‘आई लभ यु’ ले काट्यो करोडको केक

‘आई लभ यु’ ले काट्यो करोडको केक


युट्युबमा नेपाली भिडियोहरुले उल्लेख्य दर्शक पाउन थालेका छन्। गीतका करिब एक दर्जन भिडियो त एक करोडभन्दा बढी पटक हेरिएका छन्। लाखौंको संख्यामा हेरिएका त कति छन् कति।

यसमध्ये फिल्मका गीत धेरै छन्। चारवटा आधुनिक गीतका भिडियो छन्। यसमध्ये ‘आई लभ यु’ गीत एक हो।

एक वर्षअघि रिलिज भएको गीतमा सरोज ओली र इन्दिरा जोशीको स्वर छ। कुञ्जना घिमिरे ‘सुन्तली’ र पल शाह मुख्य भूमिकामा रहेको भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ अतिथी भूमिकामा थिए। उक्त गीतको भिडियो एक करोड पटक हेरिएको खुसीमा टोलीले आइतबार राजधानीमा खुसीयालीको केक काट्यो। गीतको दोस्रो भाग ‘जता जता पिरतीको बाटो’ हालै सार्वजनिक भएको छ। कार्टुन्ज क्रु र पल शाह अभिनित भिडियो हाल युट्युबमा चर्चित भइरहेको छ।

संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव दिनेश थपलिया लिखित गीतको भिडियोको कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। सञ्जय लामाले भिडियो खिचेका हुन्।

खुसियाली उत्सवमा गायिका इन्दिरा जोशी, धुर्मुससुन्तली र कोरियोग्राफर गहतराज भने उपस्थित थिएनन्। गायक ओली, संगीतकार वसन्त सापकोटा, गीतकार थपलिया, मोडल शाह र छायाँकार लामाले संयुक्त रुपमा केक काटे। खुसियाली मनाउँदै टोलीमा संलग्न सबैले दर्शक तथा सहयोगीलाई धन्यवाद दिएका थिए।

गायक ओलीले आफूले वर्षमा एउटा मात्र गीत गाउने तर खर्च तथा मेहनतमा कुनै कञ्जुस्याइँ नगर्ने बताए। उनले आइ लभ यु गीतको युट्युबबाट आएको करिब १० लाख ‘जता जता पिरतिको बाटो’मा खर्च गरिएको बताए।

विकाससम्बन्धि गीत लेख्दै आएका गीतकार थपलियाले आफ्नो पहिलो प्रेमगीत सफल भएकोमा खुसी साट्दै गीत लेख्न अनुरोध गर्ने संगीतकार वसन्त सापकोटा र गायक ओलीलाई विशेष धन्यवाद दिए। उनले गीत सफल हुन शब्दबाहेक ६ पक्षबीचको राम्रो सन्तुलन हुनुपर्ने बताए।

अभिनेता पल शाह र छायांकार पल शाहले पनि आई लभ यु गीतमा काम गर्दा सन्तुष्टि मिलेको बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.