सुनिल पोखरेल सरलाई गुगल गरेपछि मात्र चिनें : प्रेमवर्षा


करिब दर्जन नाटकमा अभिनय गरेकी प्रेमवर्षा खड्का केही समयअघि फिल्ममा देखिइन्। उनले नाटक ‘जार’ हुँदै फिल्म ‘झुम्की’ र ‘घामपानी’ सम्मको यात्रा तय गरेकी थिइन्। यस्तैमा नाटक ‘मेटासिड’मा लेखक एवं निर्देशक बनेर आफ्नो परिचयलाई अझैँ फराकिलो बनाएकी छन्।

उनको डेब्यु नाटक ‘मेटासिड’ले हामीलाई उनको नजिक पुर्यायो। हाम्रो भेट मण्डला थिएटरमा भयो जहाँ उनको भेट नाटकसँग भएकाे थियाे।

निर्देशक सुनील पोख्रेल नाटकमा नयाँ अनुहार खोज्दै थिए। प्रेमवर्षा त्यस्तै अवसर खोज्दै थिइन्।

संयोग त्यस्तै जुर्यो।

मण्डला थिएटरले नाटक कार्यशालाका लागि पत्रिकामा विज्ञापन छापेको रहेछ। प्रेमवर्षा त्योबेला व्यवस्थापन विषयमा स्नातक गर्दै थिइन्। काठ्माडौंको एक फाइनान्स कम्पनीमा काम गरेर आफ्नो लागि खर्च पनि जुटाउथिन्। त्यो उनको इच्छाअनुसारको काम भने थिएन्। तै पत्रिकाको विज्ञापनमा आखाँ डुलाइरहन्थिन्।

पत्रिकामा छापिएका विज्ञापन पल्ट्याइरहँदा एक दिन उनले खोजे जस्तै एउटा विज्ञापनमा उनको आँखा अडियो ।

‘मण्डला थिएटरमा दयाहाङ राई…..’

दयाहाङले नाटकको कार्यशाला गर्ने भन्ने त्यो विज्ञापनले उनलाई आकर्षित गर्यो। उनी सोध्दै खोज्दै मण्डला नाटकघर पुगिन्।

‘लुट’ फिल्मका कारण त्यस समयमा दयाहाङ राई चर्चाको चुलिमा थिए। उनी त्यसैले आफ्नो ‘आइकन’ नै मान्थिन्। दयाहाङले नाटक सिकाउने भन्ने कुराले उनी उत्साहित भएर मण्डला पुगिन्।

जुन उत्साह बोकेर पुगेकी थिइन् त्यहाँ पुगेपश्चात हरायो।

‘दयाहाङले नाटक सिकाउने भनेकाे त हाेइन रहेछ,’ उनले भनिन्, ‘त्यहाँ गएर थाहा पाएँ नाटक त सुनील पोख्रेलले पो सिकाउने रहेछन्। खासमा मैले विज्ञापन राम्ररी पढेकी नै रहिनछु। विज्ञापनमा दयाहाङ पनि मण्डलाको प्रोडक्ट हुन भनेर प्रचार गरिएको रहेछ।’

नेपालका परिचित नाट्यकर्मी सुनील पोख्रेलसँग नाटक सिक्न पाउनु धेरैले भाग्यकाे कुरा मान्छन्। उनको लागि त्यो अवसर बनेर आएको थियो तर उनी भने निराश भइन्। उनले सुनील पोख्रेलको नामै सुनेकी रहिनछन्। नजिकैको एक व्यक्तिलाई मसिनो स्वरमा सोधिन्, ‘को हो यार यो कपाल फुलेको बुढो मान्छ? म त दयाहाङले नाटक सिकाउने भनेर पो आएकी थिए। बोर भयो त।’

उनी फिस्स परेर निराश हुँदै घर फिरिन्।

नाटक सिक्ने कि नसिक्ने दोधारमा पर्दै घर फर्किएकी प्रेमवर्षाको दोमनलाई ‘गुगल’ले समाधान गरिदियो।

‘सुनील पोख्रेलबारे गुगलमार्फत धेरै कुरा थाहाँ भयो। नाटक सिकाउने भनेका सुनील सर त ठूलो नाटककर्मी रहेछन्। अनि धेरै खुसि भएँ,’ उनले खुसी हुँदै सुनाइन, ‘मैले काम गरिरहेको फाइनान्सको जागिर छाडिदिए र नाटक सिक्न थाले।’

याे २०७० सालतिरको कुरा हाे।

सुनील पोख्रेल निर्देशित नाटक ‘जार’ प्रेमवर्षाको डेब्यु नाटक थियो। नाटकको प्रिमियरमा सबै लेखक, पत्रकार एवं कलाकर्मीहरु उपस्थित थिए। पहिलो नाटक अनि मानिसहरुको जमात देख्दा उनी आत्तिएकी थिइन्।

‘मुटु नै बाहिर निस्केला जसरी ढुकढुक गरिरहेको थियो। त्यही पनि स्टेज फाड्दिन्छु भन्ने लागेको थियो। अहिले पनि सबै नाटक गर्दा त्यस्तै महशुस हुन्छ,’ उनले भनिन्, ‘एउटा दृश्यमा मैले ओखलमा कुटेको अभिनय गर्नपर्ने थियो। त्यो मैले राम्ररी गर्न जानिरहेकी नै थिइन्। सुनील सरले बारम्बार त्यही दृश्य सिकाउन धेरै मेहेनत गर्नुभएको थियो। प्रिमियरको दिनमा कसैले त्यहाँ मकै राखिदिएको रहेछ। नाटकमा अचानक मकै देख्दा दिमागमा एउटा सोच आयो।’

‘ओखलमा केही राखेर कुट्यो भने त नाटक जिवन्त बन्छ। सरलाई खुसी बनाएर प्यारी पनि हुन्छु। सरले अनि ‘गुड’ भन्नु हुन्छ भनेर मकै ओखलमा राखेर कुटेकी थिए। मकै उछिटिएर स्टेज भरि छरियो।’

नाटक हेरिरहेका सुनीललाई त्यो देखेर रिस उठ्यो, उनी रिसाउँदै उठे र भने , ‘कुन चाहिँ अजासु (अति जान्ने सुन्ने) हो यो मकै राख्ने?’

यसरी पहिलो नाटकमा हुन गएको यस गल्तीले नाटक अवरुद्ध भयो। स्टेजबाट मकै उठाएर फेरि नाटक सुरु भयो।

त्यो घटनालाई हासेँर सुनाइरहेकी प्रेमवर्षाले सुनील पोख्रेललाई सम्झिँइन् र भनिन्, ‘आज म जे छु सुनील सरको कारण नै त छु। सरलाई जति धन्यवाद भने पनि त्यो कम हुन्छ।’

उदयपुर घर भएकी प्रेमवर्षाको बुवा आर्मीमा जागिरे थिए। बुवा घरको कुनै एक सदस्य आफूजस्तै आर्मी भएको देख्न चाहन्थे।

‘तेरो खाइलाग्दो ज्यान छ। हाइट पनि मिलेको छ। तलाई त भगवानले पनि आर्मी बन्न कै लागि पठाएको जस्तो लाग्छ। आवेदन भर, प्रयास गर,’ बुवाको कुरा सम्झँदै भनिन्, ‘मलाई भने आर्मी बन्नु थिएन? मन अन्तै थियो। आर्मीको लागि आवेदन खुल्दा म हस् बुवा भन्थे र आलटाल गर्थे।’

फर्म भर्ने समय आएर पनि सक्किइसकेको हुन्थ्यो। उनी बाबुलाई आश देखाइराख्थिन्, ‘अब अर्को साल बुवा।’

यसरी धेरै साल उनले आफ्ना बाबुलाई झुक्याइरहिन्। उनको आर्मीको आवेदन भर्ने उमेर पनि सकियो।

अभिनय विधाभन्दा फरक धार भएको परिवारमा जन्मिएकी उनको बुवा कडा मिजासका थिए। तर बुवामा कलाकारिताको केही छाप भने थियो।

‘म सानोमा खुबै नाच्थेँ। बुवाले ‘कान्छी हे कान्छी’ भन्दै लय हालेर गीत हाल्नु हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त खोई नाच्नु भन्यो कि फिटिक्कै आउँदैन्।’

सानैदेखि ऐनामा अनुहार हेरेर फिल्मका हिरोइनसँग अनुहार र हाउभाउ दाज्ने उनलाई कलाकार हुन्छु भन्ने चाहिँ बसिकेको थियो। अहिले झन् कलामा नै रमाएकी उनी आफूले जे मन पराएको त्यो कुरा पाएको बताउछिन्।

नाटकमा रमाइरहेको बेला नै उनलाई पहिलो फिल्म ‘झुम्की’को अफर आयो। त्यसपश्चात फिल्म ‘घामपानी’। यी दुवैमा उनलाई मनपर्ने हिरो दयाहाङ राई थिए। यसैले भन्छिन्, ‘आफूलाई मन लाग्नु पर्दो रहेछ। ढिलो चाडोँ चाहेँको कुरा पाइन्छ।’

उनको चाहना अर्को पनि छ। आफूले नाटकमा अभिनय गरेको आमाबुवालाई देखाउने।

केही समयअघि उनको दाईले ‘घामपानी’मा हेरेर उनलाई फोन गरे। दाइको प्रतिक्रियाले अाफूलाई हौसला मिलेकाे बताउछिन्।

‘फिल्मको अन्तिममा मेरो २–३ मिनेटको दृश्य छ। फिल्मका प्रमुख पात्रको विवाह भइरहेको हुन्छ। मेरो प्रवेशले भने फिल्मको रहस्योद्घाटन हुन्छ,’ उनले भनिन्, ‘फिल्मको त्यो दृश्य हेरेर हलका मानिसहरुले ताली बजाएछन्। दाईले चाहीँ के भएछ भनि हेर्नुभएको मलाई देख्नुभएछ। अनि तलाईं फिल्ममा देखेर खुसी लाग्यो भनेर फोन गर्नुभएको थियो।’

फिल्ममा प्रवेश गरेका केही नाटककर्मी फिल्म कै दुनियाँमा रमाइरहेका छन्। उनी दुवैमा रमाउछिन् र भन्छिन्, ‘मलाई त केवल अभिनय गर्नुछ चाहेँ त्यो नाटक होस् या फिल्म। जहाँ भएपनि मलाई अभिनय गर्न पाए हुन्छ।’

‘इगो हर्ट भएर नाटक बनाए’

अभिनयमा उनी रमाउँछिन्। तर अभिनयमा मात्र सायद आफूलाई सिमित गर्न चाहन्नन। त्यसैले आफ्नै लेखन तथा निर्देशनमा ‘मेटासिड’ नामक नाटक लिएर आएकी छन्।

नाटक ‘मेटासिड’ले नेपाली समाजको यथार्थता बोकेको छ। समाजमा भइरहेका घटना र परिवारको महत्व नाटकले झल्काउछ। उनी भन्छिन्, ‘अहिले हामी निकै आधुनिक हुन खोज्छौ र परिवारलाई त्यति महत्व दिइरहेका हुँदैनौ। गाउँघर अनि परिवारलाई छाडेर हामी आ–आफ्नौ दुनियाँमा रमाइरहेका हुन्छौ। त्यो झल्को पनि नाटकले मेटाउँछ।’

नाटक निर्माण हुदाकाे भने आफ्नै दु:ख रहेछ।

नाटकमा अभिनय गर्दै गएकाले होला उनको दिमागमा नाटकका ‘कन्सेप्ट’हरू घुमिरहन्थे। उनी त्यसलाई अक्षरहरूमा बुनिरहन्थिन। कन्सेप्ट लेखे पनि नाटकको प्रारूप दिन भने किन हो कुन्नी उनी हिच्किचाइरहेकी थिइन्। साथीहरूसँगकाे भेटमा भने ‘मेटासिड’को कन्सेप्ट सुनाउँथिन, उनीहरूले मनपराउथेँ। यसैले उनलाई नाटक बनाउने धुन सवार भो। केहि लेखकलाई नाटक लेख्न अनुरोध पनि गरिन्। अनुरोध गरिएका ती लेखकहरूले ‘हुन्छ’ भने तर लेखिदिएनन्।

‘मलाई कसैले कथा लेखिदिएन भनेर ‘इगो’ हर्ट भयो। एकदमै उकुसमुकुस भएकाे थियाे। मसँग भएको कन्सेप्टलाई म आफैँ नै किन नलेख्नु भनेर सुरू गरें’ उनले नाटक लेखनीको नेपथ्य सम्झदैं भनिन्, ‘आफैँले लेख्दा फाइदा हुने रहेछ। एक त मैले लेखकलाई कन्सेप्ट बुझाँउन परेन, अर्को बारम्बार मेरो स्क्रिप्ट यो है भनेर भन्न पनि परेन।’

नाटक लेखियो। त्यसलाई मन्चन गर्ने हुटहुटी चल्न थाल्यो। उनलाई निर्देशनमा खास रूचि थिएन तर नाटक लेख्ने चुनौती पार गरिसकेकी उनले निर्देशनलाई सिक्ने अवसर ठानिन्।

‘मैले आफैले कथा लेखिसकेकी थिएँ। त्यो कथालाई म आफैंले न्याय दिन सक्छु भन्ने लाग्यो। नयाँ काम पनि सिक्नुपर्छ भन्ने सोच आयो’, उनले भनिन्।

त्यसो त उनको बुझाइमा निर्देशन सजिलो विधा  होइन्। यसमा चुनौती छन्। जति सजिलो निर्देशन गर्छू भन्ने छ, त्यसलाई प्रमाणित गर्ने चुनौती अझै ठूलाे छ। नाटकमा अहिले एकसय एक निर्देशक भएकाले पनि यस्तो ठान्छिन्।

‘अभिनय गर्दा निर्देशकले भनेको कुरा सुनेर पात्रमा मात्र ध्यान दिए पुग्थ्यो। निर्देशक बन्दा भने दायित्व थपिने रहेछ,’ उनले भनिन्, ‘कलाकारलाई पात्र बुझाँउन पर्यो। सबै पात्रहरुलाई ध्यान दिनपर्यो। एकदमै ठूलो चुनौती निर्देशकमा नै हुने रहेछ।’

त्यसाे त उनकाे डेब्यु नाटकमा सल्लाह-सुझाब दिने नाटककर्मी एवं अग्रजहरूकाे निकै ठूलाे भुमिका हुन्थ्याे। यसै समयमा सबैजना थिएटर ओलम्पिकमा गएकाले उनले कसैको सुझाव सल्लाह पनि राम्ररी लिन पाइनन्।

‘मैले नाटकका लागि भने निकै राम्राे कलाकार पाए। नाटकमा कलाकारकाे साथकाे निकै ठूलाे भुमिका हुने रहेछ,’ उनले भनिन्, ‘केही नभएपनि याे नाटकले मलाई एउटा अनुभव भएपनि दिएकाे छ।’

यो अनुभवबाट उनले धेरै कुरा सिकेकी छन्। भविष्यमा उनलाई यीनै अनुभव सहयोगी हुनेवाला छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.