पोखरामा सुदूरपश्चिमको सुवास

हेमन्त विवशको एकल कविता वाचन


छन्द कविता र गीत लेखनमा सक्रिय डोट्याली कवि हेमन्त विवशले आगामी घटस्थापनाका दिन पोखरामा कविता सुनाउने भएका छन् । कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका कविले कार्यक्रममा सुदूरपश्चिमेली संस्कृतिहरु डेउडा, हुड्केली, माँगल, देया र मिथकहरुबारे समेत अनुभूति पस्कने छन् ।

अलिमियाँ लोक वाङमय प्रतिष्ठानको आयोजनामा पर्यटन बोर्डको हल पार्दिमा असोज ५ गते बिहान एकल कविता वाचनमा विवशले छन्द र गद्यका १५ कविता सुनाउने छन् । कार्यक्रममा कविहरु अमृत सुवेदी र विर्सना बस्नेतले एक एक कविता वाचन गरेर उनलाई सघाउँदै छन् । कार्यक्रमको अन्त्यमा साहित्यकारहरु प्रकट पगेनी शिव र पद्मराज ढकालले विवशका कविताबारे छोटकरिमा बोल्ने छन् ।

आयोजक प्रतिष्ठानका तर्फबाट प्रमूख अतिथि शिक्षाविद् जोर्ज जोनले कविलाई पोखराको साँस्कृतिक कोसेली सारंगी हस्तान्तरण गरेसँगै एकल वाचन शुभारम्भ हुनेछ । ‘कवितामा सुदूरपश्चिम बोकेर हिँडेका कविको सम्मानमा हामीले एकल वाचनको मेसो मिलाएका हौं‘, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले भने, ‘पोखरामै बसेर सुदूरपश्चिमको स्वाद चाख्न पाउनु एउटा सुखद अबसर हो ।’

विवश सुदूरपश्चिमको साँस्कृतिक अध्येता पनि हुन् । उनका खोजमुलक रचनाहरु राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् । उनको एकल वाचनलाई खिचेर युट्युव भिडियो बनाइने छ ।

साहित्यिक एवं पर्यटकीय नगरी पोखरामा जीवनकै पहिलो एकल वाचनको तयारीमा जुटेका विवश उत्साहित छन् । ‘कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँदेखि सरुभक्त, हरिदेवी कोइराला, दूर्गा बराल जस्ता महान स्रष्टाको जन्मथलोमा कविता सुनाउन पाउनु ठूलो अबसर होे’, उनी भन्छन्, ‘पोखरेली सुवासले साहित्यिक जीवनमा नयाँ उर्जा थपिनेमा आशावादी छु ।’

विवशका स्रमाई, असौजको जून र यादै जनमभरि गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह, तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकारको पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेर्कडेड भैसकेका छन् ।

कार्यक्रमलाई भब्य बनाउन रैका ट्राभल्स, नेपाल पर्यटन बोर्ड पोखरा, गजल सन्ध्या पोखरा, डोट्याली समाज पोखरा, कन्सेप्ट नेपाल र हेलो इन गेष्ट हाउस पोखराले अलिमियाँ लोक वाङमय प्रतिष्ठानसँग हातेमालो गरेका छन् । कविता सुन्न आयोजकले कवि, पर्यटनकर्मी, शिक्षासेवी, व्यवसायी र सर्बसाधारणलाई निम्तो बाँडिरहेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.