मैले उत्कृष्ट किताब लेखिसकेको छु, अब लेखे कमजोर हुनेछ: फिलिप रोथ

तस्बिरहरु: द न्यूयोर्क टाइम्स


रिचार्ड विल्वरको मृत्युपछि फिलिप रोथ अमेरिकी कला एकेडेमीको साहित्य विभागमा लामो समय काम गर्ने एक मात्र जीवित सदस्य हुन्।

सन् १९५९ मा ‘नोवेला गुडबाई’ र ‘कोलम्बस’ जस्ता किताब लेखेर चर्चित रोथले यहुदी र अमेरिकी पहिचानबारे खुलेर लेखेका छन्। उनले यौन मनोविज्ञान क्षेत्रमा पनि उत्तिकै सशक्त कलम चलाएका छन्। उनले दुईपल्ट नेसनल बुक अवार्ड र नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड जिते भने सन् १९९७ को पुलिट्जर पुरस्कार पनि पाए।

उनका धेरै लेखन उनकै व्यक्तिगत जीवनबाट प्रभावित छन्। उनै रोथसँग न्युयोर्क टाइम्सका लागि चार्ल्स म्याग्राथले लिएको अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

अबको केही महिनामा तपाईं ८५ वर्ष हुँदै हुनुहुन्छ। बूढो भएँ जस्तो लागेको छ? यो बुढ्यौलीपन कस्तो लाग्दै छ?
हो। म अबको केही महिनामा बूढो मात्र हैन, निक्कै बूढो हुँदै छु। सम्भवत: मृत्यु नजिकै पुग्नेछु। अहिले पनि हरेक दिनको अन्त्यमा आफूलाई जिउँदै पाउँदा आश्चर्य लाग्छ। सुत्न ओछ्यानमा पुगे पनि हाँस्दै सोच्छु ‘अर्को दिन पनि बाँचेँ।’ र, आठ घन्टा सुतेर बिहान जिउँदै उठ्दा फेरि आश्चर्य लाग्छ। म फेरि हाँस्छु र सोच्छु ‘अर्को रात पनि बाँचेँ।’

सुत्ने बेला पनि मुस्कुराउँछु, उठेपछि पनि मुस्कुराउँछु। म अहिलेसम्म बाँचिरहेकोमा खुसी हुन्छु। जब ती हरेक दिन साता, महिना बन्दै बित्छन्, तिनीहरूले भ्रम पनि छरिदिन्छन्। यस्तो लाग्छ यो जीवन कहिल्यै सकिने छैन। तर, मलाई थाहा छ कतै न कतै पुगेर यसलाई रोकिनुछ। दिन आउँछ अनि दिन जान्छ। खेल खेलेजस्तो कहिले गाह्रो त कहिले सजिलो। म बाधाहरूलाई पनि जितिरहेको छु। तर हेरौँ मेरो भाग्यले कहिलेसम्म हात थामिरहन्छ। हार्ने दिन पनि आउने छ।

अहिले तपाईं एक उपन्यासकारका रूपमा अवकाश लिनुभएको छ। लेखनलाई बेलाबेला सम्झिनुहुन्छ कि सम्झिनुहुन्न? फेरि लेखुँलेखुँ लाग्दैन?
सम्झिन्नँ। जुन अवस्थाले मलाई सात वर्ष पहिले लेखनबाट टाढा लगेको थियो, त्यो अवस्था अहिले पनि फेरिएको छैन। मैले २०१० को ‘ह्वाइ राइट’ किताबमा भनेजस्तो मलाई लाग्थ्यो, मैले उत्कृष्ट किताब लेखिसकेको छु र अब लेखेँ भने त्यो कमजोर हुनेछ। म त्यो समय एक उपन्यासले माग्ने जटिल संरचनाको रचनात्मक आक्रमण थेग्न न मानसिक रूपमा सक्रिय थिएँ, न त शारीरिक रूपमा तन्दुरुस्त नै। मेरो बोलीमा ऊर्जा घटिसकेको थियो। हरेक प्रतिभाको आफ्नै सीमितता, क्षेत्र, शक्ति, प्रकृति र जीवन हुन्छ। कोही पनि सधैंभरी फलदायी हुन सक्दैन।

पछाडि फर्किएर हेर्दा आफ्नो ५० वर्षभन्दा लामो समय कसरी सम्झिनुहुन्छ?
उत्साहप्रद र पीडादायी दुवै। निराशा र स्वतन्त्रता। प्रेरणा र अनिश्चिता। प्रचुरता र रित्तोपना। सजिलो हिँडाइ र अलमल्ल यात्रा। हरेक प्रतिभाले भोग्ने दैनिक कार्यक्रम तथा निमन्त्रणाको ओहोरदोहोर र भयानक एक्लोपना पनि। त्यो शून्यता पोखरीको गहिराइजस्तो चुपचाप छ, जसोतसो बितिरहेको समय। सबैथोक ठिक हुँदा दैनिक भत्ता लिएजस्तो केही कामलाग्दा गद्यलेखन।

‘ह्वाइ राइट’ मा तपाईंले आफ्नो चर्चित निबन्ध ‘राइटिङ अमेरिकन फिक्सन’ को पुनर्मुद्रण गर्नुभएको छ। जसले भन्छ, अमेरिकी यथार्थ यति क्रूर छ, त्यसले लेखकको कल्पनालाई पाखा लगाइदिन्छ। तपाईंले यस्तो सन् १९६० तिर भन्नुभएको थियो। अहिले अमेरिका कस्तो छ? अमेरिका अहिले हामी बाँचिरहेको यस्तो समयमा आइपुग्ला भनेर कहिल्यै सोच्नुभएको थियो?
म मात्र हैन, मैले जानेसम्म कसैले अमेरिका यस्तो होला भनेर कल्पना गरेका थिएनन्। सम्भवत: कसैले (एच एल मेनकन बाहेक जसले अमेरिकाको प्रजातन्त्र गधाले स्यालको पूजा गरेजस्तो भनेका थिए) २१ औं शताब्दी एक विनाश भएर अमेरिकामा बित्नेछ र त्यसले अमेरिकालाई गिराउनेछ भनेर सोचेका थिएनन्। १९६० मा त कस्तो आलोकाँचो रहेछु, जतिबेला मलाई लाग्थ्यो, म सबैभन्दा निरर्थक समयमा बाँचिरहेको छु। १९६० मा मलाई १९६३, १९६८, १९७४, २००१ वा २०१६ मा के हुँदैछ भन्ने के थाहा र?

२००४ मा छापिएको तपाईंको उपन्यास ‘द पल्ट अगेन्स्ट अमेरिका’ मा अजिव दुरदर्शीता देखिन्छ। जतिबेला उपन्यास बजारमा आयो, मानिसले किताबलाई बुस प्रशासनमाथिको टिप्पणी भने तर त्यो बेलाको समयभन्दा अहिलेको समयमा त कतै समानता पनि देखिँदैन नि!
त्यो उपन्यास तपाईंलाई जति नै दूरदर्शी लागे पनि मैले १९४० मा देखेको राजनीतिक परिदृश्य र राजनीतिक विपत्ति अहिलेको अवस्थाभन्दा धेरै भिन्न छ। यो राष्ट्रपति लिन्डबर्ग र ट्रम्पबीचको व्यक्तित्व र उचाइको भिन्नता हो। लिन्डबर्ग व्यक्तिगत जीवनमा पनि र मेरो उपन्यासमा पनि एक जातिवादि र यहुदीप्रति पूर्वाग्रही थिए, जो गोरा जातिको अधिनायकमा विश्वास गर्थे। उनी फासिजमप्रति सहानुभूति राख्थे। उनी २५ वर्षको उमेरमै एटलान्टिक सागरमाथि जहाज उडाएको भनेर चर्चित थिए। त्यसको १३ वर्षपछि उनी अमेरिकाका राष्ट्रपति भए। उनी एक ऐतिहासिक साहसिक युवा पाइलट थिए, जो सन् १९२७ मा लङ आइल्याण्डबाट पेरिससम्म निरन्तर आन्द्र महासागरमाथि उडेका थिए। उनले त्यसलाई ३३.५ घण्टामा पार गरेका थिए। त्यो यात्रा एउटा मात्र सिट र इन्जिन भएको सानो जहाजमा गरिएको थियो, जसले उनलाई २० औं शताब्दीको लिफ इरिक्सन भन्ने नाम पनि दिलायो। इरिक्सन पुरानो हवाई युगका चर्चित पाइलट थिए। लिन्डबर्गको तुलनामा ट्रम्प एक धोकेबाज हुन्। उनका कमी र कमजोरी हेर्ने हो भने त्यसमा शक्ति प्राप्त गर्ने खोक्रो आडम्बरबाहेक केही छैन।

तपाईंको लेखनमा दोहोरिइरहने थिमहरूमा पुरुष यौन इच्छा र त्यसको अभिव्यक्ति पर्छन्। यो समय धेरै महिला अगाडि आइरहेका छन् र ठूला भनिएका धेरै पुरुषविरुद्ध यौन उत्पीडन र शोषणको आरोप लगाइरहेका छन्। यसमा के भन्नुहुन्छ?
म एक उपन्यासकारका रूपमा तपाईंले संकेत गरेजस्तो यौन हिंसाको विषयमा धेरै भन्न नसकुँला। तर मैले केही किताबमा यौनप्रतिको आशक्ति र प्रलोभन पुरुषको एउटा पक्ष हो भनेर लेखेको छु। यौन सन्तुष्टिको आग्रहलाई तुरुन्तै प्रतिक्रिया गरिहाल्ने पुरुषको स्वभाव, निर्लज्ज इच्छाहरू र निसन्देह अत्यधिक यौन तृष्णा, पछिल्ला दशकमा विभिन्न सामाजिक विश्वासप्रतिको अन्धभक्ति र आकर्षण प्रमुख कारण हो।

मैले धेरै पुरुष भेटेको छु जो यी सबै शक्तिका अगाडि निरीह छन्। उनीहरू त्यसलाई व्यवस्थापन गर्न असमर्थ छन्। मैले ती पुरुष जस्तो हुन्, जस्तो व्यवहार गर्छन्, जसरी सक्रिय र उत्तेजित छन्, सबै कुरा देखाउन कुनै कसर छाडेको छैन। उनीहरू उत्तेजनाको भोकले जकडिएका छन्। इच्छाहरूको मानसिक र नैतिक पहाडको बीचमा अल्मलिएका छन्। मैले यी कठोर सत्य मेरा लेखनमा लुकाएको छैन। यौन इच्छामा लिप्त पुरुष कहिले, किन र कसरी के के व्यवहार गर्छन् भन्ने खुलाएको छु। म पुरुषको टाउकोभित्र छिरेको मात्र हैन, एउटा मानिसको चेतनालाई दबाब दिने र प्रभाव पार्ने के के पक्ष हुन्छन् र तिनले कुन हदसम्म कसैलाई पागल बनाउन सक्छन् भन्ने जस्ता पक्षसम्म पुगेको छु। त्यसैको असरले होला, अहिले अखबारमा पढिरहेका कुनै पनि कर्तुतले मलाई अचम्मित बनाएका छैनन्।

अवकाश लिनुभन्दा पहिला तपाईं लेखनमा लामो समय दिने लेखकका रूपमा चिनिनुहुन्थ्यो। अहिले त लेखन पनि छाड्नुभयो, त्यो सबै खाली समय के गर्दै बिताउनुहुन्छ?
म अनौठो रूपले भनौं वा त्यति अनौठो पनि हैन, फिक्सन धेरै कम पढ्छु। मैले मेरो कामसम्बन्धी जिन्दगी सम्पूर्ण रूपमा फिक्सन पढेर, फिक्सन पढाएर र फिक्सन लेखेर बिताएँ। सात वर्ष पहिलासम्म मैले त्योबाहेक अरू केही पनि सोचिनँ। त्यसपछि भने दिनको फलदायी समय इतिहास पढेर बिताएँ। विशेषगरी अमेरिकी इतिहास पढेँ। सँगै आधुनिक युरोपको इतिहास पनि पढेँ। अहिले अध्ययनले लेखनको ठाउँ लिएको छ। मेरो सोचाइको धेरै हिस्सा पनि त्यतै मोडिएको छ।

पछिल्लो समय के पढिरहनुभएको छ?
पछिल्लो समय मेरो अध्ययनमा एकरुपता छैन। म धेरैखाले किताब पढिरहेको छु। टा नाहिसी कोट्स को तीनवटा किताब पढेँ। ‘दि ब्युटिफूल स्ट्रगल’ उनले युवास्थामा आफ्नो बाबुबाट आएका चुनौती समेटिएको संस्मरण हो। उनैलाई पढेपछि मैले नेल इरभिन पेन्टरलाई बुझ्ने मौका पाएँ र उनको ‘दि हिस्ट्री अफ ह्वाइट पिपुल’ पढेँ। पेन्टरले मलाई अमेरिकाको पुरानो इतिहासमा पुग्न बाध्य बनाए। त्यसैको प्रभावस्वरुप मैले एडमन्ड मोर्गानको ‘अमेरिकन स्लेभरी, अमेरिकन फ्रिडम’ पढेँ। मोर्गानले त्यसलाई दासप्रथा र स्वतन्त्रताको मिलन पनि भनेका छन्।

मोर्गान पढ्दै गर्दा तेजु कोलका निबन्ध पढेँ। यस्तै स्टिफन ग्रिनब्लाटको ‘दि स्वर्भ’ पढेँ। यो १५ औं शताब्दीमा लुक्रिटसले लेखेको ‘अन दि नेचर अफ थिङ्स’ को पाण्डुलिपि भेटिएपछि के प्रभाव पर्यो भन्नेबारे लेखिएको छ। त्यसले मलाई लुक्रिटसले लेखेका केही लामा कवितासम्म डोर्यायो। उनले पहिलो शताब्दीतिर लेखेका ती कविता मार्टिन फर्गुसन स्मिथले अनुवाद गरेका रहेछन्।

त्यसपछि ग्रिनब्लाटले नै सेक्सपियर कसरी सेक्सपियर बने भन्नेबारे लेखेको ‘विल इन द वर्ल्ड’ पढेँ। यी सबै इतिहाससम्बन्धी किताबका बीचमा ब्रुस इस्प्रिङ्ग्सिनको आत्मकथा ‘बर्न टु रन’ पढेँ, र मन पराएँ। यी सबै पढिराख्दा अध्ययनका लागि पाएको यो समय र ती अध्ययनले दिएका कहिल्यै नसोचेका अनौठा सरप्राइजको वर्णन म शब्दमा गर्न सक्दिनँ।

यतिमात्र हैन, प्रकाशित हुनुभन्दा पहिला इमेलमा आइपुगेका पाण्डुलिपि पनि पढेँ। स्टिभिन जिपर्स्टिनको ‘पोग्रोम: किसिनोभ एण्ड दि टिल्ट अफ हिस्ट्री’ बारे जान्ने मौका मिल्यो। जिपर्स्टिनले २० औं शताब्दीमा युरोपमा यहुदीले भोगेका अप्ठ्यारा अवस्थाले कसरी सबै समाप्त पार्यो भन्नेबारे लेखेका छन्। ‘पोग्रोम’ ले मलाई विवेचनात्मक इतिहासका अरू किताब खोज्ने बनाइदियो। युरी स्लेजकिनको ‘दि जिउइस् सेन्चुरी’ जसले आधुनिक युग यहुदीको युग हो र २० औं शताब्दी पूर्ण रूपमा यहुदी शताब्दी थियो भन्ने तर्क गरेको छ। इशा बर्लिनको ‘पर्सनल इम्प्रेसन्स’ पनि पढेँ। उनका निबन्ध उनले देखेका २० औं शताब्दीका व्यक्तित्वबारे बोल्छन्। त्यसमा उनले भर्जिनिया उल्फको डरलाग्दो साहित्य चेतना र उनले १९४५ को साँझ बम खसिरहेको लिनगार्डका बारेमा गरेको वर्णनबारे लेखिएका शब्दले समातिराखे।

त्यसमा रसियन कवि आना आक्माटोभाले उनको ५० वर्षको उमेर र त्यो उमेरमा उनले भोगेको एक्लोपना र विक्षिप्तताका साथै सोभियत शासनको चरम मृत्युदण्डको कहानी उल्लेख्य छ। बर्लिन लेख्छन्, ‘लडाइँ सकिएपछि लिनगार्डका लागि एक चिहान बाहेक केही पनि रहेन। त्यस्तो चिहान जहाँ उनका साथी गाडिएका छन्। बताउनै नसकिने उनको जीवनको त्यो क्षण त्यस्तो दर्दनाक थियो, अहिलेसम्म कसैले शब्दमा वर्णन गर्न सकेका छैनन्।’ उनीहरू बिहान ३ वा ४ बजेसम्म बोलिरहेका थिए। त्यो दृश्य टोलस्टोयको वर्णन जस्तै हृदयविदारक छ।

गएको साता मात्रै मैले दुई जना साथी इडना ओब्रायनले लेखेको जेम्स जोयसको बिलक्षण आत्मकथा र मेरो दिवंगत साथी आर बि किताजले लेखेको ‘कन्फेसन्स अफ ओल्ड जिविस पेन्टर’ पढेँ। मेरो धेरै प्रिय साथीहरू दिवंगत भइसकेका छन्। तीमध्ये धेरै उपन्यासकार थिए। म उनीहरूले आज पनि इमेलमा कुनै किताब पठाउँछन् कि भनेर सम्झिन्छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.