‘बाहुबली’का निर्देशक राजामौली किन पछुताए?


ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले हालै आफू पछुताएको बयान दिएका छन्। उनले अभिनेत्री श्रीदेवीका बारे आफूले दिएको बयानप्रति दुःख व्यक्त गरेका हुन्।

गत महिना राजामौलीले श्रीदेवीलाई बाहुबलीमा खेल्न प्रस्ताव राखेको तर उनले धेरै महँगो पारिश्रमिक भनेकाले आफूले स्वीकार नगरेको बताएका थिए। तर, अहिले राजामौली यस्तो बयान दिनू गलत भएको र आफू पछुताएको बताएका छन्।

भारतीय समाचारमाध्यमअनुसार उनले एक अन्तर्वार्तामा आफूले यस्तो कुरा बाहिर ल्याउन नहुने बताए। उनले भनेका छन्, ‘सबैले थाहा पाउने गरी यी कुरा गर्नु मेरो गल्ती हो र मलाई धेरै पछुतो भएको छ।’

उनले श्रीदेवीको प्रशंशा गर्दै थप भनेका छन्, ‘श्रीदेवी एकदमै राम्रो अभिनेत्री हुन्। उनले दक्षिण भारत र बलिउडमा धेरै हिट फिल्म दिएकी छन्।’

उनले आफ्नो मनमा श्रीदेवीका लागि धेरै सम्मान भएको पनि बताए।

राजामौलीले बाहुबलीमा शिवगामिनीको भूमिकाका लागि श्रीदेवीलाई प्रस्ताव गरेका थिए। पारिश्रमिकमा कुरा नमिलेपछि यो भूमिका रम्या कृष्णननले निभाएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.