मसँग ‘पुग्यो’ भन्ने शब्द छैन: यम बराल – Setopati Nepal's Online Newspaper

मसँग ‘पुग्यो’ भन्ने शब्द छैन: यम बराल


मध्यम वर्ग परिवारमा पढाइ मुख्य प्राथमिक्तामा पर्छ। इलामको फिक्कलमा जन्मिएका गायक यम बरालका बाबु पनि सबै सन्तानलाई पढ्नुपर्छ भन्नेमै जोड दिन्थे। यमलाई पनि पढ्नुपर्छ भन्ने नै थियो।

त्यसैले गायक बन्ने कुरा यमको जीवनमा दुर क्षितिजमा पनि थिएन। तर स्कूले जीवनमा गीत गाउने बजाउने र अभिनय गर्न सक्रिय थिए। बस्! भविष्यको बाटो हुन्छ भनेर हेरेका थिएनन्, देखेका थिएनन्।

जीन्दगीको बाटो सोचे जस्तो नहुने। ७ दिदी बहिनी तथा ५ दाजुभाइका कान्छा यमको जीवन पढ्नका लागि नेपाल एयर लाइन्सका जागिरे दाजुले सबै भाइबहिनीलाई काठमान्डौ ल्याए सँगै फेरियो।

‘सात क्लास सम्मको मेरो पढाइ फिक्कल र कर्फोकमा भयो। पढाउन दाइले काठमाडौं ल्याउनु भय। विजय मेमोरियल स्कूल डिल्लीबजारमा भर्ना भएँ। किरण कँडेल भन्ने साथीसँग चिनजान भएपछि म संगीततर्फ बढि ढल्किएँ’, यमले सम्झिए।

त्यतिबेला नेपाल एकेडेमीले वार्षिक रूपमा २० जनालाई गायन, संगीत, नाट्य र नृत्य गरी चार विधामा आवेदन मार्फत छनौट गर्थ्यो, भत्ता सहित।

‘किरणसँग स्कूलमा चिनजान भयो। ऊ बाँसुरी बजाउँथ्यो। उसले मलाई ल! तपाईको स्वर राम्रो छ, ट्रेनिङ लिनुपर्छ भन्थ्यो।’

किरण त्यो बेला एकेडेमीमा प्रशिक्षणरत रहेछ।

यमलाई कुरा मन पर्‍यो। उनले ४५ सालमा आवेदन दिए। करिब ७-८ सय प्रतिष्पर्दीलाई पन्छाउँदै उनी गायनतर्फको पाँच जना भित्र छनौट भए।

उनले उदय खनाल, गायिका ज्ञानु राणा, सुगम संगीत-शास्त्रियमा गायक दीप श्रेष्ठ आदिबाट विहान-विहान एक वर्ष गायन सिकें।

गायन सिक्न थालेपछि यमको संगीतप्रतिको दृष्टिकोण अझ फराकियो।

‘संगीत सिक्न थालेपछि म थप गम्भिर भएँ। ममा  राम्रो गाउँछु, गाउँनुपर्छ भन्ने भावना अझै अग्लिदै गयो। मैले गायकका लागि रियाजको साधना बुझें। त्यो बुझेपछि मैले शास्त्रिय संगीत राम्ररी सिकेपछि मात्र अडिसनमा जान्छु भनेर थप दृढ भएँ।’

रियाजसँगै उनको स्वर थप सम्पन्न हुँदै गयो। आफू योग्य छु भन्ने आत्मविश्वास भएपछि रेडियो नेपालमा स्वर परिक्षा दिए।

४६ सालमा राग गाएर पहिलो पटकमै रेडियो नेपालको स्वर परिक्षा पास गरे। उनले ‘ग’ श्रेणी पाए।

ततपश्चात: २०४७ सालमा रेडियो नेपालले आयोजना गर्ने अधिराज्यव्यापी आधुनिक गायन प्रतियोगितमा भाग लिए। त्यसमा उनलाई कुनै सफलता हात परेन।

***

संगीत सिक्ने सिलसिलामा एकेडेमीमा आफ्ना गुरू दीप श्रेष्ठको माध्यमबाट २०४७ सालमा उनको दिनेश सुब्बासँग परिचय भयो। दिनेश त्यहाँ संगीत सिकाउँथे। सुब्बाद्वारा संगीतबद्ध गीत गाउँदै रेडियो नेपालमा उनी दोस्रा भए। यसले उनलाई थप उर्जा दियो।

फेरि ४८ सालमा विरेन्द्र राईको लेखन र सुब्बाकै संगीतमा ‘जति बोक्छु आफैलाई भार भो जीवन’ गीत गाए। उनी पहिलो भए। गायनमा उनको बढोत्तरी ‘क’ वर्गमा भयो। ‘क’ वर्गमा पुगेपछि उनले गाउनका लागि त्यतिबेला ६ महिनामा पाउने ‘डेट’ ३ महिनामै पाए। उनले यही गीत रेकर्ड गराए।

गीत गाउने, चिनिने त्यतिबेलाको एकमात्र माध्यम, रेडियो नेपालको ढोका उनका लागि खुल्यो।

रेडियो नेपालको ढोका त खुल्यो तर यमलाई अब कसरी परिचित हुने भन्ने हुटहुटीले पछ्याउन थाल्यो।

‘रेडियो नेपालका संगीतकार, गायक, सर्जकले मलाई चिन्न थाल्नुभयो। म त्यहाँ भित्रको परिचयलाई अझ ठूलो स्तरमा लैजान चाहन्थे। त्यसका लागि एउटा श्रोताको मन जित्ने गीतको खाँचो थियो। म त्यसैको खोजीमा थिएँ।’

गायन प्रतियोगितामा दोस्रो बाट पहिलो पुरस्कार विजेता बनाएका दिनेशको संगीत नै यमको परिचित हुने आकाक्षांको सुत्रधार बन्यो।

गीत थियो,

‘बादलुको घुम्टोले इलाम बजार छोपिदां,

मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिदां’।

बुद्धविर लामाले लेखेको गीत सुब्बाले यमलाई नै गाउन भने। उनलाई पनि गीत मनपर्‍यो। उनको मनमा यो गीतमा स्कोप छ भन्ने लाग्यो। गीतको स्थाई संगीतमा केहि परिवर्तन गर्दै त्यतिबेलाको प्रविधि अनुसार गीतको लाइभ रेकर्ड भयो।

गीत अत्यन्त चल्यो।

यम रेडियो नेपालको परिसरबाट नेपालभर पुगे। परिचित हुने सपनालाई यही गीतले गतिलो पंख हालिदियो। गायनमा उनको उज्यालो बाटो सुरू भयो।

‘रिलिज भएपछि गीत अत्यन्त लोकप्रिय भयो। त्यतिबेला रेडियो नेपालबाट प्रसारण हुने अनुरोध संगीत कार्यक्रममा श्रोताको फर्माईसका कारण गीत दिनको २-३ पटक सम्म बज्न थाल्यो। मलाई मान्छेले चिने’, यमले २०५/५१ सालको सेरोफेरो ताजा गरे।

गीत चलेपछि उनलाई गीत गाउनका लागि चाहिने डेटको समस्या भएन। अरू गीतहरू रेकर्ड गरे।  त्यतिबेला संघर्षमा नै रहेको गायकका लागि गाएर नै झिवन पाल्न सहज थिएन। उनले बाँच्नका लागि ‘के गर्ने?’ भनेर कार्यक्रम प्रस्तोताका रूपमा रेडियो नेपालको क्षेत्रिय प्रसारणमा काम गर्न थाले।

त्यतिबेला उनले गाएको ‘यो कान्छीको आँशु होकी फेवातालको पानी’ भन्ने गीत पनि लोकप्रिय बन्यो।

गीतहरूको लोकप्रियता र ख्यातीले उनी देश र विदेशमा व्यस्त हुन थाले। सरकारी जागिर उनलाई छोड्न मन थिएन तर करिव ४ वर्ष काम गरेपछि उनले रेडियो नेपालको जागिर छाडे।

‘देश विदेशको कार्यक्रममा दौडिदैंमा फूर्सद नभएपछि यता जागिरमा ठूलो समस्या आयो। थुप्रै पटक स्पष्टिकरण खाइयो, जागिर जोगाउन साथी भाइलाई खुब गुहारियो। अनि जागिर र कार्यक्रम एकैसाथ सकिदैन् भनेर जागिर छाडे।’

***

आधुनिक गायकका रूपमा परिचित भइसकेका यममा पार्श्व गायन गर्ने धोको बाँकी नै थियो।

शम्भुजित बाँस्कोटाले यमलाई एकेडेमीमा छोटो समय पढाएका थिए। स्कूले जीवनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिर्जनाको आँगन’मा कार्यक्रममा गीत गाउने बेलादेखिको बास्कोटासँग उनको चिनापर्ची थियो। प्लेव्याकको अवसर उनैले दिए।

त्यतिबेला नेपाली फिल्मको गीत रेकर्डिङ बम्बई (मुम्बई)मा गरिन्थे। उनी शम्भुजितसँगै छोरी बुहारी,श्री स्वस्थानी, नासोको गीत रेकर्डका लागि बम्बई पुगे।

संगीतकार शक्ति बल्लभ प्रकास सायमीको निर्देशनमा बन्ने फिल्म ‘सिमाना’को गीत रेकर्डिङका लागि उतै मुम्बई पुगेका थिए। शम्भुजितले लगे पनि पहिलो प्लेब्याक भने उनले चर्चित भारतिय गायिका पूर्णिमासँग गाए। यसरी ‘वैशको नौनी, तिमी नै हौनी’ बोलको गीत उनको  रेकर्डेड पहिलो प्लेब्याक गीत बन्यो। रिलिजपछि गीत हिट भयो।

उनले त्यो छिमलमा मुम्बई पुगेर गाएका फिल्मी गीतले चर्चा बटुले। यम त्यसपछि नेपाली पार्श्व गायनमा व्यस्त हुन थाले। ५२-५३ सालको कुरा हो यो। तर अशोक शर्माको ‘अल्लारे’ फिल्मले उनलाई विशेष स्थान दिलाउन सफल भयो।

गीत थियो, ‘अब चोटहरूले पिरोल्दैन् मलाई’। वियोगान्त गीत युवा ढुकढुकी बन्न पुग्यो। फिल्मका अभिनेताले राजेश हमालले गीतमा बिना ग्ल्सिरिन रोएर सुटिङ गरेका कुराले मिडियामा चर्चा बटुले।

पार्श्व गायन तथा स्टेज शोहरूमा व्यस्तताका बिच यमले नेपाली आधुनिक गीत पनि गाइरहे। तिनले पनि उनलाई आधुनिक सुमम संगीतसँग जोडिरह्यो। श्रोताको माया उनको भाग रहिरह्‍यो।

‘बादलुको घुम्टोले इलाम बजार छोपिदां’ लगायतका रेडियो नेपालमा रेकर्ड गरिएका गीतहरूको कलेक्सन एल्बम ‘तिमीलाई सम्झिदां’ निकाले। त्यसपछि ‘मन’ एल्बम निकाले जसको ‘मन रहे पो माया प्रिती’ गीत श्रोताले खुबै मनपराए। एल्बममा ८ गीत थिए। उनले मुम्बईमा एकै दिनमा ती सबै गीत रेकर्ड गराएको यम सम्झन्छन्।

‘आशिर्वाद-२’, ‘भेट’ जस्ता एल्बमले उनको सांगीतिक करियरलाई थप उचाइ दिइरहे। ‘दिलमाया दिलमाया’ , ‘निस्ठुरीले छाडेर गइहाली’ जस्ता गीतले उनलाई श्रोतासँग झन निकट राखिराख्यो।

यी सब सम्झिदा उनले आफ्नो अठोट पूरा भएको भेट्टाए। मनमा आफूप्रतिको माया र आत्म विश्वासको चुलि अझ चुलिए अनुभव गरे र साथमा थप गर्ने उत्साहको संचार बढेको अनुभूति।

त्यस्तै गायनको चर्चा हुँदा उनको नाम रामकृष्ण ढकालसँग जोडेर हेरिन्थ्यो। धेरैले उनीहरूबिच चर्को प्रतिष्पर्दा रहेको ठान्दथे। मिडियामा उनीहरूका टकराव-प्रतिष्पर्दा तथा दुश्मनीका कथा आदि इत्यादि कुराहरू आउँथे। तर यथार्थ विपरित थियो। खासमा उनीहरू एकअर्काका निकट साथीभाइ थिए।

‘अनेक कुरा आउँथे हाम्रा बारेमा तर सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुराको जवाफ हाम्रो मित्रता बनेर आएबाट नै स्पष्ट हुन्छ। संघर्षकालिन रेडियो नेपालको समयको चिनाचानी हाम्रो। हामीले कहिल्यै एकअर्काको प्रतिष्पर्दी भन्दा पनि आफ्नो काममा इमान्दार व्यक्तिका रूपमा एकअर्कालाई चिन्थ्यौ र हेर्थ्यौ। हाम्रो सम्बन्ध यस्तै थियो जून आज पनि छ।’

***

श्रोताको माया र काममा व्यस्त रहँदाकै बिचमा उनी पनि अरू कलाकारजस्तै अमेरिका हानिए।

किन त?

यसमा व्यावसायिक भन्दा पनि व्यक्तिगत कारणहरू थिए।

छोरा जन्मिएपछि उनको सम्बन्ध-विच्छेद भयो। त्यसलाई सल्टाउने क्रममा छोराको जिम्मेवारी उनकै काँधमा आइपर्‍यो।

‘मेरो जीवनको अभिन्न अंग, मेरो छोराको भविष्यका लागि म अमेरिका गएँको हुँ।म पलायन हुनभन्दा पनि केही समय आफूलाई सन्तुलनमा राख्न पनि हिँडेको थिए। मेरो सम्बन्ध विच्छेदपछि आर्थिक-भौतिक हिसाबले आइपरेको संकटले मलाई त्यता धकेलेको थियो। मेरो जिम्मेवारी, मेरो छोराको भविष्यको बारेमा मैले केही गर्नैपर्थ्यो। उसको भविष्यको ढोका खोल्दिनुपर्ने थियो।’

यमलाई जीवनको यो घटनासँग खास गुनासो पनि छैन्। सम्बन्धमा एकअर्कालाई ‘बुझ्ने’ प्रक्रिया एकअर्कासँग मेल नखाएपछि सम्बन्धले विरामको बाटो रोकेको उनको निष्कर्ष छ। यसमा उनले आफूलाई पूरै निर्दोष र उनलाई दोषी ठान्दैनन्। गल्ती दुबैतर्फबाट भए।

उनको छोरा हाल दार्जिलिङ्मा पढ्छ। छोराले पनि गीत गाँउछ। यता हुँदा तोतेबोलीमा उनकै गीत गाउने उनको छोराको झुकाव पश्चिमी गीततीर ढल्केको छ रे!। छोराले उनको बिँढो थामोस् भन्ने भन्दा पनि उसले चिताएको बाटो समातोस भन्ने कामना यमको छ।

‘मैले उसले हिँडेको बाटोमा सहयोग गर्ने हो, बाँकी त उसकै मर्जी र अठोट हो’, यमले भने।

त्यस्तै हाल छोरा आफूसँग भएपनि आमासँगको सम्बन्धमा आफ्नो रोकतोक नरहेको पनि खुलाए।

***

उनी करिब तीन वर्ष अमेरिका बसे।

यमको नजरमा अमेरिका बसाइ उनका लागि सौभाग्यशाली रह्‍यो।

कारण उनले अमेरिकामा गरिआएको भन्दा बेगल काम गर्नुपरेन।

‘मैले जति समय अमेरिकामा बिताए। मैले मेरो गीतसंगीतमा नै बिताउन पाएँ। क्यानडा-अमेरिकामा सांगीतिक प्रस्तुतिमै म व्यस्त रहे। अरू काम गर्नुपरेन। यसले गायक यम बराल अमेरिकामा मरेन, बाँचिरह्यो।’

यसले उनलाई खुशी तुल्याए पनि नेपाली संचारक्षेत्र भने ‘मिस’ भयो।

भन्छन्,’म उता पनि गायनमै व्यस्त रहे तर यहाँ हुँदा जस्तो मिडियाको माया त्यहाँ सम्भव थिएन। त्यसबाट पर हुँदाको एउटा विस्मातचाँहि रह्‍यो। उता म के गर्थे?, त्यो यता उस्तो आउँथेन। त्यसले यताका श्रोतालाई म विलाए भन्ने पार्‍यो। यसमा केही म दु:खी छु, अमेरिका म नहराएको भए पनि। त्यस्तै यहाँ संगतकारले गीत बनाएपछि यो यमलाई दिउँ भन्दा म थिइन। यसको पनि दु:ख छ। त्यस्तै फिल्मको प्लेव्याकबाट पर हुनुपर्‍यो। अझ मलाई त्यसको धोको छ, राम्रो मौका आउँदा म अझै पनि त्यसलाई गर्न चाहन्छ।’

हालै उनले वैशाखबाट सुटिङ तय भएको एक फिल्मका लागि आफ्नो स्वर दिइसकेका छन्।

यस्तै अमेरिका भासिने कलाकारप्रति एउटा तप्का असहिष्णु रहने बारेमा उनी सहज छन्। ग्रीनकार्ड लिदैंमा देश बिर्सियो भन्ने बुझाइमा फरक परेर त्यस्तो भएको हो।

‘देशबाट अर्को देश सरेको होइन। त्यो एउटा उपलब्ध सुविधाको उपयोग मात्र गरेको हो। आउनेजाने बाटो सजिलो बनाएको हो। यसले देशका लागि केही गर्ने कुरा पनि रोक्दैन्। हामीले धेरै कुरा गर्न सक्छौ, गरिरहेका पनि छौं। अरू मान्छेका जस्तै कलाकारका पनि आफ्नै व्यक्तिगत बाध्यता हुन्छन्। त्यस परिस्थितिमा कागज हुँदा र नहुँदाले पार्ने फरकको समाधानको रूपमा ग्रीनकार्ड रोजेको हो।’

नेपालीको जीवन आजसम्म एक किसिमले मुग्लाने नै भएकाले आफूहरू पनि त्यस्तै बाध्यताहरूको उपक्रम रहेको यम ठान्दछन्।

यम नेपाल-नेपाल गरिराखेका छन्। नेपालमा उनी संगीतमै व्यस्त हुन्छन्। यो साता फेरि उनी अमेरिका लागिसकेका छन्। अमेरिका लाग्नु अघि उनले आफ्नो गत महिना ‘मन भमरा’ एल्बम सार्वजनिक गरे।

***

आजसम्मको जीवन यात्रामा यम आफूले आजसम्म चढेको चुलीबाट हेर्दा, यमलाई लाग्छ उनीसँग ‘पुग्यो’ भन्ने शव्द छैन। जीवनलाई जटिल भन्दा पनि सहज बनाउनुपर्छ भन्ने उनको मान्यता छ। हाँसेरै र अरूलाई पनि हँसाउँदै बाँच्न सकूँ भन्ने बेगल अर्को चाहना उनीसँग छैन्।

अनि नयाँ घरगृहष्ती?

यमले पहिले मुस्कुराउँदै अनि गम्भिर हुँदै भने, ‘खाँचो छ, जुरेको दिन हुन्छ। मेरो र छोराको जीन्दगीमा सहि मान्छे आएको दिनमा त्यो हुन्छ।’

तस्विरहरू: नारायण महर्जन

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.