‘ग्याङस्टर ब्लूज’ टोली मोफसलमा


भदौ २ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ग्याङस्टर ब्लूज’ प्रचारको लागि यतिबेला मोफसल पुगेको छ। यसको सुरुवात टोलीले शनिबार र आइतबार पोखराबाट गरेको छ।

यसपछि निर्माण टोली मोफसलका मुख्य शहर बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँमा विभिन्न सांगीतीक कार्यक्रम गर्नेगरि जाने भएको छ।

निर्माण टोलीले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री आना शर्मा र रोजिशा शाहीले सहभागीता जनाएका थिए।

कार्यक्रममा अशिरमान र आना र अन्य कलाकारसँग दर्शकले सेल्फी दिँदै रमाएका थिए।

कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ। फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अवसर आफ्नो पक्षमा पारेका छन्।

कार्यक्रमपछि आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बताएका छन्।

आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ। सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार निर्माण टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ।

त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुने आयोजकले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.