‘घाटुसरी’का लागि झुमा अब युरोप यात्रामा

‘घाटुसरी’का लागि झुमा अब युरोप यात्रामा


गायिका झुमा लिम्बुको खोजमा तयार सांगीतिक/सांस्कृतिक डकुमेन्ट्री ‘घाटुसरी’ युरोपका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। नेपाली संगीत परम्परा र सांस्कृतिक अन्तर्सम्बन्धका मौलिक विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने उद्देश्यले आफू युरोप भ्रमणमा जान लागेको झुमाले बताइन्।

मंगलबार सम्पन्न डकुमेन्ट्री प्रदर्शनपछि लेखक, पत्रकार तथा फिल्मकर्मीमाझ उनले भनिन्, ‘यसअघि मुन्धुममा गायनको विकासक्रमबारे अध्ययन गरेकी थिएँ । तर यस पटक घाटुसरीभित्रको सांगीतिक प्रभाव र परम्पराबारे अध्ययन गरेकी छु।’

घाटुसरी परम्परा लमजुङ जिल्लाका स्थानीय गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलित छ। झुमाको अध्ययन, अनुसन्धान भने नाल्मा र बेसीसहरमा प्रचलित गुरुङ परम्पराको सतीघाटुमा केन्द्रित छ। घाटुसरीको संगीत लयमा झुम्दै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति देखेर मनमा अनेक जिज्ञाशा जन्मेको झुमा बताउँछिन्।

मुन्धुम संस्कृतिमा आधारित पछिल्लो गीतिसंग्रह ‘खासाम’ तयार पार्ने क्रममा झुमाले पूर्वी नेपालका पहाडी भूभागदेखि भारतको दार्जीलिङ, कालिम्पोङ र सिक्किमका विभिन्न ठाउँमा बसेर अध्ययन गरेकी थिइन्। यसपटक मध्य नेपाललाई सांगीतिक सोध-खोजको थलो बनाएकी उनी भविष्यमा सुदूरपश्चिमलगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने तयारीमा छिन्।

संगीतसम्बन्धी जानकारी बटुल्नकै लागि अनेक ठाउँ घुमेकी उनी भन्छिन्, ‘कतिपय गीत सङ्गीतका लागि घुम्नैपर्ने हुन्छ। कोठाभित्र रचिएका गीत संगीत पनि मीठो त सुनिएलान्, तर तिनले कुनै पनि संगीतको साँचो प्रतिनिधित्व गर्न सक्दैनन्।’

उनको तर्क छ, ‘मौलिक काम गर्ने हो भने घुम्न जरुरी छ। किनकी जे मौलिक र खास छन्, ती हाम्रा लोकजीवन र संस्कारजन्य अभ्यासमै छन्।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.