‘लाटीको छोरो’ अब पूर्वमा पनि


काठमाडौंको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ अब पूर्वमा देखाइने भएको छ। आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका बिभिन्न स्थानमा मञ्चन हुन लागेको हो।

श्याम शाहको कथा ‘लाटीको छोरो’ लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन्। उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए। त्यस्तै नाटक‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्च मार्फत फर्किएका हुन्।

लामो समयपछि नाटकमा फर्किएर नयाँ पुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको पहारीले बताए। नाटकलाई पूर्वको विर्तामोडमा कात्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले विहीबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ। मोफसलमा विर्तामोडबाट शुरु भएको नाटक पूर्वका दमक, ईटहरी, धरान, विराटनगर तथा माग भएका शहरमा मन्चन गरिने छ।

‘पहिलो कुरा सन्देशका हिसाबले पनि यो नाटक बलियो छ, दोश्रो हामी गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास होस् भन्ने चाहन्छौ,’ प्रकाशले भने, ‘त्यसैले काठमाडौंको रंगमञ्चको खास स्वादहामी यो नाटकमार्फत मोफसलमा पुर्ववाट शुरु गरेका छौ।’

विर्तामोड मञ्चनकालागि हेल्पिङ हेन्ड्स, क्षतिज नाट्य समूह, सैनिक युथ क्लबले सहकार्य गरेको छ भने ग्लोबल म्यानेजमेन्ड फाउन्डेसन सहयोग गरेको छ।  त्यसैगरी शिवसताक्षी नगरमा मञ्चनका लागि स्थानीय संस्था कृपा नेपालले संयोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो।

तराईमा एउटा सुन्दर बजार भन्ने वस्ती छ। त्यस बस्ती भित्र विभिन्न स्थानबाट आएका मानिसहरु र आदिमकालदेखि त्यस बस्तीमा बस्दै आएका डोम समुदायको बसोबास छ।

देशमा भइरहेको कुनै पनि राजनितिक घटना क्रमले नछोएको सुन्दर बजारको आफ्नै रहनसहनमा हुर्किरहेको छ। एकदिन त्यस बजारमा एउटी लाटी आइपुग्छे। समय बित्दै जाँदा एक दिन लाटी गर्भवती भएको कुरा बजारमा फैलन्छ र बजारमा ठूलो तरंग उत्पन्न हुन्छ। त्यसपछि लाटीमाथि हुने दुव्र्यवहार का घटनाक्रम नाटकको मुल कथा हो।

आर्ट स्टुडियोको प्रस्तुतिमा तयार यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छिन्। नाटकमा टिका पहारीले गाउँका नेताविषनाथको भूमिका निभाएका छन्।

नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.