दु:खमा रमाउन नसक्नेले यात्रा गर्न सक्दैन


दामोदर पुडासैनीका १२ कृति प्रकाशित भइसकेका छन्। त्यसमध्ये पाँच कृति नियात्रासम्बन्धि छन्। पेशाले महालेखा परिक्षक कार्यलयका निर्देशक पुडासैनीको पछिल्लो कृति ‘पर्खालभित्रको राजधानी’ हालै मात्र प्रकाशित भएको छ। यात्रा र नियात्रा लेखनका सन्दर्भमा उनै पुडासैनीसँग सेतोपाटीले केही प्रश्न गरेको थियो। जसको सम्पादित अंश यस्तो छः

तपाईं कस्तो यात्री ?

जीवन उचाल्न केही शक्ति र सामथ्र्य जरुरत पर्दोरहेछ, त्यसको जोहो गर्न पनि नवीन स्थान, नयाँ मान्छे र नयाँ सम्भावनाको खोजीमा हिँडिरहने यात्री हुँ म। धेरै त मैले जीवीकोपार्जन गर्दा गर्दै यात्रा गरेँ, कहिले समाज र संस्कृति सजाउन यात्रा गरेंँ, कहिले नयाँ चिनारीको लागि यात्रा गरेँ। यात्रा नभएको जीवन र जीवन नभएको यात्राको कुनै अर्थ नहुने बुझेरै छोटो जीवनका हरेक क्षणहरू उमङ्ग, उत्साह र उज्यालो बनाउन जीवन र जगतका नयाँ बाटा र नयाँ पाटाहरू खोज्दै हिँडिरहेको यात्री हुँ म।

केका लागि यात्रा गर्नुहुन्छ? यात्रा गरेर के सिक्नुभयो?

जीवनको रीत नै गतिमा अडेको छ। गतिले गुण, परिमाण र प्राप्ति सबै हात ल्याउँछ नवीन प्राप्तिको लागि म यात्रा गर्दछु। यात्रा, उपलब्धी मात्र होइन हण्डर पनि हो। तर, त्यस्तो हण्डरले पनि मान्छेको हातमा नवीन ज्ञान र स्रोत हात ल्याउँछ। त्यसै भएर पनि यात्राका हरेक उतारचढावहरूबाट उपलब्धीहरू संकलन गर्न म यात्रा गर्ने गर्दछु। यात्राले मान्छेलाई परिपक्व, अनुभवी र यथार्थवादी बन्न सघाउँछ। हरेक अँध्यारा कित्ताहरूलाई यात्राको माध्यमबाट सुकिल्याउन सकिन्छ भन्ने अनुभूति मैले सँगालेको छु।

घुम्दा किन हिमाली क्षेत्र नै रोज्नु हुन्छ?

हिमाल हामी नेपालीको आन, मान र सान हो। हिमालका हरेक कित्ताहरूमा देखिने सौन्दर्य मात्र होइन असीमित ऊर्जा, रहस्य र चमत्कारहरू छन्। हिमालभित्र लुकेका असंख्य रहस्यमध्ये केहीलाई मात्र विश्वसामु पु¥याउन सक्यौं भने विश्वजनमानस हाम्रो पछि लाग्नेछ। हिमाली क्षेत्रको यात्रा गर्न कठिन छ तर त्यसबाट प्राप्त हुने सम्पन्नता अरु केहीसँग तुलना गर्नै सकिँदैन। यही वस्तुतथ्यलाई मध्यनजर राखेर नै म हिमालतिर घुम्न र हिमाली साहित्य लेख्न बढी तानिएको हुँ। फेरि युरोप अमेरिकातिर सामुद्रिक सौन्दर्य छ र जनजीवन बढी समुद्रले प्रभावित छ, अरबी मुलुकतिर मरुभूमिको बर्चस्व छ र जनजीवन पनि मरुभूमिकै रहस्यहरू खोतल्दै अघि बढिरहेछ। युरोपेली साहित्यकारहरूले मसुद्रका र खाडी मुलुककाहरूले मरुभूमिका रहस्यहरू उजागर गर्दै साहित्य रचे। त्यो विश्वजनमानसमा पठनीय बन्यो। हामी नेपालीहरूले पनि हिमाली जनजीवन, सौन्दर्य, संस्कृति र विविधताका कुराहरूलाई खोजपूर्ण ढङ्गले लेख्न सक्यौँ भने त्यो विश्वभर चासोको विषय बन्नेछ। त्यसै भएर मलाई हिमाली भूभागमा घुमफिर गर्ने र हिमाली साहित्य लेख्ने रुची बढेको हो।

यात्रा गर्दा आफूलाई कतिको लचिलो, स्वतन्त्र र जिज्ञासु बनाउनु हुन्छ? लेखकीय दिमाग सकृय हुँदा यात्राका आनन्दलाई बाधा पु¥याउँछ कि झन् सजिलो बनाउँछ?

समय, परिस्थिति र स्थान अनुसार परिवर्तन हुन नसक्ने मान्छेलाई यात्रा गर्न असाध्यै गाह्रो पर्छ। यात्रा गर्नु भनेको नयाँ भूगोल, हावापानी, संस्कृति, चालचलन र खानपानसँग भिज्नु पनि हो। नवीनतामा रमाउन नसक्ने मान्छेले यात्राको थालनी नगरेकै बेस। यात्राका क्रममा जतिसुकै अप्ठेराहरू झेल्न, जस्तोसुकै पीडाहरूमा पनि रमाउन र जस्तोसुकै अप्रिय परिस्थितिसँग पनि तादात्म्यता कायम गर्न तम्सनु पर्छ। यात्रा गर्दा सधैं आफूलाई नवीन र उत्सुक संसारसँग परिचित गराउन सामर्थ हुनुपर्दछ र ज्ञानप्राप्तिमा रमाउनु पर्दछ। नयाँ ओछ्यानमा ननिदाउने, नयाँ खाना चाख्न नमान्ने र मान्छेको नयाँ आनिबानी बुझ्न नखोज्ने मान्छेले यात्रा गरेर पनि के नै हात पार्दछ र?

यात्रामा लेखक पुग्नु आफैंमा सिर्जनशीलता जमजमाउनु हो। एउटा लेखक नयाँ ठाउँमा पुग्दा हरदम त्यसको प्रभावले नयाँ कुरा जन्माउन उत्सुक रहन्छ। नियात्राकारमा त त्यो कुरा अझ बढी लागु हुन्छ। त्यसरी भ्रमण गर्दा अरु व्यक्तिको तुलनामा नयाँ तथ्य खोतल्ने र तथ्यहरू संकलन गर्ने बोझ लेखकमा अझ बढी रहन्छ। यस हिसाबले लेखक सदैव एउटा गह्रौँ भारी बोकिरहेको हुन्छ। त्यसले लेखकीय दिमाग सकृय हुँदा यात्राका आनन्दलाई केही बाधा त पु¥याउँछ नै।

घुमिसकेपछि त्यसलाई लेख्ने तरिका कस्तो छ? अनुभूतिलाई प्राथमिकता दिनुहुन्छ कि दृश्यलाई?

लेखनमा अनुभूतिको महत्वपूर्ण स्थान रहन्छ। अनुभूति घोलिएको रचनाले दिर्घकालिन महत्व पनि राख्दछ। नियात्रा लेखनमा दृश्यहरू, घटनाका शब्दचित्रहरू, स्थानीय रङ्गहरूको महत्व त विशेष रहन्छ। यद्यपि दृश्यहरूको सपाट वर्णन भन्दा ती दृश्यहरूले उब्जाएका अनुभूतिहरू पनि लेख्न सकियो भने त्यसले पाठकको मन जित्न सफल हुन्छ। त्यसैले म यात्रा साहित्य लेख्दा स्थानीयता, यथार्थपरकता, चित्रात्मकता र अनुभूतिका पक्षहरूलाई सन्तुलिन रुपमा अघि बढाउन चाहन्छु।

घुम्न जानुअघि त्यो ठाउँको विविध पक्षबारे कतिको जानकारी राख्नु हुन्छ?

हरेक भ्रमणको एउटा निश्चित उद्देश्य हुनु पर्दछ। जीवन जस्तै यात्राको पनि एउटा निश्चित योजना तय हुनुपर्दछ, तर योजना ठ्याक्कै लागु हुनुपर्छ भन्ने छैन। लागु हुन पनि सक्तैन। यात्रामा निस्कुन पूर्व गन्तव्यको जानकारी राख्नु राम्रो हो। त्यसले यात्रा अवधि, यात्राको लागि जोरजाम गर्नुपर्ने स्रोत साधन र यात्राका संभावित जोखिमहरूको बारेमा सचेत हुन मद्दत पु¥याउँछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.