थिएटरको बाटो नाटककारले निर्माण गर्छन्


रियाद स्मट नर्थ वेस्टर्न युनिभर्सिटीका भिजिटिङ प्रोफेसर हुन्। सिरियाका कथाकार, नाटककार र समालोचकमध्ये एक उनले १२ नाटक, ६ कथासंग्रह तथा धेरै समालोचनाका किताब लेखिसकेका छन्। २०१० देखि २०१२ सम्म उनी सिरियाको संस्कृति मन्त्री भएका थिए।

यस्तै राजदूत, रेडियो र टिभीको महानिर्देशक तथा नाट्य कला एकेडेमीको प्रमुखको रूपमा पनि काम गरिसकेका छन्। उनले अंग्रेजी दमासकस युनिभर्सिटीमा पढे र नाट्य निर्देशनमा स्नातकोत्तर भने कार्डिफ युनिभर्सिटीबाट गरेका हुन्। सँगै टेलिभिजन निर्माताको रूपमा बिबिसीमा तालिम पनि लिएका छन् र सँगै लण्डनमा आडम डारियससँग ‘माइम’ प्रशिक्षकको रूपमा पनि काम गरेका छन्। उनले दमासगसमा सेक्सपियर र विलियम्सका धेरै नाटक निर्देशन गर्दै आफ्नो करियरमा संस्कृतिका बीचमा रहेका विभिन्न खाडललाई पुर्ने प्रयत्न गरेका छन्। अरबी सम्पदालाई प्रयोगवादी धारबाट हेर्दै उनले छन्, मानवतावादी मूल्य र मान्यताको पक्षमा वकालत र अभिव्यक्ति स्वतन्त्रतालाई किच्याउने सर्वसत्तावादको विरोध गर्दै प्रजातन्त्र र शहनशीलताको पक्षमा बोलेका छन्।

मैले भर्खरै प्रोफेसर रियाद इस्मटलाई भेट्ने मौका पाएँ। उनले नाटककार, कथाकार, स्कृप्ट लेखक, समालोचक र नाटक निर्देशकको रूपमा गरेका कामबारे सुन्ने मौका पाएँ। उनको करियरले मलाई मोहित र प्रभावित पारेको छ। उनले सिरियाको शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जुन २०१२ मा सिरियाको संस्कृति मन्त्रीबाट मलाई हटाइयोस् भनेर अनुरोध गरेका थिए। पद छोडेपछि उनले पेरिसमा एक वर्ष बिताए र नर्थवेस्टर्न युनिभर्सिटिको भिजिटिङ प्रोफेसर भएर सिकागो आए। एक लेखक र कलाकारको रूपमा भने उनको काम भने धेरै पहिला सुरु भएको हो।

डा. इस्मटले यो कुराकानीलाई प्रयोग गर्न र सम्पादन गर्न अनुमति दिएका छन्।

सामान्य रूपमा मध्य पूर्वको थिएटरको बारेमा कुरा गरौं। हामी प्राय सुन्छौ कि त्यहाँ अरबी थिएटरको कुनै इतिहास छैन। तर यो गलत हो हैन? अहिले धेरै शिक्षाविद् र रंगकर्मीहरू समकालीन अरबी नाटकको जन्मस्थान भनेर ९० को दशकको इजिप्टतिर देखाउँछन्। के यो सही हो?

धेरै बिद्धानहरूले एकस्वरले मानेको कुरा के हो भने मध्य पूर्वमा थिएटर १८४८ मा बैरूट मार्फत सुरु भएको हो। मरून अल नक्वास ले यसको सुरुवात गरेका हुन्। त्यसपछि यो दमासकसमा पनि फैलियो। शेख अबु खलिल कवानी धन्यवादको पात्र हुन्। उनी केही समयमै त्यहाँबाट इजिप्ट बसाइ सरे। फिल्ममा अलिक धेरै प्रभाव भएकाले हुन सक्छ धेरैले अरब विश्वमा थिएटर इजिप्टलेनै भित्राएको भन्ने सोच्छन्।

इतिहास हेर्दा थिएटर सबैभन्दा पहिला लेभान्ट क्षेत्रबाट फैलिएको देखिन्छ। १०६० पछाडि थिएटरले उल्लेख्य प्रस्तुति सहित सिरिया, लेबनान, इराक, ट्युनिसिया, मोरक्को, यूएइ, कतार र इजिप्टमा पनि आफूलाई स्थापित गर्‍यो। तर यो पनि कसैले नकार्न सक्दैन कि बिसौं सताब्दीको सुरूआती पचास वर्षमा कायरो कलाको केन्द्रबिन्दुको रूपमा थियो। जसले पुरातनवादी ओटोमन शासकहरूको प्रभावबाट रंगमञ्चलाई टाढा राख्दै फैलाउन सहयोग गर्‍यो।

कुरानमा कहीँपनि थिएटरलाई निषेध गरिएको छैन। त्यसैले इसाई यूगभन्दा पहिला थिएटर नहुनुको कारण धार्मिक हैन सामाजिक र भौगोलिक कारण थिए। कुनै समय साँघुरो सोच बोकेका पादरीहरूको गलत बुझाइले गर्दा महिला भएका नाटक प्रदर्शनमा अवरोध लगाउने काम भयो। अहिलेसम्म पनि साउदी अरेबियामा केवल पुरुषले मात्र प्रस्तुति दिन पाउँछन्। मध्य बिसौं सताब्दीदेखि भने मध्य पूर्वमा थिएटरको संख्या र गुणस्तरमा वृद्धि भयो। अहिले धेरै कलाकारहरू, महिला र पुरुष दुवै स्टेजमा प्रस्तुति पनि दिन्छन् र फिल्म तथा टेलिभिजनमा काम पनि गर्छन्।

तपाईंले थिएटर विभिन्न ठाँउमा गएर पढ्नुभएको छ। पछिल्ला २० वर्षमा थिएटरको ट्रेन्ड कसरी विकास भएको देख्नुभएको छ? दमासकस जस्ता ठाँउमा कुनै निश्चित प्रकारको प्रभाव पाउनुभयो?

आधुनिक विश्व र विकासशील देशमा केही मुख्य भिन्नता छन्। स्रोत र सुविधाको असमानता प्रमुख हो। यस्तै ठूलो थिएटर तथा साना प्रयोगवादी थिएटरमा पनि नाटक निर्माण गर्ने प्रक्रिया फरक हुन्छ। राष्ट्रिय थिएटर कम्पनी तथा प्रयोगवादी प्रोजेक्टमा सरकारी सहयोग दिइएको भएतापनि अहिलेसम्म धेरै अरब विश्वमा थिएटर व्यक्तिगत क्षमता र प्रयासमा टिकिरहेका छन्।

तपाईंको अर्को प्रश्नको कुरा गर्दा पछिल्ला दुई दशकमा अरबी थिएटरमा परेका प्रभाव पनि फरक फरक छन्। सामान्यरूपमा सबैतिर र विशेषगरी सिरियन थिएटरमा यस्तो प्रभाव धेरै छ। उदाहरणको कुरा गर्दा १९९० ताका ब्रेख्तको ‘एपिक थिएटर’को प्रभाव धेरै थियो जसको स्थान पछि ‘डकुमेन्टरी थिएटर’ र ‘अब्सर्ड थिएटर’ले लिए। पछिल्लो चरणमा ‘डाइरेक्टर्स थिएटर’ले लिने क्रम बढेको छ। पछिल्ला वर्षमा त्यस्ता प्रभाव पनि घटेका छन् जसले सामूहिक नाट्यलेखन र निर्माण जस्ता प्रवृत्तिलाई बाटो खोलिदिएको छ। समग्रमा भन्दा पछिल्ला वीस वर्षमा यी सबै प्रभाव समानान्तर देखिन्छन्। कुनै कुनै ट्रेण्ड त ट्युनिसियाबाट पनि आएका छन्।

थिएटर कता जाने भन्ने बाटो नाटककारले निर्माण गर्छन्। तर अपसोच के छ भने अरब विश्वमा नाटक लेखन गर्ने क्रम घटेको छ। लेखक थिएटरमा भन्दा टेलिभिजनमा बढी आकर्षित हुँदै गइरहेका छन्। नाटकको मानक वा स्तर पछाडि सरेको छ। धेरै कम मात्र राम्रा नाटक बनेका छन्।

माइमको क्षेत्रमा तपाईंले गरेको काम नि? फिजिकल थिएटरको कुनै निश्चित फाइदा छ जसले लेखिएको भाषा र बोलिने लबजको बिचमा भिन्न हुने सिरिया जस्तो ठाउँ लाई फाइदा गरोस्।

मैले १९८० तिर लण्डनमा अमेरिकन माइम आर्टिस्ट आडम डेरियस सँग ‘माइम’ सिकेको हुँ। त्यसपछि फ्रान्सको ‘भ्रमात्मक माइम’ का विभिन्न सिकाइ पद्धति पनि सिक्ने मौका पाएँ। त्यो सिकाइलाई मैले सिरियन नाट्य कला एकेडेमिको प्रमुख भएको बेला २००० र २००२ को एक वर्षपछिको बीचमा त्यहाँका विद्यार्थीलाई स्टानिस्लाभेस्कीमा आधारित अभिनय निर्देशन सिकाउँदा प्रयोग गरेँ। सेक्सपियरका नाटकहरू निर्देशन गरेको समयमा पनि मनोबैज्ञानिक यथार्थवाद र शारीरिक प्रदर्शनको मिश्रणले जादुको काम गर्‍यो। अभिनय तालिमको लागि मैले लेखेको पछिल्लो पाण्डुलिपीमा पनि त्यो अनुभवले काम गर्‍यो।

तपाईंको अर्को प्रश्नले धेरै संवेदनशील विषयलाई छुन्छ। सिरियाले लामो समयसम्म स्तरीय अरबी भाषालाई राष्ट्रिय थिएटरमा अनिवार्य गर्ने प्रयास गर्‍यो। त्यबेला कमर्सियल थिएटर कम्पनीहरू जसले हलुका हाँस्य कमेडी बनाइरहेका थिए, उनीहरूले सरकारको त्यो प्रयास अस्वीकार गरे। जसले राम्रो थिएटर र दर्शकबीचमा दुरी बढाइदियो। त्यो दुरी मैले पश्चिमी यथार्थवादी नाटकलाई सिरियाको लबजमा ल्याउने प्रयास गर्दासम्म कायमनै थियो।  मैले ‘अ स्ट्रिटकार नेम्ड डिजायर’, ‘दि ग्लास मेनाजुरी’, ‘स्प्रिङ अवेकेनिङ’ जस्ता नाटक आफैं निर्देशन गरेको थिएँ। तर सेक्सपियरको ‘दि विन्टर्स टेल’, ‘अ मिडसमर नाइट्स ड्रिम’ जस्ता नाटकमा भने बोलिचालीको लबज प्रयोग गरिनँ।

मैले केही पश्चिमी नाटकलाई पनि अरू निर्देशकको लागि बोलिचालीको भाषामै रूपान्तरण गरेँ। तिनमा आर्थर मिलरको ‘अल माई सन्स’, स्ट्रेन्डवर्ग को ‘मिस जुली’ आदि छन्। तर मैले आफैंले लेखेका धेरैजसो नाटक भने स्तरीय अरबीमा लेखेको छु। तिनीहरूको ऐतिहासिक प्रकृतिले पनि प्रभाव पारेको हुनुपर्छ।

तपाईं लेखक मात्र हैन, एक राजनीतिज्ञ र कूटनीतिज्ञ पनि हुनुहुन्छ। ती अनुभवले एक कलाकारको रूपमा तपाईंको कामलाई प्रभाव पारेको हुनुपर्छ। तर तपाईंको राजनैतिक जीवनलाई कलाकारको करियरले भने कसरी प्रभाव पारेको छ?

म नाटककार र रचनात्मक लेखक हुँ र मेरो साहित्यिक लेखनमा राजनीति समात्न मन पराउँछु। र खासमा म राजनितीज्ञ नै हैन। मैले जीवनभरमा कहिल्यै कुनै राजनैतिक पार्टीमा प्रवेश गरिनँ र मलाई गर्व छ। किनकि मैले लागेको कुरा जहिल्यै खुला मनले व्यक्त गरेँ। कला र साहित्यको मेरो करिअरमा मैले केही अफिसियल पद पाएँ। जसमा कूटनीतिज्ञ र मन्त्रीको रूपमा काम गर्दा पनि नाटकको मेरो अनुभवले धेरै सहयोग गर्‍यो। ती पदहरूले मेरो साहित्य र कलाको करिअरमा खासै प्रभाव पारेनन्।

यी कुरालाई अलिक स्पष्ट पार्छु। नाटकमा हाम्रो उद्देश्य र दुरदृष्टि हुन्छ जसलाई हामी नाटकको नजर पनि भन्छौं। हामीसँग एउटा मिसन हुन्छ र जसको आधारमा हामी अवधारणा निर्माण गर्छौं जसले हामीलाई कुनै समस्या परे कसरी सामना गर्ने भन्ने सिकाउँछ। यदि यी सबै कुराहरू राजनीति र कूटनीतिमा प्रयोग गर्ने हो भने धेरैकुरा प्राप्त गर्न सकिन्छ।

भन्ने गरिएको ‘अरब स्प्रीङ’ सँगै धेरै मानिसले राज्यको मिडिया र स्वतन्त्र मिडियाले सार्वजनिक डिस्कोर्स निर्माण गर्न भूमिका खेलेका हुन्छन् भनिन्छ। बसर अल असद को शासनकालका पछिल्ला केही वर्षमा बनाइएका ऐनमा असहमति जनाएपछि तपाईं अहिले सिरिया सरकारसँग आबद्ध हुनुहुन्न। पछिल्लो समयमा फिल्म र थिएटरले सिरियामा कस्तो खाले भूमिका खेलिरहेको पाउनुहुन्छ?

केहीले हामी हौं भनेर भनेपनि म मध्य पूर्वमा कुनै पनि स्वतन्त्र मिडिया संस्थाहरू देख्दिनँ। सबैलाई कुनै न कुनै पार्टीले पैसा दिएका छन्। सैद्धान्तिक रूपमा पनि हामीले मिडिया र संस्कृतिलाई छुट्टा छुट्टै रूपमा बुझ्नु राम्रो हुन्छ। मेरो बुझाइ के हो भने संस्कृतिको अस्तित्व जहिल्यै पनि देशलाई एकीकृत गर्न हुन्छ, विभाजन गर्न हैन। म मन्त्री भएको समयमा पनि मेरो मुख्य जोड संस्कृतिले सहनशीलता, विविधता, वहुलवाद, प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका मूल्य र मान्यता बढाउने भूमिका खेल्नुपर्छ भन्नेमा थियो।

र अर्कोतर्फ एक मानवतावादी लेखक र कलाकारको जिम्मेवारी हिंसालाई अस्वीकार गर्नु पनि हो। त्यसैले मैले तथाकथित सैन्य समाधानको जहिल्यै विरोध गरेँ। शान्तिपूर्ण रूपमा सुधारको माग राख्दै प्रदर्शन गर्नेहरूको कुरा राजनैतिक वार्ताबाट सुन्नुको साटो सुरक्षाको नाममा सैनिक समाधान खोजिनु गलत हो। सिरियामा वैदेशिक षड्यन्त्र हुँदैछ भनेर खुफिया विभागले भनेकै आधारमा निर्दयी शासन लगाउनु गलत प्रयोग थियो। म सो हुँदैदेखि ‘कन्सपियरसी थ्योरी’ पढिरहेको छु र त्यसमा नयाँ कुरा केही पनि छैन। यसले बदलामा हिंसा बाहेक केही पनि ल्याउँदैन। त्यस्ता बिषालु बिउले बिषाक्त फल दिन्छन् भनेर मैले सल्लाह दिएकै हुँ। मरो बिचारमा शासनले आतंककारी भनिएका सबै समूहसँग वार्ता गर्न सक्दैन। जुनसुकै सरकारले पनि फलदायी वार्तामार्फत राजनैतिक सहमति र समाधान खोज्न त्यस्ता समूहको वैधानिकता पहिचान गर्नैपर्छ। त्यस्तो अप्ठ्यारो परिस्थितिमा एकदमै आवश्यक बलिदान पनि हो यो। सिरियामा देखिएका त्यस्ता अतिबादी समूहले प्रतिपक्षको बहुमत प्रतिनिधित्व गर्दैनन्। खासमा प्रतिपक्षमा रहेका र मैले भेटेका धेरैजसो लेखक तथा कलाकारहरू धर्मनिरपेक्षता, सुधार, प्रजातन्त्र मा विश्वास राख्छन् आतंकबाद र पुरै राज्य नै ध्वस्त बनाउने कुरामा हैन।

व्यक्तिगतरूपमा मलाई कला र साहित्यले सिरियाको भविष्यको लागि योगदान पुर्‍याउन सक्छ भन्ने कुरामा विश्वास लाग्छ। यदि तपाईंलाई अनुमान लगाउन मन लाग्छ भने पछिल्ला तीन वा चार दशकमा सिरियाका नाटक, फिल्म र टेलिभिजन सिरियलले पुर्याएको योगदान र गरेको वकालतलाई मूल्यांकन गर्न सक्नुहुन्छ। तपाईंलाई महसुस हुनेछ कि सरकारले निर्माणमा सहयोग गरेको भएता पनि धेरैजसो रचनात्मक कामहरू शाहसपूर्ण थिए। त्यसैको बलमा लेखक र कलाकारहरूले सेन्सरसिपमाथि विजय पाएका छन् जुन समस्यालाई पश्चिम विश्वले अति महत्त्व दिएको थियो। र सँगै स्वतन्त्र समालोचनाको पनि सञ्चार गरेको छ। तिनीहरूले यो प्रतिकवाद, रुपक र राजनैतिक प्रक्षेपणको माध्यमबाट ती सबै काम गर्न सके। मैले आफूले पनि मेरा नाटकहरूमा ती माध्यमको प्रयोग गरेको छु।

अहिलेको कला विश्व एक रूपमा संक्रमणकालमा छ भने अर्को तर्फ सीमित पनि हुँदै गएको छ। हामीले डायस्फोरामा विशेषगरी मध्य पूर्व र उत्तरी अफ्रिकाका मानिसमा जन्मठाउँ र देश छोडेको चेतनालाई सामना गर्ने तरिका खोजिरहँदा विभिन्न खाले कला गतिविधि भएको देखेका छौं। सिरिया छोडेपछि तपाईको कामको ध्यानमा पनि परिवर्तन आएको छ?

हो यसमा केही मात्रामा सत्यता छ। तर मैले भन्नैपर्छ कि डायस्पोरामा मैले अरब थिएटरको बारेमा धेरै कुरा जानेको छैन। व्यक्तिगत रूपमा म पछिल्ला २० महिनादेखि देशनिकाला अवस्थामा छु। यो बीचमा मैले सिरियामा भइरहेको संकटलाई विषय बनाएर एउटा नाटक र उपन्यास लेखेको छु। यो यस्तो संकट हो जुन संसारको आँखा अगाडि र कान नजिकै भइरहेको छ। तर यहाँ भइरहेका मृत्यु र पीडालाई या त गलत गरिकाले बुझिएको छ या त वेवास्ता गरिएको छ। मलाई लाग्छ जिम्मेवारीबाट भाग्दै धेरै देशले सिरियाको विध्वंस प्रेरित गरिरहेका छन् र यसलाई गहिलो खाडलमा डुबाउँदैछन्। म नोस्टाल्जिक भएको हैन तर सबैलाई थाहा छ मतभेदलाई त्यसरी हिंस्रक रूपमा दबाइनुभन्दा पहिला सिरिया एक सुरक्षित राष्ट्र थियो। त्यही कारणले अहिलेको गृह युद्ध भइरहेको छ। बढ्दो क्षेत्रगत सोच र सुन्नि र सिटे बीचको बढ्दो अतिवादी सोचले सिरियन भूमिलाई कहिल्यै नरोकिने युद्धमा पुर्याएको छ। राजनैतिक हस्तक्षेप गर्ने पश्चिम देशहरूको अनिच्छाले यस्तो ठूलो र पीडादायी मानव ट्रेजेडीलाई हाम्रो आँखामा ल्याइदिएको छ। कुनै बेला सिरिया उदारणयोग्य धर्मनिरपेक्ष राष्ट्र थियो जसलाई बहुजातीय हुनुमा गर्व थियो। सबै जना मिलेर बसेका थिए। सुन्दर कलाकृति जस्तो लाग्थ्यो यो। तर शान्तिपूर्ण आन्दोलनमा गरिएको हिंस्रक दमनले देशलाई त्यस्तो आगोमा धकेलिदियो जसमा अहिले सबै जलिरहेका छन्। यसले सिरिया मात्र है छिमेकी देशहरू सँगै समग्र मध्य पूर्वलाई नै असर गर्ने देखिएको छ।

म तपाईको नँया नाटक ‘केमिकल’को बारेमा उत्सुक छु। शीर्षकले पछिल्लो समकालीन र संभत राजनैतिक पक्षलाई बुझाउन खोजे जस्तो लाग्छ। तपाई जब अमेरिका आउनुभयो त्यसबेलादेखि यसमा काम गरिरहनुभएको छ। यो नयाँ नाटक लेख्न तपाईलाई केले प्रेरित गर्‍यो?

मैले महसुस गरेँ कि पश्चिम विश्वका धेरै मानिसहरू सिरियाली संकटको जटिलताबारे बेखबर छन्। उनीहरूलाई मिडियाको पहिलो पृष्ठका शीर्षक मात्र याद छन्। यसैले मलाई ‘केमिकल’ लेख्न प्रेरित गर्‍यो जसमा मैले यो भयानक ट्रेजेडीसँग सम्बन्धित धेरै सत्य र दृष्टिकोण देखाउने प्रयास गरेको छु। यसले कुनै बेला सबैभन्दा शान्त र सुरक्षित मध्ये मानिने एक देश कसरी नर्क जस्तो बन्न सक्छ भन्ने कुरा देखाउने प्रयास गरेको छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.