अडिसन दिए तर, फेल भए। फेलमाथि अर्को फेल। ठूलै झड्का लाग्यो। तर, उनको जोश देखेर हुनसक्छ, मार्केटिङका लागि भने काम पाए। केही समय काम गरे। तर, उनलाई पर्दामा देखिनु थियो, न कि पर्दापछाडि।

त्यहीँ उनले सुने– दिनेश डिसीले चलाउने ‘प्रतीभाको खोजी’ कार्यक्रमका लागि प्रोग्राम म्यानेजर चाहिएको छ। दिनेश डिसी, नेपाल टेलिभिजन र सिंहदरबार– यी तीन नाम उनका लागि ‘सर्वश्व’ लाग्यो। सुन्नेबित्तिकै खाईआएको जागिरलाई ‘टा…टा…’ गरेर दिनेश डिसीलाई भेट्न पुगे। डिसीले पनि भेट्नेबित्तिकै प्रदीपलाई लिइहाले। डिसीको साथमा हिँड्न पाइने भएपछि प्रदीपको अनुहारमा खुसीको दीप बल्यो।

खोजी प्रतीभाकोपछि वाई वाई क्विजमासमेत उनले डिसीको सहयोगी भएर काम गरे। करिब दुई वर्षसम्म डिसीसँग काम त गरे, तर उनको मन रमाउन सकेन। उनको चाहना त टिभीमा देखिने थियो। उनले डिसीको साथ छोडिदिए। अरु कसैले ‘नपत्याएपछि’ उनी आफैं कस्सिए, टेलिभिजन कार्यक्रम बनाउन। त्यतिबेलासम्म टेलिभिजन कार्यक्रम कसरी उत्पादन हुन्छन्, कसरी चलाउनेजस्ता आइडिया तयार थियो। आफ्नै नाममा ‘प्रदीप मिडिया’ कम्पनी दर्ता गरे। कार्यक्रमको नाम राखे– चेकमेट। प्रविधी, मनोरञ्जन र स्टाइलको ‘त्रिवेणी’ को रुपमा कार्यक्रमको खाका तयार पारे। डमी पनि बनाइसकेका थिए, अचानक एउटा म्युजिक भिडियोबाट अफर आयो।

उनलाई लाग्यो, भिजेभन्दा त म्युजिक भिडियोको मोडलको पो क्रेज बढी हुन्छ। म्युजिक भिडियो खेले तर, क्रेज त परको कुरा ‘मेरो म्युजिक भिडियो हेरिस्’ भन्ने अवस्था पो आयो। उनी फेरि टेलिभिजनतिरै जाने सोच बनाउँदै थिए, फिल्मको अफरले ‘बल्छी’ हान्यो।
एक निर्देशकले उनलाई भने, ‘कपाल पाल, ज्यान बनाऊ, म तिमीलाई फिल्म खेलाउँछु ।’

उनले सोचेभन्दा ठूलो ‘उपलब्धी’ पाउँदै थिए।

अमेरिकी दुतावासको अस्वीकार, टेलिभिजन प्रस्तोता बन्न खोज्दा अडिसनमै फेल, म्युजिक भिडियोबाट ‘फ्लप मोडल’ जस्ता असफताले निराशिएका प्रदीपका लागि त्यो अफर चानचुने थिएन। डमी बनिसकेको टेलिभिजन कार्यक्रमलाई रद्द गरिदिए र तुरुन्तै भने, ‘हस्।’

उनको परिवारका लागि पढाई नै सर्वश्व थियो। बिहान कलेज गइदिए पुग्थ्यो। दिनभर छोरो जतासुकै जाओस्, कुनै मतलब राख्दैनथे। मतलब राख्थे त, जाँचको नम्बरमा मात्र। ‘नेपालको शिक्षा सजिलै हो, घोकिदिए पुग्थ्यो,’ प्रदीप भन्छन्, ‘इमान्दार भएर भन्दा राम्रोसँग नपढे पनि मेरो दिमागले सरले पढाएको कुरा चाँडै टिपिहाल्थ्यो। त्यसैले जाँचमा राम्रो नम्बर ल्याउन खासै गाह्रो थिएन।’

उनी बिहान कलेज र दिउँसो फिल्म अफर गर्ने निर्देशकको पछिपछि लाग्न थाले। मोटरसाइकल साथमा थियो, निर्देशकले बोलाएको समयमा टुप्लुक्कै पुगिदिन्थे। ती निर्देशकले लगालगी दुई फिल्म बनाए तर, प्रदीपलाई छोटो भूमिकासमेत दिएनन्। फिल्मका लागि प्रदीपले पालेको कपाल लम्बिइसकेको थियो, तर उनको धैर्यताको बाँध भने फुट्ने तरखरमा थियो।

अन्ततः फुटिछाड्यो।

‘यसपछि मैले सबैतिर असफलता मात्रै देख्न थालेँ,’ प्रदीप भन्छन्, ‘अरुका कुरामा विश्वासै लाग्न छाड्यो। अबचाहिँ आफैं कस्सिनुपर्छ भनेर आफैं फिल्म बनाउन सोच बनाएँ।’

पहिले टेलिभिजन कार्यक्रमका लागि कम्पनी दर्ता गरिसकेका थिए। जिन्दगी रक्स, खोजी प्रतीभाको, वाईवाई क्विज र करिब एक वर्ष निर्देशकको पछि लागेर सुटिङ चाहार्दा नामको भोक मेट्न नपाए पनि फिल्म निर्माणको प्रक्रिया भने सिकेका थिए। त्यसैको आँटले उनलाई फिल्म बनाउन घच्घच्याएको थियो।

उनी फिल्मकै लागि भौंतारिरहँदा कोरियोग्राफर प्रशान्त तामाङसँग भेट भयो। उनी पनि फिल्म बनाउन खोजिरहेका थिए। दुवैको रुची मिल्यो। प्रशान्तसँगै एउटा कथा थियो, जुन कथालाई उनी आफैं निर्देशन गर्न चाहन्थे। तर, मुख्य भूमिका कसले गर्ने तय भएको थिएन। अभिनेत्रीमा केकी अधिकारी छानिइन्। मुख्य भूमिकामा डान्स जानेको शिक्षक चाहिएको थियो। तर, प्रदीप न शिक्षकजस्ता देखिन्थे, न डान्स नै जानेका थिए। त्यसैले निर्देशक आफैंले खेले। घरबाट अलिकति पैसा मागेका थिए, फिल्ममा खन्याए। तीस प्रतिशत सेयर सम्झौता भएपनि सर्वाधिकार भने प्रदीपले आफूतिरै पारे। फिल्म रिलिज भयो। हलमा लगाउँदा पोस्टरको पैसा नि उठेन। बालमनोविज्ञानको कथा भएकाले स्कुल–स्कुलमा देखाइयो। च्यारिटीबाटै लगानी उठ्यो।

फिल्म हिट नभए पनि प्रदीप यस मानेमाचाहिँ सन्तुष्ट थिए, उनले फिल्म बनाए। फिल्म निर्मातामा उनको नाम दर्ता भयो। तर, उनलाई यतिले कहाँ पुगेको थियो र? भोकले पेटमा मुसा हैन, नामको भोकले दिमागमा फिल्मी किरा छिरेर अचाक्ली छटपटी दिइरहेको थियो। हलिउड फिल्ममा लत लागेको थियो। त्यसमा पनि लागुऔषधका कथामा बनेका फिल्मले उनलाई बढ्तै छुन्थे। ‘बास्केटबल डायरी’ जस्ता फिल्मले प्रभाव पारेपछि उनले एउटा फिल्मको कथा जन्माए, लागु औषधले बिग्रिएका युवाहरुको कथामा। जसको मुख्य भूमिकामा आफैंलाई राखे।

‘त्यो कथा आफैंलाई राम्रो लागेको थियो,’ प्रदीप आफैंमाथि जोक गर्छन्, ‘आर्टमा त्यति ट्यालेन्ट त कहाँ हो र म! सहायक कथाहरु सबै अरु फिल्मबाट चोरिएका थिए।’

‘चोरेरै’ भए पनि उनले फिल्म बनाए। फिल्म बनाउन घरबाट अनेक बहानामा पैसा मागेर फिल्ममा लगानी गरेका थिए। तर, घर पुरै बेखबर थियो। त्यसरी नै बेखबर भए दर्शक।

‘एउटा सन्तुष्टीचाहिँ के मिल्यो भने आफ्नो फिल्म आफैंले ठूलो पर्दामा हेर्न पाएँ,’ प्रदीप भन्छन्, ‘त्यो पनि ठूलो हलभरी आफू र दुईचार जनाले मात्रै। पर्खालमा आफ्नो पोस्टर टाँसियो त्यसमै रमाएँ।’

तर, प्रदीपमा त चिनारीको भोक थियो, जुन दुवै फिल्मले दिएनन्। पोस्टरको खुसी त पर्खालबाट उप्किनुभन्दा पहिले नै दिमागबाट उप्कियो।
अब भने उनका लागि निर्विकल्प एउटा ढोका खुल्ला थियो, विदेश जाने।

‘त्यतिबेलासम्म त घरकाले पनि थाहा पाइसकेका थिए,’ प्रदीपले ती दिन सम्झिए, ‘छोरो फिल्ममा लागेर बिग्रियो भन्न थालिसकेका थिए। त्यति मात्र हो र? फलानाको छोराले अमेरिका पुगेर आइफोन पठाइसक्यो, बाबुआमालाई घुमाउन लगिसक्यो भन्थे। मलाई पनि अब त के चाहिएको थियो र? फिल्मक्षेत्र मेरा लागि बनेको हैन। विदेश नै ठिक लाग्यो।’

त्यतिबेलासम्म बिबिए पनि सकिसकेका थियो। फिल्मका लागि चारतिर भौंतारिएर पनि पासचाहिँ भएका थिए। अष्ट्रेलिया जाने प्रक्रिया थाले। तर, त्यहीबेला भुइँचालो आइदियो। अष्ट्रेलियाका लागि सम्पत्ती देखाउनुपथ्र्यो। भुइँचालोले घर चिरा पारेसँगै बैंकले पनि घरको मूल्य तोक्न मानेन।
अमेरिकाको भिसा रद्द भएसँगै एकपछि अर्को गर्दै निराशाको भड्खालोमा भासिँदै गएका उनलाई कसैको हात चाहिएको थियो।
एकदिन एक फिल्म पत्रकारले फोन गरे। फिल्मक्षेत्रबाट यति विरक्तिएका थिए कि, फोन उठाएनन्।

पछि कतै समाचार पढे, ‘प्रेमगीतका लागि नयाँ अभिनेता चाहिएको छ।’

सायद, धकेल्न चिनारीको भोक अझै धुकधुक गर्दै थियो। कताकताबाट आश जागेछ। तर, उनी त नयाँ अभिनेता थिएनन्।

अर्का एक फिल्म पत्रकारलाई अनुरोध गर्दै समाचार लेखाएछन्, ‘म नयाँ अभिनेता त हैन, तर अडिसन दिन तयार छु।’

‘म फिल्मक्षेत्रमै फर्किन्छु भनेर ट्राई गरेको थिइनँ,’ उनले सुनाए, ‘त्यतिबेला मेरो उद्देश्य नै विदेश जानु थियो। जबसम्म विदेश जान सफल भइँदैन, त्यो फुर्सदमा यसो रमाइलो गरौं भनेर मात्र।’

यो समाचार निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाले देखेछन्। बोलाए।

सोधे, ‘नाच्न जान्या छ? भोलि नाचेको सानो भिडियो ल्याउनु।’

नाच्न के जान्थे!

पहिले फिल्ममा भौंतारिँदा असफल भए पनि संगत भने बाक्लै थियो। त्यो काम लाग्यो। कोरियोग्राफर गम्भीर बिष्टको सहयोगमा नाचेको भिडियो तयार पारेर निर्देशकलाई बुझाए।

पास पनि भए।

तर, अचाक्ली खुसी भने थिएनन्।

‘मेरो त्यतिबेलाको अवस्था भनेको नेपालमा मेरो लागि सफलता भन्ने कुनै ठाउँमा पनि छैन भन्ने थियो,’ उनले सुनाए, ‘प्रेमगीत सफल हुन्छ भन्ने त रत्तिभर विश्वास थिएन।’

कतिसम्म भने उनले सुटिङ सकेपछि फिल्मको वास्ता पनि गरेका थिएनन्। त्यहीबीचमा निर्माता र निर्देशकको ठाकठुक परेछ। उनलाई भने फाइदै भयो। निर्माताको साथ पाए। फिल्मले कति कमायोसँग उनलाई मतलब थिएन, नाम चाहिएको थियो, बस्! त्यो पाइहाले। विदेश जाने ढोकामा ताला लगाए।

‘समय सबैभन्दा बलियो रै’छ,’ प्रेमगीत २ ले झनै उत्साहित प्रदीप भन्छन्, ‘मेहनतकै कुरा गर्ने हो भने त प्रेमगीतमा भन्दा बढी आफ्नै फिल्ममा गरेको थिएँ नि। सबै समयकै खेल रहेछ। ती सबै तनावबाट मैले के सिकेँ भने निराश भएर आफूले गर्न चाहेको काम छोड्नचाहिँ नहुने रहेछ।’

प्रेमगीतबाट ख्यालख्यालमै चिनिए, अब चिनिइरहनुपर्ने चुनौति छ। अहिले प्रदीप फिल्मको गम्भीर नशाले लठ्ठिएका छन्। यस्तो नशा– खुसी र छटपटी दुवै छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.