असोज १८ गते देखि सउलमा नेपथ्यको सांगीतिक भ्रमण


लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक भ्रमण दक्षिण कोरियाली राजधानी सउलतर्फ हुने भएको छ।
असोज १८ गते (अक्टोबर चार तारिख) त्यहाँस्थित ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ।

यसअघि पनि चार पटक कोरियाली राजधानीमा नेपथ्यले प्रस्तुती दिइसकेको छ। कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’को अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार’ले यसपाली नेपथ्यको कन्सर्ट आयोजना गरेको हो। कृषिमा आधारित यो पर्वका बेला तीन दिनसम्म त्यहाँको सरकारले सार्वजनिक विदा दिने गरेको छ।

‘सन् २००५ मा पहिलोपटक आफ्ना गीतहरु यहाँ सुनाएयता सउलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ,’ ब्याण्डलाई प्रवद्रधन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘पछिल्लोपटक केबिएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपाली झन् ओलम्पिक हलमा उभिने मौका पाएको छ।’नेपाली कार्यक्रमको घेरालाई यसरी निरन्तर अझ उकास्दै लैजान सकेकोमा श्रेष्ठ गौरव महसुश गर्छन्।

‘नेपाल भित्र र बाहिर रहेर हामीलाई अगाध माया दिँदै आउनुभएका सम्पूर्ण श्रोताहरुप्रति आभार ब्यक्त गर्न चाहन्छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘नेपथ्य स्थापनाको पच्चीसौं वर्ष मनाइरहेका बेला सउलमा पाँचौ प्रदर्शनको निम्ति जान पाउँदा असाध्यै खुशी लागिरहेको छ।’

नेपाली संगीतमा समर्पित भएको रजत उत्सवका अवसरमा नेपथ्यले यो वर्षभरि निरन्तर म्यूजिक भिडियो रिलिज गर्दैआएको छ। त्यसबाहेक श्रोताहरुको बढ्दो मागलाई स्वागतगर्दै ब्याण्डले भर्खरै अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण पनि सम्पन्न गरिसकेको छ।

सँधैजस्तै दक्षिण कोरियाको यो पछिल्लो भ्रमणमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.