‘बलिदानबाट अभिनयको जाँच पास भएँ, एसएलसी फेल हुनु जीवनकै सुखद क्षण रहेछ’


वैशाखमा हरिवशं आचार्य र मदनकृष्ण श्रेष्ठ अभिनयको जोडी बाँधिएको ३८ वर्ष पूरा भएर ३९ वर्ष लाग्दैछ। उनीहरूको यो झण्डै ४ दशक लागो कलाकारिताले नेपाली अभिनय जगतलाई जगमग गराउन ठूलो योगदान दिएको छ। अझ हास्य विधा त आजको दिनमा मानिसहरू माझ सर्वाधिक लोकप्रिय छ।

हरिवशं हास्य कलाकारिताको एउटा त्यस्तो खम्बा हुन् जसको चर्चा बिना नेपालको हास्य कलाकारिताको ठूले खण्ड अपुरो हुन्छ। उनी हास्य कलाकारका रूपमा ज्यादा चर्चित रहे तर गम्भिर भूमिका र खलनायकी भूमिकामा पनि उत्तिकै सशक्त। उनी मदनकृष्ण श्रेष्ठसँग टिभी र रंगमञ्चमा ज्यादा रमाए। फिल्ममा  कम देखिए। हरिवशं भन्छन्, ‘त्यतिबेला हामी हिरोको गिन्तीमा पर्देनथियौं। हामी फिल्ममा हँसाउनका लागि जबरजस्ती पेस्ट गरिएका चरित्रमा सिमित थियौं, त्यसैले हामी टिमी र रंगमंञ्चमा ज्यादा रमायौं, नाम र दाम दुबै कमायौ।’

उनी करिब १७ वर्षपछि ‘शत्रु गते’बाट ठूलो पर्दा फर्किदैछन्। यसै सन्दर्भमा सेतोपाटीका लागि हरिवशं आचार्यसँग अशेष अधिकारीले उनले अभिनय गरेका पात्र, तिनका चरित्र निर्माण प्रक्रिया र अभिनय यात्राको कुराकानी यस्तो थियो:

चरित्र निर्माण कसरी गर्नुहुन्छ?

यसो बाटोमा, समाजमा मान्छेहरू देखिन्छ। उनीहरू कसरी बोल्छन्, हाउभाउ कस्तो छ? भनेर हेरिराख्या हुन्छु। अहिले सजिलो  छ, मोबाइलमा रेकर्ड गर्छु। र त्यसलाई अभ्यास गर्छु। क्यारेक्टर छान्दा फरक क्यारेक्टर छान्छु। तिनैलाई हेर्छू अनि कथालाई मिल्ने रहेछ भने स्क्रिप्टमा ढाल्दछु।

क्यारेक्टर टिपिकल हुन्छ भनेर कसरी भेउ पाउनुहुन्छ?

आफूले गरेर हेर्छु। जस्तो, मानिसहरूले प्रचण्डको नक्कल गर्छन। उहाँको ‘मने’ भन्ने थेगो भिन्न छ, बाबुराम भट्टराईको ‘निश्चित रूपमा’ भन्ने छ। त्यो उहाँहरूको ‘टिपिकल’ चीज हो। म नेताहरूको नक्कल गर्दिन। मैले त्यस्तो गरेको भनेको कृष्णप्रसाद भट्टराईको हो, ‘नेपाल बन्द’को लागि। त्यो यूट्यूबमा हेर्नसक्नुहुन्छ। केहि मानिसहरूमा अरू भन्दा भिन्न केहि विशेष क्यारेक्टर हुन्छ। त्यस्तै क्यारेक्टरलाई ‘वाच’ गर्ने हो।

त्यो पात्रमा छिर्ने तपाईको प्रक्रिया के हो? कसरी छिर्नुहुन्छ?

स्क्रिप्टलाई हेरेर कस्तो क्यारेक्टर गर्ने हो, पहिलो ध्यान त्यसमा हुन्छ किनकी स्क्रिप्ट अनुसारको पात्र हुन्छ नकी पात्र अनुसारको स्क्रिप्ट। त्यसैले पहिले स्क्रिप्टले माग्नुपर्यो, त्यसमा मिल्छ भने पात्रको खोजी गर्छु। जस्तो मैले ‘कान्तिपुर’ टेलिसिरियलमा निर्वाह गरेको ‘वडा अध्यक्ष’को चरित्र पनि भएका व्यक्तिबाटै हुँदै बनाएको हूँ। त्यो मैले ओस्ताद भैरव बहादुर थापाको नक्कल गरेको हो। ‘मनको बाँध’ फिल्म हेर्नुभएको छ भने बुझिहाल्नुहुन्छ। ‘वडा अध्यक्ष’को अभिनय त्यहीबाट लिएको हो। उहाँको आँखा त्यस्तै हो तर मैले ‘वडा अध्यक्ष’को रोलका लागि लिएँ। त्यसरी पनि गर्न सकिन्छ कति कुराहरू।

आजसम्म तपाईले गरेका भूमिकामा तपाईलाई मनपर्ने पाँच चरित्र के के हुन्?

मलाई गरेकोमा सबैभन्दा मनपर्ने क्यारेक्टर ‘बलिदान’ फिल्मको ‘अर्जुन’ पात्र हो। किनभने त्यसमा म हाँस्यव्यङ्ग्यको छाप बोकिरहेको मान्छेले शतप्रतिशत ‘ह्यूमर’ भन्दा बाहेकको काम गरेको छु। त्यसले कमेडी गर्ने मान्छेले पनि त्यस्तो गर्नसक्छ भन्ने प्रभाव दर्शकमा छोडेको छ।  त्यसमा मैले अभिनयको जाँच दिन पाएँ र पास पनि भएँ। दोस्रो नम्बरमा ‘लक्ष्मी’ भन्ने टेलिसिरयलमा गरेको भूमिका। त्यसमा मैले ‘दयाराम’ पात्रका रूपमा एक्स्टरिम भिलेनको काम गरेको छु। ‘बलिदान’मा मैले सकारात्मक जाँच दिन पाएँ भने यसमा नकारात्मक ‘जाँच’ दिन पाएँ।

मलाई ‘कान्तिपुर’, ‘लालपूर्जा’, ‘चिरञ्जिबी’, ‘वनपाले’, ‘हरिबहादुर’। यी चरित्र दर्शकले मनपराउनुभयो। दर्शकलाई जे मनपर्यो त्यो मनपराउनु मेरो लागि बाध्यता भो एक हिसाबले। त्यसैले मलाई यी पात्रहरू मनपर्छन्।

हास्य कलाकारितामा प्रख्यात मान्छेलाई ‘बलिदान’को गम्भिर भूमिका कसरी आयो?

‘बलिदान’ फिल्म बनाउने टिमको चाहना फिल्ममा हिरो हुने व्यक्तिको सार्वजनिक चरित्र नबिग्रेको स्वच्छ होस् भन्ने रहेछ। रामेश श्रेष्ठ दाइहरू यो कुरामा अलि चनाखो हुनुभएको रहेछ। ‘हामीहरूले ‘बलिदान’मा हिरो बनाउँछौं अनि हाम्रो हिरोचाँहि बाहिर जे पायो त्यही गरेर हिड्यो भने त हाम्रो फिल्मको वजन जस्तो हुँदैन्’, भन्ने उहाँहरूको सोचाइ रहेछ। त्यही भएर त्यस्तै हिरो खोजिरहनु भएको रहेछ।  खोज्दाखोज्दा कहाँबाट मलाई खेलाउने भन्ने कुरा भएछ तर त्यो फिल्मको टिमको मान्छेले ‘कहाँ त्यो ‘ह्यूमर’को छाप भएको मान्छेले यस्तो गम्भिर क्रान्तिकारी भूमिका दिने’, भनेर विरोध पनि भएछ तर, रामेश दाइले ‘त्यसो भनेर हुँदैन्, उहाँले गर्न सक्नुहुन्छ। उहाँको आँखा जून छ , त्यसले जे पनि अभिनय गर्न सक्छ’,  भनेर अडान लिनुभएछ। पछि तुलसी घिमिरे डाइरेक्टरसाबले ‘अँ हो नि त। एकपटक टेस्ट गरूँ न त’, भन्नुभएछ।

त्यस बेलामा मदन दाइ, मेरो अत्याधिक चर्चाको सुरूवात भइरहेको थियो। त्यो बेलामा राजनीतिकरूपमा पनि एकदमै स्थापित भएका थियौं, भलै हामी कुन दलका हौं खुलेको थिएन्। तर  ४६ सालको अनि त्यो भन्दा अगाडीको आन्दोलनमा पनि हाम्रो भूमिका भएको कारणले गर्दा फिल्ममा हुँदा ‘बलिदान’लाई प्लस हुन्छ भनेर हामीलाई छनौट गरियो।

सुरूमा मलाई डर पनि लाग्यो, यस्तो बलियो भूमिका कहिले पनि गरेको थिइन। पछी मलाई के कन्फिडेन्स आयो भने, तपाईंहरू सक्नुहुन्छ भने म प्रयास गर्छु भने।

त्यो भूमिकालाई कस्तो तयारी गर्नुभयो?

म थिएटरमा काम गरेको मान्छे। थिएटरमा काम गरेको मान्छेको कन्फिडेन्स अलि बढि हुन्छ किनभने रंगमञ्चमा सयौं, हजारौ दर्शकसँग प्रत्यक्ष सामना भइरहने हुनाले दर्शकहेरि क्यामराको अगाडी काम गर्ने कुरा केहि पनि लागेन। म टोलटोलमा , सडक सडकमा मान्छेहरूको बिचमा अभिनय गरेर हिँडेको मान्छे।  मैले संवादहरू हेरें, कन्फिडेन्स बढ्यो। एउटा दुईटा टेक दिन थाले त्यसपछि सबैलाई कन्फिडेन्स आयो, निर्देशक खुशी हुनुभयो, रामेश दाइ झन खुशी हुनुभयो।

एउटा  अभिनेतामा हुनुपर्ने गुण के हो?

अलि अलि जन्मजात नै आएको हुन्छ। जो मान्छेले पनि म गायक बन्छू भनेर २२ वर्षसम्म राग सिके पनि उसमा जन्मजात अलिकति आएको छ भने ऊ गायक बन्न सक्दैन्। मैले म हिसाबमा नम्बर वान हुन्छू भनेर भने पनि म सक्दिन ‘नेचर’ले नै मलाई दिएको छैन्। म सक्दै सक्दिन्, मलाई  सामान्य भाग हिसाब पनि आउँदैन्।

अनि त्यसलाई परिमार्जित गर्दै लग्ने दायित्व कलाकारको हो। समर्पित हुनुपर्छ, कुनैमा राम्रो होला, कुनैमा नराम्रो विचलित हुनुहुँदैन्। २-३ वटा पेसा गर्नु पनि राम्रो गर्नुहुँदैन। म यही काम गर्छु भनेर लाग्नुपर्छ। जसरी एउटा जंगलमा चितुवाले मृग लखेट्छ नि त्यसरी। उसले अरू भए पनि आफ्नो सिकार कुन हो त्यसमै निशाना साँधेर शिकार गर्छ, त्यस्तै हुनुपर्छ।

एक्टिङमा पनि म यो काम गर्छू भन्ने दृढता हुनुपर्छ। पेसा एउटा छ काम अर्को गर्दा त्यो दिगो हुँदैन्। स्थिर हुन सक्दैन्। अनि अभ्यास हो। आफूले गर्ने भूमिकामा डुब्नुपर्यो, लाज मान्न भएन।

म नारायण गोपाल दाइले भनेको कुरा सम्झन्छु। मैले उहाँको केहि वर्ष संगत गर्ने मौका पाएको थिएँ। उहाँले मलाई रियाजचाँहि गर भन्नु हुन्थ्यो। प्रकृतिले उहाँलाई त्यस्तो स्वर दिएको थियो तर उहाँ दैनिक २ घण्टा रियाज गर्नुहुन्थ्यो रे।

कहिले ६ महिनासम्म पनि हार्मोनयम नछुने मुड हुन्थ्यो तर रेकर्डिङ छ भनेपछि आफू विश्वस्त नहुनजेल रियाज गरेर मात्र गीत रेकर्ड गर्नुहुन्थ्यो। मलाई नि अभ्यास गर भन्नुहुन्थ्यो।  त्यसैले आफूले गर्ने भूमिकमा एक्लै बसेर हुन्छ की साथीहरूको माहोलमा देखाएर अभ्यास गरिरहनुपर्छ।

तपाईले कुनै पात्र गर्ने निर्णय गरेपछि त्यो पात्र पहिले कसलाई देखाउनुहुन्छ?

म ऐना अगाडी आफैलाई देखाउँछु अनि काम गर्ने टिमलाई देखाउँछु। जस्तो ‘लालपूर्जा’, ‘वनपाले’, ‘१५ गते’ गते मा मदन दाइ र म नै निर्देशक हो।  मदनदाईलाई म यो पात्र गर्दैछु भनेर सेयर गर्छु । स्क्रिप्ट लेख्दा लेख्दै नै मैले कुन गर्ने मदन दाइले कुन गर्ने छुट्टिसकेको हुन्छ तर भन्या हुँदैन्। मदन दाइले पनि लेख्दा लेख्दै यो गर्ने थाहा पाइसक्नुहुन्छ र म पनि मैले गर्ने भूमिका थाहा पाइसक्छु। त्यसैले स्क्रिप्ट तयार गर्दै स्क्रिप्टसँगै हामी आफ्नो पात्रमा डुबिसकेका हुन्छौं।

तपाई आफूलाई म अभिनयमा गम्भिर हुनुपर्छ भनेर कहिलेदेखि लाग्यो?

सुरूमा मैले पद्मोदय स्कूलको रजत जयन्ति समारोहमा पहिलो पटक रगंमञ्चमा खुट्टा टेके, त्यो पनि भित्र होइन, बाहिर। बाहिर बसेर मैले कुकुरको क्यारिकेचर गरें। त्यो बापत मैले प्रमाणपत्र पाएँ। त्यो पाएँ पछि म भित्र आत्मविश्वास बढेर आयो। मलाई लाग्यो, ‘यो चिज गर्दा त प्रमाणपत्र पाइने रहेछ, यसरी गर्न सकिने रहेछ’ भन्ने थाहा पाएँ। त्यो भन्दा पहिले यी चिज साथीहरूको अगाडी मात्र गर्थे।

त्यसपछि टोलटोलमा हुने सांस्कृतिक कार्यक्रमहरूमा मेरो  कार्यक्रम राखदेउ भन्दै जान थाले। पछि हुँदै जाँदा मान्छेले मलाई आफै बोलाउन थाले। त्यतिबेलासम्म पनि म कलाकार हुन्छु, यही पेसा अपनाउँछु, सोचेको थिइन। यस्तैमा एसएलसीको जाँचमा म फेल भए जून मेरो जीवनको सबैभन्दा राम्रो क्षण बन्न पुग्यो।

पास भएको भए म अफिसमा जागिर खाएर बस्थे होला। तर फेल भएको कुरा जीन्दगीको सबैभन्दा सुखद भयो किनकी मैले राष्ट्रिय नाचघरमा जागिर पाएँ। रेडियो नेपालमा ड्रामा गर्ने काम पाएँ। जब त्यहाँ म सुरूवात गर्दै थिएँ, म यही पेसा हुन्छु गर्छु भन्ने थिएन तर जब मैले २०३५  सालमा गाईजात्रा महोत्सवमा भाग लिए, तब म जीन्दगीमा पहिलो पटक कुनै कुरामा प्रथम भएँ।

मैले गोल्डमेडल जिते, ९ हजार रूपैयाँ पनि पाएँ। आजको मितिमा त्यो पैसा ९ लाख बराबर हो। त्यति पैसा पनि पाएपछि मलाई ‘ओहो! यो काममा त पैसा पनि पाइने रहेछ। मैले राजालाई कार्यक्रम देखाएँ भनेर रवाफ पनि मनमा भयो। गोरखापत्रमा फोटो निस्कियो, दुर्गानाथ शर्माले यो मान्छे राम्रो भनेर कमेन्ट पनि लेख्दिनुभयो।’ त्यसपछि अझ मेहेनत गर्नुपर्छ भन्ने भयो। त्यसपछि अर्को प्रोगार्म बनाए, फेरि अर्को प्रोग्राम बनाएँ। परिवार नियोजनले आयोजना गरेको नाटकमा म दोस्रो भए, गोपालराज मैनाली प्रथम हुनुभयो।

गाईजात्रा महोत्सवमा लगातार ४ वर्ष गोल्डमेडल जिते। त्यो बेलासम्म म एसएलसी पास भइसकेको थिएँ। एसएलसी पास गरे पनि सरकारी जागिर खान्न बनेर कमिटमेन्ट गरिसकेको थिएँ। हुन त पछि राष्ट्र बैकमा काम गरें। त्यहाँको जागिर र तलब दुबै आकर्षक थियो।  मसँग घरबार केहि थिएन, मलाई बिहा पनि गर्नु थियो। कमसेकम राष्ट्र बैंकमा जागिर भएपछि कम्तीमा एउटा केटी त पाइन्छ भन्ने थियो।

पछि मदनदाइसँगको सहकार्यमा ‘यमलोक’ भन्ने क्यासेट निस्कियो बजारमा । त्यो बेलामा  एउटा क्यासेटमा ९ रूपयाँ रोयल्टी पाइन्थ्यो। हामीले डेढ लाख प्रति क्यासेट बिक्रि गर्यो। त्यो पैसा मैले र मदन दाइले बाढ्यौं। त्यही पैसाले घरघडेरी जोड्यौ। त्यसपछि मैले यही नै मेरो पेसा हो भनेर यही पेसामा लागे। बैकको जागिर छोडे। मदन दाइ र मैले सहकार्य गरेको आउने वैशाखबाट ३८ वर्ष पुरा भएर ३९ वर्ष लाग्छ।

कहिल्यै यो छाडौं जस्तो लागेन?

अँह! लागेन। सबै चिज यहीबाट पाइयो। सम्पन्नता पनि राम्रै छ मेरो, संसार पनि यसैबाट घुमियो। एउटै रेशमा १० औं पटक घुम्न पाइयो। साराको माया पाइराखेका छौं। जुन मितिमा एसएलसी फेल भएँ त्यो मेरो जीवनको सबैभन्दा ठूलो मित्रु गते रहेछ।

यति लामो अभिनय यात्रामा फिल्मचाँहि किन कम गर्नुभयो ?

त्यो बेलामा  ग्ल्यामरलाई फिल्म भन्थ्यो। जोसँग ग्ल्यामर देखिन्थ्यो, हृष्टपुष्ट शरिर छ, हिरोइनसँग नाचेको सुहाउँछ। अनि  फाइट खेल्न सुहाउँथ्यो, त्यस्तो मान्छेलाई हिरो भन्थे र फिल्ममा हामीजस्ता मान्छे फिल्म खेल्दा कमेडियन भन्थे, हामीलाई हँसाउनका लागि मात्र फिल्ममा पेस्ट गरिन्थ्यो।

जब बलिदान’ फिल्म खेले। त्यसपछि यादव खरेलजीले मलाई ‘लोभीपापी’ फिल्मका लागि पत्याउनुभयो। त्यसमा सिचुयसन ह्यूमर थियो। त्यो फिल्म वासु शशीजीले एक लाइनमा तिमीहरूलाई फिल्म बनाउन काम लाग्छ मैले यस्तो सोचेको छु भनेर सुनाउनुभएको थियो। एउटा मान्छे  र पैसा बच्छ अरू सबै मर्छन, ल फिल्म बनाउ भनेर सुनाएपछि मैले मनमनै त्यसको कथा बुनेको थिएँ। खरेलजीलाई सुनाए उहाँ बनाउन तयार हुनुभयो। त्यो बनाएपनि हाम्रा लागि रंगमञ्च नै संसार थियो।

फिल्मको हिरोमा पत्याउँदैनथे। रंगमञ्चमा त हामी ‘हिरो’ नै भएर हिडिरहेका थियौं। पैसा पनि राम्रै आइरहेको थियो, संसार घुमिरहेका थियौं, फिल्ममा आउनुपर्ने जरूरी नै भएन। हुन त कलाकारिता नै हो, दर्शकहरूले हाम्रा टेलिश्रृखंलालाई अत्याधिक मनपराइरहनु भएको थियो। त्यो क्रेजले हामीले टेलिभिजन छोड्न नै सकेनौं।

फिल्म खेल्दा एकदिनमा हजारले हेर्थे भने टेलिफिल्म लाखौले हेर्थे, त्यसको भिन्नै क्रेज थियो। र फिल्म खेलेर पैसा पनि आउँदैनथ्यो। एकदुई जनाले कमाउँथे, हामीलाई फिल्म भन्दा रंगमञ्चबाट धेरै राम्रो थियो। परिवार लिएर डुल्न पाइन्थ्यो, त्यसैले हामी त्यतै ज्यादा फोकस भयौं। त्यही भएर फिल्म कम भयो।

तपाईंलाई मदन दाईले गरेको कुनै भूमिका गरौं जस्तो कहिल्यै लागेन? उहाँले गरेको कुन क्यारेक्टर तपाईलाई धेरै मनपर्छ?

मदन दाइको क्यारेक्टर मदन दाइलाई नै सुहाउँछ। मैले गरेको मलाई नै। मलाई कहिल्यै गरौं पनि लागेन। मदन बहादुरमा धेरै राम्रो गर्नुभएको छ।  ‘वनपाले’को, ‘रात’को उहाँले रंगमञ्चमा गरेका भूमिकाहरू असाध्यै मनपर्छ।

कुनै केहि त्यस्ता भूमिका छन् जून तपाईलाई गरौं भनेर अझै मनमा लागिरहन्छ?

मेरो ह्यूमर, सिरियसको इमेज पनि भयो, मलाई मेरो उमेर सुहाउँदो ह्यूमर भन्दा टाढा रहेको नकारात्मक भूमिका भएको स्क्रिप्टमा काम गर्न मन छ। ‘शत्रु गते’मा रमेश रञ्जन झाले गर्नुभएको भूमिका गर्न चाहन्थे, चेन्ज देखिन्छ की भनेर तर प्रदीप भट्टराईले दाईले यही खेल्नुस भनेर दिनुभएन।

 आजसम्म बनाएका मध्ये कुन सिरियललाई फिल्ममा ढालौं जस्तो लाग्छ?

सबै लाग्छ। ‘१५ गते’ लाग्छ। त्यसमा गरेको भूमिका अहिले त मेरो उमेरले दिन्न तर फिल्म बनाएको भए सुपरफिचर फिल्म हुन्थे।

अनि कहिल्यै फिल्म बनाउनुपर्ने कथाहरूमा टेलिफिल्म बनाइएछ लाग्दैन्?

लाग्छ। त्यो बेलामा तिनीहरूलाई मानिसहरूले फिल्म दर्जा दिदैन थिए। ‘लालपूर्जा’, ‘वनपाले’, ‘चिरञ्जिबी’को कथालाई ‘ए सानो पर्दा’को भन्थे। अनि फिल्म भनेको पाँच वटा फाइट गीत भको हुन्थ्यो। हामीले सिरियलका रूपमा बनाएका ‘लालपूर्जा’, ‘१५ गते’ जस्ता कथामा अहिले फिल्म बनाउने ट्रेन्ड सुरू हुन थालेको छ। हामीले त्यो ३५ वर्ष अगाडी नै गरिरहेका थियौं। त्यसमा खुशी लाग्छ।

कलाकारका रूपमा आफूले आफूलाई कुन स्तरको कलाकार हूँ भनेर मूल्याङ्कन गर्नुहुन्छ?

खै! आफूले आफूलाई के ‘जज’ गर्नु? म एउटा राम्रो क्यारेक्टर आर्टिस्ट हूँ। (हाँस्दै) म ‘क’ श्रेणीको एक्टर हो। आफूले आफूलाई किन थोरै मूल्याकंन गर्नु?

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.