डिनाको सम्झनामा श्रद्धाञ्जली सभा


नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वको परिचय बनाएकी कला इतिहासकार, क्यूरेटर, लेख डिना वाङ्देलको निधनको १३ औ दिनको तिथिमा नेपाल आर्ट काउन्सिलमा श्रद्धाञ्जली सभा गरिएको छ।

कलाको इतिहासमा डिनाको गहिरो र व्यापक रुचि र अध्ययन रहेको काउन्सिलका उपाध्यक्ष सागरसममशेर राणाले बताए। राणाले भने, ‘भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्वन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखी नेपालको कलालाई विश्व जगतसम्म पु¥याउनु भएको थियो।’

नेपाली कलालाई विश्वमा चिनाउन डिनाले महत्वपूर्ण योगदान दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले बताए। नेपाली परम्परागत, लोक, समसामयिक कलामा गहिरो रुचि राख्ने डिनाको निधनले नेपाली कला क्षेत्रले विशिष्ट व्यक्तित्व गुमाएको कलाकार तथा कला लेखक मदन चित्रकारले बताए। चित्रकारले भने, ‘नेपाली कलाको आइकोन व्यक्तित्वको रुपमा डिनालाई लिनुपर्दछ।’

नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले बताइन्। मृत्यूलाई पत्याउनै मुस्किल परिरहेको चिराग वाङ्देलले बताए।

नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै काउन्सिलका अध्यक्ष सत्यमोहन जोशीले भने, ‘एउटा समीक्षक, इतिहासकारलाई नेपालीले गुमाउनुपरेको छ।’

१३ दिन अघि अमेरिकामा डा. डिना बाङ्देलको निधन भएको थियो। कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुखसमेत रहेकी डिनाको साइनसबाट निधन भएको थियो। रुघाखोकी बिग्रिएपछि त्यसको शल्यक्रियाका लागि बाङ्देल दुई साताअघि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रियापछि भएको संक्रमणले मेनेन्जाइटिस देखिएको थियो।

ओहायो युनिभर्सिटी अमेरिकाबाट विद्यावारिधी गरेकी बाङ्देलले दक्षिण एशियाली समकालीन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा समेत अनुसन्धान गरेकी थिइन्। चर्चित कलाकार लैनसिंह वाङ्देलकी एक मात्र सन्तान डिनाको ५४ वर्षको उमेरमा निधन भएको हो।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङ्देललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो। पाँच वर्षदेखि कतारमा रही प्राध्यापन कार्यमा सक्रिय वाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन विभिन्न कार्यक्रम समेत गर्दै आएकी थिइन्। बाङ्देलकी आमा मनकुमारी, श्रीमान विभाकर शाक्य र दुई छोरा देवेन र नील छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.