‘पाठकलाई मेरो किताबको नाम अप्ठ्यारो लागेकोमा खुसी लाग्यो’


मदन पुरस्कार मनोनयनको उत्कृष्ट नौको सूचिमा ‘गुहा, गुहालेख, गुहाचित्र र अन्य सम्पदा’ समावेश भएपछि यसले धेरैको ध्यान खिच्यो।साहित्यिक वृत्तमा चर्चित पुरस्कारको मनोनयनमा परेको उक्त पुस्तक आफैं भने यो वृत्तका लागि भने नौलो थियो। लामो समयदेखि सम्पदा, संस्कृतिको अनुसन्धान गर्दै आइरहेका पुरुषोत्तमलोचन श्रेष्ठको उक्त कृतिमा ऐतिहासिक, साँस्कृतिक महत्व बोकेका गुफाहरुको खोज समेटिएको छ। मदन पुरस्कारले मनोनयन सार्वजनिक गरेको सन्दर्भमा लेखक श्रेष्ठसँग यो पुस्तकबारे सेतोपाटीले केही प्रश्न सोधेको थियो।

मदन पुरस्कारमा मनोनित हुनुभयो। कस्तो लाग्दैछ?

नदीको शक्ति उसको वेग हो। सूर्यको शक्ति उसको राप हो। विगत तीन दशक भन्दा पनि लामो समयदेखि, दिन–रातको मिहिनेतले, नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध पक्षमा अनवरत–अन्वेषण गर्दै लुकेका, ओझेलमा परेका अतुल्य सम्पदाहरू प्रकाशमा ल्याउने काम गरिरहेको छु। अहिले आएर यस मनोनयनले मलाई मेरो अन्वेषणकार्यमा नदीको वेग र सूर्यको राप जस्तै ऊर्जा मिलेको छ। वर्षौंदेखिको मेरो अन्वेषणले उच्च सम्मान पाएको सुखद अनुभूतिको आभास यस क्षणमा भइरहेको छ।

तपाईंको किताबको नामै अप्ठ्यारो भन्दैछन् नि! सम्झनै गाह्रो भो रे त!

त्यसरी पाठक–मनहरूले अप्ठ्यारो र गाह्रो मानेकोमा खुसी लाग्यो। किनकि मनले एकपल्ट गाह्रो मानिसकेपछि त्यो सुगम भएर मनमा बस्छ। अनि त्यही अप्ठेरो वा गाह्रो कुरा सुगम भएर मनमा गडिसकेपछि भने भुल्न गाह्रो हुन्छ। गाह्रोले सजिलो हुन्छ, अप्ठेरोले अनुकूल हुन्छ। त्यसो त, अन्वेषणको संसार अरू विधाजस्तो सुगम पनि कहाँ हुन्छ र? कोठाको चौगिर्दाभित्र बसेर, सहायक स्रोत सामग्रीका भरमा हुने जस्तो सुगम–सिर्जना यो पक्कै होइन। खुला आकाशमुनिको अन्वेषणको अति अप्ठेरा खुला संसारमा पदार्पण गरेपछि सम्पदाका अनेक कठीन–कक्षहरूमा पुगिन्छ। ती कहाँ सुगम छन् र! स्थलगत अध्ययनबिनाको अन्वेषणको अस्तित्व हुन्न। कहिलेकाहीँ स्थलगत अध्ययन दुस्साहसपूर्ण हुने गर्छ। मेरो अध्ययनका विषयवस्तु र स्थान पनि उस्तै अप्ठेरा थिए। अनकन्टार भीर, पाखा, अत्यन्त सुनसान र ज्यान नै हत्केलामा हालेर पस्नु पर्ने प्रागैतिहासिक गुफा, ओडार, विरलाकोटि प्राप्त हुने हाम्रा पुर्खाका हजारौं वर्ष पुराना प्रस्तर उपकरणहरू, पढ्नै दुर्बोध हुने कैयन कालदेखिका प्राचीन अभिलेखहरू, फेला परेका सम्पदाहरूको तथ्यपूर्ण–व्याख्या, विश्लेषण गरी काल निरूपण गर्नुपर्ने हजारौं वर्ष पुराना मूर्ति, गुफालेख, गुफाचित्र एवं अन्य सम्पदाहरू मेरा अध्ययनका विषयवस्तु थिए। जति अप्ठेरो वा गाह्रो काम, उस्तै अप्ठेरो नाम विषयवस्तुका विशेषताले सिर्जित नामः गुहा, गुहालेख, गुहाचित्र र अन्य सम्पदा।

तपाईंको हालसम्म १२ वटा पुस्तक प्रकाशित भइसकेको छ। मदन पुरस्कार मनोनितमध्ये तपाईंको नाम सबैभन्दा नौलो लाग्यो धेरैलाई। किन होला?

मेरो विधा साहित्यिक विधा भन्दा भिन्न छ। त्यो त मनोनयनमा परेका पुस्तकहरूको सूचीले नै स्पष्ट भएको कुरा सबैमा विदितै छ। अरू आठवटै मनोनित पुस्तक साहित्यिक विधाका छन् र, मेरो मात्र इतिहास, संस्कृति र पुरातत्व विषयसित सम्बन्धित, अनुसन्धान विधाको रहेको छ। साहित्यिक संसारमा मैले पाइला टेकेको भए शायद मेरो नाम नौलो लाग्ने थिएन होला। मेरो संसार त्यो भन्दा भिन्न छ। वैज्ञानिक अन्वेषण हुने खोजमूलक संसारमा भने मेरो नाम अपरिचित होइन। यसलाई मेरो आत्मरति नमान्नुहोला। मलाई पनि त्यस्तै प्रतीत भइरहेको छ। किनकि मेरा लागि पनि मनोनित अरू नाम नौला छन्। यस अघि मलाई उहाँहरूको नाम थाहा थिएन। यसरी विधा फरक पर्न गएकोले त्यसो भएको हो भन्ने कुरा त स्पष्ट छ।

तपाईं सम्पदा, संस्कृतिबारे अनुसन्धान गर्नुहुन्छ र, आफ्नै खर्चले पुस्तक निकाल्नुहुन्छ भन्ने सुनिन्छ। तपाईं केका लागि अध्ययन/अनुसन्धान र लेख्नुहुन्छ?

कुरा सत्य हो। म इतिहास, संस्कृतिको विद्यार्थी हुँ। विशेषगरी प्राचीन र मध्यकालीन इतिहास–संस्कृति मेरो मनपर्ने विषय हो। अनुसन्धान मेरो जीवनको अभिन्न अङ्ग भएको छ। इच्छाशक्ति, आत्मबल र स्वस्थ–शरीरले यसरी नै पछिसम्म पनि साथ दिइरहने हो र तपाईहरू सबैको सुभेच्छा र प्रोत्साहन यसरी नै पाइरहने हो भने जीवनको अन्तिम चरणसम्म पनि नूतन कुराहरू दिएर योगदान गर्न सक्छु भन्ने आशा र विश्वास छ। पुस्तक मात्र नभएर आफ्नै खर्चले स्थलगत अनुसन्धान समेत गर्दै आइरहेको छु। यो काम निकै गा¥हो छ। यसपटकको यो पुस्तक प्रकाशन गर्ने खर्च भने मेरा मित्र एवं यस पुस्तकका प्रकाशक विनोदराज शर्माले जुटाइदिनु भएको छ। म त्यसका निमित्त उहाँप्रति आभारी छु। इतिहास, संस्कृतिका बारेमा वैज्ञानिक ढङ्गले अन्वेषण गर्ने अन्वेषकहरू औ“लामा गन्ने सकिने संख्यामा मात्र सीमित रहन पुगको देखिन्छ। नेपाल विश्वमै अतुल्य संस्कृतिले धनी देश रहिआएको छ। हाम्रो चिनारी हाम्रो संस्कृति हो। संस्कृति म¥यो भने देश पनि मर्छ। हामी बाँचेर पनि जीवित–मृत व्यक्ति मात्र भएर रहने छौं। लिनुभन्दा दिनु उत्तम कुरा हो। लिएर होइन, दिएर कीर्ति रहन्छ। यो पनि हाम्रो संस्कृति र संस्कार हो। यसैले यसकै निमित्त पनि अध्ययन अनुसन्धान गरिरहेको छु, अनवरत रूपले लेखिरहेको छु।

के कुराले सम्पदा, संस्कृतिबारे खोज अनुसन्धान गर्न प्रेरित गर्यो‍?

नेपालका प्रख्यात् इतिहासकार धनवज्र वज्राचार्य मेरा गुरु हुन्। उहाँको निर्देशनमा विद्यावारिधि गर्ने नेपालको म एक मात्र शोधार्थी हु“। यस कुरामा मलाई गौरव छ।

कुरा वि.सं. २०४३ सालतिरको हो। जस्तो मित्र, उस्तै संगत र उस्तै फल त्यसबेला मेरा मित्र डा.भद्ररत्न वज्राचार्य ‘बहादुर शाह’ मा विद्यावारिधिका लागि शोधकार्य गर्दै हुनुहुन्थ्यो र सोही सिलसिलामा उहाँ बराबर गुरुकहाँ गइरहनु हुन्थ्यो। मित्रको संगतले एकातिर मलाई पनि विद्यावारिधि गर्ने रहर लाग्न थालेको थियो भने स्कूले विद्यार्थी छँदादेखि नै गुरुको नाम सुनेको थिएँ, देख्न, कुरा गर्न भने पाएको थिएन। मैले मेरा मित्रलाई गुरुको निर्देशनमा विद्यावारिधि गर्ने कुरा राखें। उहाँले मलाई गुरुकहाँ लानुभयो। वि.सं.२०४५, वैशाखको एक बुधवार। गुरुकहाँ पुगेको पहिलो दिन। गुरुकै सहमति एवं निर्देशनमा मूर्त एवं अमूर्त सम्पदाले धनी भक्तपुरलाई केन्द्र बनाएर ‘वैज्ञानिक ढङ्गले’ अनुसन्धानको संसारमा लाग्न प्रण गरेको प्रथम अविस्मरणीय क्षण। त्यसबेलादेखि आजसम्म गुरुले देखाएको बाटोमा हिँडिरहेको छु।

मेरा मित्र डा.भद्ररत्न वज्राचार्य एवं मेरा श्रद्धेय गुरु धनवज्र वज्राचार्य मेरो अनुसन्धानका आदि–प्रेरक हुन्। मेरा अर्का आदरणीय आदि–गुरु संस्कृति शिरोमणि हरिराम जोशी हुन्। सोही वर्षमा उहा“सित मेरो परिचय भयो र उहाँसितको सान्निध्यता आजसम्म पनि रहिआएको छ। उहाँ मेरा लागि अन्वेषणको संसारमा लाग्न प्रेरित गर्दै उचित मार्ग निर्देशन गर्ने अभिभावक नै हुनुहुन्छ। विश्वमै दुर्लभ चट्टान अभिलेख फेला पारेपछि यस बारेमा लेख लेख्न उहाँसित सुझाव माग्दा पुस्तककै रूपमा ल्याउन मार्गनिर्देशन गर्नुभएको थियो। त्यसरी नै कालिका गुफाका गुफाभिलेख लगायतका सम्पदा पत्ता लागेपछि पनि त्यसरी नै पुस्तक लेख्न प्रेरित गर्दै मार्गनिर्देशन र बेलाबखतमा अमूल्य सुझाव र सहयोग गर्नुभएको थियो। अहिले ‘बनेपाको एतिहासिक एवं सांस्कृतिक सम्पदा’ बारे अन्वेषण गरिरहेको छु। यसबारेमा पनि उहाँबाट मलाई अमूल्य सहयोग, सुझाव र प्रोत्साहन पाइरहेको छु। मलाई अन्वेषण कार्यमा लाग्न प्रेरित गरिरहनु हुने मेरा गुरुहरूप्रति सदा ऋणी रहनेछु।

गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा पुस्तक के हो? यसले के बताउँछ?

इतिहास, संस्कृति र पुरातत्वका बारेमा नूतन कुराहरू पत्ता लगाएर, सम्बद्ध विषयका बारेमा लेखिएको यो पहिलो पुस्तक हो। अनुसन्धान अन्त्यहीन छ। सुगम स्थानका कुरा धेरै आइसकेको छन्, पटक–पटक गरी धेरैले उही कुरा मात्र दोहराइरहेका छन्। तर दुर्गम स्थानमा वा भनौं गा¥हो र अप्ठेरो स्थानमा गएर अन्वेषण गर्ने शून्यप्रायः छन्। यस्ता स्थानहरू विश्व इतिहास र संस्कृतिका दृष्टिले समेत अनुपम छन्। कुनाकाप्चामा रहेका यस्ता स्थानका अमूल्य सम्पदाबारे खोजी गर्ने कामको थालनी गर्ने बेला आइसकेको छ। ती हाम्रा राष्ट्रका निधि हुन्। यस पुस्तकले बताउन खोजेको सार कुरा यही हो।

पुस्तकमार्फत् तपाईंले भन्न खोज्नुभएको के हो?

गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा पनि हाम्रो संस्कृति हो। विश्वकै मानव जातिको साझा सम्पदा हो। इतिहासको उषाकालदेखि नै नेपाली संस्कृति सैद्धान्तिक रूपले मात्र नभएर व्यवहारमा समेत निरपेक्ष र उदार अनि सर्वधर्म समन्वयवादी एवं सहिष्णु रहिआएको छ। निरपेक्ष–संस्कृति नेपाली संस्कृति हो। नेपाली संस्कृतिले अरूबाट लिएको मात्र छैन, अरूलाई दिएको अनेक दृष्तान्त पनि छन्। हजारौं वर्षदेखि नेपाली संस्कृतिले आत्मसात् गर्दै आएका, जुनसुकै विधामा देखिने नेपालीपन नै नेपाली संस्कृतिको मूल चिनारी हो। ‘म’ र ‘तिमी’ नभएर ‘हामी’ हौं भन्ने साझा–भाव लिएर अघि बढेको समुन्नत संस्कृति नेपाली संस्कृति हो। आ–आफ्नो धर्म–संस्कृतिको पृष्ठभूमिमा जन्मी–हुर्की परिवार, समाज र सिङ्गो राष्ट्रकै अभिन्न अङ्ग बनेर, सबै नेपालीलाई एकै सूत्रमा जोड्दै समृद्ध हुनपुगेको संस्कृति नेपाली संस्कृति हो। हाँसो उठ्दाको अवस्थामा मात्र नभएर आ“सु झर्दाको क्षणमा समेत साथ दिने अतुल्य संस्कृति नेपाली संस्कृति हो। नेपाल र नेपालीको पहिचान नेपाली संस्कृति हो। गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा उक्त कुराको अपवाद होइन। यसैले यसको पनि रक्षा गरौं, यसले हाम्रो रक्षा गर्ने छ। सप्रमाण भन्न खोजेको सार कुरा यही हो।

यो पुस्तकमा त्यस्तो के छ, जसले मदन पुरस्कारमा मनोनित दिलायो?

विगतको मानव–संस्कृति इतिहास हो। साहित्यलेखनमा कल्पना र भावनाले विशेष स्थान पाएको हुन्छ। कल्पना र भावनाले इतिहास हुन्न। इतिहासमा अनुमानसम्मले स्थान पाएको हुन्छ त्यो पनि अनुमान गर्ने प्रमाण–आधार प्राप्त छ भने मात्र इतिहास तथ्यपरक, यथार्थ साहित्य पनि हो। विगतमा घटेका सत्य–तथ्य घटनाहरूको सुन्दर विवेचनले यसको साहित्यिक रूप चरित्र समेत सुस्पट तुल्याउन सकिन्छ। यी कुरातिर दृष्टि नदिँदा नेपाली इतिहास–लेखन परम्परा अघिदेखि ‘रूखो’ रहिआएको टिप्पणी विद्वद्वर्गमा चलेको छ। अतः रूखो विषयलाई साहित्यिक पुट दिएर रोचक ढङ्गले प्रस्तुत गर्ने भिन्नै, नवीन शैली मैले यस पुस्तकमा प्रयोगमा ल्याएको छु।

अन्वेषणले हुने प्राप्ति राष्ट्रिय महत्वको मात्र नभएर अन्त तः अन्तर्राष्ट्रिय महत्वकै हुने गर्छ। पुरातत्वज्ञ डा.फुहररले लुम्बिनीमा फेला पारेर, सर्वप्रथम ई.सं.१८९७ मा प्रकाशमा ल्याएको, बुद्धको जन्मथलो बारेमा प्रामाणिक जानकारी दिने अशोकस्तम्भ अभिलेख लगायत भारतीय विद्वान भगवान्लाल इन्द्रजीले ई.सं.१८७७ मा सर्वप्रथम प्रकाशमा ल्याएको चा“गुको लिच्छवि राजा मानदेव प्रथमको अभिलेख उक्त कुराका उत्कृष्ट उदाहरण हुन्। आज ती सम्पदाहरू विश्वसम्पदामा सूचीकृत छन् र, ती सम्पदाहरूले पनि प्रत्येक नेपाली र नेपाली संस्कृतिको चिनारी दिँदै आएका छन्। अन्वेषणात्मक यो पुस्तक पनि उक्त उदाहरणहरूको अपवाद होइन।

विशेषगरी भगवान्लाल इन्द्रजीले चाँगुनारायणमन्दिरको चौगिर्दाभित्रको अभिलेख प्रकाशमा ल्याएपछि र कलाविद् लैनसिंह बाङ्गदेलले सोही परिसरमा रहेका प्राचीन मूर्तिहरू बारेका कुरा प्रकाशमा ल्याएपछि स्वदेशी विदेशी विद्वानहरूको ध्यान उहिलेदेखि यो पुस्तक प्रकाशमा आउनु अघिसम्म पनि एकोहोरो ढङ्गले सोही मन्दिरपरिसरमा मात्र केन्द्रित रहि आयो। सर्वप्रथम यस पुस्तकमा चा“गुनारायणको चौगिर्दा पार गरी यसको समीपस्थ र दूरस्थस्थानका, कैयनकालदेखि परित्यक्त रहेका, थुप्रै अनुपम सम्पदाहरू पत्ता लगाएर लेखिएको पहिलो पुस्तक यो हो। नेपालमा सर्वप्रथम शिलालेख पत्ता लगाउने श्रेय नेपाली विद्वानले नभएर विदेशी विद्वानले पाएको छ। नेपालमा सर्वप्रथम इतिहास विषयको पुस्तक लेख्ने श्रेय पनि नेपाली विद्वानले नभएर विदेशी विद्वानले पाएको छ। यी केही नमुना हुन्। अरू विधाको नियति पनि प्रायः उस्तै छ। यो पुस्तक भने त्यस कुराको अपवाद हो। जस्तै नेपालमा गुहालेख पाइएको छैन भनिरहेको बेलामा सो अभावलाई पूर्ति गर्दै सर्वप्रथम गुहालेख लगायत गुहाचित्र समेत पत्ता लगाएर लेखिएको पहिलो पुस्तक यो हो। चा“गुको मानदेवको अभिलेखलाई आधार मानेर नेपालको प्रामाणिक इतिहास सोही समयदेखि वा भनौं इस्वीको पाँचौ शताब्दीदेखि आरम्भ भएको मान्यता अझै चलेर आएको छ। तर त्यहाँ प्राप्त प्रस्तरमूर्तिहरू जस्तै उमामहेश्वर, गणेश, सप्तमातृका, सप्तभैरवका मूर्तिहरू आदिको काल निरूपणले चा“गुभेक अभिलेखको समयभन्दा पनि पाँचसय वर्ष पुरानो देखिन आएको छ। यस विषयमा त्यसरी विवेचन गरी लेखिएको यो पहिलो पुस्तक हो। कलाविद् लैनसिंह बाङ्गदेलले यहाँ सप्तमातृकाका चारवटा मात्र मूर्तिहरू देखे। हामीले भने सप्तमातृकाका सातवटै मूर्तिहरूलाई छिन्नमस्तामन्दिरभित्रबाटै पायौं र तिनमा देखापर्ने प्राचीन शैलीलक्षणका आधारमा दुई हजार वर्ष पुरानो भएको र मूर्तिकलाको माध्यमबाट चाँगुभेकको इतिहास दुई हजार वर्ष पुरानो भएको पायौं। यस बारेमा त्यसरी प्रथमपल्ट तुलनात्मक अध्ययन विश्लेषण गरी लेखिएको यो पहिलो पुस्तक हो। प्रागइतिहासका दृष्टिले त चाँगु मात्र नभएर, यस भेकमा आजभन्दा तीन दशक अघि नै फेलापरेको बोस नमाडिकसको जीवाश्म, गोदावरी र लुभुमा फेलापरेका महागज र जलगैंडाका जीवाश्महरूका आधारमा काठमाण्डौं उपत्यकाको इतिहासलाई कम्तिमा पनि दशलाख वर्ष अघि लान सकेका छौं। सर्वप्रथम यसरी विश्लेषण गरी लेखिएको यो पहिलो पुस्तक हो। चाँगुभेकबाट नवपाषाण उपकरण फेलापर्न आएको छ। त्यसैगरी उपत्यकाका दक्षिणपूर्वीभेक लगायत काभे्र र सिन्धुपाल्चोक भेकबाट पनि नवपाषाण उपकरणहरू फेला पर्नआएका छन्। ती हजारौं वर्ष पुराना हाम्रा पुर्खाका हतियार हुन्। यस्ता उपकरण फेला पारेर उपत्यकाको इतिहासलाई इतिहासकालबाट प्रागइतिहासकालमा पु¥याउन सकिएको छ। यस बारेमा यसरी सप्रमाण लेखिएको यो पहिलो पुस्तक हो। चा“गुनारायण जतिकै पुरानो गोठालेदेवतास्थानका बारेमा लेखिएको यो पहिलो पुस्तक हो।

नेपालको पहिलो नगरसभ्यता विशालनगर सभ्यता हो। यस बारेमा लेखिएको यो पहिलो पुस्तक हो। उत्तरप्राचीनकालका प्रसिद्ध राजदरबारहरू : मानगृह, कैलाशकूटभवन र भद्राधिवासभवन यसै नगरभित्र थिए। सो नगरसभ्यता नक्साल, हाँडिगाउँदेखि, पशुपतिक्षेत्र, गोकर्ण, चाँगुको शिर हुँदै साँखुसम्म पैmलिएर रहेको थियो भनी विशालनगरको सांस्कृतिक भूगोलको खाका कोरेर त्यस बारेमा लेखिएको पहिलो पुस्तक यो हो। चा“गुभेकमा चट्टानचित्र पत्ता लगाएर त्यस बारेमा लेखिएको पहिलो पुस्तक यो हो। अन्वेषणका क्रममा पत्ता लागेको शाक्त अर्धनारीश्वर मस्तक (ईस्वी छैठौं शताब्दी) पनि उस्तै सर्वाधिक महŒवको छ। यस्तो मस्तक फेलापरेको यो पहिलो हो। यस्तो मूर्ति उता भारतमा पनि पाइएको छैन। अठारौं शताब्दीको पटचित्रमा भने देखापरेका छन् तर मूर्तिकलामा भने हाम्रो पहिलो र प्राचीन हो। यसरी आजसम्म पाइएका अर्धनारीश्वरका दुर्लभ प्राचीन मूर्तिहरूमध्ये यो नितान्त भिन्न, एवं पहिलो अतुल्य मूर्ति हो। यस बारेमा लेखिएको यो पहिलो पुस्तक हो। चा“गुको चौगिर्दाबाहिर फेला परेका सारनाथ शैलीका बौद्धमूर्तिहरू (पा“चौ“–छैठौ“ शताब्दी) पनि उत्तिकै महŒवका छन्। यी मूर्तिहरूको प्राप्तिले पनि नेपाली धर्म–संस्कृति आरम्भकालदेखि नै धर्म–निरपेक्ष रहिआएको विदित हुन्छ। यी मूर्तिहरू विष्णुको बौद्धावतार मूर्तिहरू हुन्। सर्वप्रथम यस्ता मूर्तिहरू उता भारतका वैष्णव–देवस्थलमा समेत पाइएका छैनन्। नेपालमा आजसम्म पाइएका विष्णुको बौद्धावतार मूर्तिहरूमा यी सर्वप्राचीन, स्वतन्त्र रूपका हुन्। र, यसबारेमा पनि यसरी लेखिएको पहिलो पुस्तक यो हो। त्यसैगरी अन्वेषणका क्रममा पत्ता लागेको, नेपालमा प्राप्त पहिलो सर्वप्राचीन शक्तिसहितको षन्मुखकुमार (छैठौं–सातौं शताब्दी)को मूर्ति पनि हो। यक्षमस्तक (प्रथम शताब्दी) लगायत बोधिसत्वमस्तक पनि उत्तिकै महŒवका छन्। त्यस बारेमा लेखिएको पहिलो पुस्तक यो हो। लिच्छविकालीन भद्राधिवासभवनको अवस्थान पत्ता लगाएर लेखिएको पहिलो पुस्तक यो हो। झौखेलमा फेलापरेको शिवदेव+अंशुवर्माको अभिलेख, लिच्छविकालीन अशोक–चैत्यहरू पनि अत्यधिक महŒवका छन्। शिवदेव+अंशुवर्माको अभिलेखमा सो स्थानलाई सम्बोधन गर्ने क्रममा ‘थंखोपृद्रङ्ग’को उल्लेख आएको छ। सो प्रमाणबाट आजको झौखेलभेकमा उक्त नामको शहरी बस्ती आबाद थियो भन्ने कुरा थाहा हुन आएको छ। अर्को शब्दमा भन्ने हो भने लिच्छविकालीन शहरी बस्तीको अवस्थान भेट्टाउने उल्लेख्य काम भएको छ। यो पनि यस पुस्तकको नूतन उपलब्धि हो। यस भेकमा फेलापरेका प्रागैतिहासिक महŒवका प्रकृतिनिर्मित गुफा र ओडारहरू हाम्रा पुर्खाका आदि–वासस्थान थिए। चट्टान खोदेर बनाइएका मानवनिर्मित गुफाहरू सा“खु वज्रयोगिनीका हुन्। ती ई.पू.तेस्रो शताब्दीतिरका हुन्। यस बारेमा समेत लेखिएको यो पहिलो पुस्तक हो।

यसरी आजसम्म अज्ञात रहेका र प्रकाशमा नआएका गुफा र ओडारहरू, पाषाण उपकरणहरू, ईस्वीको प्रथम शताब्दीदेखि मध्यकालसम्मका प्रस्तर मूर्तिकला लगायत अभिलेखहरू एवं भारत र एसियामा समेत अप्राप्त अतुल्य सम्पदाहरू पत्ता लगाएर, प्राचीन दरबारको अवस्थान मात्र नभएर विस्मृतिको गर्भमा हराउन पुगेको उपत्यकाकै पहिलो नगरसभ्यता ‘विशालनगर’ मात्र नभएर परवर्तीकालको एक प्राचीन नगरको अस्तित्व समेत पत्ता लगाएर, पहिलोपल्ट गुहालेख, गुहाचित्र, चट्टानचित्र लगायतका अनेक सम्पदाहरू पत्ता लगाएर तुलनात्मक अध्ययन विश्लेषण गरी लेखिएको आजसम्मकै बेग्लै र पहिलो पुस्तक यो हो। खुला आकाशमुनिका खुला सम्पदालाई खुला पुस्तकका पाना सरी गरेर अथक परिश्रमका साथ गहन अध्ययन गरी लेखिएको अतुल्य पुस्तक यो हो। नेपालको मात्र नभएर समग्र मानव जातिकै
गौरव बढाउने यी मानव–सभ्यताका यी अतुल्य सम्पदाहरू पत्ता लगाएर लेखिएको हुँदा मनोनयनको सूचीमा परेको हो भन्ने मलाई लागेको छ।

तस्बि- श्रेष्ठको फेसबुकबाट

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.