यार– नयनराज पाण्डेको वास्तविक भोगाइ

तस्बिरः नारायण महर्जन/सेतोपाटी


तीन दशकको साहित्य यात्रामा नयनराज पाण्डेले आख्यान लेखे। कथा, पटकथा, उपन्यास र केही चलचित्र लेखनका माध्यमबाट सयौं पात्र खडा गरे। यसपालि भने आफैं पात्र बनेका छन्।

शनिबार विमोचन हुने नयनको नयाँ किताब ‘यार’ बाल्यकालदेखिका २५ थान संस्मरण संगालो हो। नजिकका मित्रसँग जोडिएका स-साना घटनामा केन्द्रित रहेर यो संस्मरण लेखेको उनी बताउँछन्।

झट्ट पढ्दा कथाजस्ता लाग्ने यी संस्मरणलाई उनी आफ्नो जीवनका वास्तविक परिदृश्य मान्छ्न्, जसले उनलाई प्रभावित पारे।

कसरी लेखियो संस्मरण?

सुरुमै संस्मरण या आत्मपरक लेख लेख्न हुन्न भन्ने पाण्डेको मान्यता छ। उनका अनुसार व्यक्तिले सुरुमा कल्पनाशीलता प्रयोग गरेर लेख्न सिक्नुपर्छ। ‘जीवनको कुनै कालखण्डमा गएर भने नितान्त आफ्ना अनुभव लेख्नुपर्छ,’ उनले सेतोपाटीसँग भने।

‘अहिले आत्मकथा लेख्ने क्रम बढेको छ। धेरैले यसलाई त्यही रुपमा लिन पनि सक्लान्। तर ‘यार’ मेरो आत्मकथा होइन,’ उनले भने, ‘यो त मेरा साथीसँगका सम्बन्ध र घटनाको सूक्ष्म विस्तार हो।’

‘जीवनको यो समयमा आएर आफूले देखे–भोगेका प्रत्यक्ष कुरा भन्नुपर्छ भन्ने लाग्यो। र, यी कुरा सोझै भन्नुपर्छ,’ उनले भने। यसैकारण संस्मरण लेखिएको उनी बताउँछन्।

एउटा मान्छेको जीवनमा धेरै साथी बन्न सक्छन्। अझ लेखक, कलाकारका त झन् धेरै हुन्छन्। पाण्डेका जीवनमा पनि धेरै साथी भए। मित्रताको परिधि ठूलो भयो।

उनले विगत सम्झिए–

‘काठमाडौं आउनासाथ मेरा आफूभन्दा २०/३० वर्ष जेठा साथी भए। ध्रुवचन्द्र गौतम, शैलेन्द्र साकार, विनोद दीक्षित, ध्रुव सापकोटा लगायत अग्रज लेखक र लेखन बाहिरका व्यक्तिसँग मेरो मित्रवत् सम्बन्ध भयो। यी सम्बन्धमा घटना–दुर्घटना हुन्थे। कहिले मलाई कमजोर गर्ने घटना हुन्थे त कहिले आशा जगाउने। ती कुरालाई मैले आफूमा सीमित राखेको थिएँ। अब भन्नुपर्छ भन्ने लागेर नै ‘यार’ लेखेको हुँ।’

उनका अनुसार ‘यार’ को एउटा विशेषता छ। यसमा उनका साथीसँगका संस्मरण मात्र छन्। ‘मैले यसमा सम्बन्ध व्याख्या गरेको छैन। सम्बन्धले प्रभावित गरेका स-साना कुरा कथा शैलीमा भनेको छु,’ उनले भने।

‘कुनै जमानामा मैले कसैसित प्रेम गरेँ। बाल्यकालमा रमाइला घटना अनेकौं भए। यी सबैलाई मैले इमानदार भएर लेखेको छु,’ उनले भने।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

यार– वास्तविक भोगाइ, कथात्मक शैली

विद्यार्थीकालदेखि नै पाण्डेको जीवनमा साहित्य जोडियो। त्यसपछि छोटो समयमै उनी राष्ट्रिय रुपमै प्रकाशित हुन थाले। उनको साहित्य यात्राले तीन दशक पूरा गरेको छ। यो अवधिमा उनी सँगसँगै यात्रा गर्ने कोही छ भने, त्यो कथा नै हो।

‘कथा नै जीवनको पर्याय बनिसकेको छ। उपन्यास, चलचित्र, लेख वा विशुद्ध कहानी जे लेख्दा पनि कथा जोडिने नै भयो,’ उनले भने, ‘संसारमा सबै कथा काल्पनिक हुँदैनन्। हामीले नदेखेका, नभोगेका, नसुनेका कुरा कल्पना गर्नसमेत सकिन्न जस्तो लाग्छ। त्यही भएर मेरा कथा यथार्थ लागून् भन्ने लाग्छ। पाठकलाई कथा वास्तविक नै हो कि भन्ने समेत लाग्छ। यसैले मेले यो वास्तविक संस्मरणलाई पनि कथात्मक बनाएको छु,’ उनले भने।

पाठकलाई ‘यार’ पढ्दा पनि कथा पढेझैं लागोस् भन्ने उनको चाहना छ।

वास्तविक जीवन र कथाका सम्बन्धमा उनको आफ्नै मत छ। भन्छन्, ‘कथा भनेको सपाट बयान होइन। कथामा हामी परिवेश स्पष्ट गर्छौं, पात्र बलियो बनाउन चरित्र प्रदान गर्छौं। संस्मरणमा पनि त्यही हो। सपाट बयान दियौं भने त्यो रुचिकर हुँदैन। अलिकति नाटकीय घटनासँग जोडेर प्रस्तुत गर्यो भने रुचिकर हुन्छ।’

काल्पनिकता, वास्तविकता, अनुभव र संस्मरणको आ–आफ्नै महत्व हुने उनी बताउँछन्। पाण्डेका अनुसार उनका कथामा अनूभूति भए पनि अनुभव छैनन्। अरुको अनुभव लिएर कथा लेख्न सकिन्छ तर त्यसमा उत्ति सजीवता हुँदैन। यसैले कथा र संस्मरणमा फरक छ।

‘संस्मरणमा मैले अनुभव लेखेको छु। कथा लेखनले संस्मरण लेख्न मद्दत पुर्याएको छ। लेखकले लेख्ने बेला सोच्ने प्रक्रिया एउटै हुन्छ। एक विधाले अर्कोलाई हस्तक्षेप गर्ने कुरा स्वाभाविक हो,’ उनले भने, ‘यार पढेपछि मेरो स्वभाव, आनीबानी, भावुकता, आवेग सबै बुझ्न सकिन्छ।’

लेखकसँगका सम्झना

लेखन यात्रामा केही तीता क्षण भए पनि उनी आफ्नो तीन दशकको यात्रा सुखद मान्छन्। साहित्यसँगको यो सम्बन्ध अझै रहोस् भन्ने उनको चाहना छ।

हरेक लेखकको उसका समकालीन तथा अग्रज लेखकसँगको कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ। उनले कवि श्यामलसँगको घटना सम्झिए। श्यामलले उनको उपन्यास ‘उलार’ मा भूमिका लेखेका छन् र त्यसको आवरण पनि बनाएका छन्।

‘श्यामल मेरो दाजुसरह भए पनि मैले कुनैबेला दुर्व्यवहार गरेको रहेछु,’ उनले भने, ‘गोविन्द वर्तमानसँग पनि त्यस्तै गरेछु। मलाई यी सबै बोध भएपछि नै आफूलाई समीक्षा गर्ने मौका पाएँ।’

यारमा उनले लेखक राजेन्द्र पराजुली, नारायण ढकाल, पुरुषोत्तम सुवेदीसँगका सम्झना लेखेका छन्।

‘यारका संस्मरण लेख्दै गर्दा मैले बल्ल बुझेँ। दुर्गुण मित्रमा मात्र होइन, आफूभित्रै पनि कति रहेछन्। अनेक कमजोरी रहेछन्,’ उनले भने। त्यसैले उनलाई यो किताब आफ्नै कमजोरी नियाल्ने ऐनाजस्तो पनि लाग्छ।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

मित्रताः एक अविछिन्न प्रक्रिया

मित्रसँगको संगतले मान्छेलाई प्रभावित गर्छ। पाण्डे मित्रतालाई एक अविछिन्न प्रक्रिया मान्छन्।

‘जीवन एउटा यात्रा न हो। कोही आउँछ, कोही छुट्छ,’ उनले मित्रता बुझाउँदै भने, ‘हरेका दिन नयाँ साथी बनिरहेका हुन्छन्। यसमा सबै मित्रता स्मरणीय नहुन सक्छ। मित्रताका सबै कुरा एकैसाथ लेखिहाल्नु पर्दैन। विषय परिपक्व हुन समय लाग्छ। लेख्नुपर्ने आवश्यकता बोध भए म फेरि अन्य साथीसँगका संस्मरण लेख्ने नै छु। अर्को ‘यार’ पनि आउन सक्छ।’

‘विगत लेखेपछि कतिपय साथीसँगको सम्बन्ध बिग्रिन्छ नि?’

‘बिग्रिँदैन,’ ढुक्क हुँदै उनले भने, ‘मेरा कति साथीले त किताबै पढ्दैनन्। साहित्यकार साथीहरूले पढे भने पनि उहाँहरूलाई त्यो स्वीकार्य हुनेछ।’

‘संस्मरणमा लेखक इमानदार हुनुपर्छ भन्ने मत साथीहरूको पनि छ। यसर्थ मेरो इमानदारी उहाँहरूले स्वीकार्नुहुन्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.