पूर्णविक्रम थिए, पल भए


फिल्म रिलिजको समय कुनै अभिनेता के फुर्सदमा हुन्थ्यो!

अहिले हलमा चलिरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ का अभिनेता पल शाह रिलिजको चौथो दिनसम्म उत्तिकै व्यस्त थिए। दिनभर हल–हल चहार्थे र दर्शकसँग सेल्फी लिनमा व्यस्त रहन्थे। उनै पल सोमबार साँझ करिब आधा दर्जन साथीसँगको जमघटमा भेटिए।

वसन्तपुरस्थित क्याफेमा राति झन्डै ८ बजिसकेको थियो। हामी उनका साथीहरूलाई छाडेर अर्को टेबलमा बसेका थियौं। भाइब्रेसन मोडमा राखिएको उनको मोबाइलले बेला–बेला उज्यालो फाल्थ्यो। उनी कहिले उठाउँथे, कहिले एकछेउमा थिचेर स्क्रिन पल्टाउँथे।

पल्लो टेबलका साथीहरूले बेलाबेला पल्याकपुलुक पलतिरै हेरिरहनुको अर्थ ‘अन्तर्वार्ता चाँडो सक’ को संकेत भन्ने बुझ्न गाह्रो पर्दैनथ्यो।

यही बुझेर हामीले गफ छोट्याउने सोच बनायौं। निरन्तर प्रश्नोत्तरलाई बिट मार्दै मैले भनेँ, ‘सरसर्ती आफ्नो कथा सुनाउनुस् न त छोटोमा।’

उनी भने छोटकरीमा गएनन्।

‘दाङको पूर्णविक्रम शाह नामको १६ वर्षे लिखुरे केटो एसएलसी पास भएपछि राजधानी छि¥यो। उसको बुवाको चाहना थियो, छोरो सेकेन्ड लेफ्टिनेन्ट बनोस्। तर, जिद्दी छोरोले आफ्नो हठ छाडेन। उसलाई फिल्म इडिटर बन्नु थियो। लामो समय बाबुसँग उसको राम्रो बोलचाल भएन …’

अघिसम्म पलको अनुहारमा देखिएको व्यस्त भाव आफ्नो कथा सुनाउन थालेपछि तुरुन्तै सेलायो। प्रश्नोत्तर बेला केही अकमकिएका पल कथा सुनाउन थालेपछि भने तेज रफ्तारमा अघि बढे।

पल त्यस्ता व्यक्ति रहेछन्, जोसँग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरबेटीले निकालिदिएका थिए। अनामनगर, रत्नपार्क, पुतलीसडक, बागबजार क्षेत्रमा उनले समोसा, जेरी, आलुचना, चिया लगायत खाजा खाँदाका उधारो तिर्न अझै बाँकी छ।

अहिले उनी यहीँका सडकमा आफ्नै कार हुुइँक्याउँछन्।

कुनै समय यस्तो थियो, नेपाली फिल्मका अधिकांश ‘हिरो’ म्युजिक भिडियो र मोडलिङबाट भित्रिन्थे। गोरो अनुहार, गठिलो शरीर, न दुब्लो न मोटो, दाह्री–कपाल मिलाएर काटिएको– यस्तैयस्तै मान्यता हुन्थ्यो हिरो हुने।

उसले नाच्न जान्नैपथ्र्यो, हाँस्न जान्नैपथ्र्यो। अभिनयमा पनि उसको निश्चित शैली हुन्थ्यो। सभा–समारोहमा देखिँदा पनि ऊ ‘हिरो’ नै देखिनुपथ्र्यो। यो परम्परागत मान्यताभन्दा बाहिर पर्ने जोकोही हिरो हुन लायक ठहरिँदैनथ्यो। कहीँकतैबाट हिरो भइहाले, स्वीकारिँदैनथ्यो।

जब ‘लुट’ आयो, परम्परागत मान्यतामाथि प्रश्न फैलाएर गयो। हुन त वैकल्पिक स्वरहरू उहिल्यैदेखि सुनिएका हुन्। लामो समयदेखि बहस गरिरहेका छिरिङरितार शेर्पा, नवीन सुब्बा लगायतको समूहमा निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, मनोज पण्डित, दीपक रौनियार, मीन भामहरुको समूह वैकल्पिक या अलगधारका अभियन्ता भएर निस्किए।

लुटपछि फेरिएको समयमा ‘थिएटर’ शब्दले बढ्तै ‘स्पेस’ पायो। वर्षौंदेखि थिएटरको बन्द घरभित्र अभिनय गरिरहेकाहरूले फिल्ममा फुक्काफाल भएर अभिनय गरे। हिरोमा हुनैपर्ने अनुहार, उचाइ, बोलीचालीका परम्परागत मान्यता तोडिए। ‘हिरो’ शब्दको ठाउँ ‘एक्टर’ ले लियो। फिल्म खेल्न चाहनेहरू पुतलीसडक, बागबजार हैन, थिएटर भिलेज, मण्डला थिएटर, सुनील पोखरेलको ‘ज्ञ’ धाउन थाले। ‘हिरो हुन’ पहिले मार्सल आर्ट, डान्स सिकिसकेकाहरूको दिमागमा पनि ‘थिएटर’ घुस्यो।

यही समय उदाएका अभिनेता हुन्, पल शाह।

फिल्मक्षेत्रमा यो परम्परागत मान्यता फेरिँदै गर्दा यस्तै परम्परागत मान्यतामा अटाएका पल म्युजिक भिडियोमा दिनानुदिन ‘हिट’ हुँदै थिए। जो अग्ला छन्, ‘स्माइल दिन जानेका’ छन्। ‘स्टाइलिस’ छन्। अर्थात्, ‘फर्मुला हिरो’का विविध विशेषता उनीसँग छन्।

करिब चार सय म्युजिक भिडियोमा अभिनय गरेपछि ‘नाइँ नभन्नु ल ४’ बाट फिल्ममा डेब्यू गरेका उनले त्यसपछि म यस्तो गीत गाउँछु र जोनी जेन्टलम्यान खेले। पहिलो फिल्मबाटै उनी ‘क्लिक’ भए। दोस्रो फिल्मबाट उनले ‘फर्मुला फिल्म’ का पारखीहरूबाट राम्रै प्रतिक्रिया पाएका छन्।

समयसँगै दर्शकको मनोविज्ञान बदलिरहेको हुन्छ। दर्शकहरू नयाँ–नयाँ शैली चाखिरहन चाहन्छन्। समयअनुसार नफेरिने कलाकारलाई दर्शकले किनारा लगाइदिन धेरै सोचिराख्दैनन्।

पलका लागि यो समय चुनौतिपूर्ण छ कि छैन त?

‘छैन,’ पल भन्छन्, ‘मेरो अनुहार चकलेटी छ भन्छन्। त्यसैले म लभस्टोरी जानरामा फिट हुन्छुजस्तो लाग्छ। लभस्टोरी जानरा हत्तपत्त फ्लप भइहाल्दैन। हुन त राम्रोसँग बनाए कुनै पनि जानरा फ्लप हुँदैन। जो निर्देशकलाई आफूले बनाइरहेको फिल्म कस्तो हो भन्ने थाहा छ, के काम कोसँग लिन सकिन्छ भन्ने थाहा छ, त्यस्तो टिमसँग काम गर्दा फिल्म फ्लप हुँदैन। नाइँ नभन्नु ल ४ पछि दोस्रो फिल्म आउन २ वर्ष लाग्यो। म त्यस्तो फिल्मको पर्खाइमा थिएँ, जुन राम्रो ब्यानर होस्, फिल्म बुझेको निर्देशक होस्। म यस्तो गीत गाउँछु मैले खोजेजस्तै फिल्म थियो। त्यसैले धेरै दर्शकले मन पराए।’

नेपाली फिल्मक्षेत्रको स्वभाव निकै बहकाउ देखिन्छ। जस्तोः लुट चल्यो त्यही शैलीलाई पछ्याउने फिल्महरू बग्रेल्ती निस्किन्छन्। कमेडी फिल्म चल्यो, सबै त्यस्तै शैली पछ्याउँछन्। अनि, सबै भड्खालोमा जाकिन्छन्। पललाई लाग्छ, नेपालमा अझै पनि ९० प्रतिशत फिल्महरू त्यस्तै बहकिएर बनाइएका हुन्छन्। ती निर्माता/निर्देशकलाई आफूले के गरिरहेको छु भन्ने पनि पत्तो हुँदैन। संगीत, प्रविधि, कथा, पटकथा नबुझी आएका निर्देशकहरू फेल हुन्छन्।

‘म यी सबै बुझेका निर्देशकसँग मात्र काम गर्छु,’ पल भन्छन्, ‘मैले सुदर्शन थापासँग काम गरेँ। उहाँलाई संगीतको सवालमा यस्तो ठाउँमा यस्तो गीत चाहियो, यस्तो बाजा चाहियोजस्ता स–साना कुरा पनि थाहा छ। जो मान्छे स्पष्ट उद्देश्य लिएर आउँछ, उसलाई टिक्ने चुनौति छैन। म राम्रो निर्देशकसँग काम गर्छु भने यो समय मेरा लागि चुनौतिपूर्ण छैन।’

पललाई डर नै नभएको भने हैन। अब त्यो डर केही मत्थर भएको छ।

नाइँ नभन्नु ल ४ मा उनी अचानक छानिएका थिए। त्यतिबेलासम्म फिल्म खेल्ने उनको कुनै योजना थिएन। फिल्म खेले पनि उनले त्यति गम्भीरतासाथ लिएका रहेनछन्।

‘जब अवार्डहरू हात पर्न थाल्यो, म गम्भीर बन्नुपर्ने रहेछ भन्ने बोध भयो,’ पलले आफ्नो अनुभूति सुनाए, ‘त्यसपछि मेरो दिमागमा फिल्म नै बढी चल्न थाल्यो। अहिले त फिल्म मेरो लागि बानी भइसकेछ।’

पहिलो फिल्मले अनायासै खुसी दिएको थियो। दोस्रो फिल्मले भने उनको भविष्यको बाटो नै निर्धारण गर्यो। ‘म यस्तो गीत गाउँछु मेरो करियरको टर्निङ प्वाइन्ट हो,’ पल सुनाउँछन्, ‘मैले पहिले सोचेको थिएँ, फ्लप भयो भने सोचुँला– फिल्म क्षेत्र मेरा लागि ठिक रहेनछ। पहिलो फिल्म नराम्रो भएको भए म दोस्रो फिल्ममा हुन्थिनँ होला। दोस्रो फिल्मले बाँकी फिल्म खेल्ने÷नखेल्नेबारे निर्धारण गथ्र्यो। यो फिल्म मेरो सपना थियो। अब ढुक्क छु, मैले सोचेजस्तै राम्रो भएको छ।’

अब पूर्णविक्रमको कथाः

पल सानो छँदा उनको घरमा टेलिभिजन थिएन। छिमेकीको घरमा टेलिशृंखला हेर्न जान्थे। टेलिशृंखला सकिएपछि कलाकार तथा प्राविधिकको नाम आउँथ्यो। त्यहीँ उनले छिमेकी दाइको नाम पढेका थिए। जो नेपाल टेलिभिजनमा भिडियो सम्पादक थिए। गाउँभरी ती दाइको खुबै प्रशंसा हुन्थ्यो।

उनको मनले सोच्यो, ‘प्रशंसा कमाउन त सम्पादक पो हुनुपर्ने रै’छ।’

उनले भविष्यमा के बन्ने भन्नेबारे उति दिमाग खियाएनन्। सम्पादक बन्ने सपनामा ल्याप्चे लगाइदिए। ९ कक्षातिर पढ्दा उनले योजना बुनेका थिए, काठमाडौं गएर ती दाइलाई भेट्छु। सम्पादक तिनैले बनाइदिन्छन्। त्यसपछि नामको के दुःख!’

एसएलसी सकियो।

उनले बाबुलाई भने, ‘बुवा म काठमाडौं जान्छु।’

‘किन जानुप¥यो काठमाडौं? गाउँमै यत्रो कलेज छ त। यहीँबाट प्लस टु पास गर्ने, अनि सेकेन्ड लेफ्टिनेन्टका लागि मात्र काठमाडौं जाने।’
तर, पूर्णविक्रमले जिद्दी गरे। मान्दै मानेनन्। घुर्की देखाएर दुई–चार छाक भात छोडिदिए। नाम कमाउने भोकको अघि पेटको भोकले के जित्थ्यो! अन्ततः बाबुले काठमाडौं जाने अनुमति दिए।

काठमाडौं आएपछि सानिमाको छोरीसँग बस्न थाले। बिहान कलेज पढ्थे। दिउँसो अर्को सानिमाको छोरा नितिन चन्दको अफिस पुग्थे। नितिन चन्द पहिले भिडियो सम्पादक थिए, अहिले फिल्म निर्देशक भइसकेका छन्। चन्द उतिबेला म्युजिक भिडियो सम्पादन गर्थे। पूर्णविक्रम उनको छेउमा बसेर सम्पादन गरेको हेरिरहन्थे।

चन्द साहुकोमा काम गर्ने भएकाले पूर्णविक्रमले कम्प्युटर छुनसमेत पाउँदैनथे। सम्पादनको काम राति अबेरसम्म हुन्थ्यो। साहु सुतिसकेपछि मात्र उनको हातले कम्प्युटर छुन पाउँथ्यो। दाइले सम्पादन सिकाइदिन्थे। यसरी एक वर्ष लुकिलुकी सम्पादन सिकेका पूर्णविक्रमले म्युजिक भिडियो सम्पादन गर्ने ठाउँमा काम पाए।

चार महिनाजति काम गरेका थिए, कम्पनी मालिक नै फरार भइदिएछ। उनले तलबसमेत लिएका थिएनन्। ‘त्यतिबेला त हिम्मत भए पो माग्नु,’ पल सम्झिन्छन्, ‘उता घरमा आफूले काम गर्न थालेको र अब खर्च पठाउनुपर्दैन भनेर मख्ख पारेको थिएँ।’

फोनमा सञ्चो–बिसञ्चोबाहेक कुरा नहुने बुवाचाहिँ उनीदेखि कति खुसी थिए, उनलाई थाहा थिएन। उनको अनुमानमा पक्कै खुसी थिएनन्।

जब उनको नाम नेपाल टेलिभिजनमा आउन थाल्यो, बाबुमा पनि खुसीको लहर छायो। उनले नेपाल टेलिभिजनको एउटा कार्यक्रम सम्पादन गर्ने काम पाएका थिए। तलब थियो, ३५ सय रुपैयाँ। दुई–तीन महिना त्यहाँ काम गरेपछि तराई टेलिभिजनमा काम पाए। भर्खरै खुलेको टेलिभिजनमा आकर्षक तलब पाउने भएपछि उनी त्यता लहसिएका थिए। ११ महिनासम्म तलब नदिएपछि उनी हिस्स पर्नुको विकल्प थिएन। कहिलेकाहिीँ फाट्टफुट्ट म्युजिक भिडियो सम्पादन गरेर काठमाडौंमा टिक्थे। त्यो पनि कतिले पैसै नदिई फरार!

तराई टेलिभिजनमा काम थाल्नुअघि उनले प्लस–टु सकिसकेका थिए। कमाई पनि राम्रै हुन थालेपछि दिदीहरूसँग छुट्टिएर छुट्टै कोठामा बस्न सक्ने भएका थिए। केही समयपछि त उनले आमा र बहिनीलाई समेत काठमाडौं ल्याए। कोठाबाट फ्ल्याटमा सरे।

तराई टेलिभिजनले ११ महिनासम्म तलब नदिँदा उनी फ्ल्याट भाडासमेत तिर्न नसक्ने भए। फुर्सद मिलाएर गरिएको कामबाट जसोतसो खर्च टार्थे। कहिले साथीसँग मागेर चलाउँथे। कहिले त उनको खल्तीमा खाजा खाने पैसासमेत पुग्दैनथ्यो। खाजा खाइवरी पैसा निकाल्दा कहिले २० रुपैयाँ नपुग्ने, कहिले ५।

यसरी उनले थुप्रै ठाउँमा उधारो खाजा खाएका छन्। धेरैपटक उधारो भएपछि साहुको आँखा छल्न वैकल्पिक बाटोको खोजी गरेका छन्। साथीको बर्थडेमा समेत जान्थेनन्। कारण, उपहार किन्ने पैसा हुँदैनथ्यो।

करिब एक वर्ष उनले यस्तै समस्यामा आफूलाई गुजारे। आमा र बहिनीलाई भने यो दुःख कहिल्यै देखाएनन्। फ्ल्याटबाट निकालिँदा उनले आमालाई बहाना बनाएका थिए, पैसा तिर्न सकिएन, केही महिना सानो कोठामा बसौं। बाबुलाई भन्न सक्ने कुरै थिएन, किनकि, त्यो उनले रोजेको काम थियो।

संघर्षका क्रममा आर्थिक अभाव मात्र एक्लो विजेता रहन सक्दैन। उनले आर्थिक अभावलाई परास्त गरिछाडे, जब म्युजिक भिडियोमा अभिनय गर्ने अफर पाए।

‘मैले कहिल्यै भिडियोमा अभिनय गर्ने सोचेकै थिइनँ,’ पल आफ्नो संघर्षका दिन सम्झन्छन्, ‘म्युजिक भिडियो सम्पादन गर्दा मलाई निर्देशक र मोडलको कत्ति काम नै चित्त बुझ्दैनथ्यो। सम्पादन गर्दैगर्दा मोबाइलले खिचेर आफैं अभिनय गर्थें र युट्युबमा हाल्थेँ। धेरैले त्यो ‘रफ’ काम मन पराएछन्। विज्ञान राईले मलाई ‘तिम्रो यादमा रुन्छु अचेल’ भिडियोमा अभिनय गर्ने अफर ल्याउनुभयो। मलाई लाग्छ, भगवानले मलाई तँ भिडियो खेलेर बाँच भनेर अभिनय गर्न लगाए।’

उनलाई पहिलो गासमै ढुंगा लाग्यो। दोस्रो गीत ‘को होला त्यो’ मा अभिनय गरेपछि गीतको बोलजस्तै पलको बारेमा नै सोधखोज हुन थाल्यो, ‘को हो त्यो पल?’ ‘हनी बनी’ मा अभिनय गरेपछि भने पल उदाए।

पूर्णविक्रम शाह पल नाममा उदाएको भने अलि पहिल्यै हो।

‘मेरा साथीहरू कोही ज्याकी, कोही रकी, कोही पिंकी नामका थिए,’ पल आफ्नो नाम फेरिँदाको कथा सुनाउँछन्, ‘सानिमाको छोरा नमित चन्दले एकदिन भन्नुभयो, पूर्ण अब तिमी आफ्नो नाम फेर। उहाँले नै नाम सुझाउनुभयो– पर्ल। जसको अर्थ मोती हुन्छ। तर, पर्ल नाम उच्चारण गर्न अप्ठ्यारो भएपछि मेरो नाम पल भयो।’

पल पलपलमा हिट हुँदै गए। राजनीतिका लागि दाङ नछाडेका उनका बाबु पनि उता छोराको कारण ‘हिट’ हुन थालेछन्। जहाँ पुगे पनि ‘पलका बाबु’ भन्दै फोटो खिचाउनेहरू भेटिन थाले। बाबु खुसी हुँदै फोन गर्थे, ‘आज पनि एउटाले तेरो नाम लिँदै मसँग फोटो खिच्यो। अझै राम्रो गर्दै जानु है छोरा!’

त्यसपछि बाबु–छोराको सम्बन्ध सुमधुर भयो। काठमाडौंको बसाइ पनि सजिलो हुँदै गए। तीन वर्षमा करिब चार सय म्युजिक भिडियो खेलेर उनी चल्ती र महँगा मोडल बने। पलले गाडी किने। महँगो फ्ल्याटमा ममी र बहिनीलाई सारे।

यसैबीच उनलाई फिल्मको अफर आयो। फिल्ममा अभिनय गर्ने कहिल्यै नसोचेका पल पहिलो फिल्मबाटै फिल्मवृत्तमा चिनिए। दोस्रो फिल्मले पनि उस्तै साथ दियो। पहिलो र दोस्रो दुवै फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा देखिएका पल तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ लाई अर्को ठूलो परीक्षा मान्छन्। जसमा उनी ‘एंग्री ब्वाई’ को भूमिकामा देखिँदैछन्। यो फिल्मले पलको जीवनमा किन पनि विशेष अर्थ राख्छ भने यसलाई उनका दाइ नितिन चन्दले निर्देशन गरेका हुन्। जसले पललाई भिडियो सम्पादन सिकाएका थिए।

पलले अहिलेसम्म अभिनयको औपचारिक कक्षा लिएका छैनन्। न उनी र्याम्पबाट आएका हुन्, न फोटोसेसन गरेर भित्रिएका हुन्। उनले अभिनय जति सिके आफ्नै भिडियोको कमजोरी हेरेर सिके। त्योभन्दा बढी जीवनबाट सिके।

‘मलाई जीवन नै अभिनयजस्तो लाग्छ,’ पल भन्छन्, ‘म तपाईंको अगाडि जसरी बसिरहेको छु, घरमा यसरी बस्दिनँ। तपाईंसँग जसरी बोलिरहेको छु, घरमा त्यसरी बोल्दिनँ। अर्थात्, म हरेक ठाउँमा अभिनय गरिरहेको हुन्छु। म मात्र हैन, हरेक मान्छे अभिनय गरिरहेको हुन्छ। जीवन नै फिल्म अभिनयको ठूलो पाठशाला हो। मैले संघर्षका दिनमा भोगेको अभावले मलाई धेरैखाले अभिनय गर्न सिकाएको छ।’

अहिले पल आफ्नो गाडी लिएर बागबजार, पुतलीसडक, अनामनगरका सडकमा हुइँकिन्छन्। उनका लागि त्यो फगत गाडी गुड्ने सडक हैन। त्यहाँ उनले संघर्ष गर्दाका दिनका याद छरपस्ट छन्। उधारो तिर्न बाँकी पसलहरू छन्। उधारो तिर्न नसक्दा लुकेर हिँडेका गल्लीहरू छन्। तर, ती सबैले आफ्नो रूप फेरिसके।

जसरी पलको रूप फेरियो, परिचय फेरियो।

तस्बिरहरु- पल शाहको फेसबुकबाट

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.