‘लिम्बुनी गाउँ’ सार्वजनिक


कवि राज माङलाकको कवितासंग्रह ‘लिम्बुनी गाउँ’ सार्वजनिक भएको छ। राजधानीमा जारी २१ औं पुस्तक मेलामा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य श्रवण मुकारुङ, आख्यानकार तथा कवि भुवनहरि सिग्देल, पत्रकार बसन्त बस्नेत र कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले पुस्तकको संयुक्त रुपमा विमोचन गरे।

पुस्तकमाथि बोल्दै कवि श्रवण मुकारुङले राज माङलाकको कविताले लिम्बुवानलाई हेर्ने दृष्टिकोण फराकिलो बनाएको र उनका कविताले समग्र रुपमा लिम्बुवान सभ्यताको प्रतिनिधित्व गर्ने बताए।

त्यस्तै कवि तथा आख्यानकार भुवनहरि सिग्देलले माङलाकको कवितामा प्रतिकात्मक र बिम्बात्मक प्रयोग गतिलो रुपमा आएको बताए। उनले कवितामा आफ्नो माटो र संस्कृतिलाई सुहाउँदो तरिकाले प्रस्तुत भएको बताए।

पत्रकार बसन्त बस्नेतले कवितामाथि बोल्दै राजका कवितामार्फत् पाठकले हरेक कवितामा फरक–फरक स्वाद भेट्टाउने भएकै कारण कविता संग्रह अरुभन्दा फरक रहेको बताए।

अर्का वक्ता प्रकाश थाम्सुहाङले कविता संग्र्रह तारिफयोग्य रहेको बताए।

शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य रु. १७५ राखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.