महिलाहरू यस्तो समाधान निकाल्न सक्छन्, जुन पुरूषले सोचेका पनि हुँदैनन्

फोटो स्रोत-हफिङ्टनपोस्ट


फिल्ममेकरहरू पत्रकारलाई अक्सर त्यस्तो ठाउँमा भेट्छन्, जहाँ आफूलाई सहज महसुस गर्छन्। घर वा अन्त कहीँ। तर इम्तियाज अलि फरक निस्किए। उनले पश्चिम मुम्बई अवस्थित अँधेरी भन्ने ठाउँको एक अनौठो धुमिल क्याफेमा बोलाए, जहाँ हत्तपत्त फिल्ममेकरहरु पुग्दैनन्। उनी त्यही इम्तियाज हुन्, जसले सबैले बिर्सिइसकेको रतलाम सहरलाई देशैभर चर्चित बनाइदिए। उनले रेल रोमान्स र हरिया फाँटहरूमा गरिएका मोटरसाइकल यात्राहरूलाई मिठासपूर्ण सिमानाहरूले भरिदिए।

धेरै कम फिल्ममेकहरूसँग आफ्नो हस्ताक्षर शैली हुन्छ, जुन अरूको भन्दा पृथक हुन्छ। इम्तियाज त्यसैमध्ये एक हुन्। उनका फिल्ममा सहज यथार्थवाद भेटिन्छ, जसलाई पात्रहरूले आफ्नो भावनात्मक संवादद्वारा सजिलै बोकिदिन्छन्। ध्यान दिनुहुन्छ भने उनका पात्रहरूले भावनालाई महसुस गर्ने मात्र हैन, आफ्नो महसुसबारे संवाद गरिदिन्छन्। यस्तो लाग्छ, भनिएनन् भने सायद भावनाहरू वास्तविक रहँदैनन्।

उनका फिल्महरूमा गहन र अर्थपूर्ण गाम्भीर्यता त हुन्छ नै, जीवनबोध र सत्यता पनि हुन्छ। ‘तमासा’ र ‘हाइवे’को ‘क्याथेर्टिक’ अन्त्य होस् या ‘रकस्टार’मा खल्बलिएको गहन रोमान्स र अनिश्चिततावाद, इम्तियाजले एक फिल्ममेकरको रूपमा पारेको प्रभाव र पप कल्चरका विषयमाथि ल्याएको हलचललाई कम आँक्न सकिँदैन। तर सँगसँगै उनका कमजोरीहरूलाई पनि सम्बोधन त गर्नैपर्छ।

यो अन्तर्वार्तामा तिनै निर्देशकले आफ्ना सिनेमा, प्रेरणा, र प्रेमको परिभाषा के हो भनेर बोलेका छन्।

‘जब वि मेट’को सफलताले तपाईंलाई त्यो ठाउँमा पुर्यायो, जहाँबाट तपाईं समकालीन रोमान्सको पृथक् आवाज बन्नुभयो। गीत र आदित्यको रोमान्समा एक महत्वकांक्षा जन्माउन सक्ने क्षमता लुकेको थियो। उमेर बढ्दै गरेको एक युवाको रूपमा मैले पनि गीतलाई भेट्ने चाहना बोकेको थिएँ। तपाईंलाई याद छ ती पात्रहरू कसरी जन्मिएका थिए? कसैको जीवनमा आधारित भएर बनाइएका थिए?

म केही केटीहरू चिन्छु जसको व्यवहार गीत जस्तै छ। उनीहरू ऊ जस्तै बोल्छन् तर पनि गीत कुन एकै व्यक्ति हेरेर चित्रण गरिएकी पात्र हैन। फिल्म रिलिज भइसकेपछिका १० वर्षहरूमा धेरै केटीहरू मलाई भेट्न आएका छन्। ‘मलाई ग्रुपमा गीत जस्तै छे भन्छन्’ भनेर सुनाएका छन्। धेरै केटीहरू हुन्छन्, जो बोल्न मन पराउँछन् र आफूलाई आफ्नो ‘फेभरेट’ मान्छन्। त्यसैले यो कुनै एकजनाको कथा मात्र हैन।

आफैंलाई माया गर्ने एक केटी, जो अरू सबैमा राम्रो मात्र देख्छे। दुर्लभ प्रोटागोनिस्ट हो गीत।

हो। गीत आफूलाई माया गर्ने केटी मात्र हैन, सबैलाई एकैपल्टमा विश्वास गरिहाल्ने र दिमागमा जे आयो बोलिहाल्ने केटी हो। ऊ केही कुरा चपाउँदिन। ऊ निर्दोष छे र जे कुरालाई पनि सकारात्मक रूपमा हेर्छे।

हो। त्यस्तो निर्दोषपन, जसलाई यो संसारले पनि भ्रष्ट पार्न सकेको छैन।

हो। ऊ बिग्रिएकी छैन र यदि खराब अनुभव भयो भने पनि ऊ त्यसलाई बोकेर हिँड्दिन। उदाहरणको लागि रेल्वे स्टेसनमा पानी बेच्ने केटासँग उसले खराब अनुभव गरी। तर त्यसबाट उसले बुझेको कुरा गलत छैन। सकारात्मक सोच र सरल जीवनशैलीबाट ऊ बनेकी छे। र, मैले त्यो खाले केटीहरू धेरै देखेको छु।

‘जब वि मेट’ पछाडिका फिल्महरूले भने मिश्रित प्रतिक्रियाहरू पाए। ‘रकस्टार’ र ‘तमासा’लाई नै हेरौं। मलाई लाग्छ, ‘तमासा’ तपाईंको अहिलेसम्मकै सबैभन्दा जटिल फिल्म हो, जहाँ रणवीरको सबैभन्दा उत्कृष्ट काम देख्न पाइन्छ। मेरो लागि त्यो फिल्म ध्यान गरेजस्तो वा कुनै धार्मिक अनुभव लिए जस्तो भयो। तर पनि मैले के पाए भने तपाईंका अन्य फिल्महरूमा जस्तै महिला पात्र एक्लैले एक बिग्रिएको पुरुष पात्रलाई उद्धार गरिरहेको देखिन्छ।

हाँसो…। मलाई थाहा छैन, यो आरोप हो कि प्रशंसा। यदि महिला पात्रले फिल्ममा पुरुष पात्रलाई उद्धार गरिरहेको छ भने म कुनै न कुनै रूपमा जीवनको नक्कल उतारिरहेको छु। व्यक्तिगत रूपमा मैले त्यस्तो भएको धेरैपल्ट देखेको छु। म यसलाई नकारात्मक प्रतिक्रियाको रूपमा लिन्न।

तपाईं भन्दै हुनुहुन्छ, कि यो तपाईंको आफ्नै जीवन अनुभवबाट आउँछ वा हुनसक्छ अरू कसैकोबाट जसको बारेमा तपाईं जान्नुहुन्छ?

यो भोगिएको वा भएको अनुभव हो। हो, मैले धेरैपल्ट त्यस्तो भएको देखेको छु। केटाहरू पनि केटीहरूका कारण समस्यामा परेका छन् तर मेरो लागि त्यो साधारण कुरा हो। म धेरै महिलाहरू देख्छु, जो पुरुषको जीवन सुधार्न सकारात्मक भएर लागिरहेका हुन्छन्। मलाई यो कुरा स्वीकार गर्न कुनै लाज लाग्दैन पनि कि मलाई पुरुषभन्दा महिलाहरू धेरै ‘स्मार्ट’ लाग्छन्। महिलाहरू धेरै बुद्धिमान, सचेत र व्यावहारिक हुन्छन्। उनीहरू त्यस्तो समाधान लिएर आउन सक्छन्, जुन पुरुषहरूले सोचेका पनि हुँदैनन्।

त्यो ठिक छ, तर यो हेराइ समस्याग्रस्त छ किनकि तपाईं महिलालाई पुरुषको सन्दर्भमा हेरिराख्नुभएको छ, पुरुषको नजरबाट। फरक ढङ्गले हेर्नेबारे सोच्नुभएको छैन?

छैन। जब म कथा बनाइरहेको हुन्छु, पत्याउनुहोस् नपत्याउनुहोस् म कुनै धारणा मात्र बनाइरहेको हुँदिन। मेरा पात्रहरूले भनेका ५०० भन्दा धेरै कुराहरू होलान्, जसलाई म व्यक्तिगत रुपमा विश्वास गर्दिन। सबै पात्रहरूले एउटा मान्छेको दृष्टिकोण बोक्नुपर्छ भन्ने छ र? यदि त्यस्तो भए त्यो दुर्भाग्यपूर्ण हुन्छ। त्यो धेरै सीमित हुन्छ। म त्यस्तो चाहन्न। मलाई लाग्छ ‘जब वि मेट’को आदित्य, ‘रकस्टार’को जोर्डन वा ‘रकस्टार’कै हीरले भन्ने कुराहरूमा म विश्वास गर्दिन। उनीहरू म हैनन्। म त केवल लेखक मात्र हुँ।

तर उनीहरू तपाईंको कल्पनाको फैलावट त हुन् नि। तिनीहरूले तपाईंको दृष्टिकोणको प्रतिनिधित्व गर्छन्। गर्दैनन र?

सतप्रतिशत गर्दैनन्।

हो, उनीहरू मेरो कल्पनाका फैलावट हुन्। म हरेक मानवलाई मन पराउँछु। जब म निर्णय गर्छु, दुवै तर्फका तर्कहरूमा सचेत हुन्छु। दाहिने वा देब्रे जता जाने भए पनि दुवै बाटोका सकारात्मक र नकारात्मक पक्षहरूबारे जान्दछु। र, मेरो पात्रहरूले पनि दाहिने वा देब्रेमध्ये एक प्रतिनिधित्व गर्न सक्छन्। उनीहरू म व्यक्तिगत रूपमा जानुपर्ने बाटो वा जानसक्ने बाटो हिँड्नको लागि बाध्यकारी हुँदैनन्। म प्राय: त्यो अवस्थामा आफू भए के गर्थें भन्ने कुरा पनि सोच्दिन। केवल गीतले यस्तो गर्न सक्छे महसुस गर्छु र उसलाई त्यो गर्न लगाउँछु। त्यसको मतलब म उसको नैतिक कम्पास हुँ भन्न मिल्दैन।

तपाईंको फिल्ममा प्राय: चक्रिय प्रक्रिया हुन्छ, जहाँ पात्रहरू विवाह गर्दा वा हुन लाग्दा अर्को कुनै व्यक्तिसँग प्रेममा रहेको महसुस गर्छन्। त्यो बुझाइ यसरी आउँछ जहाँ अर्को पात्रले उनीहरूलाई विश्वास दिलाउँछ कि जसलाई माया गरेका छन् त्यो उनीहरूको लागि बनेको हैन। यो कहाँबाट आउँछ? यो द्वन्द्वमा के त्यस्तो विशेषता छ, जसलाई तपाईं बारम्बार प्रयोग गर्नुहुन्छ? ‘सोच ना था’, ‘लभ आज कल’, ‘जब ह्यारी मेट सेजल’, ‘रकस्टार’ सबैमा यो पाउन सकिन्छ नि।

मलाई लाग्दैन, मसँग यो प्रश्नको जवाफ छ। म उत्तर दिन असमर्थ छु।

तर, यो ढाँचा त हो नि हैन?

हो, यो ढाँचा हो। म पात्रहरूले सोच परिवर्तन गर्छन् भन्ने कुरा विश्वास गर्छु। तर, यो कहाँबाट आउँछ भन्ने कुरा भने मलाई पनि थाहा छैन। मेरो फिल्ममा अन्य ढाँचा पनि छन्। जस्तो कि ‘एन्टि स्टेबलिसमेन्ट’। गीता घरबाट भाग्नु वा रकस्टारमा जोर्डन ‘साडा हक’ भन्दै चिच्याउनु। उनीहरू स्थापित कुरालाई एक प्रकारले प्रश्न गरिरहेका छन्। र, यो पनि मेरो व्यक्तिगत जीवनबाट सिधै आएको हैन। मानिसहरू रोमान्टिक प्रेरणा लिइरहेका छन्, जुन पनि मेरो व्यक्तिगत जीवनबाट प्रभावित भएको हैन। मानिसले बाँच्छ र बुझ्छ। परेर जान्दछ। म एउटा कुरा भन्न सक्छु, कि मैले प्रेम भनेर जे सोचेको थिएँ, त्यो पुरै परिवर्तन भएको छ। यो केही समयसम्म परिवर्तन भइरहेको थियो। तर, अब यति धेरै भइसक्यो कि म त्यो शब्द पनि हत्तपत्त प्रयोग गर्दिन। के यो जवाफ पर्याप्त थियो? मसँग भएको जवाफ यति मात्र हो।

प्रेमको उद्विकासको बारेमा कुरा गरौं। एक समय थियो, जहाँ प्रतिबद्धता धेरै चाहिन्थ्यो। जहाँ छनौटहरू पनि सीमित थिए। फेरि यस्तो समय आयो, जहाँ हामी रोमान्समा प्रजातन्त्रवादी भयौं तर पनि प्रतिबद्धता पवित्र नै थियो। तर अहिले रोमान्स त दालभात जस्तै भैसक्यो, मानिसहरू प्रतिबद्धता पनि जनाउन छोडे, किनकि सबैलाई लाग्छ, अझै राम्रो केही आउनै छ। सहज वैकल्पिक बाटोमा जे सजिलै पाइन्छ, त्यसको महत्त्व हुन छोड्छ। कम्तीमा मलाई यस्तो लाग्छ। तपाईंलाई के लाग्छ?

तपाईं सही हुनुहुन्छ।

तर म के महसुस गर्छु भन्ने सुनाउँछु। जब तपाईं मायाको बारेमा कुरा गर्नुहुन्छ, तपाईं अरू कोही वा भन्नुस् आफ्नो प्रेमीको बारेमा कुरा गर्नुहुन्न। तपाईंलाई गर्छु जस्तो लागे पनि गर्नुहुन्न। तपाईं आफ्नो बारेमा वा केलाई माया गर्नुहुन्छ तथा के खोजिरहनुभएको छ भन्ने बारेमा कुरा गर्नुहुन्छ। र यही कुरा हो, जसले परिभाषा खोज्छ। त्यो अर्को मानिस, जसलाई प्रेमी भन्नुहुन्छ, तपाईंका लागि एक वस्तु मात्र हो। तपाईंको भावना बुझ्नको लागि प्रयोग भएको एक साधन जस्तो। म यी कुराहरू भनिरहेको छु, किनकि तपाईं सोधिरहनुभएको छ। खासमा मसँग ती कुराको जवाफ छैन। तर यदि मेरो प्रेमप्रतिको भावना बुझ्नुहुन्छ भने मैले बुझेको कुरा भन्छु, प्रेम बाटो मात्र हो गन्तव्य हैन।

गज्जब। मलाई लाग्छ कसैले पनि मायालाई परिभाषित गर्न सक्दैन। तर हामी कला, साहित्य र सिनेमाको माध्यमबाट यसको विवेचना त गर्न सक्छौं नि हैन?

हो। फिल्ममेकरको रूपमा म जीवन खोज्छु र सँगै सिनेमाहरूको माध्यमबाट प्रेमको अर्थ खोज्छु। मेरो सिकाई त्यहाँ हुन्छ।

अब मलाई के रमाइलो लाग्यो भने तपाईंले आफ्ना पात्रहरू ‘नन कन्फर्मिस्ट’ छन् भन्नुभयो। त्यसलाई नजिकैबाट हेर्दा त्यो धारबाट आइरहेका स्वरूपहरू देख्न सकिन्छ। म के हेर्न खोजिरहेको छु भने तपाईं आफैंले बनाएको स्वरूपहरूलाई पनि स्वीकार गर्न थाल्नुभएको छ।  त्यसलाई कहिल्यै प्रश्न गर्ने गर्नुभएको छ?

सायद हुनसक्छ। म त्यसलाई प्रश्न गरिरहेको हुन्छु। सकभर त म प्राकृतिक रूपले मसम्म आउने फिल्महरू गर्न खोज्दिन। फरक प्रकारका फिल्म नै बनाउन खोजिरहेको हुन्छु। फरक भनेको फिल्मको विधागत हिसाबमा कुरा गरेको हुँ। फरक प्रकृति भन्न खोजेको।

अगाडि भन्नुभयो कि, तपाईंले भोगेका वा बाँचेका अनुभवहरू तपाईंको फिल्म बन्ने बाटोतर्फ हिँड्छन्। के तपाईं उमेर बढ्दै गर्दा त्यस्ता अनुभवहरू घट्दै गएको महसुस गर्नहुन्छ? एक फिल्ममेकरको रूपमा त्योखाले अवधारणा सीमित भएको जस्तो लाग्दैन?

मलाई लाग्दैन कि त्यो सीमित छ। जब तपाईं बुढो हुनुहुन्छ धेरै प्रकारका अनुभवहरू हुन थाल्छन्। हरेक उमेरमा हुने अनुभवहरू भिन्न छन्। जीवनसँग सहभागी हुनु धेरै महत्त्वपूर्ण हुन्छ र बोल्नुभन्दा पहिला मैले के बोल्ने हो जान्नु त झनै जरुरी हुन्छ। बाँचेका अनुभवहरू फिल्ममा मिसिन्छन् सत्य हो तर त्यति स्पष्ट रूपमा पनि हैन। मिसिन्छन् तर विस्तारै।

मानिसहरूले विभिन्न खोजी गर्ने क्रममा आफ्नो साथीलाई छोड्ने कुरा, (म सोध्न पाउँछु भने) के ती तपाईंको विवाहको व्यक्तिगत अनुभवबाट आएका हुन्? त्यसले यो सामाजिक संस्थाप्रति तपाईंलाई नकारात्मक बनाइदिएको छ?

हैन। मेरो वैवाहिक अनुभवले मलाई नकारात्मक बनाएको छैन। म विवाहको सम्बन्धमा जहिल्यै गलत रूपमा बोलेको भनेर लेखिइएको छु। त्यसैले म प्राय: यसबारेमा कुराकानी गर्दिन किनकि त्यो अन्तिममा कहाँ झर्छ भन्ने मलाई थाहा छ। यसबारेमा मलाई केही नभन्न दिनुहोस्। म वास्तवमा केही अर्कै भन्ने चाहन्छु …

यो अन्तर्वार्ता मिडियाले पछ्याउने न्यारेटिभ भएर जाँदैन। त्यसले तपाईंलाई असहज बनाउँछ?

हो। हुनसक्छ म अन्तर्वार्तामा जीवनको बारेमा ज्यादा नै कुरा पत्तो लगाउन खोज्छु र केही मान्छेहरू छन्, जसलाई यसको कथन बनाउन रमाइलो लाग्छ।

त्यसोभए तपाईं विवाहप्रति हैन, मिडियाप्रति नकारात्मक हुनुहुन्छ?

(हाँसो) यसलाई यसरी लैजाउँ। म अलिकति सावधान हुन खोजेको मात्र हुँ। किनकि पटकपटक उही गल्ती दोहोर्याउन चाहन्न। तर प्राय: यसै भइराख्ने कुराको बारेमा धेरै भनिराख्नु पर्दैन।

२०१२ मा तपाईंले ‘ककटेल’ नामको फिल्म लेख्नुभयो, जसलाई होमी अदाजनियाले निर्देशन गरेका थिए। फिल्म सफल भए पनि महिला पात्रहरूलाई प्रस्तुत गरेको आधारमा विवादास्पद भयो। के भन्नुहुन्छ?

(रोकेर) हेर्नुहोस्, यदि मैले त्यो फिल्म निर्देशन गरेको हैन भने मैले त्यसको बारेमा बोल्ने स्वामित्व लिन मिल्दैन।

तर पनि यो तपाईंको लेखन त हो नि हैन?

लेखनलाई ५०० भन्दा धेरै तरिकाले विवेचना गर्न सकिन्छ। लेखिएको भन्दा फरक पनि बनाउन सकिन्छ।

‘ककटेल’लाई हेर्नुपर्दा तपाईं कसरी हेर्नुहुन्छ?

जसरी देखाइएको छ त्यसमा केही गलत छ जस्तो मलाई लाग्दैन। साँचोभन्दा भरोनिका (दीपिका) सैफले मन पराउने खाले केटी थिई। मुख्य कुरा नै यो थियो कि ऊ त्यसको विरुद्धमा जान्छ, किनकि उसलाई डायनाको पात्र मन पर्छ। यसमा भारतीय हुनु वा परिवारमा स्वीकार्य हुनुसँग कुनै सम्बन्ध नै थिएन।

त्यसोभए तपाईंलाई लाग्छ कि समस्या कथा भन्ने शैलीमा थियो? किनभने फिल्मलाई समस्याग्रस्त किन भनियो भने भेरोनिका जो चुरोट खान्छे र धेरै स्वतन्त्र छे, उसलाई यौनकर्मीको स्वरूपमा देखाइएको छ, त्यसैले उसले त्यो केटा पाउन सक्दिन। फिल्मले के सन्देश दियो भने तिमी ऊसँग रमाइलो गर्न सक्छौ, तर सँगै जीवन बिताउन सक्दैनौ। म निश्चित छु कि तपाईंले यो कुरा पहिला पनि धेरैपल्ट सुनेको हुनुपर्छ।

हो। सयपल्ट भन्दा पनि धेरै। र, म हरेकपल्ट यही भन्छु कि मैले यो निर्देशन गरेको हैन। मैले बोल्न मिल्दैन। कसैले पनि स्क्रिप्ट पढ्दैन। मलाई सोध्नुभन्दा पहिला मैले लेखेको स्क्रिप्ट मानिसहरूले पढ्नुपर्छ। निर्देशकले सबै कुरा बिगारेको म भन्दिन तर मैले भन्न खोजेको तरिकाभन्दा फरक तरिकाले भने यसलाई भनिएको छ।

‘जब ह्यारी मेट सेजल’ प्रति आएको प्रतिक्रियाको जवाफ कसरी दिनुहुन्छ?

फिल्म राम्रो छ। मलाई फिल्म मन पर्‍यो र मेरो आफ्नो धारणा भन्न पाएको छु। म समालोचकले के भन्छन् हेर्दिन। म यहाँ जनधारणाको अस्वीकार गर्न वा प्रमाणित गर्न बसेको हैन। मेरो धारणामा फिल्म लामो समयसम्म बाँच्ने खाले छ।

त्यसोभए तपाईं यो फिल्मका बारेमा भनिएका सबै कुराको बचाउ गर्नुहुन्छ?

सतप्रतिशत। मैले हरेक फिल्ममा गल्ती गरेको छु र ‘जब ह्यारी मेट सेजल’मा पनि गरेको हुँला। तर मैले गरेका अरू फिल्महरूप्रति गति गर्व गर्छु, यसमा पनि त्यति नै गर्छु।

धेरै मानिसहरू यो विश्वास गर्छन् कि तपाईंले महिला लेखकहरूसँग सहकार्य गर्नुभयो भने तपाईंको फिल्ममा हुने लैङ्गिक असमानता सच्चिन थाल्नेछ।

हुनसक्छ। तर म सबैबाट सल्लाह लिन पनि सक्दिन। त्यसैले  म जस्तो देख्छु त्यस्तै गर्छु। मलाई अझै मेरो दिमागमा विश्वास छ। आफ्नो सबल पक्षलाई मैले पत्याउनु नै पर्छ। मानिसहरूका भिन्न धारणा हुन्छन् र म तिनको सम्मान गर्छु। नकारात्मक प्रतिक्रियाले चिन्तिन पनि हुन्न। मैले अहिलेसम्म पुरुष वा महिला लेखक लिएको छैन। मेरो फिल्ममा तपाईं लैङ्गिक असमानता पाउनुहुन्छ होला तर फिल्म हेरेपछि धेरै महिलाहरूले प्रशंसा पनि गर्छन् किनकि अरू फिल्मको तुलनामा मेरो फिल्ममा महिलाहरू शक्तिशाली हुन्छन्। त्यसैले सबैको धारणा नै अन्तिम सत्य हैन।

(हफिङ्टनपोस्टडटकमबाट साभार)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.