पोखरावासीले बुद्ध लामालाई  यसरी गरे स्वागत


एपीवान टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामालाई मंगलबार पोखरावासीले भव्य स्वागत गरेका छन् ।

‘बुद्ध लामा जिताऔं’ अभियान टोली, उनका साथी भाई, आफन्तले उनलाई स्वागत गरेका हुन् । लामालाई पोखरा विमानस्थलमा पन्चे बाजा बगाएर, माला, टोपी र खादाले मिस तामाङ दिप्ती तामाङले स्वागत गरिन् ।

लामालाई पोखरा विमानस्थलबाट बाजा गाँजासहित पोखराको परिक्रमा गरेपछि उनले गीत समेत प्रस्तुत गरे । पोखराको जनप्रिय क्याम्पस अगाडि चार महिनापछि पोखरा फर्किदाको अनुभव साट्दै मोहनी लाग्ला है गाउँलेको बोलीले बोलको गीत प्रस्तुत गरे ।

ग्राण्ड फिनाले प्रवेशपछि गृहनगरमा भोट अपिलका उनी आएका हुन् । हजारौँ प्रतिष्पर्धीलाई पछि पार्दै ग्राण्ड फिनालेमा प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् ।

उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित हुँदै पोखरा विमानस्थल पुगेका थिए ।

गृह नगरमा आएका लामाले निकै खुशी मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए ।

स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरू बुद्धसँग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए ।

गीत प्रस्तुतपछि लामाले पोखरेलीको साथ र न्यानो मायाले आफूमा थप हौसला र आत्माविश्वास बढेको सुनाए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.