‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई


प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएकोछ।

स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि  ३३ हजार ३३३ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ।

दुई दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल ‘पोखरापत्र राष्ट्रिय दैनिक’का प्रधानसम्पादक हुन्।

प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो।

यसैगरी नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ युवा तथा क्रियाशील पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ।

पोखरा लेखनाथ महानगरपालिका–५ का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ।

पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ क्रियाशील पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ।

सो पुरस्कारको राशि  ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ।

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ यही असोज ७ गते, ‘टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति’ र ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ एक समारोहबीच प्रदान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.