कलाको काम प्रश्न सोध्नु हो, उत्तर दिनु हैन

माउरिज्यो क्याटालान


माउरिज्यो क्याटालान १९६० मा इटालीको पाउडामा जन्मिए। मूर्तिकार हुनुभन्दा पहिला उनले बगैंचाको माली, शवगृहका परिचारक, तथा विभिन्न क्षेत्रमा डिजाइनर भएर काम गरे। उनले सन् १९८० दशकमा इटालीकै फोर्ली भन्ने ठाँउबाट आफ्नो करियर सुरु गरेका हुन्।

उनका कामहरूमा मूर्ति र प्रस्तुती कला दुवै मिसिएको पाइन्छ जसले अस्वीकृतिका विभिन्न विरोधाभासबारे परिष्कृत सोच देखाउँछन्। उनी कला पद्धतिका कमजोरीहरूको पहिचान गर्छन् र विशेषगरी यथार्थतामा मुख्य जोड दिँदै आफू बाँचिरहेको पद्धतिलाई उल्ट्याउन खोज्छन्। उनी वास्तवमा जितिरहेका भए पनि पराजितको भूमिका गर्न मन पराउँछन्।

१९९० दशकमा अन्तर्राष्ट्रिय ख्याती कमाउने थोरै इटालियन कलाकारमध्ये उनी पनि पर्छन्। जसको प्रतिष्ठा त्यसपछि पनि बढिनैरह्यो। संसारका चर्चित र प्रतिष्ठित संग्राहलयमा उनले आफ्नो एकल प्रदर्शनी गरिसकेका छन् जसमा न्यु योर्कको ‘म्युजियम अफ मोर्डन आर्ट’ र लस एन्जलसको ‘म्युजियम अफ कन्टेम्पोररी आर्ट’ पनि पर्छन्।

उनी भेनिस बियानालेका पाँचवटा शृंखलामा सहभागी भइसकेका छन् र रोयल एकेडेमी अफ लण्डनको ‘ह्वाइटने बियानाल मेनोफेस्टा’ र ‘अपाकलिक्स’ जस्ता अरू धेरै सामूहिक प्रदर्शनीमा प्रस्तुत भइसकेका छन्। उनी भन्छन् ‘म अरू मान्छेहरु के भन्छन् भन्ने सुन्न मन पराउँछु। अरू नभए, उनीहरूको बिचार नभए, उनीहरूको कथा नभए कोही कलाकार पनि अस्तित्वमा हुँदैन न तिनको कामनै। त्यसैले कलाकारले आफूलाई भन्दा धेरै अरूलाई सुन्नुपर्छ।

अवकास लिएको भनेर घोषणा गरेको ५ वर्षपछि उनै क्याटालान आफ्ना ‘मास्टरपिस’सहित ‘मोने डे पेरिस’ मा प्रस्तुत भए। उनका धेरैजसो ‘मास्टरपिस’ विवादास्पद छन्। त्यसको बारेमा उनी के भन्छन् त? थिबौट वाचोवानोकले उनीसँग गरेको जम्काभेट हामीले यहाँ सुरज सुवेदीको अनुवादमा प्रस्तुत गरेका छौं।

‘मोने डे पेरिस’ प्रस्तुतीका लागि आफ्ना काम छान्दै गर्दा कुन मापदण्ड राख्नुभयो?

मेरो करियरका अन्य कार्यक्रम जस्तै यो एकदमै फरक प्रोजेक्टको रूपमा सुरु भयो। जीवन कहिल्यै सोचेजस्तो हुँदैन, प्रदर्शनी पनि त्यस्तै हुन्। सुरुवातमा एकल प्रस्तुति मेरो योजनामा थिएन तर महसुस गरेँ कि मैले पर्दापछाडि र आफ्नै कामहरूलाई नयाँ दृष्टिबाट सम्पादन गर्नुपर्छ। यो एकदमै रोमान्चक प्रयोग थियो। यो सुरुवातमा बिस्तारै सुनिने र अन्तिममा कोरस भएर घन्किने आवाज एकैसाथ सुनेजस्तो भयो।

प्रेस विज्ञप्तिका अनुसार केही मुख्य कामहरूमात्र यसपल्ट देखाइएको छ। कसैले आफ्नो काम ‘मुख्य’ भनेर कसरी निर्णय गर्छ?

यदि नियमनै भन्ने हो भने ‘दि थ्रि जेनेरेसन्स’ हुन सक्छ। कुनै पनि कला तीनवटा अवस्था हुँदै गुज्रिन्छन्। पहिलो आकर्षण, दोस्रो गिरावट र तेस्रो ‘कमब्याक’को अवस्था। र, यदि कुनै काम तेस्रो पुस्ता सम्म बाँच्छ भने त्यसलाई मुख्य काम वा ‘मास्टरपिस’ भन्न सकिन्छ। ८० को दशकका ‘मास्टरपिस’ के थिए भनेर अहिले हामी भन्न सक्छौं तर त्यसभन्दा अगाडि जानु भनेको भ्रम छर्नु मात्र हो। लामो अवधिको परिप्रेक्ष्यबाट अध्ययन गरेपछिमात्र कुनै कलासँग मिडियामा पाएको महत्त्व र एतिहासिक सान्दर्भिकताबीच सही संयोजन छ भन्न सक्छौ। त्यसैले कला भनेको अनावश्यक प्रचार मात्र हैन।

के कुनै प्रदर्शनी आफैंमा कला हुन सक्छ?

हो सबै प्रदर्शनी कला नहुन सक्लान्। सबै कलाकार त्यसको रक्षक पनि नहोलान्। तर प्रदर्शनी आफैंमा कला हुन सक्छ। फिलिपे पारेनोले ह्याङ्गर बिकोकामा गरेको एकल प्रदर्शनीलाईनै सोच्नुहोस् न। पत्रिकामा त यसलाई उनका पुराना कामहरूको प्रदर्शनी मात्र भनेर लेखियो तर त्यसको नतिजा स्पष्ट फरक आयो। यो प्रदर्शनी मात्र नभएर उत्कृष्ट पुराना कामहरूको संयोजनमा बनेको ‘ब्राण्ड न्यु’ काम भइदियो। यस्ता घटनाहरू भइदिन्छन् जहाँ पूर्णता आफैंमा टुक्राहरूको जोडभन्दा धेरै अग्लो भइदिन्छ।

पुराना कामहरूको प्रदर्शनीमार्फत आफूमा नयाँ आविष्कार कसरी गर्नुहुन्छ?

सत्य के हो भने मेरा ती कामहरू फरक फरक प्रसंग र सन्दर्भमा कल्पना गरिएका हुन्। तिनीहरूलाई एकै छानो मुनी राख्दा कि त ती बलिया हुन्छन् कि कमजोर बन्छन्। यो नयाँ गर्ल्फ्रेन्ड सँग घुम्न निस्किएको जस्तो हो। त्यो या त मायामा परिणत हुन सक्छ वा फुटेका भाँडाहरूको डंगुरमा।

‘मोने डे पेरिस’ मा राखिएका कामहरूले आपसमा संवाद कसरी गर्छन्?

प्रदर्शनी गरिएको स्थानको बास्तुकलाले प्रदर्शनीको स्वरूपलाई प्रभावित पार्छन्। मैले गरेका हरेक प्रदर्शनीहरूमा यस्तो भएको छ। कोठाहरू एउटै करिडोरमा हुन्छन् र तीन मुख्य स्थानहरूबाट तपाईं पुरै अनुक्रम देख्न सक्नुहुन्छ। यो एउटा पाठको अन्तिम भाग पढ्दै गर्दा अगिल्लो भागको शीर्षक देखेजस्तै हो। क्याप्सनले पनि कलाको अर्थलाई फरक पार्छ जो वैचारिक हुन्छन् र विभिन्न व्यक्तिहरूले लेखेका हुन्छन्। कलाको पक्ष वा विपक्षमा तर्क दिइएका हुन सक्छन्। यसरी आफू पनि उक्त संवाद वा कुराकानीको भाग हुन सकिन्छ र आफ्नो धारणा निर्माण गर्न सकिन्छ।

‘नट अफ्रेड अफ लभ’ नामको शीर्षक किन छान्नुभयो?

मेरो बिचारमा प्रदर्शन गरिएका सबै कामहरूमा माया छुटिरहेको छ। यो एक प्रकारले मायाको कमी हो वा त्यसलाई पूर्ती गर्ने जीवनभरको खोजी। यो शुखद् समाप्ती हुन पनि सक्छ नहुन पनि सक्छ। सबै कुरा दर्शकमा भर पर्छ।

तर मृत्युको भाव भने सबैतिर आएको देखिन्छ। त्यसको विकल्प शीर्षक ‘नट अफ्रेड अफ डेथ’ हुन सक्छ कि सक्दैन?

मेरो लागि वास्तविक प्रश्न जहिल्यै पनि ‘के मृत्यु भन्दा पहिला जीवन हुन सक्छ?’ भन्ने रह्यो। मृत्युसँग मलाई डर लाग्नुको कारण मेरो वरपर भएका मानिसहरू जे सँग पनि डराइरहेकाले हो। हरेक दुखलाई देखाउन सकिन्छ जबसम्म तिनीहरूमा अर्थ भइरहन्छ।

त्यसो भए तपाईं को लागि कला मृत्युको डरलाई जित्ने एक माध्यम हो ?

मलाई लाग्छ यो धेरै त मायाको डर हो।

केही मानिसहरूले तपाईं को कलालाई मजाकको रूपमा पनि हेर्छन्। यसमा बियोगान्त पक्ष धेरै पाइन्छ। जीवन तपाईंको लागि यति बियोगान्त किन छ? तपाईं धेरै ब्यग्र वा दुःखी हुनुहुन्छ?

लेखकहरूबीचमा यो साझा गलत बुझाइ छ। उनीहरूले लेखेका सबै कुरा वास्तविक जीवनबाट आँउदैनन्। र यो पूर्णतया आत्मपरक पनि हुँदैन। मेरो हकमा यही सत्य हो। तपाईंको प्रश्नको अन्तिम भागको उत्तर दिँदा चाहिँ म दुःखी भन्न रूचाउँछु। म ब्यग्र छु जस्तो लाग्दैन। र म प्राय ट्र्याजेडीबाट भाग्न आकस्मिक द्वार प्रयोग गर्न रूचाउँछु।

जब हामी तपाईंको चर्चित कला हेर्छौं, उदाहरणको लागि ‘ला नोना ओरा’ अथवा ‘हिम’। जुन सन्दर्भ र प्रसंगबाट तिनलाई ल्याइएको त्यो साह्रै महत्त्वपूर्ण छ। तर के हामी तपाईंको कलालाई कुनै अनुभवहीन आँखाले हेर्न सक्छौ? जुन सन्दर्भमा तिनलाई बनाइएको थियो के ती अहिले पनि कलाको एक पाटो हुन्? त्यो पाटोसँग कत्तिको खेल्नुहुन्छ?

यो एकदमै स्पष्ट कुरा हो। जबसम्म कलालाई सांस्कृतिक, मनोबैज्ञानिक र सामाजिक दृश्यबाट हेरिन्छ कुनै पनि कलाको सन्दर्भ त्यसको अर्थको एक हिस्सा हो। मूर्तिकला यस्तो क्षेत्र हो जहाँ आउन सबैलाई खुल्ला छ। किनकि यसमा कुनै शब्द लेखिएको हुँदैन। तर सँगसँगै यहाँ घुम्ने सबैले उ सँगै घुम्ने अर्को साथीले पाएको जस्तो दृश्य पनि देख्दैन र अनुभव पनि पाँउदैन। कला बिल्कुलै विषयगत बुझाइको राज्य हो।

तपाईंको कला प्रायः शक्तिमा भएका व्यक्तिप्रति लक्षित देखिन्छ। के तपाईंलाई शक्तिमा हुनेहरूसँग कुनै समस्या छ? यो कहाँबाट आँउछ?

वाह! यो अन्तर्वार्ता अब विश्लेषण तिर जाँदैछ। खुलासा गराउने तर थकाउने पनि। मैले यसको जवाफ धेरैपल्ट दिएको छु। न्यु योर्कमा मोटरसाइकलमा घुम्दै गर्दा मैले पत्तो पाँए कि म जान निषेध गरिएको कुनै सडक चिन्हमा उभिन सम्म पनि पाँउदिन। मलाई भन्नुहोस् यो कहाँबाट आँउछ? मलाई लाग्छ यो पत्तो लगाउन तपाईंलाई अन्तर्वार्ता लिनुभन्दा धेरै समय लाग्नेछ।

हिंसा पनि अर्को दोहोरिइहने भाव हो। हाम्रो समाजमा भइरहेका हिंसामाथि के भन्नुहुन्छ?

दुःखका साथ भन्नुपर्छ हिंसा हामी सबैभित्र राज गरेर बसेको छ। हामी यसबाट उम्किनै सक्दैनौं। यो सबैतिर र हाम्रो भित्र छ। मैले त सुनेको छु कि अरू बेला खराब मान्छे वरपरै हुने र जुनसुकै समय हिंसा गर्न तयार हुने भएकाले प्राय मानिसहरू राती आनन्दले सुत्न चाहान्छन्। यो एकदमै भयानक सत्य हो। म कामना गर्छु यो सत्य नहोस्।

एक कलाकारको भूमिका के हो? शक्तिमा हुनेलाई वा समाजलाई चुनौती दिनु? वा लुकेका सत्य उजागर गर्नु?

कलाको काम भनेको प्रश्न सोध्नु हो उत्तर दिनु हैन। र यदि तपाईं स्पष्ट जवाफ खोज्नुहुन्छ भने गलत ठाउँमा हुनुहुन्छ। एउटा किताब, म्यागजिन, वा फिल्म – जसमा तपाईंले देख्ने भनेको भन्न नसकिने आफ्नै ‘इगो’ हो। तिनीहरूले कलाकार को हो भन्दा पनि तपाईं को हो भन्ने कुरा प्रतिबिम्बित गर्छन्।

तपाईंको काममा ‘क्याथर्टिक र लिभरेटिङ इफेक्ट’ हुन्छन्। तिनीहरूलाई लगभग मनोबिष्लेषणात्मक ढंगबाट प्रयोग गर्न सकिन्छ।

यो सुनेर खुसी लाग्यो। धन्यवाद। मनोबिज्ञान र क्याथर्सिस साँच्चैनै बिवेचना गर्दा प्रयोग गर्न सकिने कुरा हुन्। तर आजभोलि सूचना कसरी सञ्चारित हुन्छ भन्ने कुरा डरलाग्दो मुद्दा बनिरहेको छ। सूचना दिनेहरू साधारण मानिसहरू केही बुझ्दैनन् वा उनीहरूलाई केही थाहा छैन भन्ने ठान्छन्। उनीहरूसँग सोच्नका लागि धैर्यता वा ध्यान केहीपनि छैन भन्ने सम्झिन्छन्। यो एकदमै सतही बुझाइ हो। योभन्दा बिल्कुल फरक कुनै पनि सभ्यताको सबैभन्दा आवश्यक काम भनेकै मानिसहरूलाई सोच्न सिकाउनु हो। हरेक मिडियाको प्राथमिक उद्देश्य यस्तै हुनुपर्छ।

तपाईंले न्युयोर्कको गुगेनहाइममा प्रदर्शन गर्नुभएको सुनौलो चर्पीको विषयमा कुरा गरौँ। के आजको कला त्यहाँसम्म पुगिसक्यो त?

हाम्रा दैनिक प्रयोगका बस्तुहरूनै कला इतिहासमा दोहोरिइरहेका विषय हुन्। तिनीहरू पुरातनकालदेखिनै मानवीय कमजोरीको रूपमा रहँदै आएका छन्। जति निष्कासित गर्छौं त्यसमा हामी बाँकी कति रहन्छौं भन्ने चिन्ता सबैलाई छ। मलाई लाग्छ लस एन्जलसमा बस्ने मानिसहरू यो मामिलामा विश्वका अरू ठाँउका मानिसहरूभन्दा धेरै चिन्तित छन्।

एउटा कलाको मूल्यलाई के ले निर्धारण गर्छ? बजार वा समालोचक?

मूल्य या त कुनै नयाँ कुरा सिक्दा हुन्छ या त बिर्सिएको याद पुनः फर्काउन खोज्दा। समालोचना र बजार भनेको साधन मात्र हुन् जसको माध्यमबाट कलाले धेरैको ध्यान तान्छ वा धेरै मानिससम्म पुग्छ। तर मैले अगाडिनै भनेजस्तो समय र बितेको समयले बोकिरहने कलाको दृष्टिकोणनै सबैभन्दा महत्त्वपूर्ण हो।

आफ्नो कलामा तपाईं समकालीन मिथक र आँकडाको प्रतिनिधित्व गर्नुहुन्छ। हिटलरलाई खराब र पूजीबादी व्यक्तिको रूपमा संकेत गर्नुभएको छ। आज तपाईंलाई कस्तो खाले मिथकहरूले ध्यान तान्छन्?

मलाई तस्बिरको दिमागमा सँधैभरी छापिनसक्ने अदृश्य शक्तिले प्रभावित पार्छ। यो असर छुट्याउनै नसकिने गरी प्रभावसँग जोडिएको छ। जति धेरै असर पार्न सकिन्छ त्यति धेरै प्रभाव बढ्दै जान्छ। मलाई कुनै पनि कुरालाई भाइरल बनाउन सक्ने क्षमताले पनि धेरै तान्छ। यस्तो लाग्छ कि हामी मानिसले कुनै विशेष शक्ति पाइरहेका छौ।

सामाजिक सञ्जाल तथा टिभी रियालिटी सो हरूले निर्माण गरेका आधुनिक मिथकहरू प्रति कत्तिको रुचि राख्नुहुन्छ?  

अमेरिकनहरु ‘राजकीय’ शब्दसँग पागल भएको कुराले मेरो ध्यान खिचेको छ। ब्रिटेनबाट स्वन्त्र भए पनि उनीहरूमा राज परिवारको कुनै नोस्टालजिया बाँकी भएको जस्तो लाग्छ। मैले बिचार गरेको छु बेलायतमा भन्दा अमेरिकामा ‘रोयल’ लेखिएका लगाइएका सामाग्रीहरू बढी बिक्री हुन्छन्। यहाँसम्म कि ट्वाइलेट पेपर पनि। मलाई लाग्छ कुनै न कुनै तहमा यी सत्यहरू गाँसिएका छन्।

के तपाईंलाई लाग्छ कि यो संसारमा हामीले मानिसलाई सोच्नका लागि कुत्कुत्याउनुपर्छ वा बाध्य बनाउनुपर्छ?

मलाई लाग्छ आफ्नो बिचार दर्शकलाई सुनाउन प्रयास गर्नु बेकार छ। यदि कलालाई एउटा स्पष्ट धारणामा सीमित गर्न खोजिन्छ भने त्यो कलाको मृत्युनै हो।

तपाईंले धेरैपल्ट भन्नुभएको छ कि कलाकार हुनु भनेको अरू जस्तै एक काम गर्नु हो। तर अवकास घोषणा गरेको ५ वर्षपछि तपाईं फेरि देखिनुभएको छ। के यो समय कला एक पेसा हो भनेर स्वीकार्ने समय हैन?

मलाई सत्य भन्नुहोस् के यो हाम्रो अन्तिम  विश्लेषण सत्र  हो? वा तपाईंले यो मेरो पेसा हैन भन्ने निर्णय गरिसक्नुभयो? तपाईँ एक पत्रकारको रूपमा किन हुनुहुन्छ? के यो तपाईंले म एक मनोबिज्ञ बन्नुपर्छ भनेर स्वीकार्ने बेला हैन? के हामी अर्को हप्ता पनि अर्को सत्रको लागि बस्छौं?

    

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.