‘केकीसँग डर लाग्छ’


कुनै समय थियो, अभिनेता रमेश उप्रेती चल्तीका नायक थिए। व्यस्त थिए, तर व्यवस्थापनमा भने साह्रै कमजोर। आए जति निर्माता/निर्देशकका ‘अफर’ स्वीकार गर्थे, तर भोलिको सुटिङ छ, आज फिल्म छोडिदिन्थे। यसरी उनले निर्माता केशव भट्टराईदेखि निर्देशकहरु यादव खरेल, उज्वल घिमिरेसम्मलाई रुष्ट बनाए।

फिल्ममा चल्दाचल्दै उनी अमेरिका हान्निए। फर्किएर आएर ‘ब्रासलेट’ खेले। जुन फिल्म पहिले रुष्ट भएका निर्माता केशव भट्टराईको निर्माणमा बनेको थियो।

अहिले उनी आफैं निर्माता बनेका छन्, ‘ऐश्वर्या’बाट। जुन कात्तिक ९ गते रिलिज हुँदैछ।

फिल्मबारे अनौपचारिक गर्न शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग गफिँदै रमेशले आफ्ना गल्ती स्वीकारे, ‘अहिले बल्ल निर्माता हुनुको दुःख बुझ्दैछु। आफ्नै फिल्म ठानेर काम गर्ने निर्देशक पाउँदा त यति तनाव झेल्नुरेको छ कि, त्यतिबेला मैले कति दुःख दिएछु भन्ने बल्ल महसुस हुँदैछ।’

अनौपचारिक समारोहमा रमेशका अलावा अर्का निर्माता तथा अभिनेता निर्मल शर्मा, फिल्मकी अभिनेत्री केकी अधिकारी, अभिनेता प्रशान्त ताम्राकार निर्देशक दीवाकर भट्टराई उपस्थित थिए।

उप्रेतीले फिल्मको कथा तयार भएलगत्तै अभिनेत्रीका लागि केकी र खलचरित्रका लागि प्रशान्तको विकल्प नदेखेको बताए।

अभिनेता उप्रेतीले आफू सधैंका लागि फिल्मक्षेत्रमै समर्पित रहने सोचेर अमेरिकाबाट फर्किएको बताउँदै ‘ऐश्वर्या’ बाट फिल्म निर्माण थाले पनि पहिलो प्राथमिकता भने अभिनयमै रहेको बताए। उनले अहिलेका कुनै अभिनेतालाई आफ्नो प्रतिष्पर्धी नसोचेको पनि बताए।

‘मलाई मात्र होइन, करियरको चिन्ता सबैलाई हुन्छ,’ उनले भने, ‘निर्माता भए पनि पैसा कमाउने चिन्ता छैन। यहीँबाट कमाएको हुँ, यहीँ खर्च हुन्छ। पैसाभन्दा कलाकारिताको चिन्ता बढी छ।’

उनले केकीलाई ‘अभिनयको भण्डार’ भन्दै प्रसंसा गरेसँगै केकीदेखि आफूलाई डर लाग्ने पनि बताए। ‘ऊ आफूलाई सेकेन्डमै परिवर्तन गर्नसक्छ,’ उनले भने, ‘पहिले जल शाहमा यस्तो खुबी देखेको थिएँ। मलाई केकीसँग डर लाग्छ। तर, डरबाटै म उनीसँग सिक्छु पनि।’

प्रचारमा केकीलाई नल्याएको भन्ने आरोप खेपिरहेको निर्माणपक्षले शुक्रबार सञ्चारकर्मीसामु उक्त आरोप गलत भएको बतायो। संयोगले शुक्रबार फिल्मर्की अर्की अभिनेत्री उपस्थित थिइनन्। फिल्मले दुई दिनअघि मात्र केकीलाई छुट्टै पोस्टरमा अटाएको थियो।

निर्देशक दीवाकर भट्टराईले निर्माणपक्ष र केकीबीच कुनै मनमुटाव नभएको र आफूहरुले जानजान केकीलाई ढिलो प्रचारमा ल्याएको बताए। उनले भने, ‘केकीजी हाम्रो फिल्मको ब्याकअप भएकाले हामी ढुक्क थियौं।’

चरित्रबारे बोल्दा ‘सस्पेन्स’ खुल्न सक्ने बताउँदै अभिनेत्री केकी अधिकारीले निर्माताले आफूमाथि देखाएको विश्वासप्रति धन्यवाद जनाइन्। उनले फिल्मको चरित्रका लागि तौल घटाएको प्रसंग पनि सुनाइन्। ‘म अल्छी छु,’ उनले भनिन्, ‘त्यसैले रमेश दाइ आफैंले हरेक बिहान वर्कआउटका लागि लैजानुहुन्थ्यो। थाकेर बसे पनि तुरुन्तै उठाएर वर्कआउट गर्न लगाउनुहुन्थ्यो।’

खल चरित्रमा देखिएका प्रशान्त ताम्राकारले पहिले आफ्नोभन्दा निर्माताको आत्मविश्वासका कारण ऐश्वर्यमा अभिनय गरेको बताए। ट्रेलरबाटै प्रशंसा पाइरहेका प्रशान्तले हाँस्दै भने, ‘भिलेनहरुको पनि दिन आउँदो रहेछ।’

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.