पोखरामा गुञ्जियो सुदूरपश्चिम

कवि हेमन्त विवशलाई सारंगी उपहार


अग्लो कदका एकजना कवि जब दौरासुरुवाल र ढाका टोपीमा सजिएर मञ्च सामुन्ने उभिए, दर्शकहरु सबैले उत्सुक नजरले उनलाई हेरिरहे ।

जीवनमा पहिलोपटक एकल कविता वाचन गर्न उभिएका कवि हेमन्त विवशले ती उत्साही मनहरुलार्ई निराश हुन दिएनन्, निरन्तर डेढ घन्टासम्म कविता सुनाएर मन्त्रमुग्ध तुल्याए ।

सुदूरपश्चिमको डोटीमा हुर्किएका विवशका कवितामा जन्मथलोको सुवास मगमगायो । उनले ग्रामीण परिवेशमा बाँच्नका लागि कठिन संघर्ष गरिरहेका मान्छेका कथाहरुलाई कवितारुपी मालामा पस्किए । सुन्नेहरु सबैले आञ्चलिक स्वादमा नविनता भेटे ।

खासमा कवि हेमन्तका अधिकाँश रचनामा सिमान्तकृत समुदायका आवाज मुखरित भएको पाइयो । उनले कतै हलिका कुरा उठाए, कतै दलितका पीडा उजागर गरे त कतै माटोका कुरा । त्यति मात्र होइन, विदेश जानु पर्ने बाध्यताको बोकेको ‘कतारको रैबार’ जस्ता मर्मस्पर्शी कविता पनि सुनाए ।

उनले आमाको यादमा डुबुल्की मार्दै आमा शिर्षक कविताबाट एकल वाचन शुभारम्भ गर्दा सबै भावविव्हल बने । उत्कृष्ट कविता लेखन र कुशल वाचन शैलीका धनी विवशले सुदूरपश्चिमको सुवास पोखरामा फिँजाए ।

अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानले बिहीबार ‘पोखरामा सुदूरपश्चिमेली सुवास‘ शिर्षक राखेर उनको कविता वाचनको चाँजो मिलाएको हो ।

साँस्कृतिक आदानप्रदान मार्फत स्रष्टाको सम्मान गर्ने प्रयासमा विवशलाई पोखरामा निम्त्याइएको प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले बताए ।

सुदूरपश्चिमका सुसेली सुन्न उपश्थित साहित्यिक मनहरु सबैले कविता रुचाए । कविले छन्द र गद्यका २२ वटा कविता सुनाए भने पोखरेली कविद्धय अमृत सुवेदी र विर्सना बस्नेतले उनका एकएक कविता वाचन गरेर सघाए ।

कविता लेखन र साँस्कृतिक अध्ययनमा समर्पित विवश भुइँमान्छेका कथालाई साहित्यमा ढाल्न खप्पिस छन् । ‘बेजोड कविता सुन्न पाइयो, गरिबका कथालाई सरल एवं कलात्मक ढँगले पस्किने सीप भएका हेमन्तबाट हामी पोखरेलीले पनि सिक्नु पछ’, कविता सुनिसकेपछि कवि प्रकट पगेनी शिवले मुग्धकण्ठले विवशको प्रसंसा गरे ।

गम्भिर एवं ओजपूर्ण कविता सुनाए विवशले । उनले वीचबीचमा पोखरेली श्रष्टाहरुलाई पनि सम्झिँदै पोखरेलीको मन चोर्न सफल भए । उनले केही पोखरेली स्रष्टाका गीत पनि गाए । उनको गायनमा सारंगी बजाएर धनबहादुर गायकले साथ दिए ।

टिप्पणीकार पद्मराज ढकालले विवशका कविता हेपिएका र पेलिएका मान्छेको आवाज भएको प्रतिक्रिया सुनाए ।

विवशले पोखरेलीलाई सुन्दर सुदूरपश्चिम घुम्न निम्तो समेत बाँडे । उनले कविता वाचनको सिलसिलामा कहिले खप्तड, कहिले अपि, कहिले शैपाल र कहिले डेउडा भाकाको अर्थ र महत्वबारे जानकारी गराएका थिए ।

पार्दीस्थित नेपाल पर्यटन बोर्डको हलमा प्रतिष्ठानका अध्यक्ष मियाँले विवशलाई पोखराको साँस्कृतिक कोसेली सारंगी उपहार दिएसँगै उनले कविता वाचन सुरु गरेका थिए । कार्यक्रमको सुरुमै उनको काव्य सिर्जना र साहित्यिक अन्वेषणको कदरस्वरुप प्रतिष्ठानले उनलाई कदरपत्र प्रदान गर्यो । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले कदर पत्र हस्तान्तरण गरेका थिए ।

राम्रा सिर्जना गर्दागर्दै पनि छायामा परेका विवश जस्ता प्रतिभाको खोजी गरेर मञ्च प्रदान गरेकामा धादिङे कवि दीपेन्द्रसिंह थापाले खुशी व्यक्त गरे । यस्ता प्रतिभाको सम्मान भए मात्रै नेपाली वाङमयको श्रीवृद्धि हुने उनको ठहर छ ।

कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला र पत्रकार अमृत भादगाउँलेले विवशका कविताबारे बोलेका थिए । त्यस अबसरमा विवशले आयोजक प्रतिष्ठान, प्रमुख अतिथि जोन, कार्यक्रमका सहयोगीहरु नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई, रैका टुर्स एण्ड ट्रेक्सका प्रबन्ध निर्देशक अमर शाही, भिटोफ प्रदेश नं ४ पोखराका अध्यक्ष रविन्द्रराज पौडेल, गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी, र सुदुरपश्चिमेली विकास समाजका अध्यक्ष राजेश ठकुराठीलाई मायाको चिनोस्वरुप खप्तड र लोककवि अलिमियाँको तस्बिर उपहार दिएका थिए ।

हरिदेवी कोइराला

           

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.