नेपाली सिनेमा र मेरा टुक्रा अनुभूति


सिनेमा र साहित्यप्रति मेरो लगाव सँगसँगै सुरु भएको हो। अझ सिनेमाप्रति मेरो आकर्षण भने साहित्यप्रति अनुरागभन्दा जब्बर थियो। नेपालगन्जमा त्यतिबेलाको एकमात्र लक्ष्मी चित्र मन्दिर मलाई साँच्चिकै ‘दृश्य मन्दिर’ जस्तै लाग्थ्यो। आज सम्झँदा लक्ष्मी चित्र मन्दिर नामै मलाई विलक्षण लाग्छ। लक्ष्मी सिनेमा घर नराखेर लक्ष्मी चित्र मन्दिर जसले नामाकरण ग‍र्‍यो त्यो अज्ञात व्यक्तित्वप्रति मेरो मनमा अचेल अथाह श्रद्धा पलाएको छ।

म कक्षा चार-पाँच पढ्दाताका नै सिनेमाको अम्मली भैसकेको थिएँ। त्यतिबेला सिनेमा मेरो निम्ति ज्ञान हैन, मनोरञ्जनको स्रोत थियो। आनन्द पाउथेँ म सिनेमा हेरेर। स्कुलबाट भागी-भागी र बुवाको पैसा चोरी-चोरी म प्रत्येक साताजसो म्याटिनी शोमा लक्ष्मी चित्र मन्दिर पुग्थेँ।

सिनेमा हेर्न नपाएको बेला रेडियो नेपालमा बज्ने बालकार्यक्रम मलाई रुचिकर लाग्थ्यो। त्यसमा आफ्नै उमेरका केटाकेटीले कथा, कविता र निबन्ध आदि पठाएको सुनेर मभित्र पनि कथा कविता लेख्ने रहर पलाएको थियो। आफ्ना कविता र कथा पनि बासुदेव मुनालको स्वरमा बाल कार्यक्रमबाट वाचन हुन थालेपछि साहित्यप्रतिको मेरो आकर्षण अझै बढ्न थाल्यो।

साहित्यप्रति बढ्दो आशक्तिले मभित्र सिनेमाप्रतिको आकर्षण भने पटक्कै घटेको थिएन। यी दुवै विधाप्रति मेरो अनुराग समानरुपले अगाडि बढिरहेको थियो। सिनेमा र त्यहाँका पात्रप्रति अतिशय अनुरागको विषयमा आधारित रहेर त मैले ‘घामकिरी’ भन्ने उपन्यासै लेखिसकेको छु। सिनेमा बजार र त्यसको चकाचौंधले एउटा आममान्छेलाई कसरी प्रभावित गर्छ र उसलाई स्वप्न लोकको जादुमय र कौतुकमय लोकमा विचरण गर्न विवश पारिदिन्छ भन्ने आशय मैले ‘घामकिरी’मा प्रकट गर्ने प्रयास गरेको छु।

साहित्य मनोरञ्जनको साधन हैन भन्ने मैले लेखनका प्रारम्भिक दिनमै बुझिसकेको थिएँ। तर, सिनेमा मनोरञ्जनको मात्र साधन हैन भन्ने मैले निकै ढिलो बुझेको हुँ। जब मैले सिनेमाको सामर्थ्य बुझेँ, त्यतिन्जेलसम्म म सिनेमाप्रति रचनात्मक स्तरमै आकर्षित भैसकेको थिएँ। मभित्र सिनेमा कलाकार बन्ने भूत सवार भैसकेको थियो।

मेरो सिनेमा संसार नेपाल थिएन, बम्बई थियो। मैले हेर्ने सिनेमा त्यहीँ उत्पादन हुन्थे र कल्पनाका अनेक-अनेक राजमार्ग भएर मसम्म आइपुग्थे। सिनेमाकै भूतले लखेटेपछि म भागेर बम्बई पुगेँ र केही दिन गज्जबले हन्डर खाएपछि अनेक दुःख र कष्टसाथ नेपालगन्ज फर्किएँ। बम्बई मोह त बाँकी रहेन, तर सिनेमा मोह हटेन।

२०४४ सालतिर काठमाडौं आएको केही समयमै म नेपाल टेलिभिजनबाट प्रसारित हुने टेलिफिल्म लेखनमा आवद्ध भएँ। मेरा समकालीन साहित्यिक मित्र स्वर्गीय लोकेन्द्र शाह र त्यतिबेला टेलिभिजनका चर्चित व्यक्तित्व रमेश बुढाथोकीसितको सानिध्यले यो सम्भव भएको थियो।

कलाकार बन्ने सपना अब पटकथा लेखनको नशामा रुपान्तरित भएको थियो। अभिनय गरेरमात्र हैन, सिनेमासित जोडिएका अरु विधासित संलग्न भएर पनि सिनेमासित जोडिन सकिँदोरहेछ भन्ने ज्ञान मभित्र स्थापित भैसकेको थियो। त्यसपछि पटकथा लेखनमा मेरो प्रवेश भयो र निकै वर्षसम्म यही मेरो पेशा नै बन्यो।

म सिनेमा र साहित्यमा समानरुपले उपस्थित थिएँ। म एकसाथ सिनेमा र उलार लेखिरहेको थिएँ । सिनेमाको जादुसित म परिचित भैसकेको थिएँ। तर, म जुन खाले सिनेमा लेखिरहेको थिएँ, त्यसमा त्यो जादू छैन भन्ने पीडा मलाई वोध हुँदै गैरहेको थियो। मसित त्यो पीडामा छटपटाउने समय थिएन। सिनेमा लेखन मेरो कमाइको साधन बनिसकेको थियो र यसबाट तत्काल निस्कने कुनै उपाय थिएन। म सिनेमा लेखिरहेको त थिएँ, तर अढाइ घन्टाको पटकथामाभन्दा बढ्ता आनन्द मलाई हजार बाह्र सय शब्दका छोटा कथा लेख्दा आउन थालेको थियो।

‘मैले नै लेखिरहेका सिनेमाले किन सिर्जनात्मक सन्तुष्टि दिन सकिरहेका छैनन्?’ यो प्रश्न जैले पनि मेरा अगाडि उपस्थित हुन्थ्यो। यो यस्तो प्रश्न थियो, जसको जवाफ पनि मलाई थाहा थियो- नेपाली सिनेमामा प्राविधिक र दृश्यात्मक उपस्थिति त छ तर यसको सिर्जनात्मक उपस्थिति टाढाटाढासम्म देखिदैंन।

म धेरै वर्षसम्म सिर्जनाविहीन नेपाली सिनेमा लेखक भैरहेँ। सिनेमा सिर्जनात्मक हुन नसकेको भडास म साहित्यमा पोखिरहेको थिएँ। सिनेमाको चकाचौंधले अब मभित्रको साहित्यिक चेत र सिर्जनात्मक भोक अलमलमा पार्न सकेको थिएन। सिनेमामा मेरो शरीर उपस्थित थियो, मस्तिष्क साहित्यमा। मलाई लाग्छ, लामो कालखण्डसम्म नेपाली सिनेमामा मस्तिष्क उपस्थिति भएन। त्यसैले नेपाली भाषाको सिनेमामात्र भयो, नेपाली सिनेमा भएन।

सिनेमा आविष्कार लगत्तै त्यसलाई हेरिसकेपछि सन् १८९६ मा विश्व विख्यात साहित्यकार गोर्कीले प्रतिक्रिया व्यक्त गर्दै भनेका थिए, ‘म त्यतिबेला छाया संसारमा थिएँ। …..अनौठो र अद्भुत संसारमा।’

गोर्कीले गरेको यो टिप्पणी विश्व सिनेमा इतिहासको पहिलो सचेत र विशिष्ट प्रतिक्रिया थियो। उनको यो प्रतिक्रियामा सिनेमाप्रति एकसाथ विस्मय, उत्सकता र आकर्षण भाव  थियो। उनलाई त्यतिबेलै अनुभूति भैसकेको थियो कि भविष्यमा सिनेमाले आम जनसमुदायलाई मनोरञ्जन, भावना, अनि संवेदना तहमा कतिसम्म प्रभावित पार्नेछ।

सिनेमा आविष्कार वास्तविक दृश्यहरुलाई छायांकन र प्रदर्शन गर्ने परिकल्पनाका साथ भएको थियो। एक किसिमको ‘न्युज रिल’ जस्ता दृश्यहरु नै सिनेमाका तत्कालीन विषय थिए। तर, यसको विकाससँगै रचनात्मकता, कलात्मकता, कल्पनाशीलता र सिर्जनशीलताका ढोकाहरु एकपछि अर्को गरी उघ्रिन थाले। त्यसपछि सिनेमा निर्माण उद्देश्य, प्राथमिकता र प्रतिबद्धताहरु पनि अलग तरिकाले निर्धारण हुन थाले। यसभित्र साहित्यमा जस्तो वाद, दर्शन र विचारहरू प्रवेश हुन थाले।

सिनेमा विषय सशक्त हुन थाल्यो। कथ्य र प्रस्तुतिमा नयाँ-नयाँ प्रयोग र प्रक्रिया अबलम्वन गर्न थालियो। यसरी सिनेमाले क्रमशः व्यक्तिको चेतना, विचार, भावना एवं संवेदनामा शक्तिशाली हस्तक्षेप गर्न थाल्यो।

अहिले विश्व सिनेमाको गति अत्यन्त तीव्र भैरहेको सन्दर्भमा नेपाली सिनेमा आजका मितिसम्म आफ्नो पहिचान कै संकटबाट गुज्रिरहेको छ। यो संकटको एउटा मुख्य कारण नेपाली सिनेमा भित्रको ‘कथ्य’ हो।

नेपाली सिनेमाको मुख्य समस्या यसभित्रको ‘कथात्मक’ संरचना हो। हामी कहाँ ‘बसाइँ’, ‘मुनामदन’ लगायतका सशक्त रचनाहरुमा कमजोर फिल्म बन्नु र ‘आफ्नो मान्छे’, ‘दर्पणछायाँ’, नाइँ नभन्नु ल’ लगायतका कमजोर कथानकमा सफल फिल्म बन्नुको कारण यही हो।

अपवाद सही, बीचबीचमा ‘नुमाफुङ’ र ‘मुखुण्डो’जस्ता सिनेमा नभइदिएको भए हामीले नेपाली सिनेमाको कुरा उठ्दा मुखै लुकाउनु पर्ने स्थिति हुन्थ्यो। तर, त्यस्ता सिनेमा न्युनताका कारण मुख्य धाराका रुपमा बनिरहेका सिनेमाको वर्चश्वले नेपाली सिनेमाको हरिविजोग छर्लंगै पारिदिएको थियो।

यद्यपि केही वर्ष यता नयाँ छिमलका युवाहरुको प्रवेश भएको छ। तिनीहरुले आफूसँगै केही हदसम्म मौलिक कथा बोकेर ल्याएका छन्। तर बम्बइया फर्मुला नै सिनेमा मान्ने नेपाली सिनेमा निर्माण, वितरण र प्रदर्शनमा फोहोरी उपस्थितिले नयाँ छिमलका युवाहरुको आगमन र उनीहरु सिर्जनात्मक प्रयासले सहजरुपमा बजार पाउन सकेको छैन। यसले गर्दा नेपाली सिनेमाका दर्शक समानरुपले मौलिक कथावाचनका पारखी हुन सकेका छैनन्।

एकथरी दर्शकको जमात लुट, कबड्डी, टलकजंग टुल्केजस्ता बलिया र मौलिक लाग्ने कथानकमा झुम्मिन मन पराउन थालेका छन् भने ‘नाई नभन्नु ल’, ‘कोहिनूर’ जस्ता सिनेमाका चालु संवेदना मन पराउने दर्शकको उपस्थिति पनि बाक्लै छ।

नेपाली सिनेमा अहिले अलमलमा छ। तै खुसी केमा छ भने, बम्बइया सूत्रबाट प्रेरित स्वर्गीय प्रकाश थापाले थालेको नेपाली सिनेमा छवि अहिलेका सानो संख्याका युवा निर्देशकले भत्काउने चेष्टा गरिरहेका छन्।

मेरो दुर्भाग्य! जब नेपाली सिनेमामा परम्पराको भन्जन गर्ने आँटिला निर्देशक उपस्थित हुन थाले, मेरो उपस्थिति नेपाली सिनेमाबाट टाढिँदै गयो। म सिनेमा आख्यानबाट निस्केर साहित्य आख्यानमा फर्किसकेको छु। तर, सिनेमाप्रति आदर भाव आजसम्म मभित्र प्रबल छ। नेपाली सिनेमाको आफ्नै खालको व्यक्तित्व निमार्ण होस् र त्यो व्यक्तित्व विश्व सिनेमामा स्थापित भएको आफ्नै जीवनकालमा हेर्न पाऊँ भन्ने रहर मभित्र यथावत छ।

एकथरिले चर्चित ‘आख्यान’ मा सिनेमा बन्नुपर्छ भन्ने आग्रह राख्दै आएका छन् भने सिनेमाको ‘आफ्नै’ आख्यान हुन्छ भन्ने मत सिने विश्लेषकले राख्दै आएका  यो बहस सार्थक छ किनकि प्रकाशित आख्यानमा ‘द गड फादर’, ‘गन विद द विन्ड’ , ‘द फिलाडेल्फिया स्टोरी’, ‘टु किल अ मोकिंगबर्ड’, ‘पाथेर पांचाली’, द ग्रेट ग्याट्सबी, शिन्डलर्स लिस्ट जस्ता हजारौँ कालजयी सिनेमा बनेका छन्। त्यस्तै ‘सिटिजन केन’, ‘चाइना टाउन’, ‘कासाब्लान्का’, ‘मि.स्मीथ गोज टु वाशिंगटन’, ‘द एडबेन्चर अफ रविनहुड’, र ‘द पियानो’ जस्ता स्वतन्त्र कथामा निर्मित कालजयी सिनेमाले निर्माण गरेको आख्यान संसार आजका मितिसम्म अद्वितीय छन्।

बुझ्न पर्ने कुरा कहाँनेर आउँछ भने सिनेमा र साहित्यमा सिर्जनात्मक सामिप्यता भएपनि यी दुई पूर्णतः फरक विधा र अलग माध्यम हुन्। साहित्यबाट सिनेमा माध्यममा रुपान्तरित हुँदा आख्यान प्रस्तुतीकरण शैली र श्रृंखला मूल कृतिभन्दा फरक हुन सक्छ। माध्यम परिवर्तनका कारण सिर्जित हुने स्वाभाविक प्रक्रिया हो यो। यो प्रक्रिया नेपाली आख्यानकारले स्वाभाविक रुपमा लिइदिए आख्यानकार र नेपाली फिल्मकर्मीको सम्बन्ध सुमधुर हुने थियो। यसको फाइदा नेपाली सिनेमा क्षेत्रले प्रशस्त पाउने थियो।

तर, माध्यम परिवर्तन र निर्देशक अधिकारको नाममा नेपालका अधिकांश साहित्यिक कृतिमा बनेका सिनेमाले रचनाको मूल मर्मसित न्याय गर्नै नसकेको पाइएको छ। यसको एउटै कारण हो–रचनालाई साहित्यबाट सिनेमा माध्यममा परिवर्तन गर्ने काममा संलग्न व्यक्तिहरुको अक्षमता र चिन्तन दरिद्रता।

दुखद के छ भने नेपालका उत्कृष्ट साहित्यमा बनेका बसाइँ, शिरीषको फूलजस्ता उपन्यासको सिने रुपान्तरणमा मेरो पनि थोर बहुत संलग्नता रह्यो। तर यो संलग्नताले मलाई सुखद अनुभूति दिएन, बरु यी कृतिमा हदैसम्मको कमजोर सिनेमा निर्माण भएको र त्यसमा आफू संलग्न हुनुपरेको अपराधवोधले भने मलाई आजका मितिसम्म पनि पिरोल्छ।

साहित्यमा पनि सिनेमा बन्न सक्छ र सिनेमाले पनि राम्रो साहित्यको सन्तुष्टि दिनसक्छ।  दुवै स्थितिमा महत्वपूर्ण कुरा आख्यान र यसको सशक्त प्रस्तुति हो। राम्रो सिनेमा स्वयं राम्रो साहित्य हो भन्ने कुरा कसैले बिर्सनु हुँदैन। तर, सिनेमाभित्रको असल साहित्य निर्माणमा भने सिनेकर्मी स्पष्ट रुपमा चुकिरहेकै छौं। यो तीतो यथार्थ पनि हामीले स्वीकार्नै पर्छ।

यसैबीच केही नयाँ सिनेश्रष्टा छन् , जसले नेपाली सिनेमाको दिशा परिवर्तन गर्न सक्छन्। उनीहरुले कथामा मौलिकता खोजी गर्न थालेका छन्, पटकथा सूत्रबद्धताबाट मुक्त हुन थालेको छ, अभिनय नाटकीयबाट स्वाभाविकतातर्फ उन्मुख हुन थालेको छ। त्यसैले नेपाली सिनेमाको विगतसित जति नै रुष्ट भएपनि र वर्तमानसित धेरै आश्वस्त हुन नसकेपनि, भविष्यप्रति भने म आशावादी छु।

(चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘चलचित्र मञ्च’ बाट।)

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.