फिल्म सफल वा फ्लप बनाउने नै साना सहरका मान्छे हुन्


दिवाकर बनर्जीको ‘लब सेक्स और धोका’ (२०१०) मा पहिलो प्रस्तुति देखिनै राजकुमार रावले भारतीय फिल्म उद्योगलाई आफू फरक भएको प्रमाण दिएका थिए। उनलाई पर्दामा पुराना भारतीय फिल्मले देखाउने जस्तो ‘हिरो’ चरित्र र संवेदना देखाउनु थिएन। हनसन मेहतासँगको उनको सहकार्य उल्लेख गर्न लायक छ।

विशेषगरी ‘साहिद’, ‘सिटी लाइट्स’ र ‘अलिग्रा’ जस्ता फिल्म पछिल्लो समय बलिउडमा बनेका बलिया फिल्म हुन्। उनले त्यस्तै गतिलो काम ‘न्युटन’ मा गरेका छन् जो सिड्नि फिल्म फेस्टिबल र मेलवर्न फिल्म फेस्टिभलमा सफल भएको छ।

आफ्नो फिल्म ‘ट्र्याप्ड’ लाई मेलवर्नमा भइरहेको भारतीय फिल्म फेस्टिबलमा प्रचार गर्न आएको मौकामा राजकुमारसँग हिन्दी सिनेमामा ‘हिरो’ को विकास कसरी भइरहेको छ भन्ने बारेमा कुराकानी गरिएको छ। यसका साथै हन्सल मेहतासँग उनको सम्बन्ध, र सानो सहरको कथा बोकेका फिल्मलाई दर्शकहरूले किन मन पराइरहेका छन् भन्ने बारेमा कुराकानी गरेका छौं।

सिधै विषयमा जाउँ। तपाईं भारतीय चलचित्रको नयाँ प्रकारको मुख्य पात्र बन्नुभएको छ। त्यो मुख्यपात्रलाई म ‘हिरो’ भन्ने छैन। नयाँ पुस्ताका नवाजुद्धिन सिद्धिकी र अन्य कलाकारसँगै अभिनय र प्रस्तुतिको बलले ‘हिरो’ शब्दको बुझाइ, सोचाइ, स्वरूप र अनुहार सबैथोक परिवर्तन गरिदिनुभएको छ। ९० र २००० को दशकताका बलिउडमा त्यो सोच्न पनि नसक्ने विषय थियो। साधारण मानिस हिरो हुनै सक्दैन थियो। त्यो समयमा के परिवर्तन भयो जसले तपाईंलाई हिरो भनेर बुझिने पुरानो सोचाइ परिवर्तन गर्ने ठाउँ मिल्यो?

मलाई लाग्छ अहिले हाम्रा लेखकले लेखिरहेका कथाको कारणले यो भइरहेको छ। र, निर्देशकले कथा भन्ने माध्यमले पनि  उनीहरूले अहिले पात्र लेखिरहेका छन्। कुनै नाम र अनुहारको लागि कथा लेखिरहेका छैनन्। आफ्नो कथा र चरित्र लेखिरहेका छन्। कथामा अभिनय गर्ने कलाकार छानिरहेका छन्। हुनसक्छ यही एउटा कुरा परिवर्तन भयो र सँगसँगै दर्शक पनि। उनीहरू पर्दामा सामग्री हेर्न मन पराउन थालेका छन्। पर्दामा चरित्र निभाइएको होइन, बाँचेको हेर्न थालेका छन्। यी सबै एकमुस्ट कारणले हामी परिवर्तन भएको देखिरहेका छौं।

बलिउड अहिले रोमाञ्चक ठाउँमा आइपुगेको छ। ‘कमर्सियल’ र ‘आर्टहाउस’ फिल्मकाबीचमा मधुरा रेखा छन्। तपाईंलाई लाग्दैन हामीले यी कुरालाई बढी नै अप्ठ्यारो बनाउँदै लगेका छौं?

एकदमै हो। साँचो भन्नुपर्दा के लाग्छ भने कसैले पनि फिल्मलाई  खण्डखण्ड बनाउनु हुँदैन। एउटा फिल्म, फिल्म नै हो, चाहे खराब होस् या सही। हामीले यही कुरामा अलिक ध्यान दिनुपर्छ। जे तरिकाले भए पनि फिल्मले अगाडि धेरै सङ्घर्ष गरे। ट्रेड एनालिस्ट तरन आदर्श सरले भनेजस्तै अहिले सफलता दर ८ देखि ९ प्रतिशतमा खुम्चिएको छ। त्यसैले अरू अप्ठ्यारा भुलेर फिल्मको कथा के हो र के भन्न खोजिरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

निर्देशक हन्सल मेहतासँग तपाईंको सम्बन्ध बारेमा कुराकानी गरौं। किनकि उनले तपाईंका विभिन्न क्षमता खोतलेर बाहिर ल्याएका छन्। ‘साहिद’ फिल्म ‘अलिग्रा’ भन्दा फरक थियो र ‘अलिग्रा’ ‘सिटिलाइट्स’ भन्दा भिन्न। तपाईंसँग भएको त्यो के कुरा हो जसलाई उनले त्यति मजाले समातेका छन्। जो पर्दामा यति सफल भइरहेको छ ?

मलाई लाग्छ यो हामीले एकअर्कालाई जति बुझेको छौं त्यसैका कारणले भइरहेको छ। हामीले भन्न चाहने कथा र गर्न चाहने फिल्म एकै स्वादको छ। उसले मलाई कलाकारको रूपमा धेरै पगार्छ। म अहिले ‘बोस’ गरिरहेको छु। भर्खरै ‘ओमर्ता’ सकियो जुन टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा गएको छ। ती त्यस्ता चरित्र हुन् जसलाई मैले पहिले गरेको थिइनँ, भिन्न छन्। उसले पात्रका बारेमा लेख्दा नै मलाई काल्पनिक दृश्यमा राखेको हुन्छ। र ऊ मलाई त्यही जिम्मेवारी दिन्छ। म उसको त्यो पात्र बन्न खुसी हुन्छु। एक कलाकारले चाहने त्यही हो। हरेक फिल्ममा फरक-फरक काम देखियोस्।

‘ट्र्याप्ड’मा सारै चुनौतीपूर्ण भूमिका थियो। जब अरू कलाकारसँग काम गरिन्छ, त्यसबेला एकअर्काको बैसाखी हुन पाइन्छ। उनीहरूमा निर्भर हुन सकिन्छ र धेरै कुरा बाँड्न पाइन्छ। तर त्यो फिल्मको सम्पूर्ण भार त तपाईं एक्लैले थेग्नुपरेको थियो। कोठामा थुनिएको तपाईसँग सहकलाकारको रूपमा एउटा पीडित र चिन्तित मुसो मात्र थियो। त्यो अनुभव कस्तो थियो?

त्यो रमाइलो थियो। गर्न सजिलो फिल्म र पात्र हुँदै हैन त्यो। तर सुटिङका २४ दिन रोमाञ्चक रहे। बिक्रमादित्य मोटवान साँच्चिकै उत्कृष्ट निर्देशक हुन्। त्यो शक्तिशाली कथा र बलशाली निर्देशकको साझा प्रतिफल थियो। म ‘ट्र्याप्ड’को एक अंग हुन पाएकोमा भाग्यमानी ठान्छु किनकि हामी त्यस्ता खाले ‘सर्भाइवल ड्रामा’ हत्तपत्त बनाउँदैनौ। हामीसँग भएको थोरै मध्येमा पर्छ। तपाईंले भनेजस्तो त्यहाँ कोही थिएन। म मात्र। मुसो प्राकृतिक थियो। मलाई धेरै रमाइलो लागेको थियो। मलाई कोही सह कलाकार होस् वा नहोस् खासै फरक त पर्दैन। मैले कलाकारको रूपमा प्रतिक्रिया जनाउने हो। त्यो सह कलाकारसँग हुन सक्छ वा म घेरिएको अवस्थासँग। ‘ट्र्याप्ड’मा म अवस्थासँग जुधिरहेको थिँए त्यसैले खासै फरक परेन।

सर्भाइवल ड्रामाबाट पोलिटिकल ड्रामा तर्फ लागौं। ‘न्युटन’ का कुरा गरौं। हामी भारतमा राजनैतिक फिल्म बिरलै बनाउँछौ। यस्तो ‘न्युटन’ आएको छ जसले यथास्थितिवादलाई ब्यंग्य कसेको छ। भारतीय दर्शकको हकमा ब्यंग्यको माध्यमबाट फिल्मको राजनैतिक सन्देश भन्नु अलिक सहज हो?

गम्भीर फिल्ममा हाँस्यरस मिसाउनु रमाइलो हुन्छ। त्यसैले पनि म राजकुमार हिरानी र ऋषिकेश मुखर्जी जस्ता निर्देशकको फ्यान हुँ। उनीहरूका कथा संवेदनशील हुन्छन् तर हाँस्यरस मिसाउँछन्। त्यसो गर्दा दर्शक तानिन्छन्। फिल्मले मनोरन्जन दिएसँगै सोच्न बाध्य बनाउँछ। ‘न्युटन’ले पनि सायद त्यस्तै गर्नेछ। यसले पनि अत्यन्तै गहन विषयलाई रमाइलो पाराले उठाएको छ। यो सुन्दर संयोजन हो। हो, हामी धेरै राजनैतिक फिल्म बनाउँदैनौं। मलाई आशा छ ‘न्युटन’ले दर्शकमा त्यस्तो छाप छोड्नेछ जसले यस्ता खाले अरू फिल्म बनाउन सबैलाई प्रेरित गर्नेछ।

‘न्युटन’मा तपाईंले निभाएको भूमिकाले मलाई ज्यादै उत्सुक बनाएको छ। उसको नियममा बाँधिएको जीवन र बुझाइलाई हेर्दा उ साह्रै मन पराइने पात्र हैन। तर पनि उसँग त्यस्तो मानवियता छ जसले हामीलाई अन्तिमसम्मै बाँधेर राख्छ। उक्त चरित्रको ढुकढुकी नाप्ने यात्रा कस्तो थियो? उसलाई बुझ्न कत्तिको गाह्रो भयो?

थिएन, बरु एकदमै सजिलो। उ त्यस्तो आदर्शवादी मानिस हो जो आफ्नो आदर्शबाट डगमगाउँदैन। सिधै तुलना त नभनौं तर उ गान्धीजी जस्तै छ जो आफूले गरेको विश्वासबाट कतै हल्लिदैँन थिए। र, त्यही एक उनको विशेषता थियो जसले ब्रिटिसको टाउको खाएको थियो। न्युटन त्यस्तै पात्र हो भन्ने लाग्छ। मानिसलाई दिइएको काम इमान्दार भएर गर्ने हो भने संसार कति राम्रो भइसक्थ्यो। हामी त अल्छि भैहाल्छौं। कहिलेकाहीँ हेलचेक्र्याँइ पनि गर्छौं। तर न्युटन त्यस्तो हैन। ऊ जहिल्यै उस्तै छ। चाहे जे होस् ऊ आफ्नो काम पूरा गरेरै छोड्छ। मलाई उसकाबारेमा यति भनिएको थियो। उ आदर्शमा विश्वास गर्ने मानिस हो र जे भए पनि बाटो छोडेर भाग्दैन।

मलाई अर्को रमाइलो कुरा के लागेको छ भने ९० दशकमा करियर सुरु गरेका बलिउड कलाकार पनि त्यस्ता फिल्म गर्न थालेका छन् जुन यदि पुरानै फर्मुला चलिरहेको भए उनीहरूले कहिल्यै गर्ने थिएनन्। त्यस्ता भिन्न-भिन्न ठाउँ वा स्थानमा कसरी यात्रा गर्नुहुन्छ? ‘ट्र्याप्ड’ बाट ‘बरेली कि बर्फी’ सम्म। ती त दुई फरक संसार जस्तो देखिन्छन्, हैन?

हो धेरै मानिसले मलाई त्यसो भन्छन्। अब कमर्सियल सिनेमातिर आउन खोजेको हो? भनेर सोध्छन्। म उनीहरूलाई भन्छु कि त्यस्ता कथाहरु मलाई दिइएको पहिलोपल्ट हैन। ‘लभ सेक्स और धोका’ पछि धेरै कमर्सियल फिल्मबाट मलाई अफर आएका छन्। तर म ती सबै गर्न उत्साहित भइन। उनीहरू मेरो संवेदनशीलतासँग मेल खाँदैनन्। ‘बरैली कि बर्फी’ कथावस्तुमा ध्यान दिइएको फिल्म हो। यसले चरित्रकाबारेमा कुराकानी गर्छ। यसले साना सहरको कथा भन्छ। र, त्यो मलाई मनपर्ने स्थान हो। यो मैले अकस्मात २० जना कलाकारलाई कुटेको दृश्य भएको फिल्म हैन। म इमान्दारितापूर्वक आफ्नो चरित्र निभाउने प्रयत्न गर्छु। मलाई आशा छ अरुले त्यो दृष्टिकोणबाट पनि सोचिदिन्छन् र कमर्सियल फिल्ममा हामफालेको भनिदिँदैनन्।

म शुभासिस भुटियानीसँग कुराकानी गरिरहेको थिएँ । उनले साना सहर भारतीय चलचित्रमा दोहोरिन थालेको प्रसङ्ग उप्काए। हामी हाम्रो कथा भन्ने कोसिसमा छौं। ९० र २००० को दशकमा युरोपका सहर र स्वीट्जरल्याण्डका हिमाल हाम्रो प्राथमिकतामा पर्थे। अहिले हाम्रै बनारस जस्ता सहर फिल्मका माध्यमबाट खोजिरहेका छौं।

एकदमै सही। म धेरैजसो भारत साना सहरमा बस्छन् भन्ने विश्वास गर्छु। धेरै भारतीय त्यहाँ छन्। र साँचो बोल्नुपर्छ तिनै मानिस हुन् जो हाम्रो फिल्मलाई सफल वा फ्लप बनाउँछन्। म खुसी छु किनकि हामी ऋषिकेश मुखर्जीका फिल्मले खोजेका युगमा फर्किँदैछौ। उनका धेरैजसो फिल्म र पात्र त्यस्तै सहरसँग गाँसिएका थिए। त्यो संवेदनशीलता अहिले फेरि पुनर्जिवित भएको छ। यो पनि एक फर्मुला नै हो जस्तो लाग्छ। ९० को दशकमा युरोप पुगेर खिचिएका फिल्मले त्योबेला काम गरेका थिए। अहिले साना सहरको चलन छ। त्यसकै वरपर फिल्म बनाउँदै छन्।

मलाई थाहा छ यो पनि एक दिन हराउनेछ र कुनै नयाँ आउनेछ। हामी त्यसैलाई पछ्याउन थाल्नेछौं। तर एक कलाकारको रूपमा यो मेरो लागि रोमाञ्चक समय हो। किनकि म त्यस्ता पात्र निभाउन पाइरहेको छु जो साना ठाँउसँग साँच्चै मजाले गाँसिएका छन्। म पनि सानो सहरबाट आएको भएर होला उनीहरूलाई समाउन मलाई गाह्रो पर्दैन।

यस्तो चलन आउनुको कारण के हो जस्तो तपाईंलाई लाग्छ?

मलाई लाग्छ फिल्म केही हदसम्म यथार्थ हुँदैछन्। भन्न खोजेको हामी अहिले पनि सपना नै बेचिरहेका छौं। भारतीय चलचित्रले जहिल्यै सपना बेच्ने हो। तर त्योभन्दा अलिक बढी मानिसहरू पर्दामा यथार्थता खोज्न थालेका छन्। त्यसै कारणले हुन सक्छ लिप्स्टिक अन्डर माई बुर्का, हिन्दी मिडियम, तलवार, साहिद, ट्र्याप्ड जस्ता फिल्म सफल भए, पैसा पनि कमाए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.