‘फोटोग्राफीले हरेकपल्ट नयाँ कथा भन्नुपर्छ’


गत वर्ष फायडन प्रेससँगको पुस्तक हस्ताक्षर कार्यक्रममा मैले स्टिभ मकरीलाई भेट्ने मौका पाएँ। हामीले छोटो कुरा गर्‍यौं र उनले म र मेरी गर्ल्फ्रेन्डका निम्ति किताबमा हस्ताक्षर गरिदिए। अलि धेरैबेर बोल्न पाएको भए झनै खुसी हुन्थेँ तर फ्यानको लामो लाइन थियो। त्यसपछि मैले स्टिभको स्टुडियोमा पत्र लेखेँ र अन्तर्वार्ता लिन इच्छुक रहेको बताएँ। जवाफ आएन। मैले केही फलोअप इमेल पनि पठाएँ तर पनि जवाफ नआएपछि आशा मर्यो। उनी व्यस्त मानिस र म त्यस्तो ठूलो प्रकाशक पनि हैन। त्यसैले जवाफ नआउनु सामान्य नै मानेँ।

यो घटनाको केही महिनापछि भने अचम्म भयो। मेरो वेबसाइटबाट लिंक अलर्ट आयो। उनको पुस्तक हस्ताक्षर कार्यक्रमबारे मेरो लेख उनको वेबसाइटमा छापिएको रहेछ। खुसीको सीमा रहेन। त्यसपछि अन्तिम पल्ट प्रयास गर्छु भन्ने सोचेर म उनको स्टुडियो गएँ। उनको सहयोगीले खुसीसाथ मेरो अन्तर्वार्ताको मिति निश्चित गरिदिए। भाग्यको खेल भन्ने कि प्रतीक्षाको फल मैले छुट्याउन सकिनँ।

स्टिभले म सँग अन्तर्वार्ता दिन मानेका थिए। खुसीको कुरा त्यही थियो।

उनीहरूले मलाई सुरुमै सचेत गराए। स्टिभसँग समय अत्यन्तै कम थियो। उनी एक महिने अर्को एसियन टुर जाने तयारीमा थिए। दिन नजिकिँदै गर्दा उनले सकेसम्म फोनमा कुरा गर्न चाहेको खबर आयो। म भने भेटेर कुरा गर्न चाहन्थेँ। म प्राय फेस टु फेस इन्टर्भ्यु राम्रो गर्थेँ। त्यो अवस्थामा मैले उनीसँग पाएको थोरै टुक्रो समय नगुमाउने निर्णय गरेँ।

तलका प्रश्नहरूमा म अलिक फरक स्वरूप दिन चाहन्छु किनकि म पत्रकार हैन। स्टिभ समयमा बाँधिएका थिए भन्ने जानेर पनि मैले प्रश्न सामान्य र सिधा बनाउनुपर्थ्यो। फोनमा उता बोलिरहेको मानिस कुन बेला फोन राख्ने मुडमा जान सक्छ भन्ने थाहा हुँदैन। त्यसैले यो अन्तर्वार्ता यी तीन चरणमा तयार पारिएको छ: १. मेरो प्रश्न २. स्टिभको उत्तर र ३. स्टिभको उत्तर माथिको मेरो धारणा।

स्टिभ मकरी

हेनरी कार्टियर ब्रेसनको ठूलो प्रभाव तपाईंमा थियो। तपाईंले कहिलेबाट म्याग्नम फोटोमा उनी र उनकी श्रीमती मार्टिन फ्राङ्कसँग काम गर्न थाल्नुभयो? प्रशंसकको रूपमा हैन एक सहकर्मीको रूपमा उनी कस्ता मानिस हुन्?

उनी एकदमै अद्भुत फोटोग्राफर हुन्। हामी उनका काम र फोटो हेरेर प्रशंसा गर्छौं। उनले फोटोग्राफी जगतमा ६० वर्षभन्दा धेरै समय प्रभाव पारे। तर जब म म्यागनम गएँ उनले फोटोग्राफी गर्न छोडिसकेका थिए। उनी त्योबेला स्केच तथा पेन्टिङ गर्न रूचाउँथे। एक व्यक्तिको रूपमा उनी असल हुन्। पेरिस हुँदा म उनीहरूको घर गएको छु। हामी राम्रा साथी भयौं। तर प्रभाव भने उनीसँगको कुराकानीलेभन्दा पनि उनले खिचेका फोटोलेनै बढी पार्थे।

कार्टियर ब्रेसनले स्टिभ लगायत लगभग सबैलाई प्रभावित पारेका छन्। मैले आफूलाई प्रभावित पार्ने त्यस्तो कुनै व्यक्तिसँग सँगै काम गर्न पाएको छैन। कहिल्यै मौका जुरेन। तर मैले धेरै व्यक्तिहरू भेटेँ जसले ठूलो प्रभाव पारे। धेरै जसो भेटका अनुभव सकारात्मक थिए। मैले उनीहरूको कामबारे नयाँ तरिकाले जान्न र बुझ्न पाउँथेँ। ती भेट विशेष हुन्थे। तर अरू समयमा भने खासै सकारात्मक हुँदैन थियो। मैले धेरै त्यस्ता आफ्नो आइडल फोटोग्राफर भेटेका साथीहरूबाट सुनेको छु जो नराम्रो अनुभव बोकेर फर्किएका छन्। कार्टियर ब्रेसनले स्टिभको काममा फरक पारे कि पारेनन् होला? सायद पारेनन्। मतलब म अन्तर्वार्तालाई दमदार सुरुआत दिन असफल भएँ। आशा गरौँ अर्को प्रश्नमा केही सुधार होला।

आफूले खिचेको त्यस्तो कुनै फोटो संझिनुहुन्छ जसलाई खिचेपछि तपाईंलाई अगाडि जानै नसक्नेगरी असर गरेको छ?

त्यस्तो कुनै एक तस्बिर वा समयअवधि छैन जसले त्यो बिन्दुबाट अगाडि जान मलाई रोकेको होस्। मेरो काममा परिवर्तन नआएका हैनन् तर बिस्तारै आएका छन्। अनगिन्ती प्रोजेक्ट र वर्षौ पर्खिएर आएका छन्। आफ्नै खाले आवश्यकता बनेर आएका छन्। म कुनै एक फोटोलाई देखाएर त्यसपछि सबैथोक परिवर्तन भयो भन्ने अवस्थामा छैन।

तपाईंहरूलाई के लाग्छ थाहा छैन तर मलाई लाग्छ फोटोग्राफी दैवी शक्तिको शृंखला बनेर आएको हुन्छ। जब खिचिन्छ त्यहाँ राम्रा र नराम्रा दुवै खाले फोटा आँउछन्। कम्प्युटरमा हालेर तलमाथि हेर्दै गर्दा त्यस्ता तत्व पनि फोटोमा देखिन्छन् जुन खिच्ने बेलामा कतै उपस्थित हुँदैनन्। त्यहाँ केही यस्ता तस्बिर हुन्छन् जो उफ्रिएर बोलाउँदै भन्छन् ‘हो यस्तरी खिच¸ यसले काम गर्छ’ वा ‘यो खत्तम भयो अब यस्तो गल्ती नगर’। अगाडि बढ्दै गर्दा फोटो पछिल्लो पल्टभन्दा बलियो हुँदै जान्छन्। सायद यही कारण होला धेरै चर्चित फोटोग्राफर भन्छन् ‘मेरो उत्कृष्ट फोटो अब आउनेवाला छ।’

स्टिभको लागि यी महशुस एउटै तस्बिर पछि आँउदैनन्। उनको काम पनि समयसँगै परिष्कृत भइरहेका छन्। त्यो विकासक्रमले एक तहको स्वयम् सचेतना पक्कै पनि माग्छ किनकि त्यसले आउने युवा फोटोग्राफरलाई फाइदा पुर्याउनेछ। आफ्नो विकासको गतिलाई त बढाउन सकिन्छ तर सफल र उत्कृष्ट फोटोग्राफर बन्न कुनै पनि सूत्र छैन। उनको काममा आएका परिवर्तन कम्तीमा पनि १० लाखभन्दा धेरै क्लिक पछाडि देखिएका हुन्। अहिलेलाई ती रहस्यकै गर्भमा जाने भए। अन्तर्वार्ताको समय हरेक मिनेटमा चिप्लिरहेको छ। २ प्रश्न सकिँदा म २ का विरुद्ध ० अङ्कमा छु। सुधार देखिएको छैन।

तपाईंले यत्तिका वर्ष जसरी काम गर्नुभयो त्यसमा सबैभन्दा ठूलो मानसिक परिवर्तन कहिले आयो?

म अहिले पनि पहिला फोटो खिच्नेभन्दा फरक तरिकाले खिच्दिनँ। म ठाँउहरु भ्रमण गर्छु¸ स्थानीयसँग काम गर्छु¸ र के देखा पर्छ हेर्छु। यो तरिका वर्षौदेखि स्थिर छ। जब म कुनै ठाँउमा दोस्रोपल्ट जान्छु, मान्छेहरूसँग परिचयले सहयोग त पक्कै पुग्छ। तर म जहाँ पनि काम गर्न सक्छु। मेरो फोटोग्राफी टेक्निकको कुरा गर्ने हो भने म नियममा बस्न मन पराउँछु। चिजहरू बारम्बार परिवर्तन भइरहने ठाउँमा म प्रायः प्रकाश¸ फर्मेट र डिजाइनमा विशेष ध्यान दिन्छु जसलाई मैले विगतमा छुटाएको हुन सक्छु। आजकाल रिफ्लेक्ससको हकमा भने पहिलाभन्दा धेरै सजगता अपनाउन थालेको छु।

जब सडकमा फोटो खिचिरहिएको हुन्छ त्यसबेला फुर्सद हुन्छ। त्यसैबीचमा म यात्रा¸ जीवन र अरू धेरै कुरा के कस्तो गइरहेको छ भन्ने बारे सोच्छु। सडकमा फोटो खिच्नु धेरै त मानसिक खेल हो र स्टिभले त्यो खेल कसरी खेल्छन् भन्ने म जान्न चाहन्थेँ। त्यो यात्रा समयलाई कसरी लिन्छन् बुझ्न चाहन्थेँ। यस्तो देखिन्छ कि उनले आफ्नो करियर स्थानीय समुदायका स्रोत प्रयोग गरेर सुरु गरे। त्यसले राम्रो काम गरेको छ र उनी त्यसलाई राम्रोसँग व्यवस्था पनि गरिरहेका छन्। यसले उनी एउटै ठाउँ पटकपटक किन घुमिरहन्छन् भन्ने पनि बताउँछ। सायद हरेकपल्ट त्यो ठाँउले फरक फरक अनुहार उनलाई देखाउँदो हो।

जब उनले कुनै एक तस्बिरले उनको आगामी यात्रा धेरै प्रभावित छैन भने¸ मैले बुझेँ कि उनी आफ्नो सम्पर्क राम्रोसँग अध्ययन गर्छन्। हामी जस्तै उनले पनि धेरै सटहरू गुमाएका होलान्, त्यसबाट सिकेका छन्। प्रकाश¸ आकार¸ डिजाइन तथा टाइमिङ यस्ता चिज हुन् जसलाई सन्तुलनमा राखेर तस्बिर खिच्न सबैलाई गाह्रो छ। त्यसैले त म्यागनम तथा नेसनल जियोग्राफिको लागि फोटो खिचिसकेका स्टिभ पनि आफ्नो रिफ्लेक्सेसमा सुधार गर्न चाहेको बताउँछन्। जति नै ठूलो सफलतामा पुगेपनि सुधार गर्ने ठाउँ जहिल्यै पनि रहन्छ।

अफगानिस्तान जस्तो ठाँउ जहाँ ३० वर्ष पहिला जस्तो थियो त्योभन्दा खराब अवस्था अहिले छ, के तपाईंलाई लाग्छ कि तस्बिरले कुनै क्षेत्र वा देशलाई सहयोग गर्न सक्छन्? अथवा के फोटोग्राफरसँग आफ्नो सुरुआती वर्षमा भएका यस्ता मिथक समय बित्तै जाँदा हराउँदै जान्छन्?

सम्भावना हुन सक्ला तर हुन्छ नै भन्ने छैन। फोटोग्राफरको रूपमा हामी सानो सानो परिवर्तन भने गर्न सक्छौं। अप्रत्यक्ष रूपमै भए पनि फोटोग्राफीले केही फरक पक्कै पार्न सक्छ। जनताको सोचाइमा असर पार्ने होस् वा कुनै चिजलाई हेर्ने व्यवहारमा प्रभाव पार्ने। यसले कुनै घटनाको ‘भिज्युअल एक्सपोजर’ दिन सक्छ। जुन नखिचिएमा हराउँथयो वा बिर्सिइन्थ्यो। तर यो नीति नियम बनाउन सक्ने विधा हैन। यसले कसैको दु:ख र पीडा कम गर्न पनि सक्दैन। यसले कुनै अभियान सुरु गर्न सहयोग गर्न सक्छ। यो हिमशिखरको सानो अंश जस्तै मात्र हो।

डायना अर्वस ब्रुस डेभिडसन जस्ता व्यक्तिले खोजी गरेको ‘दि सर्कस’ थिम नै हेरौँ न। उनीहरूले सयौं वर्षसम्म यसमै अन्वेषण गरे। कुनै काम गर्नुभन्दा पहिला ‘के गर्न लागेको?’ भनेर आफूले आफैंलाई प्रश्न गर्नुपर्छ। यदि कुनै थिममा काम गर्न गइरहेको हो भने त्यसलाई राम्रो¸ पृथक र सक्कली स्वरूपमा गर्नुपर्छ। अहिलेसम्म आउँदा संसारमा भएका सबै कुरा फोटोमा आइसके। यसबेला नयाँ दृष्टिकोण र सोच लिएर आउनु एकदमै जरुरी छ। हरेक विषयबारेमा बोल्न त्यसबारेमा केही नयाँ कुरा पत्तो लगाउनै पर्छ।

घरबिहिन मानिस वा एड्स कुनै एकलाई लिउँ। यसबारेमा पटकपटक काम भइसकेको छ। यी त्यस्ता विषय हुन् जसलाई भइरहने कथा वा समस्याको रूपमा खिचिनुपर्छ। त्यसैले यहाँ नयाँ कोणबाट काम गर्ने धेरै अवसर छन्। नागरिक अशान्ति वा मानव अधिकार भनेका घटिरहने मुद्धा हुन्। त्यसैले यसमा निरन्तर ध्यान दिइनुपर्छ। यस्ता कुरा पहिला नै खिचिइसकेका छन् भन्नु गलत हो। एड्सको बारेमा यति भइसकेको रहेछ त्यसैले म अब गर्दिनँ भन्नु गलत हो। तपाईंको लागि के महत्त्वपूर्ण छ त्यो हेर्नुपर्छ। तपाईंलाई जे गर्दा आनन्द लाग्छ त्यो क्षेत्रमा काम गर्नुहोस् र त्यो क्षेत्रमा केही नयाँ र महत्त्वपूर्ण काम गरेर आफ्नो आवाज सुनाउनुपर्छ। हामीले यस्ता समस्यामा निरन्तर काम गरिराख्नुपर्छ।

बल्ल मैले सोध्न खोजेको प्रश्न सोधेँ। र स्टिभले मनैबाट उत्तर दिए र यो अन्तर्वार्तालाई थोरै खुकुलो बनाइदिए। फोटोग्राफरको रूपमा मलाई जहिल्यै एक फोटोले कत्तिको फरक पार्छ होला भन्ने प्रश्न मनमा आइरहन्थ्यो। त्यो फरक भनेको के हो? यसको मापन कसरी गर्न सकिएला? वा फोटोग्राफी आफ्नै इच्छाको अन्वेषण हो? यी प्रश्नहरूको उत्तर खोज्न सजिलो छैन। स्टिभले खिचेका प्रभावशाली फोटोको कुरा गर्दा म सोच्छु के उनलाई ‘मैले केही फरक पारेँ’ भन्ने लाग्दो हो? जे होस् हामी उनका फोटोबारे कुरा गर्न सक्छौं। उनका तस्बिरले सचेतना फैलाएका छन् तथा अरू धेरै तरिकाले प्रभाव पारेका छन्। उनले याद नभएको जस्तो गरे पनि उनका फोटोले नरसंहार वा भोकमरी रोकेको छ।

तपाईंले ग्रामिण समुदायभित्र काम गर्नुभएको छ। उनीहरू आफ्नो वरपरको वातावरणसँग गाँसिएका हुन्छन्। न्युयोर्क जस्तो ठाउँमा बस्ने मान्छेले कम्बोडियाको कुनै फार्म हाउसमा बस्नेसँग सिक्नुपर्ने कुराहरू के के हुन् जस्तो लाग्छ?

कम्बोडियाको एउटा कृषकसँग साथीभाइ र परिवारको लागि धेरै समय हुन्छ। उनीहरूसँग खाली समय धेरै हुन्छ, कम तनाव हुन्छ र उनीहरू बनावटी हुँदैनन्। भौतिक चिजभन्दा सम्बन्धलाई महत्त्व दिन्छन्। तपाईं बर्माको ग्रामिण भागमा बस्नुहुन्छ र कसैको घर बस्न जानुहुन्छ भने सजिलै पाउनुहुन्छ। जुन न्युयोर्कमा सम्भव हुँदैन। बर्मामा घरभित्र हेर्छु भन्नुहुन्छ भने देखाउन उनीहरू तयार भैहाल्छन्। उनीहरूको सत्कार अनौठो हुन्छ। त्यही कुरा पश्चिम विश्वमा गर्न खोज्नुहुन्छ भने तपाईं उनीहरूले बोलाएको पुलिसबाट समातिनुहुन्छ। उनीहरूको सोच पूर्णतया फरक छ।

जब म कतै जाँदैछु भन्ने सुनाउँछु, १० जनामा ७ जना मान्छे ‘ओ हो त्यो ठाउँ त खतरा छ। बिचार गर्नु है त्यहाँ त धेरै गरिब बस्छन् नि’ भन्छन्। तर कुनै पनि देशको ग्रामिण समुदाय जति सरल र सहज मान्छे अन्त हुँदैनन्। उनीहरू कति खुला हृदयले स्वागत गर्छन्। मलाई लाग्छ स्टिभले पनि यस्तै अनुभव गरेको हुनुपर्छ। त्यसरी स्वागत गर्ने दुर्गम ठाउँमा काम गर्न जाँदा महिनौं कसरी बित्छन् भन्ने थाहा हुँदैन।

पूर्वका आध्यात्मिक अभ्यासले तपाईंको व्यक्तिगत दर्शनलाई कसरी प्रभाव पारेका छन् त?

म बुद्ध धर्मबाट ज्यादै प्रभावित छु। बुद्ध धर्मका धेरै विशेषतामध्ये मानव र जनावरलाई आफू जस्तै ठानेर माया र दया गर्नु हो। यसले क्षणभंकुरताको पनि कुरा गर्छ जसले मानव जीवनका हरेक पक्ष निरन्तर प्रवाहमा छन् भनेर विश्वास गर्छ। चिजहरू बाँच्छन् र मर्छन्। यो निरन्तर प्रक्रिया हो। हामीले जीवनमा सिक्नैपर्ने सिद्धान्तमा यो पनि पर्छ।

गुम्बा तथा अन्य धार्मिक स्थान पुगेर जहिल्यै पनि केही न केही सिक्न सकिन्छ। यो एकदमै रोमाञ्चक हुन्छ। कुनै अद्भुत ठाउँमा पुगेजस्तो। तिब्बत¸ बर्मा¸ लाओस¸ थाइल्याण्ड जस्ता ठाउँ पुगेर मैले मान्छे कसरी बस्छन् भन्ने सिक्ने मौका पाएँ। यो त्यस्तो कुरा हो जो आफैंले एकपल्ट भोग्नुपर्छ। उनीहरूले त्यो धार्मिक वातावरणमा सरल र सहनशील रूपले बाँचेको जीवन हेरेर मोहित भइन्छ।

गहिराइमा हेर्ने हो भने हरेक धार्मिक अभ्यास सौम्य¸ निर्मल र दयालु छन्। धर्म दुरुपयोग गरेर समाचारमा आउनेहरू कतैका पनि बहुमत हैनन्। मैले विभिन्न देश घुम्दा धेरै फरक मान्छे र धर्मबारेमा बुझ्ने मौका पाएँ। तिनीहरू खासमा धेरै फरक छँदै छैनन्। अभ्यास र चलन्मा भिन्नता छन्¸ सांस्कृतिक परम्परामा भिन्नता छन् तर सकारात्मक पाटो हेर्दा सबै धर्म मान्छेका सहयोगी छन्। मेरो आफ्नै दर्शनमा बुद्ध धर्मले पनि विशेष स्थान ओगट्छ।

बर्मासँग त्यस्तो के छ जसले तपाईंको ध्यान बेलाबेला तानिरहन्छ?

उनीहरूको सौम्यता र लालित्य हेर्न लायक छ। बुद्ध धर्म उनीहरूको जीवनको एक अभिन्न अङ्ग हो। तपाईंले यही कुरा थाइल्याण्ड र लाओस तथा दक्षिण पूर्वी एसियाका सबै देशको हकमा भन्न सक्नुहुन्छ। सबैको भावना र अनुभूति मिल्दोजुल्दो छ।

धेरैले बर्मा भन्नासाथ हिंस्रक सैनिक दमन¸ दबाइएको प्रेस स्वतन्त्रता¸ र मानव अधिकार हनन् जस्ता कुरा सम्झिन्छन्। यो सबै साँचो हो। तर यसको बावजुद पनि स्टिभ जे भन्दैछन् त्यसले के जनाउँछ भने उनी बर्माको बारेमा कम जानिएका पाटो देखाउने प्रयत्न गर्दैछन्।

फिल्मबाट डिजिटलमा जाँदा होस् वा ३५ एमएमबाट मिडियम फर्मेटमा जाँदा, तपाईंको काममा यस्ता खाले प्रविधि परिवर्तनले के कस्तो असर गरेका छन्? कुनै मिडियम वा सिस्टमको कुनै विशेष फाइदा छ जसले तपाईंलाई पहिलाको काममा छुटेका पक्ष समेट्न सघाएको होस्।

तपाईं हातमै क्यामरा राखेर पहिलाभन्दा कम प्रकाशमा पनि काम गर्न सक्नुहुन्छ। कम प्रकाशमा गरिने फोटोग्राफीको अहिले अलग्गै संसार भइसकेको छ जुन फिल्ममा थिएन। सामान्यतया बिहान चाँडै उठेर दिनको प्राकृतिक उज्यालोको फाइदा लिनुपर्छ। फिल्मले जसरी मलाई बिहान बेडबाट चाँडै उठाउँथ्यो¸ त्यो काम डिजिटल फोटोग्राफीले गर्दैन। तर कम प्रकाशमा खिच्ने पाइने कुरा वास्तवमै गज्जब छ। हुन त आफूले खोझेको उज्यालो कुनै न कुनै रूपमा पाउन त सकिहालिन्छ। दिउँसोको सट खिच्नु छ भने पनि म बिहान चाँडै उठ्छु। मलाई बाहिर निस्किएर दिन सुरु भएदेखि अन्त्य भएसम्म हेर्न मनपर्छ।

प्रश्ननै थोरै पाखा लाग्यो। स्टिभले फिल्म तथा डिजिटलमा लामो समय काम गरे र भर्खरै उनी मध्यम फर्मेटको हसेलब्लाड सिस्टममा काम गरिरहेका छन्। हुनसक्छ प्रश्न नै भारी भय। मलाई थाहा छैन, क्यामरा र फर्मेटले स्टिभलाई केही फरक पार्यो कि पारेन। डिजिटलले प्रविधिमा नयाँ ढोका खुलेको सही हो तर उनको काममा ३५ एमएम वा मिडियम फर्मेटले खासै फरक पारेको छैन। यस्तो लाग्छ उनी जुनसुकै क्यामरा हातमा बोकेर आफूले चाहेका काम गर्न सक्छन्।

जब तपाईं कुनै नयाँ देश जानुहुन्छ, जानुभन्दा पहिला गर्ने रिसर्चले त्यो देशको बारेमा जान्न तथा इतिहास बुझ्न सहयोग पुर्याएको छ? त्यस्तो बेला सुरक्षा तपाईंको लागि समस्या हुन्छ कि हुँदैन?

अफगानस्तान जस्तो देशमा जानुभन्दा पहिला मात्र डर लाग्ने हो। त्यहाँ पुगेपछि त्यो केही पनि लाग्दैन। त्यहाँ कुनै पनि कुरा गलत हुन सक्छ भन्ने सोच्न पनि सकिँदैन। तर केही हुँदैनन् नै भन्ने पनि हैन। एक तहको सम्भावित खतरा त रहन्छ नै। अपहरण¸ बम हमला तथा चोरी डकैती नभइरहने पनि हैन। तर मैले भन्न खोजेको चाहिँ जहिल्यै ज्वाला दन्किरहेको देखिने तर भित्री रूपमा सामान्य देखिने देशमा अफगानिस्तान पनि पर्छ।

राम्रा मान्छेसँग काम गर्न जहिल्यै रमाइलो हुन्छ। सबैथोक मिलाउने¸ अनुवाद गर्ने¸ गाइड गर्न ती सबै मान्छेले गर्दा नै हरेक प्रोजेक्ट सफल हुने हो। यदि तपाईं स्थानीय भाषामा कुरा गर्नुहुन्न भने धेरै समस्या आउने निश्चित छ। यदि त्यहाँको चालचलन र परम्परा थाहा छैन भने कसैबाट सहयोग माग्नु उचित हुन्छ।

म जहिल्यै पनि अनुवादकसँग मात्र यात्रा गर्छु। अफगानिस्तान जस्तो देशमा त यो झनै चाहिन्छ। वरपरको अवस्थाबारे नजाने त समस्यामा परिहालिन्छ त।

फोटो प्रोजेक्टको ‘बिहाइन्ड दि सिन’ एकप्रकारले मिथक नै हो। हामीले धेरै पत्रकार विभिन्न देश पुगेर पक्राउ परेका वा मारिएका सुनेका छौं। कहिलेकाँही बाहिरको काम सजिलो र स्वतन्त्र देखिन्छ। तर वर्षौंसम्म सफल काम दिइराख्न स्टिभले स्थानीय स्रोत पर्याप्त प्रयोग गरेका छन्। पर्दापछाडि काम गर्ने ती सबैले ठूलो भूमिका खेलेका छन्। यसले पनि अर्थ राख्छ। समस्या धेरै आउन सक्छन् तर स्थानीयलाई ती समस्या कसरी झेल्ने भन्ने थाहा हुन्छ।

तपाईं के के कुराबाट प्रभावित हुनुहुन्छ?

म सबैबाट प्रभावित हुन्छु। संगीत¸ किताब¸ भ्रमण र अन्य धेरै कुरा। कुनै एक स्रोत त छँदै छैन। ठाउँ घुम्ने र मान्छे भेट्ने कुराले पनि मेरो जीवन र जगतको बुझाइ निर्धारण गरेका छन्। म यस्तो छु।

हामी अन्तरवार्ताको अन्तिममा आइपुग्यौं। यो प्रश्न नै अन्तिम थियो। मलाई लाग्छ स्टिभलाई मैले नसोधेका धेरै कुराले प्रभाव पारेका रहेछन्। मान्छेहरू उनलाई तपाईं  के कुराबाट प्रभावित हुनुहुन्छ भनेर सोध्छन् तर मैले उनले संगीत¸ किताब वा फिल्मबारेमा कुरा गरेको कहिल्यै सुनिनँ। यात्रा जस्तै उनलाई पार्ने प्रभाव पनि बृहत् रहेछन्।

स्टिभले खिचेका केही तस्बिरः

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.