महिलालाई समान पारिश्रमिक नदिने फिल्ममा काम नगर्ने यी हलिउड अभिनेताको घोषणा


‘डक्टर स्ट्रेन्ज’ फिल्मका अभिनेता बेनेदिक्ट कुम्बरब्याचले सहकर्मी महिला कलाकारलाई समान पारिश्रमिक दिने फिल्महरूमा मात्र काम गर्ने घोषणा गरेका छन्।

रेडियो टाइम्सँग कुरा गर्दै बेनेडिक्टले भने, ‘समान पारिश्रमिक र समान ठाउँ फेमिनिजमका मुख्य आदर्श हुन्। म अबदेखि उनीहरूले पाएको पारिश्रमिक सोध्ने छु र उनीहरूले पुरूषजत्तिकै पारिश्रमिक पाएका रहेनछन भने म त्यस्ता प्रोजेक्टमा काम गर्ने छैन।’

जारी कान फिल्म फेस्टिवलमा उनले यस्तो बताएका हुन्।

‘मलाई गर्व छ की मेरो कम्पनीमा पुरूषका नाममा म र मेरा साझेदार साथी एडम मात्र छौं। हाम्रो अगामी प्रोजेक्ट महिलाको कथामा आधारित छ जसले वातावरणिय प्रकोपका बेलामा एउटी आमाको मातृत्वको दृष्टिकोणबाट कथा प्रस्तुत गर्नेछ।  यदि लगानीकर्तालाई आकर्षित गर्नका लागि मेरो नाम केन्द्रमा पर्न जान्छ भने हामी महिला केन्द्रित प्रोजेक्टका लागि त्यो पनि प्रयोग गर्न सक्छौ। हाम्रा आधा दर्शक त महिलाहरू हुन्’, उनले अगाडी भने।

उनको यस घोषणालाई लिएर सामाजिक संजाल ट्विटरमा  मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।  कतिले यसलाई ठीक भनेर समर्थन जनाएका छन् भने कतिले ठीक नभएको प्रतिक्रिया जनाएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.