‘भास’ सार्वजनिक


विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ काठमाडौँमा सार्वजनिक गरिएको छ। आख्यानकारद्वय नयनराज पाण्डे, निलम कार्की निहारिका र अनेसासका उपाध्यक्ष राधेश्याम लेकालीले संयुक्त लोकार्पण गरेका हुन्।

उपन्यासमाथि बोल्दै आख्यानकार नयनराज पाण्डेले उपन्यासको प्रमुख पात्र परिस्थितिले जेलिएर, सारा गुमाएर विदेशमा भासिएको बताए। ‘उसको शरीर मात्र अमेरिकामा छ हरतरहले मन जन्मभूमितिर तानिइरहन्छ, ऊ सधैँ नोस्टाल्जिक भइरहन्छ,’ पाण्डेले भने, ‘यसले मातृभूमिप्रतिको उनको जिम्मेवारीबोध दर्शाउँछ।’

त्यसैगरी अर्का वक्ता तथा आख्यानकार निलम कार्की ‘निहारिकाले उपन्यास पढ्दा पात्रमा आफैंलाई भेटेको बताइन्। ‘यसमा सांस्कृतिक र सामाजिक रुपले प्रवास जानुपर्दाका बाध्यताको चित्रण गरिएको छ,’ कार्कीले भनिन्, ‘पुँजीवाद र अर्थतन्त्रको प्रभावस्वरुप अहिलेको नेपाली समाजमा हरेक घरबाट मान्छे विदेसिनु सामान्यजस्तै भइसकेको छ। शर्माजीको भासले यसको सामाजिक र राजनीतिक समाधान खोजिनुपर्छ भन्ने आग्रह राख्छ।’

किताबमाथि बोल्दै अर्का वक्ता राधेश्याम लेकालीले भने, ‘भास उपन्यासमा विदेश बसाइको मनोदशा, बोलीचाली र प्रतिक्रियालाई जस्ताको तस्तै उतारिउको छ। यो किताबलाई त्यहीँका स्थानीयवासीले पनि पढ्न सक्ने भाषामा अनुवाद गर्नुपर्ने जरुरी देखेको छु।’

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मुल्य रु. २९५ राखिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.