‘म फेसनका निम्ति लेख्दिनँ’

तस्बिरः ओझाको फेसबुकबाट।


अन्तर्वार्ता

आख्यान लेखन पछिल्लो दशकमा निकै फस्टाएको छ। युवा लेखक विवेक ओझाले आफ्नो पहिलो उपन्यास ‘ऐलानी’ ल्याएका छन्।

‘ऐलानी’मा उनले पश्चिम नेपालमा बसोबास गर्ने वादी समुदायका महिलाको मार्मिक कथा प्रस्तुत गरेका छन्। युवा लेखक भइकन पनि समाजको वर्गसङ्घर्ष र गहिरो वेदना लेख्न प्रयत्न गरेका ओझाका यसअघि दुई पुस्तक प्रकाशित छन्।

उनै आख्यानकार विवेक ओझासँग ‘ऐलानी’ र समकालीन लेखनबारे सेतोपाटीका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं।  

कुनै व्यक्ति वा समुदायको पीडा उजागर गरेर उपन्यास लेख्नु फेसनजस्तो बनेको छ, तपाईंले  ऐलानीमा पनि त्यही क्रम दोहोर्याउनुभएको हो?

उपन्यास जस्तो गहन कुरा फेसनका लागि पक्कै लेखिँदैन। र लेखिनु पनि हुँदैन। म त्यस्तो धृष्टता कदापी गर्दिनँ। किनकि म त लेखनमै जिउन खोजिरहेको मान्छे। म किन जिवनसँग खेलवाड गरुँला र? मैले त यस्तो समुदायको उठान गरेको छु जो पुस्तौंदेखि अँध्यारो जिन्दगी बाँच्न विवश छन्।

पुस्तौंदेखि शरीर बेचेर जीविकोपार्जन गर्ने समाजको कथा हो यो। यो मैले आत्मादेखि नै लेखेको हुँ। यसरी पीडित र दमित स्वर कुनै लेखकले उजागर गर्छ भने त्योजस्तो सुन्दर कुरा सायदै होला। यसरी समाजका कुरुप पक्षहरू खुल्दै जानु फेसन हो भनेपनि यो अझ फैलिनुपर्छ। किनकि हामीले हाम्रै समाजको वास्तविक अनुहार हेर्न जरुरी छ। हामीले सोचेको भन्दा निकै दयनीय छ हाम्रो समाज। हामीले यो यथार्थ बोध गर्न जरुरी छ।

ऐलानी’ मा तपाईंले केन्द्रीय पात्र वा नायकत्व भङ्ग गर्ने प्रयत्न गर्नुभएको छ, यसले तपाईंको कथालाई लामो समयसम्म स्मरणीय बनाउन सक्ला र?

मैले समाजको चित्र देखाउने प्रयास गरेको हुँ। कुनै समाजको चित्र देखाउँदा बढी पात्रहरू देखिनु स्वभाविक नै हो। यद्यपि कुनै न कुनै पात्रको नायकत्व कथामा हुन्छ नै। यसमा पनि फूलमाया र मुखिया प्रमुख पात्र छन्। यी दुई पात्रसँग जोडिएर अन्य पात्रहरू आउँछन् जसले समाजको रुपरेखा कोर्दै जान्छ। यसका अलावा वसन्ती र ‘म’ पात्र सहायक पात्र हुन जसले बदलिँदो समाज र पुस्ता पुस्ताबीचको भिन्नताको तुलना गराउँछन्। उस्तै विद्यमान समस्या उजागर गर्छन्। मलाई लाग्छ यो पढेपछि समाजको एकखाले चित्र आँखामा जरुर नाच्ने छ। र, बस्तीसँगै जोडिएर त्यहाँका पात्रहरु बस्तीमा लुकामारी खेल्नेछन्। तपाईंको प्रश्नलाई समर्थन गरेर हेर्ने हो भने सिङ्गो समाज देखाउन धेरै मेहेनत गर्नुपर्यो। म अहिले एकदम सन्तुष्ट छु। पाठकलाई सन्तुष्टि दिन कति सफल भएँ त्यो पाठकले छुट्याउने छन्। अहिलेसम्मको प्रतिक्रिया हेर्दा पाठक असन्तुष्ट भएको देख्नु परेको छैन।

उपन्यासमा होस् वा  छोटो कथामा, कहानीको अन्त्य पात्रको जीवनको कुनै अध्यायको समाप्तीसँगै मात्र हुन्छ, तपाईंको उपन्यासमा फूलमायाको कहानी अपुरो जस्तो देखिन्छ नि किन?

केही कुरा पाठकलाई समेत छोडिदिनुपर्छ भन्ने मान्यता राख्छु। पढिसकेर सम्पूर्ण उत्सुकता र मर्महरू सकिनु हुँदैन। पाठकको पनि त दिमाग खेल्नुपर्यो। पाठकको दिमागमा कम्तिमा केहि कुराहरु खेलुन्। यस्तो भयो होला–  उस्तो भयो होला। वा, यस्तो हुनुपर्ने–  त्यस्तो हुनुपर्ने ।….अँ, धेरैको प्रतिक्रिया आएको छ, यसको सिक्वेल पढ्न चाहन्छौं। यो कुराले लाग्यो कि पाठकको दिमाग कथा वरिपरि खेलाउन सफल भएँ। यसले मलाई खुसी बनाएको छ।

उपन्यासको बीचमा देखा पर्ने पात्र कम्मानले गाउँको  कुवामा पानी छोएकाले उसलाई उपल्ला जातकाहरूले रुखमा बाँधेर सार्वजनिक रुपमै ढुङ्गाले हानीहानी मार्छन्, के त्यसबेला साँच्चै नै समाज त्यस्तो थियो?

हामीकहाँ अहिले पनि यस्ता खालका समाचारहरू पढ्नुपर्ने बाध्यता छ। आजभोलि पनि कसैलाई बोक्सीको नाउँमा,  कसैलाई जातको नाउँमा यातना दिएको सुन्नमा आइरहन्छ। केही वर्ष यताका समाचार मात्र संकलन गर्ने हो भने मोटै पुस्तक बन्छ। उपन्यासमा उल्लेखित घटना त दशकौं पहिलेको कुरा हो। त्योबेला झन् समाजको अवस्था कति दयनीय थियो होला? भेदभावको सीमा निकै चरम स्थितिमा थियो।

वादी समुदायका महिलाको वर्तमान अवस्था चाहिँ के देख्नुभएको छ तपाईंले? के कथामा भनिएको जस्तै विकराल स्थिति त्यहाँ छ?

मैले जति लेखेँ सबै यथार्थको धरातलमा उभिएर गरेको कोसिस हो। समाजको यथार्थ चित्र उपन्यासमा लेखिएको भन्दा भयाभव छ। त्यो सम्पूर्ण दुःख एउटा उपन्यासमा अट्न सक्दैन। कुनै पनि कुरा कल्पनाकै भरमा लेखिएको छैन। फिक्सनमा गरिने मलजलबाहेक अरु कुनै कुरा कस्मेटिक छैन। बरु मसिनामसिना भइरहेका परिवर्तनहरू समेत उपन्यासमा औंल्याउने कोसिस गरेको छु। उनीहरुको जीवनशैली छुट्टै देखिनसक्छ तर बाध्यता उस्तै छ।

तपाईं युवा पुस्ताको ‘नोटेड’ बन्दै गरेको लेखक, तपाईंले यस उपन्यासमा लेखेको समय र गहिराइ, तपाईंलाई मन पराउने पुस्ताले बुझ्न सक्लान्?

उसैपनि आजको पुस्ता धेरै बाठो छ। उपन्यास पनि सायद त्यस्तो जटिल छैन। गम्भीर कुरा समेत सरल तरिकाले प्रस्तुत कोसिस गरेको छु। भाषा र कथा सरल नै छ। समय,  दर्शन र यसको गहिराई बुझ्ने सबैको अलगअलग विशेषता हुन्छ। त्यो पाठकमा नै भरपर्ने कुरा हो। यो पढ्ने पाठकले कम्तिमा बस्तीको पीडा अवश्थ बुझ्नुहुनेछ भन्ने विश्वास छ।

तपाईंलाई लेखक हुने अभिप्सा कसरी जागेको हो, लेखन रहरले बढी हुन्छ वा कुनै परिस्थितिले?

म सानै थिएँ। दाजुले लेखेको अनुसार सिको गर्दै गएँ। विद्यालयमा विभिन्न कार्यक्रममा भाग लिँदै गएँ। यसले सबैको ध्यान र माया बटुलेको महशुस हुन्थ्यो। त्यो मेरो रहर थियो। बिस्तारै रहर लतमा बदलिएको रहेछ, त्यो धेरैपछि आएर मात्र बोध भएको थियो। त्यसले ममा गहिरो जरा गाडिसकेको रहेछ। प्रत्येक लेखकको लेखनप्रतिको धारणा अलग हुनसक्छ। अझ भन्नुपर्दा लेखन जसरी पनि सुरु हुनसक्छ। रहर, परिस्थिति वा अन्य केही। मेरो हकमा रहरबाटै सुरु भएको रहेछ। यो उत्तर लेख्दै गर्दा महशुस भयो।

तपाईंको शैली, भाषाको आञ्चलिकता र कथाको बुनोट अहिलेका केही नाम चलेका नयाँ पुस्ताका स्थापित लेखकसँग मिल्दोजुल्दो देखिन सक्छ या सक्दैन, यो कति सत्य हो?

हरेक लेखक फरक खालको देखिन खोजिरहन्छ। फरक लेख्न खोजिरहन्छ  तपाईँले सोधेजस्तो महसुस भएको भए यो उपन्यास बजारमा आउने नै थिएन। म यो कुरामा ढुक्क छु कि मैले आफ्नो कुरा आफ्नै ढङ्गले लेखेको छु। यसलाई आउँदा दिनमा तिखार्दै लाने छु। जहाँसम्म आञ्चलिकताको सवाल छ त्यो त भेग र समाज मिलेपछि मिल्छ। आञ्चलिकताको प्रयोग गर्नु नक्कल होईन । यो त समाज र पात्रको स्पष्ट चित्र कोर्न मद्दत पुर्याउने रङ हो।

लेखनमा वैचारिकता केन्द्रमा हुन आवश्यक छ कि छैन, त्यो अहिलेको समयको लेखनमा कसरी आइरहेको छ?

पात्रहरू उभिनु कुनै न कुनै विचार उभिनु हो। म पात्रको वैचारिकतामा विश्वास राख्छु। तर, लेखक हावी भई कुनै निश्चित विचारको वकालत गर्नु लज्जास्पद रहन्छ। पात्रको चरित्र अनुसारको विचार आवश्यक रहन्छ। एउटै उपन्यासमा थरिथरि वैचारिक चेत भएका पात्रहरु हुन सक्छन् जसरी एउटै समाजभित्र थरिथरि विचारका मनुजहरू बस्छन्।

ऐलानी लेख्ने क्रममा भएका केही रोचक प्रसंग वा घटनाको स्मरण गर्नुहोस् न?

लेख्ने क्रममा मलाई चिया/कफी अधिक चाहिन्छ। पात्रहरु खेलाउँदै चिया बनाइरहँदा नुन समेत हालेको छु। उपन्यासमा श्रीपेच लगाएको सन्यासीको प्रसंग ‘म’ पात्रले सपनामा देख्छ। त्यो वास्तवमै मैले सपनामै देखेको हुँ। चौबिसै घन्टा जुन कुरा दिमागमा खेल्छ त्यही कुरा सपना देखिनु अनौठो होइन। तर पनि त्यो सपना अनौठो संयोग झैं लाग्छ। सायद त्यसैले त्यो सपनाको भाग मलाई खुबै मनपर्छ। याद आइरहन्छ। अरु त खासै त्यस्तो साट्न लायक रोचक प्रसंग छैनन्।

अहिलेको (समकालीन) आख्यान लेखनमा देखिएका समस्या क-के हुन्? अथवा आख्यान लेखन लहडमा चलिरहेको हो र?

पुनरावृत्ति समकालीन आख्यानको समस्या नै हो जस्तो लाग्छ। पाठक नयाँ स्वाद चाहन्छ। तर, बजारमा त्यो कुराको अभाव झल्किन्छ। अरु विधाभन्दा आख्यान लेख्नेको संख्या बढेको छ। म यसलाई बहुतै सुखद रुपमा लिन्छु। किनकि, यसले साहित्यको श्रीवृद्धि नै गर्छ। जति बढी लेखकले आख्यान वा अरु कुनै विधामा कलम चलाउँछन् त्यति नै बढी उत्कृष्ट पुस्तक निस्किने सम्भाव्यता रहन्छ। तर, लेखक सधैँ लेखनमा गम्भीर हुनुपर्छ। लेखक गम्भीर नभएसम्म गम्भीर साहित्य जन्मिँदैन।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.