‘लेखकसँग प्रश्न सोध्ने दायित्व हुन्छ’


जोसे एडुवाडो अग्युलुसा विश्व साहित्यमा हुर्किँदै गरेको नाम हो। अंगोलाको हुम्बो भन्ने ठाउँमा जन्मिएका ४६ वर्षीय अग्युलुसालाई अहिले नै पोर्चुगी भाषीमाझ र विशेषगरी ब्राजिल र पोर्चुगलमा ठूलो सम्मान गरिन्छ। ती स्थानमा उनको उपन्यास ‘क्रिओल’ सर्वाधिक बिक्री भएको छ। उनको साहित्यलाई पोर्चुगी विशिष्ट पुरस्कारले पनि सम्मानित गरिसकिएको छ। उनको पछिल्लो किताब ‘दि बुक अफ क्यामिलियोन’ ले अहिले बेलायतको ‘स्वतन्त्र विदेशी फिक्सन पुरस्कार’ पनि जितेको छ। यसले उनको लेखन दायरा र क्षमतालाई नयाँ पहिचान दिइरहेको छ।

अग्युलुसा साहित्यमा आउनुभन्दा पहिला कृषि तथा वन विज्ञानका विद्यार्थी थिए। उनले कविको रूपमा आफ्नो लेखन सुरु गरे। उनको ‘एट दि हार्ट अफ दि फरेस्ट’ कविता कृति हो। सँगै ‘दि कन्सपायरेसी’, ‘दि मार्केट अफ दि डाम्न्ड’,  ‘दि रेनी सिजल’,  ‘क्रिओल’ र ‘दि बुक अफ क्यामिलियोन’ कथासङ्ग्रह र उपन्यास हुन्। ‘लिस्बोआ अफ्रिकाना’ कृति भने अफ्रिकाको लिस्बोआ समुदायमा गरिएको सामूहिक अध्ययनको प्रतिफल हो। यात्रा अत्यन्तै मन पराउने उनले लिस्बोन र रियो दि जेनेरियोमा काम गरिसकेका छन् भने अहिले लुण्डा र लिस्बेन दुवै स्थानमा बराबर भेटिन्छन्। हामीसँग फोनमा कुरा गर्दा उनी त्यहीँ थिए र स्वतन्त्र विदेशी फिक्सन पुरस्कार घोषणा भएको कुराले अझै असर गरिरहेको जस्तो सुनिन्थे।

अहिले हेर्दा स्वतन्त्र फिक्सन पुरस्कार जित्नु तपाईंको लागि कत्तिको महत्त्वपूर्ण थियो?

यो अनुवादको लागि दिइएको पुरस्कार थियो। त्यो देशका मानिसलाई दिइएको थियो जहाँ अमेरिकामा जस्तो मानिसहरू अनुवाद पढ्दैनन्। त्यसको ठीक विपरीत युरोपका धेरै देशमा आधाभन्दा बढी किताब अरू भाषाबाट आउँछन्। बेलायतमा यसको हिस्सा दुई प्रतिशतभन्दा कम छ। विश्वभर भएका धेरै महत्त्वपूर्ण लेखक अङ्ग्रेजी भाषाका पाठकमा गुमनाम छन्। यस्तो लाग्छ उनीहरू अर्कै ग्रहका हुन्। यो पुरस्कारले मेरा काममा ती पाठकको ध्यान तान्नेछ। सँगै पोर्चुगीमा लेखिएका अफ्रिकी साहित्य र विशेषगरी अंगोलाका साहित्यसम्म मानिस आइपुग्नेछन् भन्ने अनुमान गरेको छु। आशा छ मेरो यो अनुमान सही हुनेछ र यसैको कारण किताब बिक्री पनि बढ्नेछ। म उत्सुक छु।

यो पुरस्कारले विकसित देशको ध्यान कहिल्यै नसोचिएका दुर्गम अफ्रिकासम्म पुर्‍याउँछ भन्ने तपाईंलाई लाग्छ?

अङ्ग्रेजीमा लेख्ने अफ्रिकी लेखक बेलायतमा अहिले पनि धेरै चर्चित छन्। कोट्जे, सोयिङ्का गोर्डिमर वा चिनुवा अचिबेलाई हेर्नुहोस्। तर अङ्ग्रेजीले नबुझेको कुरा के हो भने अफ्रिकामा पोर्चुगी र फ्रान्सेली भाषा बोलिन्छ तथा लेखिन्छ। उनीहरूलाई दक्षिण अमेरिकी साहित्यको बारेमा पनि धेरै थाहा छैन जबकि त्यो साहित्यको एकदमै उर्वर क्षेत्र हो।

अमेरिकी संस्कृति समग्र विश्वसँग एक्लिँदै गएको हो?

कुन अमेरिका? ल्याटिन अमेरिका कि अङ्ग्रेजी बोल्ने उत्तर अमेरिका? जुन भए पनि म तपाईंको कुरामा सहमत छैन। ल्याटिन अमेरिकाको साहित्यले आफ्नो तागत अहिले पनि गुमाएको छैन। त्यहाँ केही असामान्य लेखकको समूह छ र तिनीहरूमध्ये धेरै युवा छन्। उनीहरू युरोपमा पनि चर्चित छन्।

गोसे सारमागोले नोबेल पुरस्कार पाएको कारण अहिले विश्वका धेरै मानिसलाई पोर्चुगीमा लेखिएका साहित्यको बारेमा थाहा छ भनिन्छ। के यो भनाइसँग सहमत हुनुहुन्छ?

एकदमै सही कुरा हो। र मलाई लाग्छ उनीबाहेक अरू धेरै लेखक पनि छन् जो उक्त पुरस्कार पाउन योग्य छन्। नाम लिने हो भने एन्टोनियो लोबो अन्टुनेस, फेरिरा गुलर, रुइ डार्टे आदि।

दि बुक अफ क्यामिलियोन’ ले धेरै हदसम्म महान् अर्जेन्टिनी लेखक जोर्ग लुईस बोर्गेसका कृतिको सम्झना गरको छ। तपाईंको काममा ल्याटिन अमेरिकी साहित्यको प्रभाव कत्तिको महत्त्वपूर्ण छ?

म सानो हुँदा धेरै ल्याटिन अमेरिकी साहित्य पढेँ। विशेषगरी बोर्गेसका कृतिले धेरै प्रभाव पारेका छन्। उनको लेखन संसार र मेरो लेखन संसार उस्तै उस्तै लाग्छ। मार्खेसले एकपल्ट भनेका पनि थिए कि १९७७ मा उनी जब अंगोलाको लुण्डा आइपुगे, उनले आफूलाई अफ्रिकी भएजस्तै पाए। उनी आएको ठाउँ, त्यो पुरानो लुण्डा सहर एकदमै मिश्रित बसोबास भएको ठाउँ हो। त्यो उनी जन्मिएको र हुर्किएको ल्याटिन अमेरिका भन्दा धेरै फरक थिएन। अफ्रिकामा एकदमै ग्रामिण र पुग्न गाह्रो हुने धेरै ठाउँ छन्। बोर्गेस र मार्खेसलाई पढ्दा म आफू पनि ल्याटिन अमेरिकी हुँ जस्तो लाग्छ। यस्तै युवाकालमा जोर्गे अमाडोलाई पढ्दा म आफूलाई ब्राजिलियन जस्तै पाउँथेँ।

तपाईंको त्यो उपन्यास एक रङ परिवर्तन गर्न सक्ने छेपारोको दृष्टिकोणबाट लेखिएको छ। तपाईंले त्यस्तो कथावाचक किन छान्नु भएको? बोर्गेसलाई समर्पित गर्नुभएको हो?

हो। त्यो किताब बोर्गेसको सम्मानमै लेखिएको हो। त्यो छेपारो बोर्गेसको अवतार हो भने पनि हुन्छ। यसमा लेखिएका अनुस्मरणहरू बोर्गसको जीवनमा भएका वास्तविक घटनासँग सम्बन्धित छन्।

केमिलियोन विभिन्न पात्रले बोलेका सबै कुरा सुन्न सक्ने क्षमता राख्छ। त्यसमा फेलिक्स भेन्तुरा पनि पर्छ जो ‘विगत बेच्ने मान्छे’ पनि हो। उसले मानिसको विगत र इतिहासलाई नयाँ स्वरूप दिन सहयोग गर्छ। के हाम्रा सम्झनालाई नयाँ स्वरूप दिन वास्तवमै सम्भव छ? र आफूले जानिरहेको विगत झुटो हो भनेर बाँच्न कत्तिको गाह्रो हुन्छ?  

साँचो भन्नुपर्दा हामीलाई हाम्रो विगतको बारेमा केही पनि थाहा छैन। हामी जे सम्झिन्छौ त्यो पनि धेरैजसो झुटो हुन्छ। उदाहरणका लागि म सात वर्ष हुँदा कस्तो थिएँ भन्ने सोच्छु। तर दुई वा तीन शृङ्खला र केही धमिला तस्बिर मात्र सम्झिन्छु। म त्यति सम्झिन्छु किनकि ती सधैँ एकैनासका थिए। म तिनीहरूलाई सम्झिरहेको भएर मात्र सम्झिन्छु। धेरै मानिसलाई आफ्नो विगत अर्को कुनै भइदिए हुन्थ्यो जस्तो लाग्छ। कोही आफ्नो छुट्टै विगत बनाउँछन् पनि। तर त्यो उनीहरूको संस्करण मात्र हो। निकोलस सेक्सपियरले लेखेको ब्रुस चाटविनको आत्मकथामा उनले आफ्नो छुट्टै कथा निर्माण गरेका छन्। यस्तो लाग्छ त्यसरी बनाएको विगतमा उनी विश्वस्त छन् र उनका पाठक हामी पनि त्यसलाई उनको विगत भनेर विश्वास गर्छौँ।

यसरी बनाइएको विगतले कसैको भविष्यलाई परिभाषित गर्छ कि गर्दैन? र यो उपाय देशको हकमा लागू हुन्छ कि हुँदैन?

हुन्छ। त्यसमा कुनै शंका छैन। विगत निर्माण गरेर भविष्य बदल्न सकिन्छ। यसैकारण पनि यो विचार यति आकर्षक छ। यसको अन्तिम उद्देश्य नै सबै कुरा परिमार्जन गर्ने हो। साइन्स फिक्सन लेख्नेलाई थाहा छ, विगतसँग खेल्नु भनेको भविष्यसँग पनि खेल्नु हो। धेरै किताब छन् जसले ‘परम्परा’ ठानिएका कुरा पनि कुनै न कुनै रूपमा निर्माण गरिएका थिए भन्छन्। अंगोला जस्ता नयाँ देशमा सामूहिक आवश्यकता पूरा गर्ने भनेर राष्ट्रिय हिरो तथा राष्ट्रिय परम्परा निर्माण गर्ने प्रलोभन बढेको देखिन्छ। यो विगतमा पनि गरिएको थियो, अहिले पनि छ।

अत्यन्त गरिबी र लामो समयदेखि चलेको गृहयुद्धले छोपेको अंगोला जस्तो देशमा साहित्य लेख्दा कस्तो महसुस गर्नुहुन्छ?

सबैभन्दा ठूलो समस्या भनेको हाम्रो देशका बहुसङ्ख्यक मानिस किताबको पहुँचबाट टाढा छन्। उनीहरू कसरी पढ्ने पनि जान्दैनन् र जान्नेसँग पनि किनेर पढ्न पैसा छैन। हामी अफ्रिकी लेखकको दु:ख के भने हाम्रा पाठक हाम्रा देशमा हैन, युरोपमा छन्। हामी विदेशीको लागि लेख्न विवश छौँ। त्यसले पक्कै पनि लेख्ने तरिका फरक पार्छ। त्यसैले हामी धेरैजसो अनुवादकजस्तो लाग्छौँ। हाम्रो देशको यथार्थता विदेशका पाठकको लागि अनुवाद गरिरहेका छौँ। म यसलाई अवरोध भन्दा पनि चुनौती भन्न रुचाउँछु। यति हुँदाहुँदै पनि यो चुनौतीले हाम्रो पद्य लेखनमा साहित्यिक समाधान खोज्न लगाइरहेको छ।

तपाईंलाई लाग्छ कि तपाईंको कामलाई अहिले पनि विदेशी उत्पादन भनेर हेरिन्छ?

यदि कुनै मूल अमेरिकी लेखकले आफ्नो सांस्कृतिक सम्पदाका बारेमा उपन्यास लेखेर अमेरिकामा प्रकाशित गर्छ भने, त्यो पनि अमेरिकी पाठकका लागि विदेशी उत्पादन नै हुनेछ। त्यसैले धेरै कुरा पाठक को हुन् भन्नेमा पनि भर पर्छ। अंगोलालाई राम्रोसँग बुझ्ने पोर्चुगी पाठकका लागि मैले लेखेको कुरा विदेशी नलाग्न सक्छ। साहित्यिक भन्दा पनि भौगोलिक स्वाद बोकेको ‘दि बुक अफ क्यामिलियोन’ विश्वका सबै ठाउँका मानिसले पढ्न र बुझ्न सक्छन् जस्तो लाग्छ।

तपाईंले अफ्रिकन लेखक सामान्यतया विदेशी पाठकका लागि लेख्छन् भन्नुभयो। त्यसो भए तपाईं आफ्नो कामलाई अफ्रिकी भन्नु हुन्छ कि युरोपियन?

मेरा कामलाई म साहित्य मात्र भनेर बुझ्न चाहन्छु। म तपाईंलाई पनि सोध्छुः कोट्जी अष्ट्रेलियन कि अफ्रिकी लेखक हुन्? नाबोकोभ अमेरिकी कि युरोपेली हुन्? फर्नान्डो पेसो अङ्ग्रेजी लेखक हुन् कि पोर्चुगी?

पोर्चुगी भाषालाई पोर्चुगी बोलिने देशसम्म पुर्‍याउने प्रोजेक्टलाई कसरी लिनुहुन्छ?

भाषा हैन, व्याकरण एकीकृत बनाउने प्रोजेक्ट चलिरहेको छ। पोर्चुगी भाषा सबै महादेशमा भिन्दै भिन्दै लवज र तरिकाले बोलिन्छ। तर मलाई लाग्छ, हामी कुनै एक व्याकरणीय सहमतिमा पुग्नुपर्छ जसले पोर्चुगी बोलिने देश र ठाउँमा किताब पुग्न र पुर्‍याउन सहयोग पुर्‍याउँछ। त्यो सहमति यो वर्षको अन्तिमसम्म भइसक्छ जस्तो लाग्छ।

ब्राजिलमा तपाईंका किताबलाई अंगोल समाजप्रति आलोचनात्मक भएको भनिन्छ। तपाईंको किताबमा पाइने समाजशास्त्रीय दृष्टिकोणको के महत्त्व छ?

म एक समालोचक पनि हुँ। अंगोला यस्तो देश हो जहाँ गरिबी व्याप्त छ, पूर्णरुपमा प्रजातान्त्रिक भएको छैन र जहाँ विश्व मञ्चमा बोल्न कुनै संरचना छैन। थोरै स्वतन्त्र पत्रिका छन्, थोरै मानिसले मात्र इन्टरनेट चलाउन पाएका छन्। मलाई विश्वास छ, लेखकसँग आलोचना गर्ने, प्रश्न सोध्ने र आवाज नभएकालाई आवाज दिने नैतिक र नागरिक दायित्व हुन्छ। म त्यही दायित्व पूरा गरिरहेको हुन्छु।

तपाईं अहिले पनि पत्रिकामा स्तम्भ, इतिहास र कविता लेख्नुहुन्छ? वा आजकाल उपन्यास मात्र लेखिरहनुभएको छ?

म अहिले पनि इतिहास लेखिरहेको छु। मेरो कमाइको ठूलो हिस्सा अहिले पनि पोर्चुगी र अंगोली पत्रिकामा लेख्ने स्तम्भबाट आउँछ। एक अंगोली साप्ताहिकमा मेरो एउटा स्तम्भ छ जहाँ म राजनैतिक विषयमा छलफल गर्छु। अर्को पोर्चुगी पत्रिकाको लागि साहित्यिक स्तम्भ पनि लेख्छु। कहिले छोटा कथा त कहिले आगामी उपन्यासको लागि टुक्रे लेखन पनि गर्छु।

अहिलेका समकालीन पाठक अन्य विधाभन्दा उपन्यासतिर धेरै आकर्षित छन्। यसमा तपाईंको धारणा के छ?

उपन्यासले अरू सबै विधा एकीकृत गर्न सक्छ। उदाहरणका लागि उपन्यासले कविताको तत्त्व सङ्ग्रह गर्न सक्छ। सँगै पत्रकारिता पनि अटाउन सक्छ। त्यतिमात्र हैन मानिस त्यस्तो लेखक चाहन्छन् जसले कथा भन्न सक्छ। सबै कुराको मुख्य जरा भनेको कथा नै हो।

तपाईंले एकपल्ट मलाई भन्नुभएको थियो कि आधुनिक लेखकमा कथा बगाउने क्षमता हुनुपर्छ। उनीहरू आफ्नो पद्य शैलीमा मात्र निर्भर हुनुहुन्न। अहिले के भन्नुहुन्छ?

म अहिले पनि त्यही कुरामा विश्वास गर्छु। केही महान् लेखक पनि छन् जसले मूल कथा बिना नै उत्कृष्ट किताब लेखेका छन्। उदाहरणका लागि फर्नान्डो पेशो। उनको किताब ‘दि बुक अफ डिस्क्वाइट’ त्यस्तो उदाहरण हो जसलाई तपाईं जहाँबाट सुरु गरेर पनि पढ्न सक्नुहुन्छ। जहाँबाट पढे पनि उत्तिकै रोमान्चक भइन्छ। तर यो सबैमा लागू हुँदैन।

तपाईं आफ्नो कामलाई पोर्चुगीबाट अर्को भाषामा अनुवाद गर्ने प्रक्रियामा सहभागिता जनाउनुहुन्छ?

धेरै कुरा अनुवादक को हो र कुन भाषामा गर्न लागेको हो भन्नेमा भर पर्छ। डानियल हान अनुवादक छन् भने म सहभागिता जनाउँछु। उनको अङ्ग्रेजी अनुवाद राम्रो छ। तर लेखक र अनुवादकबीचको त्यस्तो सहकार्य अक्सर दुर्लभै हुन्छ जस्तो लाग्छ।

हान सँग काम गर्दाको अनुभव तथा ‘दि बुक अफ क्यामिलियोन’ अनुवाद गर्दाको प्रसङ्ग सुनाउनुहोस् न।

हामीले दुईपल्ट भेट्यौँ। मैले उनलाई केही कुरामा मद्दत पनि गरेँ। यो किताबको अङ्ग्रेजी शीर्षक छनौट गर्न हामीले धेरै समय लगायौँ। डानियल हान एकदमै उत्कृष्ट अनुवादक हुन् र संवेदनशील सर्जक पनि। यो अनुवाद प्रक्रिया र उनीसँगको सहकार्यमा मलाई त्यही कुरा सबैभन्दा गुणस्तरीय लाग्यो।

केही वर्ष पहिला मसँग कुरा गर्दा तपाईंले बारुदी सुरुङका बारेमा लेख्ने मन भएको बताउनुभएको थियो। त्यो सोच अहिले कहाँ छ?

म त्यो विषयमा काम गर्न अहिले पनि इच्छुक छु। यो कुरा हाम्रो देशमा निक्कै विवादास्पद र चर्चित रह्यो। ठूला, विकसित र प्रजातान्त्रिक भनिएका देशले बनाएका हतियारले गरिब र साना देशमा सर्वसाधारण मरिरहेका छन्। यो विषयले मलाई अहिले पनि झक्झक्याइरहन्छ।

अङ्ग्रेजीमा तपाईंको कुनै किताब आउँदैछ?

मेरो नयाँ उपन्यास ‘माई फादर्स विमन’ पोर्चुगल र ब्राजिलमा भर्खरै प्रकाशित भएको छ। यो वर्षको अन्तिममा अङ्ग्रेजीमा पनि ल्याउने योजना छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.