फिल्म ‘ऐश्वर्य’को नयाँ पोष्टरमा केकी अधिकारी


रमेश उप्रेतीको फिल्म ‘ऐश्वर्य’ को टिमले अभिनेत्री केकी अधिकारी सहित नयाँ पोष्टर सार्वजनिक गरेको छ।
कात्तिक ९ गते प्रर्दशनको तयारीमा रहेको फिल्मको यसअघि ट्रेलर, दुईवटा गीत र पोष्टर सार्वजनिक भइसकेको छ।

चर्चामा रहेकी अभिनेत्री केकी अधिकारीलाई फिल्मको पोष्टर, ट्रेलर र गीतमा राम्रो स्थान नदिइएको भन्दै निकै आलोचना भएपछि निर्माण युनिटले केकीलाई समावेश गरेर नयाँ पोष्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोष्टरमा केकी र रमेश उप्रेती देखिएका छन्।  यसअघि फिल्ममा नव अभिनेत्री दीपिकालाई निर्माण यूनिटले बढी केन्द्रमा राखेका थिए।

नयाँ पोष्टर रिलिज गरेसँगै निर्माण यूनिटले योजना अनुसार नै पोष्टर र गीतमा केकीलाई लुकाइएको जनाएको छ।

निर्माता रमेश उप्रेतीले भने,‘ फिल्मको सार्वजनिक गीत र ट्रेलर मार्फत आएको रेस्पोन्सले खुसि बनाएको छ। एउटा राम्रो फिल्म बनाउने र मेकिङको स्तरीयता पनि देखाउने सपना पुरा भए जस्तो लाग्छ। म विदेशमा बस्ने नेपालीलाई क्वालिटीको फिल्म देखाउन चाहन्थे। हामीले नयाँ पोष्टरमा केकीजीलाई रिलिज गरेका छौँ।’

यसैगरि नर्देशक दिवाकर भट्टराईले भने,‘हामीले केकीजीलाई हाइड गर्यौ भन्ने पनि कहिँ कतै सुनेँ। तर यो सब टीमको प्लानिङ नै हो। केकीजी फिल्ममा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भने उहाँले सबैको मन पनि जित्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ। केवल हामीले पब्लिसिटी प्लानिङ अनुसार उहाँलाई अगाडी ल्याएका हौ। हामी यतिबेला रिलिजको अन्तिम तयारीमा छौ। जहाँ नयाँ पोष्टरमा केकीजीलाइ दर्शकले देखन सक्नुहुनेछ।’

फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्।

अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन्।
निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ। फिल्ममा सुदीप वरालको छायाँकन रहेको छ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.