‘सरकारले पचासै वर्ष प्रतिबन्ध लगाअोस्, फिल्म बनाउन छोड्दिनँ’


यदि तपाईंले जफर पनाहीको कथा पछ्याइरहनुभएको छ भने उनको स्वर फोनमा जहिल्यै दबिएको हुने गर्छ। ‘ह्वाइट बेलुन’ र ‘दि मिरर’जस्ता फिल्म बनाएका चर्चित फिल्ममेकरलाई २०१० मा फिल्म बनाउन प्रतिबन्ध लगाइएको थियो। त्यसबेलै उनी केही समय जेलमा बसे र पछि घरमा नजरबन्दमा राखियो। सँगसँगै उनलाई २० वर्षसम्म देश छोड्न र कुनैपनि फिल्म बनाउन प्रतिबन्ध लगाइयो। त्यो समयसम्म उनले ‘दिस इज नट अ फिल्म’ भन्ने आफ्नो अनुभवलाई समेटेर ‘क्रिएटिभ डायरी’ तयार पार्न सफल भए। त्यसलाई चर्चित रूपमा कान्स फिल्म फेस्टिभलमा लुकाएर पुर्याइयो। तस्करी नै गरियो भनौं। आफ्नो क्रिएटिभिटीमा बन्देज लगाएर बनाएको भए पनि ‘दिस इज नट अ फिल्म’ मार्फत् पनाहीले आफ्नो निराशाजनक अवस्थालाई न्यारेटिभ डिभाइसको रूपमा विकास गरे, जसलाई धुमिल अवस्थाको बीचमा पनि उनले दिएको सबैभन्दा नवीन उपलब्धि मानियो।

तर त्यो अन्तिम थिएन। अर्को हप्ता भेरियन्स फिल्म फेस्टिभलमा उनको ‘क्लोज्ड कर्टेन’ रिलिल हुँदैछ, जसले दिस इज नट अ फिल्ममा देखाइएका लिटरल फ्रस्ट्रेसनहरूलाई अमूर्त स्वरूपमा प्रस्तुत गर्छन्। यो फिल्म एउटा अपराधीको कथाबाट सुरू हुन्छ जो एउटा विश्वासपात्र कुकुरसँगै भागेको हुन्छ र समुद्रनजिकैको एउटा घरमा शरण लिन्छ। त्यहाँ उसले दुईजना निराशावादी पात्रहरू भेट्छ। त्यसैबेला पनाही स्वयं पनि फिल्मको सिनमा घुस्छन्। पहिला उनीहरूको बारेमा टाढाबाट सोचिरहेका उनी बिस्तारै कथाको मुख्य पात्र हुन थाल्छन्। यसरी क्लोज कर्टेन तमाम असहज परिस्थितिको बाबजुद फिल्म बनाउने उनको कमिटमेन्टको काव्यीक ध्यान बनिदिन्छ। निर्देशकको विदा मनाउन जाने घरको सीमिततामा खिचिएको यो फिल्मले फिल्म निर्मातामाथि लगाइएको सीमिततालाई त देखाउँछ नै त्यस्तो बन्देजलाई कसरी जित्न सकिन्छ भन्ने पनि खुलाइदिन्छ।

त्यसपछि उनको फिल्म कहिले हेर्न पाइन्छ भन्ने थाहा छैन किनकि उनी कहिलेसम्म यस्तै गरिरहन सक्छन् थाहा छैन। तर निर्देशकले सबै चुनौती स्वीकार गरे र यो अन्तर्वार्ताको लागि फोन पनि उठाए। एकदमै थकित तर निर्भिक सुनिएका उनले दोभासेको सहायतामा क्लोज्ड कर्टेनको उत्पतिको कथा भनेका छन्। साथै हातमा खतरा मोलेर उनी किन फिल्म बनाउन लागिपरिरहेका छन् भन्ने बारेमा पनि बताएका छन्।

‘क्लोज्ड कर्टेन’ सुरू हुँदा एउटा प्रकारको थियो तर विस्तारै अर्कै भयो। यसको सोच कसरी आयो?

यो फिल्म बनाउन थाल्नुभन्दा पहिला मलाई सन्चो थिएन। धेरैवटा कथाहरू दिमागमा खेलिरहेका थिए तर कुकुरसँगै लिएको एउटा मान्छे जसलाई त्यस्तो अवस्थामा कुकुरलाई लिएर कहाँ जाने भन्ने थाहा थिएन भन्ने खाले कुरा धेरै खेलेको थियो। त्यसपछि म समुन्द्र नजिकै भएको मेरो बिदा कटाउने घरमा गएँ र थाहा पाएँ कि त्यसका झ्यालका सिसाहरू फुटाइएका थिए। त्यसपछि मैले सोचें कि त्यो मान्छे जो कुकुर लिएर भौतारिइरहेको थियो उसले कुकुर लिएर यही घरमा आउनुपर्छ। त्यसैले यो यथार्थ र कल्पनाको मिश्रणमा केही ‘सर्रियल’ तत्वहरू थपेर बनेको हो।

‘दि मिरर’ भन्ने फिल्ममा पनि विभिन्न खाले सत्यहरू आपसमा संघर्ष गर्छन्। यस्तो दृष्टिकोण त्यहाँबाट पनि आएको हो?

जब हामी त्यसबेलाको यथार्थ विश्व  को सामना गर्दै दि मिरर बनाइरहेका थियौ त्यो विश्व केही पछाडि नै झनै ठूलो यथार्थमा परिणत भयो जसले फिल्मलाई एउटा डकुमेन्ट्री जस्तो बनाइदियो। यो फिल्ममा हामीले जे गर्दैछौं त्यो ठ्याक्कै उल्टो छ। हामी केही यथार्थ जस्तोबाट कथा सुरू गर्छौं र त्यो विस्तारै जटिल र सर्रियल हुँदै जान्छ। तपाईंलाई साँचो बोलुँ, मेरो करियरको कुनै बिन्दुमा, म यो जस्तो कुनै पनि फिल्म जुन एक कलाकारको कल्पनामा छिर्छ र त्यो पनि पूरै फरक भाषामा गरिरहेको सोच्न सक्दिनँ। यो त एक खण्ड हो जहाँ मेरो करियर आइपुग्नु थियो। यसैले यो फिल्ममा मेरो पुरानो फिल्मका केही टुक्राहरू आएर मिसिनु सामान्य कुरा हो।

जब मैले यो फिल्म बर्लिन फिल्म फेस्टिभलमा हेरें तपाईं फिल्मको दृश्यमा पहिलोपल्ट देखिँदा दर्शकले ठूलो ताली बजाएका थिए। ‘दिस इज नट अ फिल्म’पछि पात्रको रूपमा तपाईं फिल्ममा देखिनुभएको यो दोस्रो पटक हो। यस्तो दृष्टिकोण कहाँबाट आयो?

पनाही निर्देशित ‘क्लोज्ड कर्टेन’भित्रको एक दृश्य

त्यस्तो परिस्थितिमा म जे पनि गर्छु मैले आफूतिरै नफर्की हुँदैन किनकि, म सीमित स्पेसमा काम गरिरहेको हुन्छु। यस्तै म अरू धेरै मान्छेहरू पनि प्रयोग गर्दिनँ किनकि यसले उनीहरूलाई पनि अप्ठ्यारो पर्नसक्छ। मैले यो फिल्ममा मार्यम मोक्वादम र कुबुजिया पार्तोभिलाई प्रयोग गरेँ किनकि उनीहरूले मसँग सहनिर्देशकको रुपमा काम गरिसकेका थिए। त्यो फिल्मको प्रिमियर भएपछि उनीहरूको पासपोर्ट सिज गरिएको छ। म अरूलाई समस्यामा पार्न चाहन्नँ। त्यसैले सबै कुरालाई मैसँग सीमित राख्न खोज्छु। म जे पनि गर्छु त्यसको पछाडि सधैँ आफूलाई राख्छु। मलाई थाहा थियो कि म पात्रको रूपमा फिल्ममा देखिँदा दर्शकहरू अचम्ममा पर्नेछन् तर फिल्ममा कुकुरसहित घरभित्र छिरेको त्यो स्कृनराइटर मेरो आफ्नै प्रतिबिम्ब थियो। यो त्यस्तो खाले कथा हो जसको म एक अभिन्न अंग हुन सक्छु। यो अवस्थामा मैले आँखा अगाडिका असहजताको बीचमा के गर्नसक्छु त्यही गर्ने हो।

र हामी पनि यसका लागि तपाईंलाई अरू अप्ठ्यारोमा पार्न चाहँदैनौ तर तपाईं घरमै नजरबन्दमा पर्दा तथा फिल्म बनाउन प्रतिबन्ध लाग्दा पनि फिल्मलाई प्रमोट गरिरहनुभएको छ। अमेरिकन ट्रेलरले बताएअनुसार तपाईंले आफूमाथी लागेको प्रतिबन्धको उलंघन गर्नुभएको छ। सरकारको आदेश उलंघन गर्दा के हुन्छ भन्ने जोखिम जान्दाजान्दै पनि तपाईं यो सब किन गर्नुहुन्छ?

म तपाईंलाई मेरो स्थानमा बसेर सोच्न लगाउँछु। एक फिल्ममेकर जसलाई फिल्म बनाउनभन्दा अरू केही पनि आउँदैन वा गर्न चाहँदैन। उनीहरूले मलाई सानो जेलबाट निकालेर ठूलो जेलमा हालिदिए। जब सानो जेलमा थिएँ मलाई थाहा थियो म केही पनि गर्न सक्दिन थिएँ। मेरा हरेक क्रियाकलापहरूमा निगरानी हुन्थ्यो। मैले जेल जीवन समाप्त भएको पर्खिनुबाहेक उपाय थिएन। अहिले म नाममात्रको ‘स्वतन्त्र’ भएको छु तर यो एउटा ठूलो जेल मात्र हो। मैले यत्तिकै केही नगरी चुपचाप बसेँ भने मेरो जीवन त्यसै खेर जान्छ भन्ने लागिरहन्थ्यो। उनीहरूले मलाई २० वर्षको प्रतिबन्ध लगाएर झापड हानेका छन् तर यसलाई ३० वर्ष वा ५० वर्ष बनाए पनि मलाई कुनै फरक पर्नेवाला छैन।

यसको मतलब तपाईं अझै अरू फिल्म बनाउँदै हुनुहुन्छ?

म चाहन्छु, अरू धेरै फिल्म बनाउन सकुँ तर म निश्चित छैन। समस्या के छ भने यो निश्चित तोकिएको स्थानमा बसेर सबैथोक बनाउँदा म थाकिसकेँ। मसँग पहिला काम गर्दाको जस्तो स्वतन्त्रता छैन। मलाई थाहा छैन यो प्रकारको फिल्म के-कति बनाउन सक्छु। म मेरो जुन प्रकारको फिल्ममेकिङ हो त्यसलाई परिवर्तन गर्न चाहान्नँ। भविष्यको प्रोजेक्टहरूको बारेमा सोच्नु मेरो लागि मानसिक रोग जस्तै भइरहेको छ। गर्न मन लाग्ने तर गर्ने सामर्थ्य नहुँदा तिनीहरूको बारेमा सोच्दा म कमजोर हुन्छु।

म त्यत्तिकै बस्न सक्दिनँ तर आफूलाई सन्तुष्ट पार्न कस्तो खाले काम गर्नसक्छू भन्ने पनि थाहा छैन। सम्झिन्छु, केही महिना अगाडि उनीहरूले मलाई घरभन्दा बाहिर जान दिएनन्। मैले भने ‘ठिकै छ। म झ्याल खोल्नेछु र आकाशको केही तस्विर लिनेछु।’ मैले १५ वटा सुन्दर स्थिर फोटोहरू निकालेँ। तर जब मैले ल्याबमा तिनीहरूलाई प्रिन्ट गर्न चाहेँ, उनीहरूले दिएनन्। सरकारबाट कुनै पनि चिज प्रिन्ट गर्न नदिनु भनिएको उनीहरूले बताए।

फर्किँदै गर्दा एउटा क्रेजी आइडिया आयो। समाजसँग नजिक भइरहनको लागि कुनै क्याब ड्राइभ गर्ने र उनीहरूसँग कुराकानी गर्ने। तर तत्कालै बुझिहालेँ कि यदि त्यसो गरे पनि क्याबभित्र क्यामेरा लुकाएर राखेर खिच्नुपर्नेछ। र, त्यसले काम गर्नेछैन।

किन ?

हो, म त्यो फिल्म पनि बनाउन चाहन्छु सायद तर म यसलाई वास्तविक बनाउन चाहन्छु। मनले चाहेको स्कृप्ट प्रयोग गर्न चाहान्छु। म त्यसलाई लुकाएको क्यामेराले खिच्न चाहान्नँ। किनकि, मैले पछिल्ला फिल्महरू बनाउँदा त्यस्तै खाले अवरोध भोगिसकेको छु।

तपाईंले विश्वभरका फिल्म फेस्टिभलहरूबाट सहयोग पाइरहनुभएको छ। योखाले सार्वजनिक चर्चाले तपाईंको अवस्थालाई कसरी प्रभाव पारिरहेको छ?

जुन खाले सहयोग मैले पाइरहेको छु, त्यसले मलाई सहयोग गरिरहेको छ र यस्तै खाले सहयोग हो, जसको कारण उनीहरूले मलाई स्वतन्त्र गर्नुपर्‍यो। म सम्झिन्छु, उनीहरूले एकदिन मलाई भनेका थिए कि मेरो दाँत झरून्जेलसम्म उनीहरू मलाई थुन्नेछन्। उनीहरू मलाई बिशेष अतिथि होस् चाँडै फर्किन दिन्नौं भन्थे। तर अन्तराष्ट्रिय दबाबले मलाई छोड्न बाध्य भए। कहिलेकाहीँ मानिसहरू सोच्छन् कि अन्तर्राष्ट्रिय दबाबले उनीहरूको सरकारलाई छुँदैन तर यो सत्य हैन। जब तपाईं जेलमा हुनुहुन्छ उनीहरू आफूसँग कैदीले सहयोग गरोस् भन्ने चाहान्छन्। यदि सहयोग गर्‍यो भने छोडिदिन्छौं पनि भन्छन्। यदि उनीहरूले छोड्ने भएको भए सायद जेलभन्दा बाहिर मेरो जीवनलाई यति दुखदायी बनाउँथे कि म उनीहरू जे भन्छन् त्यही गर्न तयार हुन्थेँ होला। म मलाई देशभित्रबाट सहयोग गर्नेहरूप्रति बढी चिन्तित छु किनकि त्यसको लागि उनीहरूले मूल्य चुकाउनुपर्ने हुन्छ।

इरानभन्दा बाहिरका धेरै मानिसहरू तपाईंको अवस्थासँग परिचित छन्। तपाईंको फिल्मको बारेमा थाहा होस् या नहोस् उनीहरू तपाईंलाई सहयोग गर्न चाहान्छन्। उनीहरूले के गर्नसक्छन् ?

इरानभन्दा बाहिर यो अवस्थामा सहयोग गर्ने वा ख्याल गर्ने कुरा उनीहरूले निर्णय गर्ने हो। जब म यस्ता सबै अन्तराष्ट्रिय सहयोग देख्छु, म अरू वौद्धिक व्यक्तिहरूलाई सम्झिन्छु जो जेलमा छन् तर म जस्तो चर्चित नभएका कारण कसैको आँखामा परेका छैनन्। यस्तो हुनु गलत हो।

धेरैजस्तो तपाईंका समकालिनहरू जस्तै मोहम्मद रोसोलोफ, अब्बास किरोस्तामीले या त देशबाहिर गएर काम गर्ने सोचेका छन् या त जे गर्नु भनेको छ त्यही गरिरहेका छन्। उनीहरूको त्यस्तो निर्णयको बीचमा के इरानी फिल्मको कुनै भविष्य छ?

म इरानी फिल्मको भविष्यका बारेमा आशावादी छु किनकि धेरै प्रतिभावान युवा फिल्ममेकरहरू आइरहेका छन्। केही मेरा साथीहरू देशबाहिर‍ बसेर काम गरिरहेका छन्। त्यसो गर्नु गलत हैन। यहाँ वा त्यहाँ जहाँ बसेर भएपनि उनीहरू काम गर्नको लागि स्वतन्त्र हुनुपर्छ। तर मलाई के ले अझै आशावादी बनाउँछ भने यस्ता प्रतिभावान् युवा फिल्ममेकरहरू अल डिजिटल क्यामेराले आफैं फिल्म बनाउन सक्षम छन्। कुनै समय थियो फिल्म बनाउने सामग्रीहरूमा सरकारको एकाधिकार थियो। तर अहिले यदि तपाईं युवा फिल्ममेकर हो भने फिल्म बनाउनका लागि तपाईं सरकारसम्म गैराख्नु पर्दैन। त्यो क्यामेरा र सफ्टवेयर सजिलैसँग पाउन सकिन्छ जसबाट तपाईं फिल्म बनाउन सक्नुहुन्छ। म आफैं पनि इरानबाट बाहिर गएर फिल्म बनाउन राजी छु तर मलाई थाहा हुनुपर्छ कि म फर्किन पाउँछु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.