करणले यसरी उडाए कंगनाको मजाक


निर्देशक करण जोहरले अभिनेत्री कंगना रनावतको मजाक उडाएका छन्। न्युयोर्कको मेटल लाइफ स्टेडियममा आयोजित ‘आइफा अवार्ड शो २०१७’ का होस्ट करण जोहरले अभिनेता शैफ अलि खान र वरुण धवनसँग मिलेर ‘भाइ भतिजावाद जिन्दावाद’ भन्दै कंगनाको मजाक उडाएका हुन्।

अवार्डमा बरुण धवन फिल्म ‘ढिसुम’बाट उत्कृष्ट नायकको अवार्ड लिन जाँदा सैफले ‘भाइ भतिजावाद’ को कुरा निकाल्दै वरुणलाई यो अवार्ड उनले बुवाका कारण पाएको बताएका थिए। किनकी उनको बुवा डेविड धवन निर्देशक हुन्।

यसैगरि बरुणले पनि सैफलाई जवाफ दिँदै उनकी आमा शर्मिला टेगौरका कारण बलिउडमा भएको बताएका थिए। उनीहरुको गफमा करण पनि सामेल हुँदै आफू पनि फिल्म उद्योगमा हुनुको कारण आफ्नो पिता फिल्मकार यश जोहर भएको बताए। यी तीन एक साथ हाँसेर ‘भाइ भतिजावाद जिन्दावाद’ भनेका थिए।

यो सबै कुरा अभिनेत्री कंगना रनावतका कुरा सँग जोडिन्छन्। करणको ‘शो कफि वीथ करण’मा सहभागी हुँदा कंगनाले बलिउडमा ‘भाइ भतिजवाद’ हावी भएको र करण त्यसको बाहक भएको बताएकी थिइन्।

तर कंगनाले बोलेको कुरा करणलाई मन परेको थिएन। उनको अभिव्यक्तिले बलिउडमा यो मुद्दामा बहस छेडिएको थियो।

बलिउड अभिनेत्री कंगना सधैं आफ्नो अभिव्यक्तिको कारण विवादमा मुछिने गर्छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.