धुर्मुस सुन्तली फाउण्डेसनले रौतहटको दलित बस्तीमा एकीकृत नमूना बस्ती निर्माण गर्ने (भिडियो)


धुर्मुस सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर बस्तीमा एकीकृत नमूना बस्ती निर्माण गर्ने भएको छ।

बाढीपीडित दलित समुदायमा ४५ परिवारको आर्थिक र सामाजिक अवस्था निकै कमजोर भएको बताउँदै फाउण्डेसनले ४५ वटा आवासीय घर बनाउने निर्णय गरेको छ।

फाउण्डेसनले दिएको जानकारी अनुसार उत्त बस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बाहुल्यता धेरै छ।

साउनको अन्तिम साता तराइका विभिन्न जिल्लमा आएको बाढीले सन्तपुरका दलित समुदायको सबै घर बगाएपछि फाउण्डेसनले उद्दार र राहत दिएको थियो। फाउण्डेसनले एक भिडियो सार्वजनिक गर्दै स्थलगत अध्ययन र अवोलोकनपछि नमुना बस्ती निर्माण गर्ने भएको जनाएको छ। यसको लागि फाउण्डेसनले प्रक्रिया पनि सुरु गरेको जनाएको छ।

घरहरु सरकारी मापदण्ड अनुसार दुई तल्लाको चार वटा कोठा, भुकम्प प्रतिरोधी, एक धारा, एक शौचालय र एक बगैँचा निर्माण गर्ने फाउण्डेसनले भिडियोमार्फत जानकारी दिएको छ।

न्यौपानेले दिएको जानकारी अनुसार उक्त नमूना बस्ती पाँच करोड ७५ लाख रुपैयाँको लगानीमा बन्ने अनुमान गरिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.